✍️ रविन्द्र बुढाथोकी
शिव बहादुर नेता हुन लायक शरीर भएर नेता भयो या नेता भएर शरीर भयो । त्यो त शिव बहादुर नै जानोस् । तर शिव बहादुरको शरीर नि नेता हुन लायकको छ । ऊ नेता नै हो– जिल्ला तहको । उसको पार्टीको नाम हो– खाउ पार्टी । खाउ पार्टीको जिल्ला सचिवालय सदस्यमा नाम छ, उसको । ऊ खाउ पार्टीमा बसेर विगत लामो समयदेखि छाउ गा.वि.स.। हेरिरहेको छ । खाउ पार्टीको छाउ गा.वि.स. अक्ष्यक्ष हो ऊ । नौ वटा वडा भएको जिल्लाकै ठुुलो गा.वि.स., छाउ गा.वि.स. । ठूलो गा.वि.स.।को ऊ ठूलो मान्छे ।
ठूलो मान्छेको ठाउँ–ठाउँमा ठुलै मान्छे हुन्छन् । ठाउँ–ठाउँमा ठुला मान्छे हुनेले सडक, खोला, पुल, कुला दुला पारे पनि, ठुलो मान्छेको तालु ठोकेर आलु फलाउँने कस्को हिम्मत ? कस्को तागत ? खाउ पार्टीको खाउ नेता, खायो सायद । छाउ गा.वि.स. विकासमा माउ हुन सकेन । छाउ गा.वि.स. माउ नभएर के भो ? शिव बहादुर बाउ भयो । बाउ भएको खुशीमा जुङ्गामा ताऊ लायो । जुङ्गामा ताऊ लाउँदै, दाउ हेर्यो । दाउ हेर्यो मौका मिल्ना साथ छाउ माउलाई पटक–पटक करणी गर्यो । पटक–पटकको करणी पश्चात् छाउको पेट र शरीर सुक्दै गयो । अचम्म ! शिव बहादुरको शरीर र पेट भने फुक्दै गयो ।
ठुलो गा.वि.स.को ऊ ठुलो मान्छे । ठुलो मान्छे हुँदाहुँदै पनि छाउ गा।वि।स।मा विकासको ग्राफ बढाएर ठुलो बनाउँन सकेन । हुन त शिव बहादुर मात्र एक्लो होइन, जनताले मतको ग्राफ बढाइदिँदा पनि विकासको ग्राफ बढाउँन नसक्नेमा । शिव बहादुर जस्तै– राम बहादुर, काम बहादुर, नाम बहादुर र दाम बहादुरहरु पनि छन् ।
एकाध बाहेक शिव बहादुरले के गर्दैछ भनेर मतलव नराख्ने छाउ गा.वि.स.का जनतालाई अरु बहादुरहरुसँग के मतलव । छाउ गा।वि।स।का जनतालेझैँ अरु गा.वि.स., जिल्ला, क्षेत्र र पुरै देशका जनताले मतलव नराख्नाले नै शिव बहादुर, राम बहादुर, काम बहादुर, नाम बहादुर र दाम बहादुरहरु स्वतन्त्र भए । स्वतन्त्र भए, बजेट घरभित्र पसे । झुटको ढाल लगाए । विकासलाई करणी गरे । मतलवमा विकाससँग तल, खानुसँग लब, लत र बल लगाए । फलस्वरुप विकासको टुसो, टुसुक्क टुसाउँन पाएन । टुसुक्क टुसाएको विकासको टुसो पनि खुसुक्क कुचुक्क भाँचिदिए । टुसुक्क टुसाएको टुसो बढेर रुख हुनै सकेन । रुख हुन नसकेपछि, विकासले जनतालाई शीतलताको छहारी दिन सकेन । विकास कक्रिए, नेता फक्रिए । विकास कक्रियो, शिव बहादुर फक्रियो ।
शिव बहादुरले विकासको ग्राफ बढाउँन नसके पनि चौन्नको स्थानीय चुनावमा छाउ गा।वि।का जनताले शिव बहादुरका लागि मतको ग्राफ बढाइएिका थिए । घिचौँ पार्टीको आफ्नो प्रतिद्वन्दीलाई भारी मतले हराउँदै विजय भएको थियो, शिव बहादुर । शिव बहादुर मात्रै विजय भएको थिएन, उसको समुह नै विजय भएको थियो । फूलमाला र सिन्दुरले सबै रंगिए ।
शरीरका अन्य अङ्गहरुलाई, यसो गर् र उसो गर्को निर्देशन दिने टाउको । समूहका अन्य सदस्यहरुलाई निर्देशन दिने ऊ टाउके । ऊ अलि बढी नै रंगियो । जितको खुशीयालीमा विजय ¥याली निकालियो । अघि–अघि पञ्चेबाजा घन्किए । पछाडी नारा लगाईए, जित कस्को ? खाउ पार्टीको । खाउ पार्टी– जिन्दावाद । जित कस्को ? शिवको । हाम्रो शिव– जिन्दावाद । पुरै गा।वि।स। फन्को लगायो, विजय र्यालीले । ठाउँ–ठाउँमा महिला, वृद्ध र बालबालिकाहरु, र्यालीलाई हेर्दै कोपिलाए । बिचमा हिँडिरहेको ऊ खुशीले पुलकित हुँदै, गमक्क फुल्यो ।
चुनाव भएको केही वर्ष पछि नै द्वन्द उत्कर्षमा पुग्यो । गाउँमा बस्ने वातावरण भएन । कागजपत्र बोक्न लगाएर ऊ सदरमुकाम झर्यो । ऊ मात्र सदरमुकाम झरेन । गा.वि.स.मा हुने सबै काम सदरमुकाम झरे । सँगसँगै विकास पनि सदरमुकाम झ¥यो । थुप्रै वर्ष सदरमुकाम बसेर जनताका काम गरी टोपल्यो । गा.वि.स.बासी जनताको सहभागीतामा बाँडफाँड हुनुपर्ने बजेट, सर्वदलीय बैठक बसेर बाँडफाँड गर्न थाले ।
गा.वि.स. र गा.वि.स. बासी जनताका लागि होईन । पार्टी र आफ्नै लागि । सदरमुकाम नजिकैका गाउँ–बस्तीमा अलि–अलि विकास हिँडेर पुगे । तर टाढा–टाढाका गाउँ–बस्ती र गा।वि।स।मा विकास हिड्न अल्छी मान्यो । हिँड्न अल्छी मान्ने विकासलाई सबै मिलेर काटे । भाग लगाए । ठुलो मुख हुनेलाई ठुलै भाग । सानो मुख हुनेलाई सानै भाग । चुनावको बेला एक–अर्कोलाई हेर्न समेत नचाहने घिचौँ र खाउ पार्टी मिले । तँ नि काले मँ नि काले, काले–काले मिलेर खाउँ भाले भनेझैँ भयो । खान पाएपछि तैँ चुप, मैँ चुप । नाम जस्तै काम– मिलेरै खाए । मिलेरै घिचे । यीनीहरुबीच बेला–बेलामा देखिने विवाद र हुने चर्काचर्की पनि हात्तीको देखाउँने दाँत मात्र रहेछ भन्ने सबैले अनुभूत गरे ।
बीस वर्षपछि चुनाव गाउँ पस्यो । नेता गाउँ पसे । सदरमुकाम बसेर गा.वि.स. सञ्चालन गरिरहेको शिव बहादुर पनि गाउँ फक्र्यो । यसबीचमा थुप्रै परिवर्तनहरू भए । यसबीचमा थुप्रै बदलावह आए । विकासले हैन । राजनीति र राज्य पुर्नसंरचनाको हिसाबले । विकासमा त कसरी परिवर्तन भयो भन्नु र ? कसरी बदलाव आयो भन्नु र ? ठाउँ–ठाउँमा एक गाग्रीको पानीको लागि घण्टौँ हिड्नु परेको समाचार आएकै थियो । गाउँमा स्वास्थ्य चौकी नहुँदा बच्चा पाउँन नसकेर गर्भवती महिलाको मृत्यु भन्ने सुन्नु परेकै थियो । भएका स्वास्थ्य चौकीमा पनि दक्ष चिकित्सक र औषधीको अभाव भन्ने खबर फैलिएकै थियो ।
समयमा पानी नपर्दा किसान मर्कामा भन्ने समाचार छापिएकै थियो । यसरी दुः खका अनगिन्ती झरनाहरु निरन्तर झरिरहेका थिए । र, निरन्तर बगिरहेका थिए, समयको खोलो भएर । विकासमा खासै परिवर्तन नभए पनि, खासै बदलाव नआए पनि राजनीति र राज्य पुर्नसंरचनामा भने व्यापक परिवर्तन भएको थियो । व्यापक फेरबदल आएको थियो । जस्तोः जंगलमा पसेर, भूमिगत बसेर विद्रोह गरिरहेको विद्रोही, राजनीतिक मूल धारमा आयो । राजा हटे ।
संविधान सभा चुनाव भयो । नयाँ संविधान बन्यो । शक्ति विकेन्द्रीकरण भयो । गा.वि.स. जि.वि.स. हरू भङ्ग भए । जिल्ला थपिए । पालिकाहरु बने । प्रदेशहरु बने । क्रेन्द्र र सदरमुकामका सेवाहरु वडामा आउँने भए । जनताले छिटो, छरितो र भरपर्दो सेवा पाउँने भए । विकासका धारा छुट्ने भए । विकासका मूल फुट्ने भए ।
दिनभरीको चर्को घामले ओइलाएका फूलहरु रातको शीतले बौरिएझैँ, जनताका ओइलाएका आशाहरु, आशाका शीतले फेरी बौरिए । हेर्दाहेर्दै कोपिलाए । हेर्दाहेर्दै ढकमक्क फूल फुले । बसन्ती वासना बोकेर घर–घर उडे । निराशाको शिशिरले खैरा भएका जिन्दगीका पहाडहरु, आशाको वसन्तले हरिया भए । चराहरु उमंग बोकेर उडे । नदीहरु खुशी बोकेर कुदे ।
सफलाताको एउटा सिँढी उक्लेपछि अर्को, अर्को र अर्को सिँढीहरू उक्लन चाहन्छ मान्छे । यो मानवीय स्वभाव नै हो । यो सबैमा लागु हुन्छ नै । सबैमा लागु हुने कुरा, शिव बहादुरमा लागु नहुने कुरै भएन । तिस वर्षे राजनीतिक जीवनमा जिल्ला समितिको कान्लोभन्दा माथि उक्लन नसकेको उसले बीस वर्षपछि चुनाव हुने भएपछि, आफूलाई वडा र जिल्लामा मात्र सीमित राख्न चाहेन । प्रदेश पुग्ने मनसाय बनायो । प्रदेश सांसदमा उम्मेदवारी दिने निर्णय गर्यो । बेलुनझै फुल्यो । आत्मश्लाघामा रमायो । उम्मेद्धारी दियो ।
उम्मेदारी त दियो तर नाम निस्क्यो– तेस्रो नम्बरमा । पहिलो र दोस्रो हुँदाहुँदै तेस्रोले टिकट पाउँने कुरै भएन । पार्टीले टिकट दिएन । उसले टिकट पाएन । हावा भरेको बेलुनझैँ फुलेको शिव बहादुर, हावा फुस्केको बेलुनझैँ भयो । प्रदेश सांसदमा लडेर देखाउँने उसको सपनामा तुषारापात भयो । सांसद बनेर आफ्नो होचो हाईटलाई एक हात लम्ब्याउँने सपना धुमिल भयो । त्यतिखेर एक मनले त राजनीति नै छोड्दिउँझैँ नलागेको पनि होइन उसलाई ।
एउटा गुटमा लागेकै हो । नेताको घर धाएकै हो । मिलेसम्म र पाएसम्म घुस पनि खाएकै हो । राजनीतिमा अघि बढ्न जे–जे काम गर्नुपर्थो त्यो–त्यो सबै गरेकै थियो । सबै काम गर्दागर्दै पनि उसले टिकट पाएन । दुःखी भयो । म कहाँ चुकेँ त ? धेरै दिन बकुल्ला ध्यान ग¥यो । अँह, खोट्याउँन सकेन– आफ्नो कमजोरी । कागती निचोरिएझैँ हृदय निचोरियो । मन दुख्यो । सबै काम गर्दागर्दै पनि उचित मूल्याङ्कन नहुँदा दुख्नु स्वभाविक थियो । दुख्यो ।
मान्छेको दिमागमा सेकेण्ड–सेकेण्डमा थुप्रै सोच र विचारहरू आउँछन् । ती सोच र विचारहरूलाई अधिकतम मूर्तरूप दिने नगण्य मान्छे मात्र हुन्छन् । तिनै नगण्य मान्छेहरू नै संसारमा महान् कहालाउँछन् । सामान्य मान्छेहरुका लागि त सेकेण्ड–सेकेण्डमा उठ्ने ती सोच र विचारहरु पानीका फोका जस्तै हुन् । एउटा फुट्छ, अर्को उठ्छ । एउटा उठ्छ, अर्को फुट्छ ।
तत्काल घटित घटना क्रमहरुले शिव बहादुरलाई राजनीति छोड्दिउँझैँ लागे पनि सहज थिएन, पुख्र्यौली पेशा छोड्न । त्यसमाथि राजनीति नामको लैनो गाई । न घाँस काटेर हाल्ने झन्झट । न खोले पकाएर खुवाउँने टन्टा । न गोबर सोर्न परोस्, न चराउँन छोड्न परोस् । राजनीति नामको गाई पाल्न– झुट बोल्न, कुटिल हाँसो हाँस्न र गुटबन्दीमा विश्वास गर्न । यी दुई–तीन वटा गुण भए पुग्ने । यी दुई–तीनवटै गुण उसमा पुरापुर थिए । अनि त के चाहियो– सकभर बाह्रै महिना । नभए पनि आर्थिक वर्ष सुरू भएको सात–आठ महिना त दुध–घ्यू नटुट्ने । यस्तो राम्रो पेशा कसले छोड्न सक्छ ? यस्तो राम्रो व्यवसाय को छोड्न चाहन्छ ? शिव बहादुरले नि छोड्न चाहेन । छोड्न सकेन ।
प्रदेश सांसदमा उठ्न नपाएपछि शिव बहादुर फेरी जिल्ला तहमै सीमित भयो । जिल्लाको कान्लो उक्लेर प्रदेशको आँगन टेक्न उसलाई भारी पर्यो । केन्द्र त झन् दुरको कुरा महाभारी नै भयो । प्रदेशको आँगन टेक्न लालायित खुट्टाहरु, जिल्लाकै आँगनमा रोकिए । त्यहाँ हेर्न लायक कुनै नौला दृश्य थिएनन् । सधैँ देखेको । सधैँ हिँडेको । आफ्नै घर, आफ्नै आँगन । आफ्नो हुँदाहुँदै पनि आफ्नो जस्तो लागेन । आफ्नो नलाग्नु– निरसताको उपज । विरक्तिको घडी । सम्झ्यो–
आफूभन्दा सानो उमेरको फुच्चे केटो राम बहादुरलाई । राम बहादुरले शिव बहादुरभन्दा धेरै वर्षपछि राजनीति थालेको । पछि राजनीति थालेर के गर्नु, केटो तगडा निस्क्यो । जिल्ला, क्षेत्र हुँदै केन्द्रीय नेता भयो । एकदुई चोटी त सांसदै पड्कायो । ठुलो भएपछि, ठुलै प्रगति । काठमाण्डौँमा साँढे चार तलाको घर । काठमाण्डौँ खाल्टैमा ठाउँ–ठाउँमा घडेरी । सुन, बैङ्क ब्यालेन्स, गाडी, पर्सनल ड्राईभर, पि।ए। । उफ् ! भित्र कतै सियोले चस्स घोचेझैँ भयो । थुक्क साला, आफू भने‘‘।। पिच्च असन्तुष्टि थुक्यो । त्यसै समय मुहारभरी एक हूल असन्तोषका रेखाहरुले बुर्कुसी मारे ।
प्रदेशको उम्मेद्धारीमा अयोग्य ठहरिएको ऊ, वडाका लागि भने योग्य ठहरिएको थियो । पार्टीको नजरमा । तर वडामा अरु पनि मुन्टो उठाएर बसेका थिए, वडा अध्यक्ष पदका लागि । अरु साथीहरू पनि महत्वकांक्षी देखिएपछि– मैलाई दिनुपर्छ । मैँ हुनुपर्छ भन्ने अड्डी पनि कसेन यसपटक । यसपटक उसले उदारता देखायो । हृदय ठुलो पार्यो । सोच फराकिलो पार्यो ।
चौहत्तरको स्थानीय चुनाव, अरु स्थानीय चुनाव जस्तो कहाँ थियो र ? अलि फरक थियो । अलि भिन्न थियो । हुन त समय,परिस्थिति र परिवेश पनि फेरिएको थियो । बदलिएको थियो । फेरिएको परिस्थिति र बदलिएको परिवेशमा चुनावको ढाँचा फेरिनु र बदलिनुमा पनि कुनै नयाँपन थिएन सायद । नयाँपन नहुँदा–नहुँदै पनि केही नयाँपन त जरुर थियो । र त, समाचारमा सुन्न र हेर्न पाइन्थ्यो– फलानो जिल्लाको, फलानो नगरपालिकाको–फलानो वडामा, फलानो पार्टीले यति लाख पैसा बाँड्यो । फलानो जिल्लाको, फलानो गाउँपालिकाको, फलानो वडामा, फलानो पार्टीका नेताहरु पैसा बाँड्दा–बाँड्दै रंगे हात पक्राउ आदी–आदी‘‘‘‘ ।
निर्वाचन आयोगले दल र नेताहरुले खर्च गर्न पाउँने सिमा तोकेको थियो । कानुनतः दल र नेताहरूले त्यही सीमाभित्र बसेर खर्च गर्नुपर्ने हुन्थ्यो । तर दल र नेताहरुले त्यो सीमाभित्र बसेर खर्च गरिरहेका थिएनन् । निर्वाचन आयोगले तोकेको दल र नेताहरूले खर्च गर्न पाउँने सीमालाई दल र नेताहरुले नै धोती लगाई दिएका थिए । सक्दो खर्च गरिरहेका थिए । यस्तो लाग्थ्यो– निर्वाचन आयोगभन्दा माथि दल र नेताहरु छन् ।
उनीहरूलाई कसैले छुन सक्दैन । हुन त कानुन दल र नेताहरुका लागि बनेको पनि होईन । कानुन त सर्वसाधरण जनताका लागि बनेको हो । दल र नेता त कानुनभन्दा माथि छन् । जे गर्दा नि हुन्छ । जे गर्न पनि छुट छ । उनीहरूले बनाएको कानुन, उनीहरु नै किन मानुन । कानुन पालना गर्ने त जनताले हो । कानुन मान्ने त ठाउँमा ठुला मान्छे नहुने र ठूलो पावर लाउँन नसक्ने सर्वसाधरणले हो । यस्तै लाग्थ्यो विभिन्न घटना र परिघटनाहरूलाई हेर्दा ।
निर्वाचन आयोग बाघ थियो । दल र नेताहरू बिराला थिए । बाघलाई देखेर बिराला डराउँनु पर्ने हो । तर्सिनु पर्ने हो । पुच्छर लुकाएर भाग्नुपर्ने हो । तर यहाँ त बिरालाले बाघलाई तर्साईरहेका थिए । नङ्ग्रा देखाएर मार्ने धम्की दिईरहेका थिए । बिराला धेरै थिए । बाघ एउटा थियो । एउटा बाघले धेरै बिरालालाई झम्टिने आँट गर्न सकेन । कहिलेकाहीँ झम्टेजस्तो त गर्थ्यो, जंगलका अन्य जनावरलाई देखाउँन । तर त्यो झम्टाई देखावटी थियो । बिरालाहरूलाई थाहा थियो । त्यसैले देखावटी झम्टाई देखेर बिरालाहरू डराउँदैनथे । कहिलेकाहीँ बाघमाथि बिराला नै झम्टिन्थे । बरु बिरालाहरूको झम्टाई देखेर बाघ डराउँथ्यो । पञ्जा लुकाउँथ्यो । बिरालाका सामु बाघ निरिह देखिन्थ्यो । देखियो ।
देश पुरै चुनावमय भएको थियो । पुरै देशमा खाउ र घिचौँ पार्टीबीच महाभिडन्त हुने निश्चित थियो । तत्कालीन छाउ गा.वि.स.मा पनि खाउ र घिचौँ पार्टी बीच नै भिडन्त हुने पक्का थियो । अरुबेला खासै नदेखिने, अझ भनौँ पाहुना जस्तै लाग्ने घिचौँ पार्टीको तर्फबाट उम्मेदवार घोषणा भईसकेको थियो । घोषणा हुने उम्मेदवारको नाम थियो– दिल बहादुर ।
सरकारी सेवाको उपल्लो ओहोदाको कर्मचारी हो– दिल बहादुर । दिल बहादुरले सेवाबाट अवकाश लिएको केही महिना मात्रै भएको थियो । सेवामा रहँदा दिल बहादुरले फर्जी बिल बनाएर सेवाको नाममा ढेवा राम्रै कमाएको छ भन्ने हल्ला थियो । हल्ला– हल्लाका लागि हल्ला मात्रै थियो या हल्लामा सत्यता पनि थियो । त्यो त कि दिल जानोस्, कि बिल जानोस् । कि ढेवा लिएर सेवा दिने जानोस्, कि सेवा लिएर ढेवा दिने जानोस् । जे होस् अवकाश पछिको समय राजनीतिमा लगाउँने सोचेर ऊ राजनीतिमा आयो ।
राजनीतिमा आउँन जो कसैलाई छुट छ । बीस वर्षको युवा आउँन सक्छ । आउँन सक्छ पचास वर्षको प्रौढ पनि । शिक्षक आउँन सक्छ । विद्यार्थी आउँन सक्छ । पत्रकार आउँन सक्छ । अलपत्रकार आउँन सक्छ । आउँन सक्छ वकिल पनि । बढेको आउँन सक्छ । नबढेको आउँन सक्छ । पढेको आउँन सक्छ । न पढेको आउँन सक्छ । न कसैलाई कुनै सीमा छ । न कसैलाई कुनै बन्धन छ । स्वतन्त्र छन् र आउँन सक्छन् जो कोही– राजनीतिमा । मन परेको पार्टीमा । भन्न त सबैले राजनीति सेवा भन्छनस् । तर गर्छन व्यवसाय, अपवाद बाहेक । दिल बहादुर पनि राजनीतिमा, राजनीति सेवा ठानेर आयो या व्यवसाय । त्यो त हेर्न बाँकी नै थियो । हेर्न बाँकी हुँदाहुँदै यही गर्न हो भन्नु पनि हतार हुन्थ्यो । नचिनी नजानी कसैको बारेमा पहिले अवधारणा बनाई हाल्नु पनि गलत हुन्थ्यो । खैर ! घिचौँ पार्टीको तर्फबाट दिल बहादुरको नाम घोषणा भइसकेको थियो । दिल बहादुरले टिकट पाएको थियो । खाउ पार्टीको तर्फबाट घोषणा हुन बाँकी थियो । टिकट कसले पाउँछ हेर्न बाँकी नै थियो ।
घुम्दै फिर्दै रुम्जाटार भनेझैँ, खाउ पार्टीको तर्फबाट वडाध्यक्षको टिकट शिव बहादुरकै हातमा आयो । नहनु मामा भन्दा कानो मामा नै बेस भनेझैँ, थोरै राहतको उच्छवास तान्यो । टिकट शिव बहादुरकै हातमा किन आयो त ? किन अरु महत्वाकांक्षीले टिकट पाएनन् ? प्रश्नहरु खडा भएका थिए । खडा भएका प्रश्नहरुलाई ढाल्ने हिम्मत उत्तरमा थियो । तर उत्तर दिने कसले ? फेरी प्रश्न खडा भएको थियो । यसरी खडा भएका प्रश्नहरुको उत्तर समयले नै दिँदो रहेछ । सत्य त सत्य नै हुन्छ । यर्थाथ त यर्थाथ नै हुन्छ ।
जतिसुकै झुट लेप लगाए पनि, एकदिन न एकदिन त झुट नाङ्गिन्छ नै । यर्थाथ बाहिरिन्छ नै । भयो त्यस्तै– पहिला ‘क’ भन्ने व्यक्तिको हातमा टिकट पुगेछ । ‘क’ भन्ने व्यक्तिले चुनाव प्रचार–प्रसार लगायत अन्य कार्यमा पाँच लाख भन्दा बढी खर्च गर्न नसक्ने भएछ । पाँच लाखले त चुनाव जित्न नसक्ने निष्कर्ष निस्किएछ । त्यसपछि ‘ख’ भन्ने व्यक्तिको हातमा टिकट पुगेछ । ‘ख’ भन्ने व्यक्तिले पनि सात–आठ भन्दा बढी खर्च थाम्न नसक्ने भएछ । त्यतिले पनि चुनाव जित्न नसकिने निचोड निस्किएछ । त्यसपछि जति भन्यो त्यति खर्च धान्न सक्ने व्यक्तिको खोजी सुरु भएछ । वर्षौँदेखि सेवाको नाममा ‘राजनीति’ नामको व्यापार गर्दै आएको शिव बहादुरको नाम आएछ । यसरी शिव बहादुरको हातमा टिकट पुगेको रहेछ ।
एउटा उपल्लो ओहोदाको अवकाश प्राप्त सरकारी कर्मचारी । अर्को वर्षौँदेखि सेवाको आडमा ‘राजनीति’ नामको व्यापार गर्दै आएको राजनैतिक व्यापारी । दुबै पैसावाला । पैसाको खोलो बग्दै थियो । बग्नेवाला थियो । क्षमता र योग्यता भएपनि, पैसा नहुने व्यक्ति चुनाव लड्न सक्ने अवस्था थिएन । क्षमता र योग्यतालाई धोती लगाएर पैसामय हुँदै थियो, चुनाव । हुनुपर्ने क्षमता र योग्यताको लडाँई हो । बोक्नुपर्ने र उठान गर्नुपर्ने– दिगो विकास र जनतासँग सरोकारका विषय हुन् । तर ति सबै गौण थिए । पैसा प्रधान थियो । पैसा भएपछि चुनाव जित्न सकिन्छ भन्ने भ्रम थियो । केही हदसम्म सत्य पनि थियो त्यो । पैसामा बिक्न तयार हुने मतदाता भएपछि ।
दिन दोगुणा रात चौगुणा चुनावको सगर्मी बढ्यो । आफ्ना–आफ्ना पार्टीका उम्मेदारलाई जिताउँन आग्रह गर्दै पर्चा बाँडियो । पम्पप्लेट टाँसियो । चुनाव चिन्ह अंकित टिसर्ट र क्याप बाँडियो । माइकिङ गरियो । फरक–फरक दिन, फरक–फरक समय र फरक–फरक गाउँमा घरदैलो कार्यक्रम गर्दै हिँडे । घर–घर पुगे । नमस्कार गरे । “भोट मलाई दिनुस्, म विकासको मूल फुटाईदिन्चु । घर–घरमा धारा जोड्दिन्चु । आँगन–आँगनमा सडक छोड्दिन्चु ।
कृषिमा क्रान्ति गर्चु, युबामा जोश भर्चु । बाआमाको भत्ता बढ्च, मुंगी र मुल्यवृद्धि शुन्यमा झर्च । समय सापेछे शिछ्या हुन्च, हाम्रो पाटी जस्तो राम्रो अरु पाटी कुन छ ?”– शिव बहादुर भन्थ्यो । आफूलाई भोट दिन अनुनय विनय गथ्र्यो, जान्थ्यो । दिल बहादुर आउँथ्यो, त्यसै भन्थ्यो । आफूलाई भोट दिन अनुनय विनय गथ्र्यो, जान्थ्यो । तर जनतालाई थाहा थियो– यिनीहरुका बोली पुरा हुनु र आकाश तारा गुलेलीले खसाल्छु भन्नु एउटै हो । सुन्दा मिठा । तर दुवै असम्भव । खैर, जे होस्, अरुबेला देख्न र भेट्न मुस्किल पर्ने नेतालाई, यो बेला भने मज्जैले देख्न र भेट्न पाईँन्थ्यो । हार्छु कि भन्ने भयले मुहारमा कुँदिएका कारुणिक चित्रहरुलाई मज्जैले पढेर, अनुभूत गर्न सकिन्थ्यो ।
तत्कालीन छाउ गा.वि.स.मा थुप्रै पार्टी भए पनि मुख्य ठुला दुई पार्टी देखिए । खाऊ र घिचौँ पार्टी । ठुलो रुखको अघि सानो विरुवा ओझेमा परेझैँ, ठुला पार्टीका अघि साना पार्टी ओझेलमा परे । नेता ओझेलमा परे । ओझेलमा पर्दापर्दै पनि आक्कलझुक्कल मेरो पार्टी यो, मेरो चुनाव चिन्ह यो ।
यसमा यसरी हजुरको एक भोट मलाई है हजुर भन्दै गरेका पनि देखिन्थे, भेटिन्थे । फाट्टफुट्ट माइकिङ गरेको पनि सुनिन्थ्यो, देखिन्थ्यो । तर त्यो सब उजाल्योमा दियो बालेजस्तै हुन्थ्यो । दियोेको प्रकाशलाई सूर्यको प्रकाशले क्वाप्लक्क निल्थ्यो । दियाको प्रकाश कहाँ लुप्त हुन्थ्यो, हुन्थ्यो । कसैलाई थाहा पत्तै हुन्नथ्यो । एकाध बाहेक ।
दुवैले चुनावी प्रचार–प्रसार तिव्र पारे । दुवैले गाउँ–गाउँमा खसी काटे । बोका ढाले । भोजभतेर गरे । नाचगान गरे । हेर्दा यस्तो लाग्थ्यो– बिहे भोज हुँदैछ । गाउँ पुरै, वडा पुरै दुई पार्टीमा विभक्त भयो । गाउँ र वडा मात्र हैन, एउटै घर पनि दुई पार्टीमा विभक्त भएको स्पष्ट देख्न सकिन्थ्यो । लोग्ने खाउ पार्टीलाई भोट दिनुपर्छ भन्थ्यो । स्वास्नी यस पटक त घिचौँ पार्टीलाई दिनी हो भन्थी । स्वास्नीलाई सम्झाउँदै लोग्ने भन्थ्यो– “हेर ! बुढी भोट त खाउ पाटीलाई नै दिनुपर्च, भोट त शिब् बादुरलाई नै दिनुपर्च । जहिलेदेखिन् भोट हाल्न थाल्यो, यई खाउ पाटीमै हाल्यो । अब यो बुडेस्कालाँ आर पाटी फेर्ने कुरा नगर् । हेर् त पोहोर तेरो नागरिता बनाउँदा खै रु के जाति नमिलेर कत्रो हैरानी, कति सयोग गरे शिब् बादुर्ले ।
छोरालाई जागिर ख्वाउँदा नि भन्सुन् गर्देर सयोग गरेकै हुन्, गुन् नबिर्सि ।” “ब्यक्तिगत रुपाँ त सयोग गरेकै हुन् । तर गाउँका लाई, वडाका लाई र देशका लाई के गरेर खै ? त्यै एउटालाई भोट देर त मात्यो नि । त्यै एउटालाई जितार त मात्यो नि । केई नगरे नि दिहाल्चन् भन्च, केई गर्दैन । के नापो र यत्रो बर्ख जितार ? तपाईँ जोसुक्रै लाई दिनुस्, म त यसपाला घिचौँ पाटीलाई नै दिनी हो । दिल् बादुर्लाई नै दिनी हो । मान्छे नि भक्र्खरको छ रे, केई गरि पो हाल्च कि रु”– चेतनााको एक सिँढी माथि उक्लेर बुढोतिर हेर्दै बुढी भन्थी ।
“ईस् ’ नापो ।”– बुढो रिसले मुर्मुरिँर्दै घरबाट निस्कन्थ्यो, चुनावी प्रचारमा । छोरा–बुहारी, भाइ–भतिजा, काका–काकी, मामा–भान्जा, साला–भिनाजुको फलानोलाई भोट दिनु पर्छ । फलानोलाई जिताउँनु पर्छ भन्ने आ–आफ्नै तर्क र अडान हुन्थ्यो । रानी मौरीलाई घेर्न, कर्मी मौरी एकमत भएझैँ, एउटैलाई भोट दिने कुरामा कसै–कसैको घरमा मात्र एकमत भएको देखिन्थ्यो, भेटिन्थ्योे । कसै–कसैको घरमा त पानी बाराबारकोे स्थिति समेत देखियो । माख्ला घरे माइलो तल्ला घरे साइँलोसँग नबोल्ने भो । पल्ला घरे हर्के वल्ला घरे बिर्खेसँग ठुस्क्यो । छुट्टेर बसे पनि तेह्र दिने साख्य दाजुभाई हुन– घने र धने ।
अघिपछि बाटामा भेट हुँदा घर–परिवार, केटाकेटीको सन्चो बिसन्चो सोधखोज हुन्थ्यो । सुख–दुःख का कुरा हुन्थे । आपसमा आत्मियता साटिन्थ्यो, साटासाट हुन्थ्यो । गाउँमा चुनाव पसेपछि फरक व्यक्ति र फरक पार्टीमा आस्था राख्ने यी दुई अब बाटामा भेट हुँदा नदेखेझैँ गर्न थाले । देखि हाले र आँखा जुधि हाले पनि, आँखा तर्दै, गर्दन फुलाएर हिड्न थाले । एउटै पानी पँधेरो र सँगै मेलापात गर्ने मिना र बिना ठुस्किन थाले । कमली र मखमलीको बोलचालै बन्द भो । हिरा र मिराले त कपाल लुछालुछै गरे । माने र साने पार्टीका लागि साढेँझैँ जुधे । पार्टीका लागि काट्न तयार भए । काटिन तयार भए । मिठा, न्याना र आत्मिय सम्बन्धहरु, पार्टी र चुनावकै कारण चिसा र रुखा भए ।
मान्छेलाई मात्र कहाँ हो र ? ढुङ्गा र रुखलाई पनि चुनाव लागेझैँ भान हुन्थ्यो । एउटा ढुङ्गो खाऊ पार्टीको पम्पप्लेट छातीमा टाँसेर, खाऊ पार्टीका लागि भोट मागिरहेको हुन्थ्यो भने छेउकै अर्को ढुङ्गो घिचौँ पार्टीको पम्पप्लेट छातीमा धस्काएर घिचौँ पार्टीका लागि भोट मागिरहेको भेटिन्थ्यो । ढुङ्गाजस्तै रुख पनि आफ्नो शरीरमा पर्चा, पम्पप्लेट टाँसेर, आफ्ना हातहरुमा व्यानर फर्फराउँदै एक–अर्को पार्टीलाई भोट मागिरहेका देखिन्थे, भेटिन्थे । मान्छे त पार्टी–पार्टीमा विभक्त थिए नै । यस्तो लाग्थ्यो– ढुङ्गा र रुख पनि पार्टी–पार्टीमा विभक्त छन् । ‘तेरो पार्टीभन्दा मेरो पार्टी राम्रो, जित हुन्छ पक्कै हाम्रो ।’ एक ढुङ्गोले अर्को ढुङ्गालाई र एक रुखले अर्को रुखलाई भनिरहेझैँ प्रतित हुन्थ्यो । चराहरु पनि पार्टी–पार्टीका नारा बोक्दै हावामा तैरिरहेझैँ लाग्थे । हावा पनि पार्टी–पार्टीका नारा जप्दै उडिरहेझैँ लाग्थ्यो । नदी पनि पार्टी–पार्टीका नारा सुसाउँदै कुदिरहेझैँ लाग्थ्यो ।
गाऊँ, वडा, जिल्ला, प्रदेश र पुरै देश चुनावमय भयो । फलानो वडामा फलानोको जित, फलानो वडामा फलानोको जित । तिलानो वडामा तिलानोको जित भनेको सुनिन्थ्यो । झुण्ड–झुण्डमा कुरा गर्दै गरेको देखिन्थ्यो, भेटिन्थ्यो । तर मतदान भएर मत गणना नभएसम्म जित कस्को हुन्छ ? हार कस्को हुन्छ ? को माथि पर्छ ? को तल पर्छ ? कहाँ को हिरो हुन्छ ? कहाँ को जिरो हुन्छ ? निश्चिन्त भएर भन्न सक्ने अवस्था थिएन । एकछिन अघि सम्म एउटालाई भोट दिन्छु भनेको व्यक्ति, एकछिन पछि अर्कोलाई भोट दिने भई सकेको हुन्थ्यो । एकछिन अघि सम्म घिचौँ पार्टीलाई भोट दिन्छु भनेको व्यक्ति, एकछिन पछि खाऊ पार्टीमा गई सकेको हुन्थ्यो ।
नोटले भोट तान्थ्यो । भोटले नोट तान्थ्यो । हेर्दा र देख्दा नोट र भोटमा तानाताना देखिए पनि, नोट र भोटमा गज्जबको मित्रता थियो । नोट र भोट एकान्तमा भेट्थे । खासखुस कुरा गर्थे । नोटले भोटको मर्का सुन्थ्यो । भोटले नोटको पीडा बुझ्थ्यो । मर्का सुन्ने र पीडा बुझ्ने नोट र भोटले, एक–अर्कोलाई खोट देखाएर चोट पुर्याउँने कुरै भएन ।
छाउ वडामा पनि नोटले भोट र भोटले नोट तानेको कुरा चर्चामा थियो । नोट र भोटको चर्चा भएपछि शिव बहादुर र दिल बहादुरको पनि चर्चा हुने नै भयो । दुवै चर्चामा थिए । शिव बहादुरको जित हुन्छ कि दिल बहादुरको ? यसै हो भन्ने सक्ने अवस्था थिएन । कोही भन्थे– शिव बहादुरको एकाधिकार कायमै रहन्छ । कोही भन्थे– शिव बहादुरको एकाधिकार तोडिन्छ । छाऊ गा.वि.स. नगरपालिकाभित्र परेर, नगरपालिका भित्रका वडाहरुको सीमाङ्कन हुँदा साविकको छाऊ गा।वि।स।केही खुम्चिएर सानो भएको थियो ।
ठूलो गा.वि.स.को ठूलो मान्छे शिव बहादुरलाई सानो वडा जित्न कुनै महाभारी नहुनु पर्ने हो । उसको उपस्थितिले मात्र पनि, उसको पल्ला भारी हुनु पर्ने हो । तर सधैँ परिस्थिति त्यस्तो नहुँदो रहेछ, जनतामा चेतनाको बिज रोपिएपछि । सही–गलत छुट्याउँन सक्ने चेतनाको द्वार खुलेपछि । गा.वि.स. खुम्चिएर वडा भयोे । गा.वि.स. मात्रै खुम्चेन, एक हिसाबले शिव बहादुर पनि खुम्चियो । झन् कडा टक्कर हुने देखिएपछि, झन् खुम्चियो । खुम्चिएको मनले सोच्यो– हिजो जनतालाई बाँडेका आश्वासन, पुरा नगरेका प्रतिवद्धता, दिगो विकासमा नदिएको ध्यान आदी, आदी….।
जुनबेला घैँटोमा घाम लाग्नुपर्ने हो, त्यो बेला लाग्दैन घैँटोमा घाम । जितको अहम् र घमण्डले ढपक्क ढाकिदिन्छ, चेतनाको बिर्को । राजनीतिमा प्रायः यस्तै देखिन्छ । चुनाव आउँछ, गाउँ जान्छन् । आश्वासन बाँड्छन, सपना देखाउँछन् । चुनाव जित्छन्, गाउँ फर्किदैँनन् ।
हिजो आशा लिएर उदाएको कलिलो घाम, दिन ढल्किएसँगै निराशामा बूढो हुन्छ । क्षितिजमा बिलाउँछ र ग्वाम्ल्वाङ्ग कालो बर्को ओढाइदिन्छ, अविकाशको गाउँ–बस्तीलाई । तिनै अविकसित गाउँ–बस्तीका उकाली–ओरालीमा ओहोर–दोहोर गरिरहन्छन्, सयौँ जिन्दगीहरु । विकासको मुलायम स्पर्शको आशमा । तर अँह, पाउँदैनन् वर्षौँसम्म अनुभूत गर्न– विकाशको मुलायम स्पर्श । बरु उल्टै निल काँढालेझैँ घोचिदिन्छन्, पानी नआउँने धाराहरुले । खिस्याईरहेझैँ लाग्छ, पानी नबोक्ने कूलाहरूले । शूल बढाईदिन्छन्, गाडी नबोक्ने बाटाहरुले । समयकै व्याख्यान छाट्छन्, समय नपढाउँने स्कूलहरुले । जीवनकै बचाऊ गर्छन्, औषधी नपाइँने स्वास्थ्य चौकीहरुले । र पनि फेरी, बाँच्नुको नाममा बाँचिरहन्छन्, सयौँ जिन्दगीहरु । अविकासले कालो बर्को ओढाएको गाउँ–बस्तीमा । ओहोर–दोहोर गरिरहन्छन्, तिनै उकाली–ओरालीहरूमा ।
समयले वेग हान्यो । चुनावको दिन आयो । बिहानैदेखि परिवेश पुरै खुल्यो । सगरमा बादलको धस्रोसम्म देखिएन । देखियो– नीलो सागरजस्तै नीलो सगर । सगरमा त बादलको धस्रोसम्म पनि देखिएन । तर दुई प्रतिस्पर्धी शिव बहादुर र दिल बहादुरको मुहारको सगरमा भने बादलको पहाडै देखियो । हेर्दा यस्तो लाग्थ्यो, सगरको बादल सप्पै शिव बहादुर र दिल बहादुरको मुहारमा टाँसिएझैँ । धुम्म,कालो । पानीसरी द्रव्य बगेपछि पीडाको चाप र रापले मनको नभमा ठोक्किएर उठेको, यो बादल हत्तपत्त हटि हाल्ने खालको पनि थिएन । मतगणना भएर नतिजा नआएसम्म । नतिजा आएपछि पनि एउटाको मुहार खुशीको घामले उज्यालिन्थ्यो भने अर्काको मुहारमा झन् घना बादल थपिएर, वर्षातै पनि हुन सक्थ्यो । खैर ! जे होस्, मतदाता आए । स्वतन्त्र र स्वस्फूर्त रुपमा मतदान गरे । मतदान सकियो । कडा सुरक्षा दिएर मतपेटिकाहरु सदरमुकाम लगिए ।
मतगणना सुरु भयो । गणित मतको बेला–बेलामा माइकिङ गरेर जानकारी दिइन्थ्यो । कहिले शिव बहादुर माथि पर्थ्यो, दिल बहादुर तल । कहिले दिल बहादुर माथि पथ्र्यो, शिव बहादुर तल । गणित मतको परिणाम हेर्दा, यस्तो लाग्थ्यो– दुई जना बच्चाहरू ढीकी च्याउँ खेल्दै छन् । मत गणनाको खेल बडो रोमाञ्चक ढङ्गबाट अगाडी नै रह्यो । खेल शिव बहादुरको पक्षमा आउँदा, शिव बहादुरका समर्थक खुशीले उफ्रिन्थे । दिल बहादुरका समर्थक जिल्लिन्थे । खेल दिल बहादुरको पक्षमा आउँदा, दिल बहादुरका समर्थक खुशीले नाच्थे । शिव बहादुरका समर्थक निल्लिन्थे । पालैपालो उफ्रिने र नाच्ने, जिल्लिने र निल्लिने क्रम चलिरह्यो ।
भूतमा गरेका कार्यले वर्तमानको निर्माण गर्दछ र वर्तमानमा गरेका कार्यले भविष्यको । सामान्यतया यसैको पेरीफेरीमा घुमिरहन्छ, मान्छेको उन्नति र अवनति । तर राजनीतिमा यो नियम लागू नहुने रहेछ । अन्ततः मतको परिणाम आउँनु थियो र आयो । झिनो मत अन्तरले जित शिव बहादुरकै भयो ।
जितको खुशीयालीमा फेरी एकपटक नाचे, गाए, खाए, रमाए ।
दिन, हप्ता, महिना गर्दै वर्षहरू बिते । जसै दिन, हप्ता, महिना गर्दै वर्षहरू बिते । तसै, हिजो आशाको शीतले बौरिएका आशाहरू, क्रमशः निराशाको तुषारोले पुरिँदै गए । हिजो प्रत्येक घर–घर र बस्ती–बस्तीमा आशा लिएर उदाएको कलिलो घाम, दिन ढल्किएसँगै बूढो भयो । बुढो भएको घामले घर–घर र बस्ती–बस्तीमा आशाका न्याना किरणहरू छर्न सकेन । र पनि फेरी, प….र क्षितिजबाट आशाको कलिलो घाम उदाएर, आशाका न्याना किरणहरु आईपुग्ने आशामा, आशा लिएर बाँचिरहेछन्, छाउबासी । छाउबासी जस्तै सारा देशबासी।
प्रतिक्रिया
-
४
