✍️ निर्मल आग्रह

 

याद के हो ??

चियामा चिनी

तिहुँनमा नूनको अनुपस्थिति हो याद आउनु !

जसरी
मुस्कान र रोदन त्यति नै नजिक हुन्छन्
जति टाडा ओँठदेखि आँखा !

दुई एक साथ हुँदा–हुँदै पनि
बिचमा दूरी याद गर्नलाई एउटा सर्त हो !

याद र रात साक्खे दिदी–बहिनी हुन
जब पनि आउँछ सँगसँगै आउँछ ।

●४०

कविता के हो ? – प्रश्नकर्ता १
आगोको फूल ! – कवि
जीवन ? – प्रश्नकर्ता
फूलको आगो ! – कवि ।

कविता के हो ? – प्रश्नकर्ता २
नदीहरूको कोरस हो कविता ! कवि
र जीवन ? – प्रश्नकर्ता २
पानीको आलाप हो जीवन ! – कवि ।

कति सरल छ कविताको कठिनभन्दा कठिन बनौट
सृजना गर्नु
जबकि जीवनको सरल बनौट पनि कति कठिन छ !

कोही आउँछन् म कहाँ कवितासित भेट गर्न ।
म भन्छु – त्यहीँ बस । फूललाई हेर। पानी पिय । र जाऊ घर ।

एकदिन मैले भनेथेँ
जिन्दगी आफैँमा मध्यरातपछि आतङ्कवादी गुटको एउटा अप्रत्याशित हमला जस्तै हो
कसैगरी कविता त्यहाँबाट उम्केर भागेको हो
चोटैचोट, दागै दागहरू बोकेर भटकन्दै
एउटा दुखस्वप्न बनेर कविको निद्रामा बास बस्दै आएको हो ।

यसैले हाम्रा दुखस्वप्नहरू कैयो कविताहरूको कब्र हो
अनि हाम्रा केही सपनाहरू कवितालाई सम्मान वा
नमन !

●४१

कुनै विलुप्त प्रायः हुन लागेको पक्षीको अन्तिम उड़ान जस्तै छ जिन्दगी !
जस्को ठुलो बल पखेटाभन्दा आशामा छ ।

या त राती सहर सुतेपछि कसिङ्गरको थुप्रोमा
सुतिरहेको भिखारीदेखि सडकको अन्तिम छोरसम्म
फैलिएको शान्ति जस्तै !

र भोर हुन अघि सड़क छेउ उभ्भेका रुखहरूका मलिन अनुहार जस्तै !

म एक भटकिएको यात्री
भ्रम र सपनाहरूको अन्तर खुट्ट्याउन नसक्दा
सहर आएको छु घर भूलेर ।

प्रतिक्रिया

सम्बन्धित खवर