✍️ अमृता प्रीतम
अनुवाद – रिमा के सी

म चुप, शान्त र अटल उभिएकी थिएँ
शिर्फ, नजिकै बगिरहेको समुद्रमा तुफान थियो
खोइ, समुद्रलाई भगवान जाने के विचार आयो
उस्ले तुफानको एउटा थैलो बनायो
मेरो हातमा थमाइदियो
अनि हाँसेर टाढा भैदियो
अचम्मित थिएँ !
तर उस्को चमत्कार लिइ सकेँ
थाह थियो यसप्रकारको घटना
कयौं शताब्दिमा हुन्छन
लाखौं ख्याल आए
शिरमा झिलमिलाए
तर, उभिइ रहें
यस्लाई लिएर अब मेरो शहर कसरी जाउँ ?
मेरो शहरको हर गल्ली साँगुरो,
मेरो शहरको हर छत होंचो,
मेरो शहरको हर भित्तो तीखो,
सोंचे
यदि तिमी कतै भेटिन्थ्यौ भने
समुद्रले जसै गरि यस्लाई छातिमा राखेर
हामी दुई किनारा जस्तै हाँसिरहन्थ्यौँ
अनि
होंचा छतहरु र साँघुरा गल्लिहरुको शहरमा बस्न सक्थ्यौँ
तर
पुरै दिनभरी तिमिलाई खोज्दैमा बित्यो
अनि आफ्नो आगोको अन्तिम घुट पिएँ
म एक्लो किनारा,
किनारालाई छोडिदिएँ
अनि जब दिन ढल्दै थियो
समुद्रको तुफान समुद्रलाई नै फिर्ता गरिदिएँ
जब रात पर्न थाल्यो तिमी भेटियौ
तिमी पनि उदास, चुप, शान्त र अटल
म पनि उदास, चुप, शान्त र अटल
सिर्फ, टाढा बगिरहेको समुद्रमा तुफान छ !!

प्रतिक्रिया

सम्बन्धित खवर