✍️ रविन्द्र बुढाथोकी
गीत – एक
सिङ्गो थिएँ काँचजस्तै टुटाएर गयौ।
शान्त थिएँ ज्वालामुखी उठाएर गयौ।
थाहा थियो तिमीबिना बाँच्न सक्दिनथेँ
तिमीबिना एक पल हाँस्न सक्दिनथेँ
मेरो हाँसो खुशी सबै लुटाएर गयौ,
शान्त थिएँ ज्वालामुखी उठाएर गयौ।
तिमीसँगै हाँस्दै खेल्दै माया साट्छु भन्थेँ
तिम्रो हात समाएरै जुनी काट्छु भन्थेँ
तिमी किन ? हात साथ छुटाएर गयौ,
शान्त थिएँ ज्वालामुखी उठाएर गयौ।
आश थियौ साहस थियौ थियौ तिमी भर
शुन्य भा’छ तिमीबिना आँगन र घर
ज्योति थियौ जीवनको फुटाएर गयौ,
शान्त थिएँ ज्वालामुखी उठाएर गयौ।
सिङ्गो थिएँ काँचजस्तै टुटाएर गयौ।
शान्त थिएँ ज्वालामुखी उठाएर गयौ।
गीत – दुई
हेर्दै जाउँ कसरी चल्छ जिन्दगी यो।
थाहा छैन कहाँ पुगी ढल्छ जिन्दगी यो।
तँ तँ म म तथानाम तेरो र मेरो
एकदिन छोडी जानू नै छ यो सेरोफेरो
सेरोफेरो सारा मेरो भन्छौ कहिलेसम्म ?
यो धर्तीमा सास फेर्दै रहन्छौँ जहिलेसम्म।
अन्तिम सत्य चित्तामाथि जल्छ जिन्दगी यो।
थाहा छैन……………………………।
उसको त्यति यसको कति ? भन्छौ मेरो यति
जस्तो आए उस्तै गए लगेनन् खै ? कत्ती
भए दिनु नहुनेलाई यहि त हो नि धर्म
बाँच्छौ सधैँ मरेर नि गरे असल कर्म।
असल कर्म गर्न सके फल्छ जिन्दगी यो।
थाहा छैन……………………………।
हेर्दै जाउँ कसरी चल्छ जिन्दगी यो।
थाहा छैन कहाँ पुगी ढल्छ जिन्दगी यो।
प्रतिक्रिया
-
४
