✍️ रिपन गौतम

म निकै पर पुगेर पछि फर्के।उ मेरो पछि पछि थियो। मलाई हेर्दै उ हिँड्दै थियो।मेरो झोलामा पानीको बोतल र केही चाउचाउको प्याकेट थियो।हिँडेको लकभक दुई घण्टा भएको थियो।उ पनि मेरो पछि लागेर हिँडेको त्यति नै भएको थियो।
जाडो महिनामा रात छिटो पर्छ।
गोधुली समय थियो।
कच्चा बाटोमा धुलो निकै थियो।
मैले चश्मा खोलेर भेष्टको कलरमा झुण्ड्याए।
रात पर्न लागेको थियो। मलाई तिर्खा लागेको थियो।भोक पनि। हिँड्न अझै धेरै छ। साथी भनेको त्यो मेरो पछि लागेर आउँदै गरेको त्यो केटो छ।
तर मलाई बोल्न मन छैन उसंग।उ हेर्दा निकै आधुनिक देखिन्छ। लगाको लुगा र भिरेको ब्याग हेर्दा ब्राण्डेड देखिन्छ। उसले लगाको माक्स पनि केही फरक थियो। आँखा मात्र देखिने मास्क थियो।

म छेउको एउटा ढुङ्गामा बसेर बोतलको पानी पिउन थाले।उ मेरो नजिकबाट मलाई ध्यानै नदिएर अघि बढ्यो। उसले महङ्गो जिन्सको पेन्ट लगाएको थियो नर्थ ईस्ट कम्पनीको ज्याकेट लगाएको थियो। जुत्ता पनि ब्राण्ड थियो।
मैले हेरे !
उ चुपचाप अघि बढ्यो। चुपचाप !
मलाई पनि कुनै सरोकार थिएन उसंग!म पनि हिँड्न थाले।
अहिले म उसको पछि थिए।उ छिट्टो हिँड्दै थियो। माथिल्लो घुम्ती काटे पछि मैले उसलाई देख्न छोडे !
+++
रात त परिहाल्यो।
हिँड्न नै गाह्रो हुने गरि अंध्यारो भयो।
मैले पाइलाको रफ्तार बढाए। मलाई शेर्पा लज पुग्नु थियो। त्यस्तो ठुलो लज त हैन तर हिँड्दा यहाँ म धेरै बास बसेको छु। दुई तीन कोठा छ यहाँ बस्नको लागि। मलाई त्यहाँ पुग्नु छ। हिँडाइले जाडो त छैन शरीरमा तर पसिनाले भिजेकोले गन्ध आउन थालेको छ।
यो घुम्ती काटे पछि मैले शेर्पा लजमा बलेको मधुरो उज्यालो देखे।
बल्ल ढुक्क भयो ।
म पुगे।
बाहिर आगो मात्र बलिरहेको थियो।
भित्र पसे म !
पुरानो आसेङ रहेछन।
मैले चिने उसलाई। उसले मलाई चिनेनन्।
‘कोठा छ?’- मैले सोधे ।
मलाई राम्रो हेरेर भने-“छैन !”
मलाई त आपत् आइपर्यो।
अब रात कहाँ बिताउने !!
असेङलाई मेरो अबस्था बताए। जाँड खाएर कट्मेरो भएको आसेङले भने- “एउटा छ तर मिलेर बस!”
‘हुन्छ!’- मैले भने।
“एउटा केटा छ उसंग बस !” उसले भने।
‘हुन्छ!’-मैले भने।
‘त्यो केटोलाई तपाई नै भनिदिनु!’-मैले भने।
केटा त्यो मेरो पछि अघि हुँदै आउने नै रहेछ।उ मभन्दा पहिल्यै आएर कोठा उसको बनाएछ।तर मसंग अरू कुनै बिकल्प नै थिएन।अरू कोठा भक्तिसकेको रहेछ।उ अहिले बाहिर बलिरहेको आगो ताप्दै थियो।

उसले मानेछ हामी संगै बस्नु  !

म कोठा गए! निकै पुरानो भएछ कोठा। केही अब्यवस्थित पनि।
टेबलमा त्यो केटोको ब्याग राखेको रहेछ। त्यो ब्यागबाट मिठो पर्फ्योमको गन्ध मेरो नाकमा पस्यो। मलाई लाग्यो यो केटो कुनै बिश्वबिद्यालयबाट शोध गर्न आएको हुनु पर्छ।

मैले झोलामा भएको चाउचाउ खाए।
मेरो जिउ सेलाएको थियो। जाडो हुन थाल्यो। हिँडाइले म थकित थिए। कोठामा एउटै खाट थियो। दुईवटा पुरानो सिरक र दुई वटा सिरानी थियो त्यहाँ।
मैले एउटा सिरक र सिरानी तानेर मिलाए अनि पसे।आसेङले तातो पानी ल्याईदिए। खाना।के को मासु र रक्शी।के खाने सोधे।
केही खादिन म आराम गर्छु भने।
उ गए।

मलाई भोलि मामा घर पुग्नु थियो।
म खाटको एक छेउतिर ढल्के।
के के सोच्दै थिए निदाएछु।

आधारातमा ब्युँझिएछु।
त्यो केटो कति बेला आएर सुतेछ। उसको सिरक भुईंमा खसेछ।मेरो सिरक तानेर मलाई खुट्टा बोकाएर उ सुतिरहेको रहेछ। मलाई अरूले यसरी खुट्टा बोकाएको पटक्कै मन पर्दैन।मैले उसको खुट्टा मबाट पर सारे।कोठा अंध्यारो थियो।उ निन्द्रामा थियो। हिँडाइले उ पनि थाकेको थियो। मैले यति उसलाई मिलाउँदा पनि उ ब्युझेन।उ खाटको छेउमा थियो। झरेको सिरक तानेर उसलाई ओढाइ दिए। उसको पर्फ्योमको गन्ध मेरो नाकमा ठोक्यो।

दोस्रोपल्ट म ब्युझिन्दा उज्यालो भईसकेको थियो।
मलाई चाँडै यात्रा शुरु गर्नु थियो।
म उठे।
कोठामा अलिकति उज्यालो पसेको थियो।
उ निन्द्रामा नै थियो।
सिरक रातीको जस्तै तल तिर लत्रिएको थियो।
मिलाई दिए।
उसको अनुहार हेरे !
हेरेको हेरेकै भए……..!!
++++
शहरदेखि धेरै टाढा हिड्नु पर्छ मेरो मामा घर आइपुग्न।
अहिले म मामा घरमा आराम गरिरहेको छु र सम्झी रहेछु-
एकाबिहानै मैले आसेङलाई उठाएर म बसेको पैसा दिएर फटाफट हिँडेको….!!
आसेङले मलाई सोधेको थियो- “त्यो केटा कति बेला जान्छ  ?”
मैले भनेको थिएँ- खै मलाई थाहा भएन उ कतिबेला जान्छे……!!!

मेरो उत्तर आसेङलाई रहश्य लाग्यो।
+++++

प्रतिक्रिया

सम्बन्धित खवर