✍️ जनक कार्की

दिपक पराजुलीले नाटकबाट नेपाली साहित्यिक यात्रा सुरु गरेका हुन् । पोखरामा बसेर लेखन, शिक्षण र वकालतमा कर्म गरिरहेका उनी पछिल्लो समय ‘मिथ्या’का कारण चर्चामा छन् । स्वैरकल्पनात्मक प्रयोगधर्मी उपन्यास ‘मिथ्या’ले केही फरक शिल्प,विषय र प्रयोग मनपराउने पाठकको मन लुटिरहेको छ । उनको पछिल्लो कृति ‘मिथ्या’ र साहित्यका विविध विषयमा सेतोमाटोका लागि जनक कार्कीले गर्नुभएको पुस्तक वार्ताको सारांश यस्तो छ :

१. पोखराका साहित्यकारद्वारा लिखित प्रयोगधर्मी र स्वैरकल्पनात्मक उपन्यास ‘पागलवस्ती’ मास्टरपिस बन्यो, गनेस पौडेलको ‘पैताला’ले पनि चर्चा बटुल्यो, यहि धार र पथमा आएको उपन्यास मिथ्यामा नयाँपन के दिन खोज्नुभएको छ ?

कसले भन्यो ‘मिथ्या’ त्यही धारमा आएको छ भनेर ? त्यस्तो प्रस्तवानालाई म स्वीकार गर्दिनँ । साहित्य आफैँमा प्रयोग हो । प्रयोग विना साहित्य सम्भव छैन । स्वैरकल्पनाको कुरा गर्नुहुन्छ भने यसको कुनै सीमा हुँदैन । अनि जुन कुराको सीमा हुँदैन त्यसको धार र पथ भन्ने प्रश्न नै गलत हो ।

२. उपन्यासमा नयाँ स्वाद खोज्ने र बौद्धिकता मनपराउने पाठकलाई रूचिकर हुनसक्ने उपन्यास भनेर चर्चापरिचर्चा भएको थियो, यस उपन्यासको रचना गर्भ भन्न मिल्ला ?

त्यो चर्चा सत्य हो । रचना गर्भ भनेको के हो ? म बुझ्दिनँ । बुझेजस्तो गरी बनावटी उत्तर दिन पनि चाहिनँ । बरु मेरो आख्यानिक अभिप्साले यो उपन्यास लेखनको आयोजन गरेको कुरा चैं ठिक साँचो हो ।

३. ‘मिथ्या’ उपन्यासमा प्रेमलाई अभिसापको रूपमा देखाउन खोज्नुको कारण के होला ?

त्यस्तो देखाउन खोजेजस्तो त लाग्दैन ।

४. यसअघि तपाईंलाई नाटककार भनेर चिनिन्थ्यो अब उपन्यासकार पनि बन्नुभएको छ, आखिर जिवन्तता नाटकमा छ कि उपन्यासमा ?

दुवैमा छ ।

५. तपाईंको उपन्यास ‘मिथ्या’ प्रयोगधर्मी, स्वैरल्पनिक र फरक स्वाद भएको उपन्यास हो भन्दाभन्दै पनि गनेस पौडेलका अनुसार कथा भन्ने शैली पूर्विय पराम्परागत शैली नै हो भन्नुभएको छ,शैलीमा नयाँपन खोज्न मन लागेन तपाईंलाई ?

साथी, संगत र सम्बन्ध जोड्ने काम मन परेकासँग गरिन्छ । मन परेपछि नयाँ–पुरानो हेरिँदैन ।

६. ‘मिथ्या’ले कति लामो प्रशव पीडा सहेर डेलिभरी भयो ?

‘मिथ्या’ भनेको पुस्तक हो । प्राणी होइन । मेरो कुरा गर्नुहुन्छ भने लेखनअवधिभर मैले उत्सव, उमङ्ग र आनन्दको मात्रै भोगचलन गरेँ ।

७. उपन्यासको भीडमा ‘मिथ्या’ले के–कस्तो छाप पार्न सक्ला भन्ने आशा गर्नुभएको छ ?

म आश गर्ने मान्छे होइन । मेरो कसैसँग कुनै आश छैन ।

८. तपाईंलाई मनपर्ने पाँचवटा उपन्यास जसले तपाईंलाई पनि उपन्यास लेख्न प्रेरित गर्यो ?

कुनै उपन्यास छैन । पञ्चतन्त्र, अष्टावक्रगीता र महाभारत यी तीन कृतिले मलाई उपन्यास लेखाएको हो ।

९. तपाईंको विचारमा साहित्यको महत्व के हो ? साहित्य समाजलाई किन आवश्यक पर्दछ ?

साहित्यले मान्छे र उसको संसारलाई धेरै प्रकारका रोगहरुबाट जोगाउन सक्दछ । त्यसैले हाम्रा लागि यो आवश्यक छ । मैले देखेको एकमात्र महत्व त यही नै हो ।

१०. साहित्य सिर्जनामा कला र विचारमा कुनलाई प्राथमिकता दिनुहुन्छ ?

म हिँड्दाखेरी दुवै खुट्टालाई महत्व दिने गर्छु ।

१२. तपाईंलाई अत्याधिक मनपर्ने पाँचजना लेखक ?

भो, सार्वजनिक नगरौँ होला । अहिले जीवितमध्ये दुई जनालाई मैले ‘तपाईँ मेरो मन पर्ने लेखक हो’ भनेर भनिसकेको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर