– सरस्वती  सरस
एक समय थियो सबैको मुखमा राधा झुन्डिन्थ्यो । मेरा मिलेका दाँत, ठूला आँखा, लामो कपालको चर्चा गाउँभरि हुन्थ्यो । पढाइमा अब्बल थिएँ । स्कुलमा मेरै गुणगान गुन्जिन्थ्यो । छोरी हुनु त राधा जस्ती भन्ने अनिता म्याम कक्षामा सबैभन्दा बढी मलाई नै माया गर्नुहुन्थ्यो । सबैतिरबाट मायाको बर्सात हुँदा म सधैँ खुसीको पौडी खेलिरहन्थेँ । दशैँको कार्यक्रमको जिम्मा हेडसरले मलाई नै दिनुहुन्थ्यो । मैले चलाएको कार्यक्रम हेर्न गाउँका धेरै मान्छे मेलापात छोडेर विद्यालयको चौरमा भरिन्थे । सबै मेरो आवाजको तारिफ गर्थे । ‘राधा तिमी धेरै पढेर टिभीमा समाचार भन्ने व्यक्ति बन्नुपर्छ है ।’ हेडसर मलाई सधैँ यसै भनिरहनुहुन्थ्यो ।
विज्ञान पढाउने सरोज सर काठमाडौँ जानुभएपछि नयाँ कक्षा सुरु भएको दुई महिनासम्म विज्ञान विषय पढाइ भएको थिएन । छिटो शिक्षक चाहियो भनेर हामी हेडसरलाई कराइरहेका थियौँ । एक दिन नयाँ सर कक्षामा आउनुभयो । ‘म समीर कोइराला, घर सिन्धुली, पढाइ बिएस्सी । आजदेखि म तपाईंहरूको विज्ञान शिक्षक । मैले परिचय दिएँ । अब तपाईंहरूको पालो । पालैपालो उठेर आआफ्नो परिचय दिनुहोस्है त !’ समीर सर हेर्दा साह्रै सुन्दर देखिनुहुन्थ्यो । बोली पनि मिठो थियो । हामी सबैले परिचय दियौँ । ‘आज पहिलो दिन, परिचय गर्दागर्दै समय पनि सकिनलाग्यो । म तपाईंहरूलाई एउटा प्रश्न सोध्छु । उत्तर दिनुहोस् है त ! स्वतन्त्र रूपमा खसिरहेको एलिभेटरभित्र भकुण्डो तौलविहिन हुन्छ, किन ?’ हामी एकअर्कालाई हेरिरह्यौँ । ‘कसैलाई पनि यो प्रश्नको उत्तर आउँदैन ?’ सर अलि उच्च स्वरमा बोल्नुभयो र प्रश्न फेरि दोहोर्‍याउनुभयो । ‘स्वतन्त्र रूपमा खसिरहेको एलिभेटरभित्र भकुण्डो तौलविहिन हुन्छ, किनकि भकुण्डो र एलिभेटरको गुरुत्वप्रवेग बराबर हुन्छ ।’ ‘गुड ! तिम्रो नाम के हो रे ?’ मेरो नाम राधा पन्त । घण्टी बज्यो, ‘धन्यवाद ! भोलि भेटौँला ।’ सर बाहिरिनुभयो । ‘‌ओइ खाजा खान जान्नस् ? के हेरिराकी ? नयाँ सरले मोहनी लगाउनुभयो कि के हो ?’ लता मलाई जिस्काउँदै बाहिर निस्की ।
साँच्चै, सर मोहनी लगाउने जस्तै हुनुहुन्थ्यो । समीर सरको मिठो बोलेर पढाउने शैलीले हामीले सरोज सरको पिटाइ बिर्सिसकेका थियौँ । ‘पिटेर पढाउँदा शिक्षक र विद्यार्थी दुवै खुसी हुन सक्दैनन् । पिटाइ खाने डरले विद्यार्थीहरू स्कुल कहिलेकाहीँ मात्र आउँछन् । अनि पिट्न नै किन प‍¥यो र ! त्यसमाथि तपाईंहरू दश कक्षाका विद्यार्थी, बुझ्ने हुनुहुन्छ । बाह्र पास गरेपछि मैले सिन्धुलीमा एकवर्ष पढाएँ । सुरुसरुमा त म पनि पिट्थेँ । किनकि मैले पनि पिटाइ खाएर नै पढेको थिएँ । पिट्दा विद्यार्थीहरू मबाट टाढा हुन थाले । बाटोमा देख्दा नबोली हिँड्न थाले । त्यसपछि मैले पिट्नै छोडिदिएँ ।’ ‘सर हजुरले किन हामीलाई पिट्नुहुन्न ?’ विवेकको प्रश्नमा सरले दिनुभएको उत्तर सुनेर हामी सबैले ताली बजायौँ । म सरको मिठो बोलीमा लट्ठ परिरहेँ ।
सर एक हप्‍ता विद्यालय आउनुभएन । म त्यस समयमा पानी बिनाको माछोझैँ छटपटिरहेँ । हामी सरसँग त्यतिधेरै घुलमिल भएका पनि थिएनौँ । तर मेरो मन खै किन हो सरप्रति ज्यादै नै आकर्षित भइरहेको थियो । साथीहरू पनि सरकै कुरा गरेर बस्थे । शुक्रबार थियो हामी एक बजे स्कुल छुटेर घर जाँदै थियौँ । बाटोमा एक्कासि सरसँग भेट भयो । ‘सर नमस्कार ! यत्रो दिन कता जानुभएको ?’ कल्पना र मैले एकै आवाजमा बोल्यौँ । ‘नमस्कार ! यतै बस्ने भएपछि सरसामान लिन घर गएको थिएँ । तपाईंहरूको घर कता हो ?’ ‘अलि पर हो सर, अब पाँच मिनेट लाग्छ । दिनुस् एउटा झोला हामी बोकिदिन्छौँ ।’ उत्तर दिँदै कल्पनाले एउटा झोला सरको हातबाट तानी । ‘राजधानीबाट नजिकै छ तर पनि राम्रो विकास भएको रहेनछ यो गाउँमा ।’ सरले भन्नुभएको कुरा सुन्दै हामी घर नजिकै आइपुग्यौँ । कल्पनाले सरलाई झोला दिई । ‘सर हजुर कसको घरमा बस्नुहुन्छ ?’ ‘पहिले त हेडसरकै घरमा बसेको थिएँ । अब कोठा नै खोजेर बस्छु भनेपछि सरले नै जीवन दाइको घरमा भनिदिनुभएको छ रे । हेरौँ त्यहाँ बस्ने वातावरण छ कि छैन । यहाँबाट सिधै गएपछि पिपलको बोट आउँछ नि ।’ ‘आउँछ सर अब धेरैबेर लाग्दैन । जीवन दाइको घर त्यो पिपलको बोट कट्ने बित्तिकै आउँछ ।’ कल्पनाले जीवनदाइको घर देखाइदिई । सर जीवन दाइको घरतिर लाग्नुभयो । सरसँग यसरी धेरैबेरसम्म दोहोरो कुरा पहिलोपटक भएको थियो । मेरो खुसीको सिमा थिएन । म लुगा फेरेर कल्पनाको घरमा गएँ । कल्पना सरको प्रशंसा गर्न थाली । मलाई उसले सरको बारेमा कुरा गरेको कत्ति पनि मन परिरहेको थिएन । उसले सरको राम्रै कुरा गरेकी थिई । खै किन हो तर पनि मलाई ऊदेखि रिस उठ्यो । बस् न भन्दै थिई, म घर आएँ । विज्ञान किताबलाई अँगालो मारेर सरकै कल्पनामा डुब्न थालेँ ।
सर जीवन दाइको घरमा बस्न थाल्नुभयो । कहिलेकाहीँ सर हामीसँगै हिँड्नुहुन्थ्यो । कल्पना सरसँग कुरा गर्थी म सुन्थेँ मात्र । ‘राधा तिमी पनि बोलन ।’ सरको प्रश्नपछि भने थोरै बोल्थेँ ।
स्कुलबाट हाम्रो घर आउन आधा घण्टा लाग्थ्यो । कल्पना केही दिनका लागि मामाघर गई । कल्पना मामाघर गएको दिन म एक्लै स्कुल गएँ । स्कुल छुट्टी भयो । सँगै निस्किएका साथीहरू आआºनो बाटो लागिसकेका थिए । ‘सरसँग कुरा गर्दै जान पाए पनि हुन्थ्यो ।’ यही कुरा सोच्दै म ढिलो हिँडिरहेकी थिए । ‘राधा ! मलाई नै कुरिरहेकी हो ?’ सरको आवाज मेरो कानमा गुन्जियो । म पछाडि फर्किएँ । सरको आँखामा मेरा आँखा जुधे । म निहुरिएँ । ‘राधा, तिमी साह्रै सुन्दर छ्यौ । कति मिठो बोल्छ्यौ । तिमी कपालमा कुन तेल हाल्छ्यौ ? कति लामो कपाल !’ हजुर झनै सुन्दर हुनुहुन्छ सर । मलाई हजुर औधी मनपर्छ । मनले उत्तर दिँदै हाँसिरहे । ‘तिमी स्कुल कति बजे हिँड्छ्यौ ?’ ‘सवा नौ बजे । भोलि सवा नौ बजे मेरो घर आइपुग्नुस् है ?’ पछिल्लो वाक्य पनि मनमनै भन्दै म अलि छिटो अघि बढेँ । सरलाई बाइ गर्दै म घरभित्र पसेँ । सरसँग आफू एक्लै कुरा गर्दै हिँड्न पाएकोमा मनमनै कल्पनालाई धन्यवाद दिँदै लुगा फेर्न थालेँ । धेरै दिनदेखि आफूलाई अलि फरक हुँदै गएको महसुस गर्दै थिएँ । सबै लुगा फुकालेर म ऐनामा हेर्न थालेँ । मैले त्यसरी आफूलाई नङ्ग्याएर अङ्गअङ्ग पहिलोपटक हेर्दै थिएँ । मलाई थाहा थिएन । मेरा अङ्ग लुगाबाट किन बाहिर फुत्किन खोज्दै छन् । म आफैलाई हेर्दै लजाएँ । मलाई काउकुती लाग्यो । लाजले दुवै हातले आँखा छोपेँ । समीर सर समीर जसरी मेरो कोठामा आएर फैलिनुभयो । म उहाँकै कल्पनामा लीन भएँ ।
मामाघर गएकी कल्पना आएकी थिइन । घडीमा सवा नौ बजिसकेको थियो । म हतारहतार घरबाट स्कुल हिँडे । समीर सर आउँदै हुनुहुन्छ कि भनेर पछाडि फर्किएँ । सर मेरो नजिकै आइपुग्नुभएको थियो । एक्कासि मैले हिजोको कुरा सम्झिएँ । मलाई लाज लाग्यो । म फनक्क फर्किएर गति बढाउन थालेँ । ‘हिजो तिमीले सवा नौ बजे भनेकी हुनाले झन् त्यही समय अड्कलेर हिँडेको, कति छिटो हिँडेकी ?’ मेरा गोडा टक्क अडिए । सर मेरो नजिकै आउनुभयो । मेरा खुट्टा काम्न थाले । आँखा बन्द भए । बिउँझिँदा म आºनै ओछ्यानमा थिएँ । ‘के भयो छोरी तँलाई ? हिजोआज दुब्लाउँदै गएकी छस् । खाना पनि राम्रोसँग खान्नस् ।’ आमा साह्रै चिन्तित हुनुहुन्थ्यो । बुबा पल्लो गाउँमा झाँक्री लिन जानुभएको रहेछ । झाँक्री आएर मेरो नाडी छाम्यो । घारमा माहुरी हुनहुनाएझैँ एकछिन हुनहुनायो । ‘कता गएकी थिइन् ? पिचास लागेछ । नमन्छ्याई जाँदैन । यी नानीको हलुका छायाँ छ । सकेसम्म कतै एक्लै नपठाउनू । म बेलुका आउँछु । रातो भाले ठिक पारेर राख्नू ।’ झाँक्री हिँडे ।
‘अस्ति मलाई पनि त्यही दोबाटोमा पुगेपछि एक्कासि पेट दुखेर कक््रयाककुक्रुक्क पारेको थियो । साँहिलाले बाउको काजकिरिया राम्रोसँग गरेन । त्यसकै बाउ घर वरिपरि डुलिरहेको जस्तो छ ।’ बुबा अँध्यारो मुख बनाउँदै रातो भाले खोज्न हिँड्नुभयो । ‘ए रमेशका बा ! आगोले भन्दा धेरै पोल्ने ज्वरो आएको छ । अस्पताल पो लानुपर्छ कि !’ आमा मेरो निधार छामेर रुन थाल्नुभयो । ‘मलाई कसले यहाँ ल्याएको आमा ?’ ‘त्यही स्कुलमा आउने नयाँ सरले बोकेर ल्याएका नि ! तँ बाटैमा लडिछस् । कति जाती रहेछन् तिनी ।’ मलाई ज्वरो पिचासको कारणले आएको थिएन । आएको थियो त समीर सरको कारणले । ‘म किन सरप्रति यसरी पागल हुँदै छु ? के सरको मनमा पनि मेरा लागि ठाउँ छ होला र ? मेरो माया भएको भए किन छोडेर जान्थे ? हैन हैन स्कुल पनि त जान प‍¥यो नि ! मेरा कारणले अरुले पढ्न नपाउने हुन्छ र ! बाआमाले दुःखपाउनुभयो । झाँक्रीले कति पैसा माग्ने हो ? ओहो ! मलाई यो के भइरहेको छ । म किन कमजोर हुँदै छु ? प्रश्नका ज्वारभाटाले मलाई हानिरह्यो । ज्वरो झन्झन् बढ्दै थियो । ‘एउटी यता मर्ने भई, उता भैँसी कराएर मार्न आँटिसक्यो । रमेशलाई यहीँ राखेर पढाउँभन्दा मानेनन् । अहिले यसलाई साथी त हुन्थ्यो । एक डोको घाँस नल्याए भरे डाम्नाले दुध दिँदैन ।’ आमा मेरो निधार फेरि छामेर फत्फताउँदै घाँस काट्न हिँड्नुभयो ।
‘राधा ! कस्तो छ तिमीलाई ?’ समीर सरको आवाज मेरो कानभित्र पस्यो । आमाका अगाडि निदाएझैँ गरेर चिम्लिएका आँखा सरको आवाज सुनेपछि उघ्रिए । सरको हात बिस्तारै मेरो निधारमा पुग्यो । त्यही हात ओर्लिएर मेरा हात समायो । सरको देब्रे नाडीको घडीमा मेरो आँखा पुगे । भर्खर तीन बजेको रहेछ । चार नबजी स्कुल छुट्टी हुन्न । सर यहाँ कसरी ? म झसङ्ङ भएँ । जुरुक्क उठेँ । ‘राधा के भयो फेरि ?’ मेरा दुवै हातले सरलाई च्याप्प समाए । सरको छातीमा म लिसोझैँ टासिएँ । सरको ओठले मेरो निधार छोयो । ‘आइ लभ यू राधा !’ आइ लभ यू टू सर ! ‘राधा ! कस्तो छ तिमीलाई ?’ एउटै प्रश्न कति पटक गर्नुभएको सर ? ‘भर्खर त आउँदै छु । आँखा खोलेर त बोल । बिहान तिमी लडिहाल्यौ । स्कुल जान हतार भइरहेको थियो । तिमीलाई घरमा ल्याएर हिँडिहालेँ । दिनभरि पढाउने मुड नै भएन । पहिला पनि यस्तै हुन्थ्यो ?’ म बल्ल होसमा आएँ । म सपनामा पनि सरसँगै रहिछु । कति मिठो सपना । सधैँ यस्तै सपना देख्न पाए त ! ‘खै त मेरो उत्तर ? के गुनगुनाएको ?’ ‘पहिलो चोटी हो । पिचास लागेको रे ।’ सरको हाँसोले कोठा थर्कियो । म सरलाई हेरेर मनमनै हाँसे । विज्ञान पढाउने सरले पिचास भन्दा के पत्याउनुहुन्थ्यो । सरले मेरो निधार छाम्नुभयो । ‘बिहानभन्दा ज्वरो घटेछ । के खायौ ?’ ‘जाउलो पकाएर दिएँ । बिस्कुट र चिया दिएँ । केही खाएकी छैन ।’ आमा मलिनो स्वरले बोल्दै कोठामा पस्नुभयो । भाले र झाँक्री लिएर बा आउनुभयो । ‘झाँक्री चोटामा आयो । मेरो नाडी छाम्यो । कडै लागेको छ । रात छिप्पिएको छैन । खाना खाएर काम गर्नुपर्छ ।’ झाँक्री तल ओर्लियो । ‘तिमीलाई पिचाससिचास केही लागेको छैन । कमजोर भएर ज्वरो आएको हो ।’ म सरलाई हेरेर मुसुक्क हाँसे । सर जानुभयो । सर आएपछि घटेको ज्वरो फेरि बढ्ला जस्तो भयो । आमा भैँसी दोएर आउनुभयो । खाना खाएपछि झाँक्रीले कुखुराको भाले काटेर एक घण्टा जति भत्भतायो । मेरो निधारमा लामो खरानीको टीका लगाइदियो । ‘भोलि ठिक हुन्छ । ज्वरो घटेन भने बोलाउन आउनू ।’ मारेको भाले र पैसा लिएर झाँक्री गयो । बाआमालाई दुःख दिएकोमा आफैसँग रिस उठ्यो ।
‘राधालाई कस्तो छ आमा भन्दै सर भोलिपल्ट बिहानै घरमा आउनुभयो’ ‘ज्वरो त कम भएको छ । लौ न बाबु एकपटक गएर हेर्दिनोस् न । अस्पताल पो लान पर्छ कि ?’ आमाले भनेपछि सर चोटामा उक्लिनुभयो । मैले हात जोडेँ । ‘बिरामी भएको बेलामा नमस्कार गर्न पर्दैन । खै त ज्वरो कस्तो छ ?’ सरको स्पर्शले मेरा आँखा बन्द भए । ‘आज स्कुल नजानुस् न ।’ मैले बिस्तारै भनेँ । ‘म नयाँ शिक्षक, यसरी तिमीसँग बस्दा मलाई के भन्लान् ? आमाबुबाले के सोच्नुहुन्छ ?’ ल ल जानुस् । मेरो स्वर रिसाएको थियो । ‘ज्वरो छैन राधा, खानेकुरा खाऊ, ठिक हुन्छ । भोलि सँगै स्कुल जाउँला नि !’ सर जानुभयो । ‘यो मलाई के भइरहेको छ । सर कति सजिलोसँग बोल्नुहुन्छ । के सरलाई मलाई जस्तो गाह्रो भएको छैन ? छैन भने म किन एक्लै यसरी छटपटिँदै छु ? सरलाई मसँग प्रेम छैन होला त ? एकोहोरो प्रेमको रापले कतै मलाई मात्र त पोल्दैन ? एक महिना पनि भएको छैन । नयाँ मान्छेसँग मैले यसरी विश्वास गर्नुको परिणाम गलत निस्कियो भने के हुन्छ ? उहाँको मनमा मेरा लागि केही छैन भने म मात्र किन तड्पिनु ? भोलिदेखि स्कुल जान्छु । मबाट धेरैले आशा राखेका छन् । मैले जसरी पनि पूरा गर्नू छ ।’ मेरो मनमा दिनभरि अन्तद्र्वन्द्व मच्चिरह्यो ।
आमाले आज एक दिन आराम गर भन्दाभन्दै म भोलिपल्ट नौ बजे नै स्कुल हिँडेँ । विज्ञान पिरियडमा सर कक्षामा आउनुभयो । म सरलाई वास्तै नगरेझैँ गरेर बसेँ । तै पनि बेलाबेलामा आँखा सरपटि जान्थ्यो । त्यही बेलामा सरको आँखा मेरो आँखाभित्र पस्थे । मेरा आँखा सरका आँखासँग झगडा गर्थे । स्कुल छुट्टी भयो । म सरासर घरतिर लागेँ । सरले नभेटुन् भनेर छिटोछिटो पाइला चाल्दै थिएँ । ‘राधा ! ए राधा ! पर्ख त, तिमीसँग कुरा गर्नु छ ।’ मसँग के कुरा होला ? मेरा पाइला रोकिएनन् तर शनैः शनैः अघि बढ्दै थिए । ‘राधा यो के पारा हो तिम्रो ? तिमी किन मसँग रिसाएकी ?’ मेरो हात समाउँदै सर कराउनुभयो । ‘जे भएको छ मलाई भएको छ, हजुरलाई के भएको छ र ?’ मेरो उत्तरपछि सरले मेरो हात छोड्नुभयो । खल्तीबाट एउटा कागज झिकेर मेरो हातमा थमाइदिनुभयो । म झसङ्ङ भएँ । पट्टिएको कागज खोलेँ । त्यो मेरै कापीबाट च्यातिएको कागज थियो ।
प्रिय समीर !
तिम्रो प्रेमिल समीरको स्पर्शले मेरो मन हिजोआज चञ्चल भएको छ । स्कुलमा होस् या घरमा तिम्रो कल्पनामा पौडिरहन्छे यो राधा । तिमी मेरो प्राणवायु हौ । नत्र भने एकै नजरमा मेरो मनभित्र तिमी कसरी पस्न सक्यौ ? एक हप्‍ता तिमीलाई नदेख्दा तिर्खाएको कागझैँ भएकी छु म । कागले पानीको घैँटोमा ढुङ्गा हालेर आफ्नो प्यास मेटेझैँ म तिम्रो हृदयमा प्रेम भरेर तिमीभित्र समेटिन चाहन्छु । मलाई राधा या रूक्मिणी यी दुईमध्ये एक बन्नु छ । भन प्रियतम म तिम्री पटरानी या प्रियतमा के बन्न लायक छु ?
तिम्री राधा
‘तिम्रो पढाइ राम्रो छ, मेहनत गरेर पढ । धेरै अगाडि बढ्न सक्छ्यौ तिमी । यो एक वर्ष आफ्नो पढाइलाई समय देऊ । यसरी आफूलाई नभड्काउ राधा । मेरो घर परिवार सबै छ । म अस्ति छोरीको न्वारन गर्न घर गएको थिएँ । मेरो घरबाट यो ठाउँ धेरै टाढा छ । यता नआउने सोचेको थिएँ । हेडसरले, ‘एक वर्ष मात्र भए पनि आइदिनुस् । विद्यार्थीहरूको पढाइ धेरै छुटिसक्यो । खाने बस्ने सुविधा मिलाइदिन्छु ।’ भनेर धेरै कर गरेपछि मात्र म आएको हूँ । अहिले त यस्तो लाग्दै छ । म नआएको भए हुन्थ्यो । तिमी यसरी बिरामी त पर्दिनथ्यौ । म मेरो कारणले तिमीलाई दुःखभएको देख्न सक्दिनँ राधा । प्लिज ! आफूलाई सम्हाल ।’ त्यसपछि हामी दोहोरो कुरा नगरी घर पुग्यौँ ।
कल्पना मामाघरबाट आइछे । घर पुग्ने बित्तिकै ऊ मलाई भेट्न आई । ‘तँ बिरामी परेकी थिस् रे, के भयो तँलाई ?’ सामान्य ज्वरो आएको हो । केही भएको छैन भन्दै म चोटातिर लागेँ ।
सरको सबै कुरा थाहा पाएपछि म अलि सामान्य बन्दै गएँ । पढाइ बिस्तारै सुध्रिँदै गयो । लगभग एक महिनामा म पहिले जस्तै राधा बनेँ । एस.एल.सी दिएर म काठमाडौँ सानिमाको घरमा गएँ । एक महिनापछि आउँदा समीर सर घर गइसक्नुभएको रहेछ । रिजल्ट आयो । हेडसरले पत्रिका स्कुलमा ल्याउनुभएको छ रे भन्ने सुनेर कल्पना र म स्कुल दौडियौँ । कल्पनाको विज्ञान र अङ्ग्रेजी विषय लागेछ । मैले उसलाई सम्झाउँदै घर ल्याएँ । केही समयपछि स्कुलमा बिदाइ कार्यक्रम राखिएको थियो । कल्पना स्कुल जान मानिन । म एक्लै गएँ । सँगै पढेका पाँचजना साथीबाहेक हामी सबैको स्कुलमा भेट भयो । स्कुलमा समीर सर पनि आउनुभएको रहेछ । उहाँलाई देख्न पाउँदा खुसी लाग्यो । हामीसँगै समीर सर पनि स्कुलबाट बिदा हुनुभयो । सबै साथीसँग बिदा मागेर म पनि घरतिर लागेँ । आफ्नो बाँकी सामान जीवन दाइको घरमा लिन जानुछ भन्दै समीर सर मसँगै आउनुभयो । घर नजिक आइपुगेपछि समीर सरले डायरी दिँदै भन्नुभयो, ‘राधा तिमी ज्ञानी छ्यौ । राम्रोसँग पढ्नू । मेरो सम्झना आएमा यही डायरीमा आफ्नो मनका कुरा लेख्नू । नआएमा यो डायरी खोल्दैनखोल्नू । म भोलि घर जाँदै छु ।’ त्यति भनेर सर मबाट छुटेर जानुभयो ।
सरको बोलीले कता कता नमजा लाग्यो । मैले सरलाई मेरो मनबाट पूर्ण रूपमा हटाउन सकेको रहेनछु । सायद उहाँ मेरो मनको अदृश्य कुनामा बस्नुभएको थियो । घर आइपुग्दा भैँसी ब्याएको रहेछ । म हत्तपत्त सरले दिएको डायरी पिँढीमै राखेर गोठमा गएँ । भैँसीले पाडो पाएको थियो । खै के भएर हो पाडो छटपटिन थाल्यो । ‘लौ न केही लागेको पो हो कि धुप सल्काइदिनू न ।’ आमाले बुबालाई भन्नुभयो । म धूप लिन घरभित्र दगुरेँ । बाहिर आउँदा पाडो गैसकेछ । आमा रुन थाल्नुभयो । कल्पनाको बुबासँग ऋण लिएर किनिएको थियो ब्याउने भैँसी । बुबाको मुखमा कालो बादल मडारिरहेको थियो ।
डायरी सुत्ने कोठामा लगेर राखेँ । घरमा नरमाइलो थियो । सरलाई सम्झेता पनि डायरी खोल्न मन लागेन । पाडो बिना भैँसीले दुध दिएन । आमाले अनेक उपाय लगाउनुभयो । कुनै पनि उपाय सफल भएन । बुबाले भैँसी ब्याएको चार दिनको दिन कालो कपडामा पाडो जस्तै आकृति देखिने निर्जीव प्राणी बनाएर ल्याउनुभयो । आमाले त्यसलाई भैँसीको अगाडि लगेर राखिदिनुभयो । भैँसी सुँघ्दै चाट्न थाल्यो । आमा र बुबाको आँखामा आशाको त्यान्द्रो पलाएजस्तो देखियो । आमा बाल्टी बोकेर दुध दुन बस्नुभयो । भैँसीले एक माना दुध दियो । ‘भोलिबाट त बढाउँदै जाला है रमेशका बा ?’ आमाको अनुहारमा खुसी पोतियो । बुबा अँगेनामा दुधको कराई बसाउँदै, ‘खै के गर्छ ? यो कराई भरी हुनेगरी दिए त हुन्थ्यो । दुध बेचेर शम्मेको ऋण तिर्न पाए झन् बेसै हुन्थ्यो ।’ भन्दै आगो फुक्न थाल्नुभयो ।
भैँसीले दुध राम्रैसँग दिन थालेपछि म पढ्न काठमाडौँ हिँडेँ । भाइ सानिमाको घरमा बस्थ्यो । म पनि काठमाडौँमा बस्ने भएपछि बुबाले हामीलाई कोठा खोजेर राखिदिनुभयो । म महेन्द्ररत्न क्याम्पसमा पढ्न थालेँ । भाइ ज्ञानोदयमा दश कक्षामा पढ्थ्यो । हामी दशैँमा घर आयौँ । कोठा सफा गर्दै थिएँ । समीर सरले दिनुभएको डायरी भेटेँ । काठमाडौँ जाँदा मैले समीर सरको यादलाई गाउँमै छोडेर गएकी थिएँ । ममा धेरै जिम्मेवारी थिए । ‘छोरी तँ हाम्रो छोरो होस् । तैँले धेरै पढेर पैसा कमाएर हामीलाई सुख दिनुपर्छ । काठमाडौँ हिँड्दा आमाका आँखाभरि नेत्रजल टिलपिलाएका थिए ।’ डायरी खोलेँ । अगाडिका पानाहरू सबै खाली थिए । पछाडिबाट सरर पल्टाएँ । बिच पानातिर कालो मसीले लेखिएका अक्षर देखेँ । अक्षरहरू पानामा यसरी टनमन्न भरिएका थिए –
प्रिय राधा !
मिठो सम्झना,
तिमीसँग परिचय भएको पहिलो दिनदेखि नै मैले पनि तिमीलाई मन पराएको थिएँ । त्यसैले तिम्रो आवाज पटक पटक सुन्न नाम दोहोर्‍याएर सोधेको थिएँ । तिम्रो बारेमा स्कुल, गाउँ सबैतिर सुगन्धित शब्दहरू सुन्थेँ । स्कुल जाँदा तिम्री साथी कल्पना बोल्थिन् तर तिमी बोल्दिनथ्यौ । बोले पनि लजाएर बोल्थ्यौ । तिम्रो लजाउने बानीले मलाई मोहनी लगाएको थियो । राधा जुनदिन तिमी स्कुल आउँदै गर्दा मेरो छातीमा लडेकी थियौ । त्यसदिन तिमीलाई म तिम्रो ओछ्यानमा सुताएर कापीले हम्किँदै थिएँ । तिमीले लेखेको सुन्दर अक्षरमा मेरा आँखा पुगे । जुन अक्षर मेरा लागि समर्पित थियो । ती अक्षर पढेपछि मलाई डर लाग्यो । तिमी पूरा रूपमा ठिक नहुन्जेल म पनि ठिक भएको थिइनँ । तिमी लडेको दिन म स्कुल जान सकिनँ । कोठामा आएर त्यो च्यातेर ल्याएको कापीको धेरैपटक पाना पढेँ । त्यतिखेरै तिमीलाई लिएर भाग्न मन नलागेको पनि होइन । तिम्री आमा तिमी बिरामी हुँदा तिम्रो छेउमा बसेर रोइरहनुभएको देखेपछि तिमीलाई लिएर हिँड्ने सोच बदलेँ । म सधैँका लागि तिम्रो गाउँ गएको थिइनँ । हामी दुवैको पढाइ बिग्रने डरले तिमीसँग बिहे भएको भनेर झुठो कुरा बोलेँ । त्यसका लागि मलाई माफ गर ल । बिएस्सी पास गरेपछि राजधानीबाट नजिकै भएको हुनाले म त्यहाँ एक वर्षका लागि करारमा जागिर खान गएको थिएँ । सायद भगवान्ले तिमीलाई भेटाउन मलाई त्यहाँ पु‍¥याएका होलान् । तिम्रो मुहार नदेखेको दिन मेरो मुहारको सूर्य उदाउँदैनथ्यो । तिमी पछि सामान्य बन्दै गयौ । मलाई खुसी पनि लाग्यो । एस.एल.सीमा तिम्रो राम्रो रिजल्ट आएको खबर हेडसरबाट थाहा पाएँ । उहाँलाई मैले नै बिदाइको दिन मलाई बोलाउन आग्रह गरेको थिएँ । बिदाइको दिन तिम्रो अनुहारको उज्यालोले विद्यालय चम्किएको थियो । मलाई भेटेपछि त्यो उज्यालो अनुहारभित्र मैले म देखेको थिएँ । तिमीभित्र मेरा लागि अझै ठाउँ रहेको महसुस गरेको थिएँ । विद्यालयले बिदाइमा मलाई दिएको डायरीका पानामा हतार हतार तिमीले पढ्दै गरेका यी अक्षरहरू लेखेँ । अनि तिमीलाई दिन सफल भएँ ।
म र्कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयमा एमएस्सी पढ्दै छु । तिमी काठमाडौँ आयौ र मलाई भेट्ने इच्छा राख्यौ भने कीर्तिपुरमा रहेको दीक्षान्त पुस्तक भण्डारकी नम्रता दिदीसँग मेरो फोन नम्बर माग्नू र मलाई फोन गर्नू । म तिमीलाई कृष्णले नजिक राखेता पनि टाढा बनेकी रूक्मिणी र टाढा बसेर कृष्णको प्रतीक्षा गरिरहेकी राधा दुवै बनाउँदिनँ । यदि तिमीले साथ दियौ भने दुवैजना मिलेर जिन्दगीको नयाँ दियो बाल्ने इच्छा छ र त्यो दियोमा सँगै मिलेर तेल हाली अँध्यारोमा पनि उज्यालो छर्ने इच्छा छ । म तिम्रो मञ्जुरनामाको प्रतीक्षामा हुने छु ।
उही तिम्रो प्रेमी
समीर
डायरीभित्र भएको चिठी पढेपछि मेरो आँखाबाट बर्सात हुन थाल्यो । म समीर सरलाई सम्झेर निकैबेर रोएँ । मेरा पाइला काठमाडौँ जान हतारिए । टीकाको पर्सिपल्ट म र भाइ काठमाडौँ हिड्यौँ । कोठामा पुगेर सामान राखेँ र भाइलाई साथीलाई भेट्नु छ भन्दै कीर्तिपुर हिँडेँ । दीक्षान्त पुस्तक भण्डार बन्द थियो । दशैँ सकिएकै थिएन । के खुल्थ्यो । तर पनि म हरेक दिन दीक्षान्तमा पुग्थेँ । समीर सरको कल्पनामा हराउँथेँ । फर्किएर घर आउँथे । पूर्णिमाको भोलिपल्ट पाँचौ दिनको दिन दीक्षान्त खुलेको थियो । पसलमा कोही थिएनन् । एउटी भर्खरकी महिला थिइन् । सायद उनी नै नम्रता होलिन् भनेर अड्कल काटेँ । ‘कुन तहको पुस्तक लिन आउनुभएको ?’ नम्रताले नम्र स्वरमा प्रश्न गरिन् । ‘पुस्तक होइन फोन नम्बर लिन आएको ।’ मेरो जवाफमा उनको प्रश्न थियो, ‘कसको ?’ समीर कोइरालाको ‘एमएस्सी पढ्ने समीर ? तपाईं राधा हो ?’ कसरी चिन्नुभयो मलाई ? ‘समीर सधैँ हाम्रो पसलमा आउनुहुन्थ्यो । उहाँले तपाईंको खुब प्रशंसा गर्नुहुन्थ्यो । मेरी राधा गाउँमा छिन् । उनी यहाँ आएर फोन नम्बर मागिन् भने दिनुस् है भन्नुभएको थियो । अरू कसैको नाम दिनुभएको थिएन । त्यसैले अनुमान गरेको ठ्याक्कै मिल्यो । उहाँको पढाइ सकिएको छैन । दशैँमा घर जानुभएको होला । नम्बर टिप्नुस् त !’ एउटा कागजमा नम्बर टिपेँ । मसँग फोन थिएन । त्यहाँ ल्याण्डलाइन फोन देखेपछि मलाई समीर सरको आवाज सुन्न मन लाग्यो । ‘एक कल यहाँबाट फोन गर्न मिल्छ ?’ ‘किन नमिल्नु ? गर्नुस् न गर्नुस्।’ फोन नम्बर डायल गरेँ । मेरा हात काँप्दै थिए । कानमा फोन लगेँ । मेरो मन जोडजोडले ढङ्ढङ् गर्न थाल्यो । मुटुको चाल चाहिनेभन्दा बढी चल्न थाल्यो । हेलो ! सर… ‘राधा ! तिमी मेरी राधा हौ ?’ फोनमा पहिलोपटक कुरा गर्दैँ थियौँ हामी सरले मेरो स्वर कसरी चिन्नुभयो ? म छक्क परेँ । ‘राधा म तिम्रै प्रतीक्षामा थिएँ । मेरो प्रतीक्षा सफल भयो । म छठपछि काठमाडौँ आउँछु । तिमी कहाँ बस्छ्यौ ?’ कलङ्की ! मैले फोन राखेँ । नम्रता दिदीले पैसा लिन मानिनन् । म त्यस दिन दिनभरि स्कुलमा समीर सर आएदेखि नजाउन्जेलसम्मका सबै यादहरू बटुलेर घडी भवनमुनि टोलाइरहेँ ।
सरसँग बोलेपछि मेरो जीवन फरक तरिकाले बग्न थाल्यो । म हरेक पल सरको यादमा डुब्न थालेँ । चारखुट्टे खाटभरि किताब फिँजाएर बस्ने म बिस्तारै सरको याद फिँजाएर निदाउन थालेँ । त्यसपछि किताबहरू बिस्तारै चाङ लागेर बस्न थाले । स्कुलमा जस्तो अनिवार्य गृहकार्य गर्नुपर्ने नियम नभएपछि नोट गर्न राखिएका कापीहरूलाई पनि अक्षरका थुप्राहरूले थिच्न छाडे । पढाइको गह्रौँ बोझ हटाएर म प्रेमको सागरमा डुबिरहन्थेँ । भाइ बिहानै ट्युसनको लागि स्कुल हिँड्थ्यो । म सरको यादको खोल ओढेर दश बजेसम्म ओछ्यानमा पल्टिरहन्थेँ ।
‘राधा तिम्रो बुबाको फोन आएको छ ।’ घरबेटीले बोलाउन आउनुभयो । म त्यसदिन पनि क्याम्पस नगई कीर्तिपुर जाने तयारी गर्दै थिएँ । ‘छोरी राम्रो घरबाट कुरा आएको छ । हामीले त हुन्छ भनेका छौँ । केटा काठमाडौँमा बस्छ रे । पसल छ रे ठमेलमा । अर्को हप्‍ता शनिबार हेर्न आउने भनेका छन् । शुक्रबार आउ है ? ’ बुबाको कुराले मेरो मनमा ठुलो भूकम्प गयो । म थर्थराएँ । ‘बुबा अहिल्यै के बिहे गर्नु ? ऋणमाथि ऋण थुप्रिन्छ । फेरि मेरो उमेर पनि कति नै भएको छ र ? कल्पनाको बिहे भयो भनेर मेरो पनि गर्दिन खोज्नुभएको ? तँ छोरा होस् भन्ने अनि बिहे गरेर पन्छिन पनि खोज्ने । बुबा म पढ्छु, पैसा कमाउँछु । हजुरलाई र आमालाई खुसी बनाएर मात्र बिहे गर्छु ।’ काँपेको आवाजमा बालाई जवाफ फर्काएर फोन काटेँ । त्यो दिन कीर्तिपुर गइनँ । भोलिपल्ट कीर्तिपुर गएँ । छठ सकिएको पनि हप्‍तादिन भइसकेको थियो । ‘दीक्षान्तमा समीर सर आउनुभयो होला । नम्रता दिदीसँग मेरो बारेमा सोध्नुभयो होला । समीर सर कस्ता भए होलान् ? स्कुलमा आउँदाभन्दा पनि राम्रा भए होलान् । भेटेर के भन्ने होला ? मलाई किन प्रेमको पर्दाभित्र लुकाएर किन राखेका होलान् । त्यतिखेरै मलाई माया गर्छु भनेको भए उनको के जान्थ्यो र ? बिहे गरेको झुठो कुरा भनेर म कति दिन निदाइनँ । आज गाली गर्छु ।’ मनमा कुरा खेलाउँदै कलङ्कीबाट खसीबजार हुँदै उकालो लागेर हिँड्दै म दीक्षान्त पुस्तक भण्डारमा पुगेँ । पसलभरि टनाटन मान्छे थिए । दिदी मलाई देखेर मुसुक्क मुस्कुराउनुभयो । म छेउमा उभिएर यताउता हेर्दै समीर सरलाई खोजिरहेकी थिएँ । पसलमा मान्छे अलि पातलो भएपछि दिदीले समीर त आउनुभएकै छैन भन्नुभयो । मेरो मनमा उर्लिएका प्रेमका छालहरू बर्खापछिको खोल्साजस्तै सुनसान भयो । उकालो जाँदा खुसी भएर पखेटा पलाएका मेरा खुट्टा ओरालोमा घिस्रिँदै झरे ।
एक दिन साथीलाई एक कल फोन गर्छु है भनेर घरबेटीलाई सोधेँ । घरबेटीले स्वीकृति दिएपछि नम्रता दिदीसँग मागेर ल्याएको फोन नम्बर डायल गरेँ । फोन लाग्यो तर उठेन । दुईपटक गर्दा पनि नउठेपछि कोठामा आएर बसेँ । भोलिपल्ट पिसिओमा गएर फोन गरेँ त्यो पनि उठेन । ‘कतै सरले बिहे त गर्नुभएन ? बिहे नै गर्नु थ्यो भने त्यो दिन फोनमा किन त्यसरी बोल्नुभयो ?’ मनमा उठेका प्रश्नको उत्तर दिने कोही थिएन । हरेक दिनझैँ त्यो दिन पनि म क्याम्पसबाट आएर खाना पकाउन स्टोभ बाल्न लाग्दै थिएँ । कसैले ढोकामा हानेजस्तो लाग्यो । उठेर चुकुल खोले । मेरा आँखा झिमिक्क नगरी ढोका अगाडि उभिएको आकृतिलाई हेरिरहेको थियो । ‘भित्र बोलाउँदिनौ ?’ त्यो आकृति सरासर कोठामा छिर्‍यो । हतारहतार ढोका बन्द गरेँ । ‘यहाँ कसरी आउनुभयो ? कसरी देख्नुभयो यो कोठा ?’ ‘नयाँ नम्बरबाट फोन आएको देखेपछि फर्काएँ । सोध्दै जाँदा तिम्रो नाम लिनुभयो अनि उहाँलाई नै सोध्दै आएको ।’ एक मन खुसीले उफ्रिरहेको थियो । अर्को मन घरबेटीले के भन्ने हुन् भन्ने डरले काँपीरहेको थियो । समीर सर पहिलेभन्दा पनि राम्रो हुनुभएछ, हेरिरहूँ जस्तो लाग्ने । सर खाटमा बस्नुभयो । म खाना बनाउन थालेँ । ‘राधा भाइ स्कुल गएको हो ?’ स्टोभ मात्र बजिरहेको कोठामा सरको प्रश्न गुञ्जियो । ‘हो सर ।’ ‘सधैँ सर नै बनाउँछ्यौ मलाई ? समीर मात्र भन न ।’ सरले जिस्किएझैँ गर्नुभयो । मसँग दिने उत्तर थिएन । चुपचाप खाना झिकेर कराई बसालेँ । सर नजिकै आउनुभयो । ‘तेल उछिटिएर लाग्ला अलि पर जानुस् न ।’ सर फेरि खाटमै गएर बस्नुभयो । खाना पाक्यो । दुईओटा थालमा खाना पस्केँ । ढोका छेउमा भएको बाटा देखाएर एक जग पानी हात धुनका लागि सरलाई दिएँ । ‘मलाई पनि पकाएकी छ्यौ ?’ ‘घरमा आएको पाहुनालाई भोकै राखेर एक्लै खान मिल्छ त ?’ मैले जवाफ फर्काएँ । सर हाँस्नुभयो । खाना खाएर म भाइको खाटमा बसेँ । सर मेरो खाटमा बस्नुभएको थियो ।
सरले मेरो पढाइको बारेमा सोध्नुभयो । नेपाली विषय लिएर पढेको बताएँ । ‘तिमीले त विज्ञान विषय नै पढ्न सक्थ्यौ नि !’ ‘कसैले यो विषय पढ भनेनन् । कलंकीबाट नजिकै महेन्द्ररत्न क्याम्पस भएपछि सानोबुबाले त्यहीँ लगेर भर्ना गरिदिनुभयो । के पढे के हुन्छ भन्ने मलाई पनि थाहा थिएन । क्याम्पसमा विज्ञान विषय पनि पढाइ हुने रहेछ, पछि पो थाहा पाएँ ।’ एकछिन फेरि कोठामा सन्नाटा छायो । सर म बसेको खाटमा आउनुभयो । म उठ्न खोजेँ । ‘राधा किन उठ्न खोजेकी बस न । तिमी मदेखि खुसी भएकी छैनौ र ? हेर त कति लामो समयपछि हाम्रो भेट भएको छ ।’ म थचक्क सरको छेउमै बसेँ । सरले मेरो हात समाउनुभयो । मभित्र एक किसिमको डर उम्रियो । जिउमा काँडा उम्रिए । ‘कसैले थाहा पाए भने ? कोठामा आजसम्म सानिमा र सानोबुबाबाहेक अरू कोही आएका थिएनन् । घरबेटीले के सोचे होला ? बुबाले अहिले फोन गर्नुभयो भने ?’ अनेक कुरा मनमा खेलिरहेका थिए । सरको हातबाट मेरो हात हटाउन मन लागेको पनि थिएन । डरभित्र पनि आनन्द हुँदो रहेछ । कयौँ दिन छटपटाएका आँखा मौन भएका थिए । मनमा सुखद अनुभूति भइरहेको थियो । ‘राधा तिमीले ममा के देख्यौ त्यस्तो ? यति राम्री छ्यौ । क्याम्पसमा पनि तिम्रो पछि लाग्ने मान्छे होलान् । किन मलाई नै कुरेर बसिरह्यौ ?’ हजुर पनि त मलाई नै कुरेर बस्नुभएको रहेछ नि ! सर हाँस्नुभयो । हामी झन्डै तीन वर्ष यसरी नै लुकीलुकी भेटिरह्यौँ, एकअर्कामा समर्पित भएर । भविष्यका मिठामिठा कल्पनामा डुबिरह्यौँ ।
राधा फुपू अनि के भयो भन्नुस् न ! भन्नुस् न राधा फुपू ! किन रुनुभएको ? त्यसपछि के भयो भन्नुस् न ! के भनौँ नानी तिमीलाई ? तिमी फक्रिन लागेकी फूल, मेरो अतित सुनेर ओइलिसक्यौँ । अझ निरास किन हुन्छ्यौ नानी ? भो आजलाई यति नै, जाऊ पढ्न । राधा फुपू पूरै नसुनी त जाँदै जान्नँ । भन्नुस् न प्लिज’ ।
एकदिन समीर सर घर जान्छु र छिटै फर्कन्छु भनेर जानुभयो । तर फर्किएर आउनुभएन । मैले धेरैपटक घर कहाँ हो भनेर सोध्दा, ‘मेरो घरमा कोही छैनन् । आमा मात्र हुनुहुन्छ । त्यो पनि सानिमा । तिमीलाई म काठमाडौँमै राख्छु राधा । मेरी रानी बनाएर ।’ भन्नुहुन्थ्यो । त्यसपछि मैले कहिल्यै घरको बारेमा खोजीनिती गरिनँ । उहाँ मेरो विश्वास हुनुहुन्थ्यो । मेरो जीवन हुनुहुन्थ्यो । मेरो प्रेम हुनुहुन्थ्यो । अविश्वास गर्ने वातावरण कहिल्यै दिनुभएको थिएन । एक्कासि मेरो जीवनबाट उहाँ हराउनुभयो । त्यसपछि समीर सरको मोबाइलमा फोन लाग्न छोड्यो । कति म्यासेज गरेँ । कुनै रिप्लाई आएन ।
***

प्रतिक्रिया

सम्बन्धित खवर