✍️ रीमा केसी
तिमीले गायौ मानवताको अजम्बरी गीत
रेट्यौ हार्दिकतम् भावनाको सारङ्गी
क्रुरता, कुसंस्कार र रुढीविरुद्ध
फुक्यौ विद्रोहको विगुल
मुना मदनको बाँसुरी बजाएर
प्रेमको अमर धुन निकाल्यौ
भन्यौ, मानिस दिलले महान हुन्छ जातले हुँदैन
र, अनावरण ग-यौ मानिसभित्रको ईश्वर …
प्रिय भावनाका गायक
तिमीले छाडेर गएका यत्तिका कालपछि पनि
उस्तै छ यहाँको नरसंहारी माकुरेजाल
अझै बदलिएको छैन मानिसका ढुसी परेका मस्तिष्क
खै मानिसले मानिसलाई मानिसकै नजरले हेर्न किन
अझै सिकेका छैनन् !
आफू मिटाइ अरुलाई दिनुको खुशी
आविस्कार गर्ने कलाबोध
किन अझै हुनसकेको छैन ?
ए स्वतन्त्रताको पुजारी
तिमीलाई पागल करार गर्नेहरुको रवैया उस्तै छ यहाँ
भित्ताको क्यालेण्डर हरसाल फेरिएको छ
तर फेरिएन स्वभाव
उस्तै छ जनताको डँडाल्नोमा ब्रह्मलुटको प्रहार
तिमी गुलाफमा हेलेन र पद्मिनी पाउँथ्यौ
शब्दहरुमा सुन्थ्यौ जीवनको स्पन्दन
अचेल प्लास्टिकका गुलाफमा
मानिसहरु खोजिरहेछन् हराएको मुस्कान
र, उडिसकेको सुगन्ध
म भने ‘क्याटस’मा भेट्छु आफूलाई
मरुभूमिमा पाउँछु जीवन
हरेक रात
मेरो सपनाबाट झर्छन् पारिजातका फूलहरु
र,
म खोजी बस्छु पूर्णिमाको रातको उज्यालोमा
अस्तित्वको जिजीविषा
ए जीवनकाव्यका महर्षि
अझै पनि उस्तै छ विभेदको पर्खाल
रुपा सुनारहरु भइरहेछन् अझै बहिस्कृत
मन्दिर पसेको कसुरमा मारिदैँछन् भीमबहादुर विकहरू
मानवताले मानिसकै आँगनमा
दयाको भीख माग्ने उस्तै छ उपक्रम
तिमीलाई राँची पठाउनेहरुकै बोलवाला छ अझै
उनीहरू समाजलाई पागलखाना बनाउने होडबाजीमा छन्
तिम्रा सेक्सपियरहरु अचेल
अरबमा पैसासँग आँसु साट्न बाध्य छन्
कालिदासहरु रातो बाकसमा कैद भएर फर्किरहेछन्
तिम्रो विपनाको विश्व
संवेदना क्रयविक्रयको बधशाला बनेको छ
प्रिय कवि,
यो कुरूप समयमा ठीक यतिबेला
स्मृतिको मन्दिरमा बसेर गरिरहेछु म
तिम्रो सुन्दर शान्त विशाल नेपालको सपनाको उपासना…
प्रतिक्रिया
-
४