डा. शङकरप्रसाद गैरे २०३५ सालमा, खानीगाउँ–५ चापखोला,पाल्पा (हाल बगनासकाली–७ पाल्पा) मा जन्मिनुभएका हुन् । उहाँका प्रकाशित कृतिहरू विमर्शका स्पर्शहरू, सामान्य भाषाविज्ञान, स्नातकस्तरीय नेपाली, रस सिद्धान्त र विश्लेषण, कथा सिद्धान्त र प्रतिनिधि नेपाली कथा, उज्यालोतिर (उपन्यास), मधुमास (गजल सङ्ग्रह), कृष्ण हुन् । नेपाली विषयमा विद्यावारिधी गर्नुभएका शङ्करले हाल त्रिभुवन विश्वविद्यालय तानसेनमा अध्यापन गर्नुहुन्छ । कृष्ण जन्माष्टमीको दिन लोकार्पण भएको उहाँको पछिल्लो उपन्यास ‘कृष्ण’मा सम्बन्धित भएर सेतोमाटो डटकमका लागि जनक कार्कीले गर्नुभएको वार्ता, प्रस्तुत छ । साथमा उहाँलाई उपन्यासको सफलताको कामना ।
१. उपन्यासको भीडमा ‘कृष्ण’मा के छ, पाठकलाई नयाँ स्वाद ?
मान्छे अरबौँको भीडमा जन्मन्छ । तीमध्येका प्रायः धेरैजना त्यही भीडमै हराउँछन् । थोरैमात्र भिन्न परिचय बनाउन सक्षम हुन्छन् । कृष्ण जेलको अन्धकारमा जन्मिए र एक ग्वालाका परिवारमा हुर्किए । राज्यको पूरा शक्ति उनको शत्रु थियो । समाप्त पार्न चाहन्थ्यो तर त्यो सत्ता नै समाप्त भयो कृष्णसँग ठोक्किँदा ।
हरेक अभिभावक चाहन्छन् उसको सन्तान विशिष्ट बनोस्, महान बनोस् । तर सबै बन्दैनन् । मलाई पनि लाग्छ ‘कृष्ण’ मेरो विशिष्ट सिर्जना हो । मलाई लागेर के हुन्छ र ? यो त पाठकलाई लाग्नुपर्छ, समीक्षकलाई लाग्नुपर्छ, मूल्याङ्कनकर्तालाई लाग्नुपर्छ । पढ्ने मान्छेका मुखबाट निस्कनुपर्छ ‘वाः क्या लेखेछ’ नयाँ स्वाद पाए कि पाएनन् यो पाठकलाई गर्ने प्रश्न हो ।
२. कृष्णलाई जन्माउन कति वर्ष लगाउनुभयो ?
मेरो मन मस्तिष्कमा कृष्णको बीजारोपण कहिलेबाट भयो ? ठ्याक्कै भन्न सक्दिन । परन्तु योजनाबद्ध रूपमा मैले कामको थालनी गरेको २०७२/०७३ तिरबाट हो । लेखन आरम्भ गरेको २०७४ को आरम्भबाट हो । अर्थात दुई वर्षको अध्ययन, दुई वर्षको लेखन र दुई वर्षको प्रकाशन पर्खाइको परिणाम हो यो उपन्यास ।
३. जमाना स्लिमको छ भन्छन्, तर तपाईँको उपन्यास अत्याधिक मोटो किन ?
हाहा…! हाहा !! यो भन्ने कुरा हो । यसमा सत्यता कम छ । तपाईँको भनाई वा प्रश्नमा सत्यता हुन्थ्यो भने लघुकथासङ्ग्रहको बिक्री वितरण सर्वाधिक हुनुपथ्र्यो, त्यसपछि कथाको र उपन्यास प्रकाशन गर्न प्रकाशकले आनाकानी गर्नुपथ्र्यो तर अवस्था ठिक उल्टो छ । उपन्यास नै सर्वाधिक प्रकाशित भैरहेका छन् । अत्याधिक बिक्री वितरण पनि उपन्यासकै छ । रह्यो, मेरो उपन्यास अत्याधिक मोटो भयो भन्ने प्रश्न । मेरो उपन्यासमा ५६९ पृष्ठ छन् ।
२३ खण्ड र साना ठूला उपखण्डहरू छन् । यसमा एक लाख ५१ हजारभन्दा अधिक शब्द छन् । यो उपन्यास पढेर कुनै पनि पाठकले किताब मोटो बनाउन लेखकले प्रसङ्गलाई तन्कायो, वा यो कथा, यो घटना नराख्दा पनि हुन्थ्यो भन्ने छैनन् भन्ने मेरो विश्वास छ । कृति मोटो वा स्लिम विषयले बनाउने हो । यस उपन्यासको आकार कथाको आवश्यकताले मोटो भएको हो । जमाना स्लिमको छ भन्छन् भन्ने कुरालाई के तपाईँ स्वीकार गर्नुहुन्छ ?
४.पाल्पामा औँलामा गन्न सकिने आख्यानकार छन्, तर पाल्पाली उपन्यासले राष्ट्रिय स्तरमा प्रसिद्धि कमाउन सकेको छैन । कारण के होला ?
प्रश्नमा करेक्सन गर्ने कि ? वा तपाईँले पाल्पाकै गाउँबेसीमा पसिना चुहाइरहेका मान्छे खोज्नुभएको हो ? अन्यथा तपाईँले यो प्रश्न गर्दैगर्दा जगदीश शमशेर राणा, वनमाली निराकार, नीलम कार्की निहारिका लगायतका आख्यानकारहरूलाई बिर्सदै हुनुहुन्छ ।
रह्यो पाल्पाली उपन्यासले राष्ट्रिय स्तरमा प्रसिद्धि कमाउन सकेन भन्ने जिज्ञासा, तपाईँ भन्नुस् माथिका नाम बाहेक राम्रो लेखेर पनि ओझेलमा परे भन्ने लागेका उपन्यासकार को छन् पाल्पामा ? हामीले राम्रो लेख्न नसक्ने अनि सेलिब्रिटी बनिएन भन्ने गुनासो गर्न पाइन्छ ? राम्रो लेख्न सक्नेलाई खोजिने जमाना हो यो । सम्पर्कका अनेक माध्यम छन् । थुप्रै व्यवसायिक प्रकाशक छन् । तपाईँ राम्रो लेख्नुहुन्छ भने उनीहरू नै तपाईँलाई खोज्छन् । तर आफूलाई एक्सपोज चाहिँ गर्नुपर्यो ।
५. तपाईँको उपन्यासको नाम सुन्दा मिथकीय प्रयोग हो भन्ने कुरा अनुमान लगाउन सकिन्छ । मिथकीय उपन्यासको प्रयोगको महत्त्व के हो ?
हो । मेरो उपन्यास मिथक हो । यसमा भागवत, महाभारत, पद्मपुराण तथा विष्णुपुराणको कथालाई प्रस्तुत गरिएको छ । मिथकीय लेखनमा पुराण, इतिहास र लोककथामा प्रसिद्ध भएका वा ओझेलमा परेका विषयलाई प्रकाशमा ल्याउने वा नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्ने गरिन्छ । लेखकले उद्देश्यअनुसार मौलिकता र नौल्याई प्रदान गरेर प्राचीन कथालाई नयाँ रूप दिन्छ । व्याख्या पुनव्र्याख्या गर्छ । विषयमाथि भिन्न दृष्टिकोण प्रस्तुत गर्छ ।
मैले यसमा पात्रको मानवीकरण गरेर अति दैवीकरण दैवीकरण गरिएका, तिलस्मी प्रकृतिका विषयलाई यथार्थ र स्वाभाविकताको नजिक पुर्याउने प्रयत्न गरेको छु । पहिलादेखि जान्दै, सुन्दै आएका कथालाई नयाँ स्वादमा पस्कनु नै उपन्यासमा मिथकको विशिष्टता हो, महत्त्व हो । मेरो प्रयास पनि यही हो ।
६. जमाना प्ररचारबाजीको छ । तपाईले कस्ता खालका पब्लिसिटी फन्डा अपनाउने विचार गर्नुभएको छ ?
अन्यथा मान्नुहुन्न भने तपाईँको प्रश्नले साहित्यको प्रचार गर्ने कार्यलाई नकारात्मक रूपमा लिएको देखिन्छ । तर मलाई हरेक विषय क्षेत्रमा झैँ लेखकले पनि आफ्नो सिर्जनात्मक उत्पादनलाई बजारमा पुर्याउन प्रचार गर्नुपर्छ भन्ने लाग्छ । परन्तु पाठकले साहित्यिक कृतिको छनोट गर्दा प्रचारलाई मात्र आधार बनाउनु हुँदैन । अन्य तरिकाबाट सही सिर्जना, प्रभावकारी सिर्जना छनोट गर्न सक्नुपर्छ ।
अब प्रचार नै भन्नुस् वा जे भन्नुस् मैले मेरो उपन्यासको नाम, पात्र र विषयलाई मध्यनजर गर्दै कृष्णजन्माष्टमीका दिन विमोचन र लोकार्पण गरेँ । विभिन्न अनलाइन माध्यमबाट गरिएको लोकार्पण पनि आफैँमा प्रचार नै होला । मेरो हातमा कृति परेको दिन (भदौ १६ गते) मेरी पत्नीको जन्मदिन हो ।
संयोगले मैले पहिलो प्रति पत्नीलाई उपहार दिन पाएँ र त्यो कुरा फेसबुकमा सेयर गरेँ । अनलाइन मिडिया र केही शुभचिन्तकहरूले आफ्नो स्टाटस नै त्यसलाई बनाउनुभयो र कृति बजारमै नआउँदै एक प्रकारको वातावरण बन्यो । केही मिडियाहरू मसँग विज्ञापन माग्दै हुनुहुन्छ । परन्तु मसँग त्यो आर्थिक क्षमता छैन । समय सहज भएपछि केही ठाउँमा पुगेर म पुस्तक परिचर्चाका कार्यक्रम आयोजना गर्ने विचारमा छु । साथीहरूसँग सल्लाह पनि भएको छ । यसलाई तपाईँ ‘पब्लिसिटी फन्डा’ भन्न सक्नुहुन्छ ।
७. मोफसलमा बसेर स्थापित लेखक हुन कत्तिको गाह्रो कुरा हो ?
अहिलेको समयलाई उत्तरआधुनिक केन्द्र भञ्जनको युग भनिन्छ र पनि तुलनात्मक रूपमा हाम्रो जस्तो देशमा सम्पर्क आदि कारणले केन्द्रमा बस्नेलाई भन्दा मोफसलमा बस्नेहरूलाई लोकप्रिय र स्थापित हुन गाह्रो छ । र पनि पछिल्लो समयमा एउटा सजिलो के छ भने कृति तयार भैसकेपछि त्यसका केही महत्त्वपूर्ण अंश र कृतिको परिचयबारे लेखेर इमेलबाट पठाउन सकिन्छ ।
प्रकाशकले आफ्ना पुस्तकहरूमा इमेल ठेगाना दिएका हुन्छन् । यदी प्रकाशकलाई तपाईँको लेखन मन पर्यो भने उनीहरू नै तपाईँलाई सम्पर्क गर्छन् । आफैँ लगानी गरेर प्रकाशन गर्छन् र देश विदेशमा पुर्याउछन् । मेरो कृष्ण पनि यही प्रक्रियाबाट प्रकाशकसम्म पुगेको हो । त्यसैले केन्द्रीकरण हुँदाहुँदै पनि तुलनात्मक रूपमा पछिल्लो समय मोफसलमै बसे पनि स्थापित हुन सजिलो छ । यसका दृष्टान्त नेपालका पूर्वदेखि पश्चिमसम्म गाउँमा बसेका थुप्रै सेलिब्रिटी लेखकलाई लिन सक्छौँ ।
८. आख्यानले समाजमा के कस्तो प्रभाव पार्न सक्छ ?
साहित्यका हरेक विधाले समाजलाई प्रभाव पार्दछ ।
सकारात्मक लेखनको सकारात्मक र नकारात्मक लेखनको नकारात्मक प्रभाव हुन्छ । एउटा अंग्रेजी गीत सुनेर थुप्रै मान्छे डिप्रेसनमा गएको हामीले सुन्यौ । आख्यानले पनि मान्छेलाई विभिन्न प्रकारको प्रभाव पार्छ । रूपमतीको भूमिकामा रुद्रराज पाण्डेले लेखेका छन् मलाई थुप्रै बराल्नीहरूले घरको पोल खोलेको भनेर गाली गरे । यसले प्रभावको कुरालाई नै पुष्टि गर्छ । प्रभाव कस्तो भन्ने विषय व्यापक छ ।
९. किताब लेख्नुभन्दा छपाउन गाह्रो कुरा हो भन्छन् । तपाईले पुस्तक प्रकाशित गर्न के कस्तो सङ्घर्ष गर्नुभयो ?
लेखक स्थापित नहुँदासम्म कृति छपाउने काम गाह्रो हो । त्यसमा पनि प्रकाशक वा कुनै संस्थाले लगानी गरोस् भन्ने कुराको अपेक्षा गर्दा अझ बढी गाह्रो हुन्छ । परन्तु लेखक स्थापित भएपछि अझ सेलिब्रिटी भएपछि प्रकाशक उसको कृति प्रकाशित गर्न लालायित हुन्छन् । अनेक सुविधा दिन तयार हुन्छन् ।
मेरो कृतिको सन्दर्भमा पहिलो उपन्यास र गजलसङ्ग्रह प्रकाशकले धेरैथोरै रोयल्टी नै दिएर छापेका हुन् र छोटो समयमै बजारमा आएको हो । कृष्ण उपन्यास साङ्ग्रिला बुकले हार्दिकतापूर्वक प्रकाशित गर्ने प्रस्ताव गरेको हो । लामो कोभिडको सङक्रमणकाल र कृति मोटो हुनुजस्ता कारणले कृति प्रकाशनमा पूरै दुई वर्ष लाग्यो । यस बीचमा मैले राम्रै तनाव महसुस पनि गरेको हुँ । निराश पनि भएको हुँ । परन्तु मैले टाइप गरेर दिएको पाण्डुलिपिमा मेरो अन्य कुनै लगानी छैन । सबै प्रकाशककै लगानी हो ।
१०. महाभारतमा कृष्ण नायक हो । तपाईको उपन्यासमा कृष्ण नायक हो कि खलनायक ?
महाभारतमा मात्र नभएर सबै पुराणमा कृष्ण नायक र विष्णुका अवतारका रूपमा प्रस्तुत छन् । आधुनिक धेरै उपन्यासले कृष्णलाई खलनायक बनाएका छन् । परन्तु मैले कृष्णलाई ईश्वर नभई एक मानवका रूपमा प्रस्तुत गरेको छु । बरु मैले नायकमात्र नबनाएर कृष्णलाई महानायक तुल्याएको छु । उपन्यासमा एक ठाउँमा युगपुरुष, महापुरुष, विशिष्ट मानव, युगनायक नै भनिएको छ ।
११. कृष्णले लेखकलाई जन्मायो कि लेखकले कृष्णलाई ?
जुन दिनसम्म र जुनजुन ठाउँमा मेरो नाम र परिचयले कृष्ण उपन्यास चिनिन्छ त्यस ठाउँ र अवस्थामा लेखकबाट कृष्णको परिचय हुनेछ र लेखकले कृष्णलाई चिनाउने छ । जहिलेबाट र जहाँ मेरो परिचयको आधार उपन्यास बन्नेछ, जब मान्छेहरू यिनी कृष्ण उपन्यास लेख्ने शंकरप्रसाद गैरे हुन् भन्ने परिचय बन्ने छ त्यहाँ र त्यसदिन कृष्ण मेरो परिचयको आधार बन्नेछ । त्यसदिन कृष्णले लेखकलाई जन्माएको मान्न सकिएला । परन्तु कृतिले लेखकलाई जन्माउने अवस्था कम आउँछ ।
✍️ वार्ताकार जनक कार्की
प्रतिक्रिया
-
४