रिपन गौतम

आप
यहाँ!
सानोलाई ऐन चाहिएको छ;ठुलालाई चैन
बिचमा बाँच्नेहरूको हरिबिजोग छ।
शहरले हाँसेको अनुहारलाई हेरेर भन्छ-
कति मुनाफा दिन्छौं मलाई?
बुझ्दैन उसको कम्पनीले मुटुमा के बिझिरहेछ!
गाउँले रुएको मनहरुलाई स्वागत गरिरहेछ।
पीपल डाँडाको चौतारीले पर्खिरहेको छ।

यहाँ सबै गौतम बुद्ध छन्!
तर व्यहोराले सबै रावण छन्।

मैले कहिले देखीन पुर्णिमामा चन्द्रमाको कालो दाग
जब म एकटक हेर्थे
आफ्नै घरको बलेसीमा बसेर!
दोषी नजर थिएन सायदै त्यतिबेला!
शहरको कुनै सुसज्जित कार्यालयको टेवलमा बसेर जब सम्झौता गरिन्छ नि!
तब देख्छु हाँसेर स्वागत गरिरहेका ब्राण्डेड आँखाहरू

मलाई मन पर्दैन उनीहरू!

मन परेको जस्तो गर्छु।

सम्झन्छु गाउँ अनि सापटी मागेर चलाएको चामल आटा /नुन तेल!

शहरमा कसैलाई प्रतिक्षा गरिन्दैन
यहाँ रूंगेर बसिन्छ!
नाफा र नोक्सानीको हिसाब राखेर अघिका मान्छेसंग डिल गरिन्छ!
गाउँमा मुल दैलोको साँचो छिमेकीलाई दिएर बिश्वास जितिन्छ
शहरमा
जब महिना सकिन्छ
आफ्नै किरायको कोठाको मालिक पनि रिसाए जस्तै लाग्छ!

यहाँ आफ्नै आँखा पनि दोषी साबित हुन्छ।

नपढेर नै बाबुले अनि आफुले पढेर दुःख पाएको
कवि उपेन्द्र सुब्बाको कविताले घोच्छ मलाई
हो त!
म पनि शहरमा टाउको नै जोतिरहेछु।

शहर अपूर्ण रहेर सम्पन्नता खोजी रहेछ
गाउँ
सम्पन्न खोज्न शहर पसिरहेछ।
यहाँ
शहर र गाउँ एउटै सिक्का हुन्
फरक यति छ गाउँ दुःख्छ मुटुभित्र
शहर पीडा लुकाएर हाँसीरहेछ।

***

प्रतिक्रिया

सम्बन्धित खवर