✍️ रविन्द्र बुढाथोकी

पठाउँनेले पठाईदियो। पाउँनेले के सोच्ला ? पठाउँनेले सोचेन। थोरै समय सोच्दो हो त सायद पठाउँने थिएन। अथवा पठाउँथ्यो। सोचेर पठायो। अथवा नसोची पठायो। सोचेर होस् या नसोची होस्,जे होस् उसले पठायो। मैलेँ पाएँ।
~×~×~×~×~×~×~×~×~
शनिबारको दिन फुर्सदको दिन। त्यसैमाथि परीक्षा सकेर बसेको फुर्सदिलो समय। मोबाईलको डाटा अन गरेँ। एकछिन कनेक्टिङ भन्यो र कनेक्ट भयो। टुङ्टुङ। म्यासेन्जरमा म्यासेज यसरी आए,जसरी आउँछ्न् बिरामी बोकेर एम्बुलेन्स। हार मिलाए जसरी चार वटा म्यासेज लहरै देखिए। पहिलो म्यासेज थियो- जीवनको। जीवन, मेरो स्कुले साथी। भेट्दा हाई,हेलो बाहेक खासै बोलचाल हुन्थेन। फेसबुकमा जोडिएपछि भने म्यासेज गरिरहन्थ्यो,म्यासेन्जरमा। भन्थ्यो- “तिमी राम्री छ्यौ,मलाई तिमी मन पर्च।” यस्तो लेखेर पठाउँदा,छेउमा पानको पात पनि झुन्ड्याएको हुन्थ्यो।

‘ए हो,धन्यवाद।’ औपचारिकता पूरा गर्थेँ। जीवन मलाई म्यासेज गर्थ्यो। म प्रवेशलाई म्यासेज गर्थेँ। जीवन मलाई मन पराउँथ्यो। म प्रवेशलाई मन पराउँथे। म जीवनलाई वास्तै गर्दिनथेँ। प्रवेश मलाई वास्तै गर्दैनथ्यो। ‘ए हो,ठिक छ।’ आदिले औपचारिकता पूरा गर्थेँ। प्रवेश त्यसै गर्थ्यो। रिस उठ्थ्यो। अब त मरेँ नि म्यासेज गर्दिन। बाचा गर्थेँ। तर जब डाटा अन गर्थेँ,तब प्रवेशलाई म्यासेज गर्न औँलाहरु सल्बलाउँथे। बाचाहरु तोडिन्थे,पटकपटक। सायद जीवन पनि त्यसै गर्थ्यो होला। म अनुमान लगाउँथे। न मैले प्रवेशलाई म्यासेज गर्न छोडेँ। न जीवनले मलाई म्यासेज गर्न छोड्यो। आज पनि आएको थियो। जीवन कार्की सेन्ट म्यासेज। थिचेँ। लेखेको थियो- “कतै भेटौँन,धेरै भो नदेखेको। नभेटेको।” मलाई देख्नु थिएन। मलाई भेट्नु थिएन। ‘किन देख्नु ? किन भेट्नु ?’ लेख्न सक्थेँ। लेखिँन। चित्त दुखाउँन चाहिँन। ‘फुर्सद नै छैन।’ लेखेर पठाएँ। फुर्सद नै छैन लेख्दै गर्दा आफैँलाई भनिरहेथेँ-‘ कति न बिजि भएजस्तो।’

बिरामीले अस्पतालमा डाक्टरको पालो कुरे जसरी अरु म्यासेज मलाई कुरिरहेका थिए। मानौँ,म्यासेन्जर अस्पताल हो। म डाक्टर हुँ र म्यासेज बिरामी। लाइनको पहिलो बिरामी बोलाएँ। चेकजाँच गरेँ। रोग पत्ता लगाएँ। औषधि लेखेँ र पठाएँ। दोस्रो बिरामी कुरिरहेको थियो। बोलाउँनु थियो। चेकजाँच गर्नु थियो। रोग पत्ता लगाउँनु थियो। औषधि लेखिदिनु थियो र पठाउँनु थियो। हेरेँ,तिन्टैलाई। नियालेँ तिन्टैलाई। पालैपालो। म्यासेन्जर अस्पताल। म डाक्टर। म्यासेज बिरामी। हैट,यस्तो पनि हुन्छ। हाँसो लाग्यो। आफैँलाई आफ्नै कल्पनामा।

‘kD सेन्ट फोटो’ यो तेस्रो लहरमा थियो। यसर्थ यो तेस्रो म्यासेज थियो। पालो मिचिदिएँ,दोस्रोको। फोटोले तान्यो मेरो ध्यान। पालो दिएँ तेस्रोलाई। कुनै वस्तु वा मान्छेलाई देख्नु वा भेट्नु पुर्व मान्छेले कल्पना गरेर जुन किसिमको चित्र कोर्छ,बनाउँछ वा अनुमान लगाउँछ। मैले पनि त्यस्तै कल्पना गरेँ। चित्र बनाएँ। अनुमान लगाएँ। मेरो कल्पनामा आए,गणितका सुत्रहरुको फोटो। कुनै अफ्ठेरो हिसाब सल्ब गरेको फोटो। सोच्दै,कल्पदैँ र अनुमान लगाउँदै फोटोमा थिचेँ। ढोकामा ढकढक गरेको केही सेकेन्डपछि भित्रबाट ढोका खुले जसरी फोटोमा थिचेको केही सेकेन्डपछि मात्र फोटो खुल्यो। हेरेँ। न गणितका सुत्रहरुको फोटो थियो त्यहाँ। न कुनै अफ्ठेरो हिसाब सल्ब गरेको फोटो। त्यहाँ त एउटा अजिवको फोटो थियो। सोचेभन्दा भिन्न। कल्पना गरेभन्दा फरक। डाटा अफ गरेँ र हुर्याईदिएँ,मोबाइल खाटको कुनातिर।
~×~×~×~×~×~×~×~×~
न खानमा रुचि छ। न पढ्नमा रुचि छ। खान र पढ्नमा मात्र हो र ? रुचि त मेरो जीवनसँग पनि छैन। ‘उसो भा मर्दिउँ त ?’ ‘मर्न त एउटा मन भन्छ।’ ‘सक्चेस्’ अर्को मन भन्छ। ‘सक्छु’ सहसा फुत्किन्छ ओठबाट। “के सक्चु भन्चे यो ?” आमाको स्वर सुनिन्छ,करेसाबारीबाट। आमाको स्वर सुनिनु र म झस्किनु एकैचोटी हुन्छ। मानसिक द्वन्दमा सहसा फुत्किगएछ,सक्छु। फिस्स हाँस्छु। यस्तो हाँसो,जहाँ खुशीको मात्रा कम र दु:खको मात्रा ज्यादा छ। ‘अहो ! हाँसो यस्तो पनि हुन्छ ?’ आफैँलाई प्रश्न गर्छु। सबैको भागमा सुख र खुशीको हाँसो मात्र कहाँ पर्छ र ? आफ्नो भागमा परेको दु:ख र पीडाको हाँसो हाँस्नेहरु पनि त छ्न्। भलै त्यो हाँसोलाई देख्नेहरुले सुख र खुशीको हाँसो किन नदेखुन्। खैँ, कहाँबाट आए यी साहित्यकारले बोल्नेजस्ता साहित्यिक कुरा। अचम्म मान्छु। के म मीरा नै हो ? त्यही चन्चले मीरा ? हाँसिरहने मीरा ? बोलिरहने मीरा ? जिस्किरहने मीरा ? ‘हो,हो म मीरा नै हो।’ “हैन यो केटी किन एक्लै बर्बराउँचे आज।

दिउँसै सुत्या छ,नानाथारी सोच्या छ,बर्बराछ। आर यसो सगाए त हुन्त्यो। के भा हो अचेल,पईला त यस्ती थिन यो।” कुटोको टाकटुक आवाजसँगै,आमाको आवाज ढोकाबाट फुत्त भित्र छिरेर कानमा ठोक्किन आइपुग्छ्न। अल्छी मानी मानी आँखा खोल्छु। अँखा पनि यसरी खोल्छु,मानौँ म मस्त निन्द्रामा छु र भर्खरै कोहि आएर मलाई बोलाएर गएको छ। अरुबेला भए,आमाको वचन भुइँमा खस्न नपाउँदै आमासामु हाजिर हुन्थेँ तर आज शरीरमा जाँगर छैन। शरीरमाभन्दा बढ्ता त मनमा जाँगर छैन। देखिनलाई फुर्तिफार्तिलो र जाँगरिलो शरीर देखिए पनि फुर्तिफार्ती र जाँगर त मनबाट आउँदो रहेछ। मनै मरेपछी शरीरको के कुरा। शरीर त उसै मर्दो रहेछ। दुख्नबाट बचाउँनु पर्ने त मन रहेछ। दुख्नबाट जोगाउँनु पर्ने त मन रहेछ। तर मेरो त मनै दुखेको छ। दुखाउँनेले दुखाईदिन्छ,दुखाउँनेलाई के थाहा ? दुख्नेको पीडा।

ढोका पुरै खुलेको छ। झ्यालको एउटा पल्ला लागेको छ। अर्को भने खुल्लै छ। मुढोझैँ खाटमा पल्टेको छु। त्यही झ्याल र ढोकाको बाटो भएर बेलाबेला समीर जिस्किन आइपुग्छ। हिउँझैँ चिसो बोकेर। मेरो कोठासम्म। मेरो खाटसम्म। जिस्किन मन छैन,किन बुझ्दैन यो समीर ? मेरो इच्छा। मेरो चाहना। सायद मलाई मन हुनु र नहुनुसँग चासो लिदैँन। जसरी चासो लिदैँनन्,श्रीमानहरु श्रीमतीहरुको मन हुनु र नहुनुसँग। खेलाउँछ्न् मनलाग्दी। गिजोल्छ्न् नअघाउँन्जेल। समीरले पनि मलाई छोईरह्यो। चलाईरह्यो। इच्छाअनुसार। उसको मनलाग्दी छुवाईले चिसी हुन्छु। छेवैको सिरकमाथिको बल्याङ्केट तान्छु। फिँजाएर यसरी घुस्रीन्छु,जसरी घुस्रन्छ आमाको खोकिलामा बच्चा।

जुन कुरा दिमागबाट हटाउँछु भन्छु,त्यही कुरा दिमागमा आउँछ बारबार। जुन कुरा बिर्सिन्छु भन्छु,त्यही कुरा सम्झिन्छु बारबार। ऎठन होलाजस्तो हुन्छ। कोल्टे फेर्छु। शरीर खडेरीले खाएको मकैको बोटझैँ पुरै लल्याकलुलुक्क भएको छ।

आमा श्रममा प्रेम मिसाएर खन्याथिन्,करेसावारि र खेतबारीमा। खस्रा हातहरुले त्यसरी मुसार्थिन साग,काउली र बन्दाका बोटहरु। जसरी मुसार्थिन मलाई एउटा हात टाउकोमा राखेर अर्को हातले गाला। होशियारीपुर्वक चलाउँथिन कुटो र कोदालो। नलागोस् भनेर चोट,साग,काउली र बन्दाका बोटहरुमा। मलाई थाहा छ,आमाको माटोसँगको प्रेम। मकै,कोदो र धानका बोटहरुसँगको प्रेम। काली,घोर्ली र बथानीसँगको प्रेम। यी सबै-सबैसँगको प्रेम देखेकी छु। यी सबै-सबैसँग दु:ख साटेकी देखेकी छु। नदेखेको त बुबालाई गरेको प्रेम मात्र हो। नदेखेको त बुबासँग साटेको दु:ख मात्र हो।
हुन पनि मैले बुबाआमा सँगै बसेको कहिल्यै देखिँन।

सोच्थेँ,बुबा आमासँगै बसुन्। दु:ख सुख सँगै साटुन्। जीवनको बाटो सँगै काटुन्। आमाको काखमा लडिबुडी गर्न पाइयोस्। बुबाको औँलो समाएर हिड्न पाइयोस्। आमाको काखमा लडिबुडी गर्न पाए पनि,बुबाको औँलो समाएर हिड्न पाएकी थिइनँ। अब त त्यो उमेर पनि पार गरिसकेकी थिएँ। एकचोटी सोधेकी पनि थिएँ- ‘आमा ! बुबा खोई ? कहाँ हुनुहुन्छ ?’ खाउँलाझैँ गरि हेर्दै भनेकी थिइन्- “किन चाहियो त्यो मुर्दार,मरिसक्यो।” त्यसपछि बुबाको बारे सोध्ने आँट कहिल्यै गरिन। हिम्मत आएन। आमाले नभने पनि डाँडाघरे माइली आमाले भनेकि थिइन्- “बाबै,आमालाई दु:ख नदिनु। हाड घोटेर तँलाई हुर्काछे। पढाछे। के गर्नु बाबै काइँलोले मति बिगारिगो।” काइँलो अर्थात् मेरो बाउ। जो आमाले छोरो नजन्माईदिएकोमा दोस्रो बिहे गरेर शहर पसेका रहेछ्न्।

करेसाबारीबाट कुटाको टाकटुक आवाज आईरहेको छ। धाईरहेको छ,मधुरो भएर मेरो कोठासम्म। मेरो खाटसम्म। त्यसैमाथी थपिएर धाउँछ्न्,बेलाबेला आमाको गनगन र खाक्कखुक्क। धाउँन त KD सर पनि धाउँछ्न्। धामीले ढ्याङ्ग्रो ठोकेझैँ,दिमागमा ठोक्किँदै। KD सर। KD सर। प्रतिध्वनित हुन्छ यो नाम। एकबार होइन,हजार बार। सुन्ने म एक्लै। सुन्ने म मात्रै। चिथोरुँझैँ लाग्छ। कोपरुँझैँ लाग्छ। टोकुझैँ लाग्छ।

अझ लाग्न त खुकुरीले छिनाइदिउँझैँ पनि लाग्छ। टोकेँ। कोपरेँ। चिथोरेँ। त्यतिले नि चित्त बुझेन। रिस मरेन। बल्याङ्केट फालेँ। उठेँ। भान्सामा गएँ। खुकुरी झिकेँ। सटासट कोठामा आएँ। ढोका लगाएँ। झ्याल लगाएँ। बिस्तारामा पल्टिरहेको KD सरको गर्दन ताकेर खुकुरी के उझ्याएकी मात्रै थिएँ,आतिँदै उठेँ। झकाएछु। सपना देखेछु। सपना सत्य नहोस्। कामना गर्छु। हत्या गर्न विवश नहोउँ। हत्यारा बन्न बाध्य नहोउँ,चाहना यहि छ।
~×~×~×~×~×~×~×~×~
‘KD छोटकरी नाम। पूरा नाम केशरमान दहाल। यस श्री मा.वि.को गणित शिक्षक। आठ,नौ र दसमा गणित पढाउँछु।’ कक्षा नौ को पहिलो दिनको दोस्रो घण्टीमा कक्षाकोठामा प्रवेश गरेर हामीलाई बस-बस भनेपपछि,उहाँले आफ्नो परिचय दिनु भएको थियो। त्यसपछी हामी सबैले पालैपालो उठेर आफ्नो परिचय दिएका थियौँ।

मोटो नाक। ठुला आँखा।अगाडीको कपाल झरेर देखिएको तालु। हट्टाकट्टा ज्यान। साँढे पाँच फिट जतिको हाइट। गहुँगोरो ठूलो चेहरा। गुलाफका पत्रजस्ता राता ओठ। झुलुक्क हेर्दा गणित शिक्षकमा देखिने व्यक्तित्व यिनै थिए।

श्री मा.वि.मा आउँनुभन्दा अघि म श्री नि.मा.वि.सिक्रालमा पढ्थेँ। जहाँ कक्षा आठसम्म मात्र पढाई हुन्थ्यो। आठपछि कि पढाई छोड्नुपर्ने हुन्थ्यो। कि एक-डेढ घण्टा धाएर विद्यालय जानुपर्ने हुन्थ्यो। मा.वि.विद्यालय टाढा भएकै कारण धेरै साथीहरु पढाईबाट टाढिन्थे। केही पढ्न रहर नभएर टाढिँन्थे। केही परिवारको दबाबको कारण टाढिँन्थे। टाढिनेमा अधिकांश केटी साथीहरू नै हुन्थे। केटा साथीहरू त कि सदरमुकाम सारिन्थे। कि विद्यालय नजिकै डेरा बारिन्थे। सदरमुकाम नसारिने र विद्यालय नजिकै डेरा नबारिनेहरु घरबाटै एक डेढ घण्टाको बाटो धाउँथे पनि। मेरा सामु पनि दुई विकल्प थिए। कि पढाई छोड्नुपर्थ्यो। कि एक डेढ घण्टाको बाटो धाउँनुपर्थ्यो। पढाई छोड्ने त कुरै थिएन। मलाई पढ्नु थियो। आमाको सपना पूरा गर्नु थियो। भलै मलाई मेरो सपना थाहा थिएन होला। तर मेरी आमाको सपना थाहा थियो। आमाको सपना थियो- म छोरीलाई छोरो बनाउँने।

“यो मेरो छोरी होइन छोरो हो।” कपाल नि काट्दिन्थिन् छोटो बनाएर। मेरो छोटो कपाल देखेर साथीहरू भन्थे-‘कस्तो केटो जस्तो देखेकी।’ म खुशी हुन्थेँ। त्यसैत्यसै फुरुङ्ग पर्थेँ। आमालाई सम्झन्थेँ- ‘यो मेरो छोरी होइन छोरो हो।’ एउटा हातले मेरो पुक्क परेका गाला मुसार्दै,अर्को हातले आफुतिर तान्दै उर्मिला भाउजुसँग भन्थिँन्। म आमाको गलामा दुवै हातले साङ्गली बनाएर माला झुन्डिए जसरी झुन्डिन्थेँ। माला चुँडिएर भुँइमा छरिए जसरी म आमाको गलाबाट चुडिँन्थेँ र काखमा गएर छरिन्थेँ। आमा मलाई दुवै हातले अँगालेर सम्हाल्थिन्। यसो गर्दा आमाको मुख भने उर्मिला भाउजुसँग बोल्नमै व्यस्त हुन्थ्यो र बसेकी हुन्थिँन्।

म आमाको बुट्टे फरियाका बुट्टाहरुमा हराउँथेँ। रमाउँथेँ। फरिया रातो रङ्गको हुन्थ्यो। रातो रङ्गको भुइँ फूलजस्ता,पानका पातजस्ता आकर्षक बुट्टाहरुले भरिएको हुन्थ्यो। मलाई ती बुट्टाहरु मन पर्थे। आफ्ना साना हातहरुले छुन्थेँ। चलाउँथेँ। औँलाहरु लुकाउँथेँ। मुठी कस्थेँ। बुढी औँलो छेवैको औँलो बिस्तारै फुकाएर तीखो पार्थेँ। तीखो औँलोले फूलजस्ता,पानका पातजस्ता बुट्टाहरुमा छुन्थेँ। हैन घोच्थेँ। आमा हकार्थिन्- “के गर्छ यो ?” एकछिन चुप लाग्थेँ। आमा उर्मिला भाउजुसँग गफमा भुल्थिन्। म तिनै बुट्टाहरुमा भुल्थेँ। यी ती दिनका कुरा थिए,जतिबेला म तीन कक्षामा पढ्थेँ र दस वर्षकि थिएँ।
~×~×~×~×~×~×~×~×~
KD सर गणित विषयको राम्रो शिक्षकमा गनिनु हुन्थ्यो। पढाउँने सबै शिक्षकको आ-आफ्नै तरिका हुन्छ्न्। आ-आफ्नै शैली हुन्छ्न्। शैली भनौँ या तरिका उहाँको पनि आफ्नै थियो। पहिलो घण्टी सामाजिक विषयको थियो। सामाजिक पढ्थ्यौँ। पढ्थ्यौँ मात्र होइन हेर्थ्यौँ पनि। सामाजिक शिक्षकका असामाजिक क्रियाकलाप। अँ हो,असामाजिक क्रियाकलाप। उहाँ आफ्नो गोप्य अंग बारबार निमोठेजस्तो गर्नुहुन्थ्यो। त्यसो गर्दा ब्ल्याकबोर्डमा लेख्दा हातमा लागेको चकको धुलो पाइन्टमा टाँसिन्थ्यो र सेतै हुन्थ्यो।

केटाहरु सरले थाहा नपाउँने गरि खासखुस गर्थे र हाँस्थे। उनिहरुको हाँसो हामीतिरै लक्षित हुन्थ्यो। हामी थाहा पाएर पनि थाहा नपाएजस्तो गर्थ्यौँ र अन्तै हेर्थ्यौँ। सामाजिक विषयको पढाइ र असामाजिक क्रियाकलापको हेराईपछी,दोस्रो घण्टी सुरु हुन्थ्यो। जुन घण्टी गणित विषयको थियो। KD सर आउँनुहुन्थ्यो। हामी ‘गुर्डमर्निङ्ग’ सर भन्दै उठ्थ्यौँ। उहाँ बसबस भन्नुहुन्थ्यो र हामी बस्थ्यौँ। चक र डस्टर मात्रै बोकेर आउँनु भएका सर हामीमध्येबाटै एउटा किताब माग्नुहुन्थ्यो र पाठ अगाडी बढाउँनुहुन्थ्यो।

पहिला केही हिसावहरु उदाहरण स्वरूप ब्ल्याकबोर्डमा गरेर देखाउँहुन्थ्यो। बुझाउँहुन्थ्यो। हामी पनि कापीमा सार्थ्यौँ र बुझ्ने उपक्रममा लाग्थ्यौँ। सार्ने र बुझ्ने क्रम सकिएपछि सुरु हुन्थ्यो,सरले भनेको हिसाब गरेर देखाउँने क्रम। “३.१.को च को गरेर देखाओ त।”- उहाँ आदेश दिनुहुन्थ्यो। ‘हस्’ भन्दै हामी अदेश पालना गर्नतिर लाग्थ्यौँ। पहिला गरिसक्ने कराउँथ्यो-‘सक्यो सर।’ सरले हेर्नुहुन्थ्यो। सक्नेले पालैपालो देखाउँथे।

नसक्नेलाई अझ भनौँ नजान्नेलाई कापीमै लेखेर सिकाउँनुहुन्थ्यो। बुझाउँनुहुन्थ्यो। यसरी सिकाउँने,बुझाउँने क्रममा कलम कापीमा रगडिरहेको हुन्थ्यो त कुहिनो स्तनमा। केटालाई सिकाउँदा त्यही कुहिनाले केटाको छातीमा छुन्थेन। तर केटीलाई सिकाउँदा भने स्तन छुन आईपुग्थ्यो। सरको ध्यान हिसाबमा हुन्थ्यो या हाम्रो स्तनमा ? त्यो त हामी भन्न सक्दैनौँ। तर हाम्रो ध्यान भने हिसाब सिक्नमै हुन्थ्यो। बुझ्नु थियो। सिक्नु थियो। त्यसैले त्यो छुवाईले असहज भए पनि बुझ्ने कोसिस गर्थ्यौँ।

कक्षा नौ को परीक्षा सक्किएर नतिजा आईसकेको थियो। केही साथीहरु नौ मै छुटेपनि धेरै जसो दशमा पुगेका थियौँ। दशमा पुग्नु भनेको पढाईको भार झन थपिनु हो। दशलाई यसरी बुझिन्थ्यो र यसरी बुझाइन्थ्यो कि फलामे ढोका भएको कक्षा हो। जसलाई तोड्न,जो कसैले सक्दैन। विद्यालयको बुझाई पनि त्यही थियो र अतिरिक्त कक्षाको व्यवस्था गरिएको थियो। जसमा गणित,विज्ञान र अङ्ग्रेजी विषय पर्थे। विज्ञान र अङ्ग्रेजीको थप कक्षाको थप पढाइ हुँदा थप खुशी थियौँ। तर गणित विषयको थप कक्षाको थप पढाईले थप चिन्ता थपेको थियो। पढ्न नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो। तर लागेर के गर्नु पढ्नै पर्थ्यो र पढ्थ्यौँ।

शनै-शनै समय ढल्दै गयो। परीक्षा आयो। गयो। परीक्षा सकेर बसेको त्यो एकदिन KD सरको म्यासेज आएको थियो। म्यासेज त पहिला पनि आउँथे। ‘राम्रोसँग पढ। नजानेको सोध। यसको सुत्र यो हो। यो हिसाब यसरी गर्नुपर्छ। कहिले सुत्रहरुको फोटो आउँथ्यो त कहिले अफ्ठ्यारो हिसाब सल्ब गरेको फोटो।’ म सोच्थेँ- ‘बुबाको माया यस्तै हुँदो हो। बुबा साथमा भएको भए यसैगरी माया गर्नुहुन्थ्यो होला। यसैगरी सम्झाउँनुहुन्थ्यो होला।’ बुबाको माया अनुभव गर्न नपाएकी म कल्पनामा हराउँथेँ। त्यो दिन पनि कल्पनामा हराउँदै,सोच्दै फोटोमा थिचेँ। फोटोमा थिचेको केही सेकेन्डपछि मात्र फोटो खुल्यो। हेरेँ। फोटोमा थिए,एक पुरुष र एक महिला। महिला थोरै झुकेकी थिई। ठिक पछि उभिएको थियो एक अधबैंसे पुरुष। जहाँ दुबै थिए,सर्वाङ्ग नाङ्गा।
टेकेको जमिन भासियो। भगवान राक्षस बन्यो। सम्मानको धरहरा ढल्यो।

दिन फेरिए,हप्ता फेरिए,महिना फेरिए र फेरिए वर्षहरु। दिन,हप्ता,महिना र वर्षहरु मात्र फेरिएनन्। दिन,हप्ता,महिना र वर्षहरुसँगै म पनि फेरिएँ। फेरिएका यी वर्षहरुमा उच्च शिक्षा अध्ययनसँगै बिस्तार हुँदै गएको मेरो चेतनाले यो बुझ्यो कि- एक थान स्त्री अङ्ग लिएर जन्मिएकै कारण अधिकांश नारीहरुले आफ्नो जीवनको कुनै न कुनै समय हिंसा भोग्न बाध्य हुँदा रहेछ्न्। भलै त्यो हिंसा एकै प्रकृतिको नहोला। तर धेरैले हिंसा भोग्दा रहेछ्न्। हिंसा मेरी आमाले भोगिन् र मैले पनि भोगेँ।

मेरी आमा र मैले भोगेको हिंसा अरुले भोग्न नपरोस भनेर म हिंसा विरुद्धको अभियानमा जोडिएकी थिएँ। गाउँ-गाउँ पुगेर महिला हिंसाको बारेमा सचेतना फैलाउँथेँ। भन्थेँ- ‘कुटपिट गर्ने,धम्की दिने,गालिगलौज गर्ने,घरबाट निकाला गर्ने,यौन शोषण गर्ने,सामाजिक लान्छना लगाउँने,बहिष्कार गर्ने र अपमान गर्ने लगायतका कार्यहरुलाई महिला हिंसा भनिन्छ। यसभित्र शारीरिक हिंसा,यौनजन्य हिंसा,आर्थिक हिंसा,राजनीतिक हिंसा,मानसिक हिंसा र भावनात्मक हिंसा आदि पर्दछ्न्। गाउँ-गाउँ मात्रै होइन,विद्यालय-विद्यालय पनि जान्थेँ। त्यही सिलसिलामा म श्री मा.वि.आईपुगेकी थिएँ।

विद्यालय परिचित भएपनी,शिक्षक शिक्षिकाहरु केही परिचित थिए त केही अपरिचित। प्र.अ.पनि अपरिचित नै हुनुहुन्थ्यो। परिचयसँगै म आउँनुको कारण बताएँ र एक घण्टी मिलाईदिन अनुरोध गरेँ। मिलाईदिनुभयो। संयोग नै भनौँ त्यो घण्टी KD सरको नै पर्यो। सरको पछि लागेर कक्षा प्रवेश गरेँ। यो त्यही कोठा थियो,जहाँ मैले कक्षा दस पढेकी थिएँ। विगतका स्मृतिहरु ताजा बनेर आए। हिसाब। कलम। कुहिनो। स्तन। नग्न तस्बिर। दिमाग केही तातेको महसुस गर्दै थिएँ। त्यति नै खेर सरले भन्नुभयो- “तिमेरुको आजको क्लास मिसले लिनुहुन्च।”

यति भनेर सर बाहिर निस्कन खोज्दै हुनुहुन्थ्यो। रोक्दै मैले भनेँ-‘सर,तपाईं नि बस्नुस।’ बसुँ कि नबसुँको दोधारमा परेका सर अन्तत: पछिल्लो बेन्चमा गएर बसे। विद्यार्थी भाइ बहिनीहरुतिर फर्केर भनेँ- ‘नमस्कार म मिरा। गाउँ-गाउँ,स्कुल-स्कुल पुगेर महिला हिंसाको बारेमा सचेतना फैलाउँदै हिड्ने एक अभियन्ता। त्यसैको सिलसिलामा आज म तपाइँहरुमाझ उपस्थित भएको छु। आज म यहाँहरुलाई महिला हिंसाभित्रको यौनजन्य हिंसाको बारेमा बुझाउँने प्रयत्न गर्नेछु।

सामान्यतया यौनजन्य हिंसा भन्नाले महिलाको यौनजन्य अङ्ग तथा अन्य संवेदनशील अङ्गसँग सम्बन्धित दुर्व्यवहार र उत्पीडनलाई बुझ्नुपर्दछ। यौन अङ्ग तथा अन्य संवेदनशील अङ्ग छुने वा नजिक आउँने,अश्लील चित्र वा दृश्य देखाउँने,सार्वजनिक यातायात,बजार,बाटोघाटोमा जिस्क्याउँने,असजिलो हुने गरि हेरिरहने,अश्लील तस्बिर वा दृश्य विद्युतीय माध्यमबाट पठाउँने लगायतका कार्यहरु यौनजन्य हिंसाभित्र पर्दछ्न्। यस्ता कार्यहरु कोहि कसैले गर्छ भने तपाइँहरुले यो बुझ्नुपर्दछ कि यो यौनजन्य हिंसा हो। यसलाई सहनु भनेको वा प्रतिकार नगर्नु भनेको पीडकको मनोबल उच्च पारिदिनु हो। त्यसैले तपाइँहरुमाथी यस्ता घटना घटे भने बोल्नुस्। प्रतिकार गर्नुस्। कानुनी उपचार खोज्नुस्। तर चुप लागेर नबस्नुस्।’

‘हिजो मैले यहि कोठामा हिंसा भोगेँ। विद्युतीय माध्यमबाट पनि हिंसा भोगेँ। के कस्ता क्रियाकलापहरु हिंसा हुन् भन्ने जानकारी नहुँदा र कानुनी उपचारको बाटो थाहा नहुँदा सहन बाध्य भएको पनि बताएँ। साथसाथै यो पनि बताएँ कि,त्यो व्यक्ती अरु कोहि नभएर उहाँ नै हो।’ KD सरतर्फ इसारा गरेँ। सबै विद्यार्थीहरुले KD सरतर्फ फर्केर यसरी हेरे,जसरी हेरिन्छ कुनै फोहोर वस्तुलाई। KD सरको शीर झुक्यो। म शीर ठाडो पारेर कक्षाकोठाबाट बाहिरिएँ।

 

प्रतिक्रिया

सम्बन्धित खवर