✍️ नवराज न्यौपाने ‘मौन’

       गजल – एक

छ मर्म धेरै कथा हजारौँ र प्रष्ट खुल्छौँ धरा सजाई
सदैव हाँसी विनम्र बन्दै विकार भुल्छौँ धरा सजाई

म जान्न कैल्यै विदेश साथी बुबा र आमा स्वदेश गाथा
भनेर भन्छौ छरेर माया मिलेर घुल्छौँ धरा सजाई

छ देह हाम्रो अनित्य चोला बनेर स्वार्थी नफस्नुहोला
हिडेर बाटो सकिन्न कैल्यै रमेर झुल्छौँ धरा सजाई

युवा सबैले प्रयास गर्दा गरीब हामी धनी हुनेछौँ
उनेर माला सजाइ हाँगो सपाट फुल्छौँ धरा सजाई

छ राष्ट्र हाम्रो असाध्य राम्रो र सम्पदामा रहेछ उच्च
अनेकतामा छ एकता है भनेर डुल्छौँ धरा सजाई

     गजल – दुई

बोली मिठास घोली झन् झन् लजाइदिन्छ्यौ
बिर्सूँ भनेर खोज्दा झन् याद आइदिन्छ्यौ

माया रहेछ साँच्चै यो जिन्दगी सपार्ने
कातेर प्रेम–धागो हो गीत गाइदिन्छ्यौ

टाढा भएर बस्दा डुब्दैछु सम्झनामा
पोखेर भाव सारा चिट्ठी थमाइदिन्छ्यौ

आशा थिए सुनौला भाषा सुरम्य मेरा
पस्केर आज माया भित्रै अटाइदिन्छ्यौ

यात्री बनेर मैले संसार डुल्न लाग्दा
छाया बनेर प्यारी यात्रा सजाइदिन्छ्यौ

प्रतिक्रिया

सम्बन्धित खवर