✍️ फिराक गोर्खाली

एक,

यता उता मन डुलाउदैँ हिंड्ने कहिले नै चाह भएन,
तर देखावटी संसारमा चोखो मनको परवाह भएन,
इमान्दारीले यस कथामा मेरो किरदार पालन गर्दै थेँ ,
यस नाटकको कहिले पर्दा गिर्यो मलाई थाह भएन।

दुई,

सबै मान्छेले एक अर्कालाई मुटुमा अटाउनु पर्छ,
मानवीयता गीत गाउँदै सबै द्वेषहरू घटाउनु पर्छ,
स्वर्ग भन्दा सुन्दर बनाउनु सकिन्छ यो संसारलाई
हामी मिलेर विषमताको सबै कारक हटाउनु पर्छ।

तीन,

मेरो आगमन तिम्रोलागि दुर्भाग्य पसाउने ढोका भयो
जानी जानी पनि मेरो कारण तिम्रोसाथ धोका भयो,
म डराएँ यो समाजले बनाएको रुढीवादी दायरा तोड्न
मैले गर्नसकिन आँट,अब जीवन दुखको पोका भयो।

चार,

इच्छाहरू त कहिले नपुग्ने धोको हो।
मिठो स्मृतिहरु नै त हर्षको पोको हो।
सम्बन्ध र साथ यसरी सधैँ बनी रहोस,
मित्रता नै जीवनको पुँजीको डोको हो।

पाँच,

दैव मलाई किन यस्तो भाग्य दिनु भयो,
मेरो चोखो भावना सबै मरेर सिनु भयो,
उसले मायामा दिएको जाली रुमाल अब,
उसैले गरेको जालसाजीको चिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर