✍️ रिपन गौतम

आज म गएँ।
कुमार सरको घर।
सुटुक्क !! नै भनौँ। कुनै जानकारी बिना नै मैले दैलो ढकढकाउदा कुमार सर आत्तिएँ कि ! कुनै रेस्पोन्स नै आएन भित्रबाट। मिनेटसम्म।

को ? – भनेपछि।
सर !! – मैले भन्दा स्वरले नै चिने मेरो। दैलौ खोलेँ । झटपट ! मलाई देखेर रमाएँ। म पनि रमाएँ। हामी दुई नै खुसी भयौँ।

कुमार सरले ल्यापटपमा कुनै वृत्तचित्र हेर्दै थिए। अहिले बन्द गरे।
हेर्नुहोस् न‌ सर ! – मैले भने।
भरे हेर्छु ! – उनले भने।
अनि हामी दुई नै निरर्थक अलिकति हाँस्यौ।
मुसुक्क !!
धेरै कम जाने गर्छु म कुमार सरको घर। जबकि हामी प्रायः छेउ छेउ नै बस्छौँ।
उनी पनि त्यस्तै छन्। सारै आउँदैनन् मेरो घर।
तर हाम्रो प्रत्येक भेटले मलाई केही न केही सिकाउँछ।
उहाँको साधारण जीवनले तान्छ मलाई।
कफी कि चिया ? –सोध्छन्। मलाई।
मलाई दुईवटा नै पिउन मन छैन। भर्खरै खाना खाएर आएको।
तातोपानी !! – मैले भने।
लिन गए।

मेरो भाग्य पनि बडो गजबको छ ! सुन्नु हुन्छ ? किन ?–
तातोपानी टेबलमा राख्दै कुमार सरले मलाई भने। भाग्य त सबैको हुन्छ तर यो गजबको भनेको चै के हो !

आज मैले सिक्ने बिषय नै यो हो वास्तवमा।

भाग्य त बनाउने कारक हो। निर्माण गरिनुपर्ने तत्व हो। म मान्दिन प्रारब्ध,आरब्ध।
कुमार सरको बिचार बुझ्न म आतुर छु अहिले।सुन्न उत्सुक छु।
**
कुरा लामो छैन। अनि यो कथा पनि होइन।
त्यो दिन म बसमा चढेपछि समस्या उत्पन्न भएको थियो। काँकडभिट्टाबाट बस मध्यान्हको १२ बजे हिँडेको थियो। बसमा चढ्ने यात्रीहरूमध्ये अन्तिम समयमा म बस चढेको सबैले याद राखेका थिए। पछि थाहा भयो।

म धरानसम्म जाँदै थिए। इटहरी नपुगी म चढेको बस हिसाबले नौपल्ट बिग्रियो। अघिल्लो दुईवटा चक्का दुई पल्ट पड्कियो। धन्न बसले अलकत्रा छोडेन। बसभित्र बजीरहेको बाजा अकस्मात बिग्रियो। कति कोशिश गर्यो खलासीले फेरि बजाउन। तर, बजेन।नबजेको रिस सबै यात्रुले त्यो खलासी भाइ माथि निकाल्दै थिए। कराउँदै थिए सबैले। यात्रा गर्दा मान्छेलाई संगीत चाहिन्छ अहिले।पछि खलासीले त्यो बाजा निकालेर खिर्कीबाट फ्याँकिदिए। सबैलाई ढुक्क भयो। तर मलाई सरोकार थिएन बसमा बजेको बाजाप्रति।

जुलाई महिनाको अस्थिर मौसमले होला बसको बनेट तीनपल्ट खोल्नु पर्यो खलासीले। इन्जिन तातेर धुवाँ धुवाँ भयो एकपल्ट।सबै डराएर ओर्लिए। सेलाएपछि फेरि चढे।

बिर्तामोड काटेपछि बाटो छेउको अग्लो गोकुल रूखको गत्तिलो डाला बसको छप्परमा झर्यो……….! त्यो आवाज डरलाग्दो थियो। महिला यात्रु चिच्याए !! अचानक बस रोकियो। चालकले जोड़सँग ब्रेक लगाउँदा पछिल्लो सिटको यात्री एकैचोटी पहिलो सिटमा जोत्तिए।

सबैले मलाई नै हरेको जस्तो लागिरहेछ यात्रीहरूले। अहिले।
किनकि म मात्र एकदम नौलौ यात्री थिए उनीहरूको बीच। प्रायः दैनिक र नेपाल सरकारको कार्यलय सम्बन्धित महानुभावहरु मात्रै यो बसमा चढ्दा रहेछन्।बस पनि सारै पुरानो होइन।
अहिले मलाई पनि लाग्न थाल्यो पनौती चै म नै हुँ।
मैले सोँच्दा सोच्दै चालक बसेको सिट पछिल्तिरको नट बल्टु खकुलो भएर लिरिक(लिरिक हल्लिएर फेरि जोड़ले ब्रेक लगाउँदा पछिका यात्रीहरू सबै अघिल्तिर घोप्टो परे।
त्यसबखतको गाली र हल्ला बडो दर्दनाक थियो।
बल्टु कसेर फेरि चलाए बस। चालकले।
बाटोमा पर्ने सानो ज=्गल आयो केही क्षण पछि। रोक्ने आग्रह थियो यात्रीहरूको।
बस रोकियो।
दिसा–पिसाब फेर्न सबै यात्रु ओर्लिए अहिले।
मेरो सिट बसको गेट छेउ थियो। झर्नेलाई मैले बाटो छोडिदिए। यात्री प्रायः सबै चोटिल,घाउखत भएका थिए। ठोक्किएर !

सबै बसबाट ओर्लेर बाहिर थिए। त्यहाँतिर एकप्रकारको गुनगान आवाज थियो।तर मैले केहि बुझ्न सकिन।
म सिटबाट अलिकति पनि सरिन। झर्ने त कुरै आएन।
सोच्दै थिए अचानक टिन सोरिएको आवाज आयो।आवाजसंगै म पनि जोड़ले हल्लेर‌ हुत्तिए।झटपट उठेर हेरे !

म बसेको बसको दाहिने पाटोलाई सामान लाद्दिएको ठुलो ट्रकले ठक्कर दिएर फुल स्पीडमा भाग्यो।
भित्र म मात्रै थिए त्यो क्षण।
मेरो मुटु झन्डै हत्केलामा आयो।
बसको चालक खलासी अनि एक दुई यात्रीहरू गएको ट्रकतिर हेर्दै चिच्याएर गाली गरेको देखे मैले। सुने।
म थर्थर काँप्न थाले।
सबैले ट्रकले हिर्काएको बसको दाहिने पाटोलाई हेर्दै थिए।
अलिकति छुएर गएछ। –कोही भन्दै थिए। सुने मैले। तर, म अझ ओर्लिन। बसिरहेँ। आफ्नो सिटमा। बसभित्र।
एकक्षण गुनगुन भएपछि एकाएक यात्रीहरू पुनः चढे। चालक चढ्यो। खलासीले जाने निर्देश थियो। बस फेरि गुड्न थाल्यो।
अब गोधुली समय भएको थियो। घामको पहेलो उज्यालो थियो। बसभित्र मौनता थियो। घरिघरि चालकले गियर परीवर्तन गर्दा फलाम चुइँक्केको आवाज थियो अनि कानै चिरिने बस कुद्दाको भद्दा आवाज………!!
इटहरी आउँन केही अघि एउटा चोकमा बस रोकियो।

– हजुर यहाँ नै ओर्लिनु होला ! यहाँबाट धरानको गाडी धेरै पाइन्छ।
खलासी भाइले सोझै मलाई आग्रह गरे। बसबाट ओर्लेर बाहिर जान। भाडा पनि फिर्ता गरे।आधा।
म छक्क परे।
सबैले मलाई नै हेरिरहेका थिए। चालकले पनि भन्यो(
लु झरौ त दाइ !!

अब मलाई कर लाग्यो। बसबाट ओर्लिन।
ब्याग तानेर म झरे बसबाट !!
तत्काल चालकले वाहनको गति बढाएर हावाको चापसँग अघि बढायो।
हेर्दा हेर्दै प्रायः तीन मिनेट पछि म अघिसम्म बसेको बस पड्कियो !! कुद्दाकुद्दै ब्लुङ्ग !! ब्लास्ट भयो। आगोको ज्वाला आकाशतिर उड्न थाल्यो। होहल्ला मच्चियो। पड्किँदा बस टुक्रा टुक्रा भयो। गाडीहरूको जाम लाग्न थाल्यो।

धुवाँको गन्ध मसम्म आइपुग्दा म झसङ्ग भएँ। ब्याग बोकेर म ठिङ्ग उभिएर बस जलेको हेरिरहेको थिएँ……….!!
**

कुमार सरले यो घटना मलाई सुनाउँदा म त जिरिङ्ग–जिरिङ्ग भए !!

मेरो तातोपानी चिसो भए छ। पिउँन मनै लागेन। छोडिदिए।
त्यसपछि कोरोना र लकडाउन माथि केही छलफल भयो हाम्रो।छोटो।

म गएँ !– मैले भने।
केही पनि भनेनन् कुमार सरले।
म फर्केर हिँडे। आफ्नो घरतिर।

थाहा भएन मलाई कुमार सरले पछिबाट मलाई हेर्दै छन् कि हेरेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर