– रिमा केसी

कस्तो गारो हुनेरहेछ
लिसो झै टाँस्सिका आँखा झार्न !
युगौँदेखि सुन्दर नारीको देहमा गाडिएका छन्
फरक फरक निरंकुश आँखाहरू

आँखाको बजारमा-
एक्लै हिँडेकी छे एक सपना बुन्ने स्त्री
एकथरी आँखाले उसको शरीरलाई घुरी रहेछन् एकटक

अर्कोथरी आँखा-
रक्सीकाे नशाले लठ्ठीएझैँ डुबिरहेछन् नशाकै पाेखरीमा
गिद्दकाझैँ तेजिला आँखाहरू
प्रत्येक अङ्ग चुसिरहेछन् जुकाले झैँ

उसको छाती
उसको नितम्ब
उसको कम्मर
उसको ओठ
उसकाे आँखा
उसको योनि
उप्काउन खोजिरहेकी छ उसले युगौँदेखि
ती यौन पिपासु आँखा
तर बिस्तारै
थाहै नदिई ती आँखाहरूले
कति चाँडै चुसिसके छन् आइमाईको सर्वाङ्ग अस्तित्व

सदियौँ देखि –
दुनियाँका आँखा बोकेर हिँडिरहेकी छ स्त्री
गरिरहेकी छ उप्काउन अनेक प्रयास
तर पनि सकिरहेकी छैन नजरका तिरबाट बच्न
कहिलेसम्म टाँसिएर बस्ने होलान् ती आँखा ?
कसरी उप्केलान् ती आँखा जरै देखि ?
अहो !
कस्तो गारो पो हुंदोरहेछ
लिसो झै टाँस्सिका आँखा झार्न !

यसरी नछाेएरै पनि प्रत्येक दिन लुटिइरहेका छ्न छाेरीहरू
यस्ता आँखाहरू जब बजारमा देख्छु सल्बलाइरहेका
लाग्छ आँखाहरू थुतेर गुच्चा खेलिदिउँ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर