✍️ सरस्वती सरस

हिजोआज अधिकांश मानिस लेखक बनेका छन् । कति रहरले बनेका छन् भने कति साँच्चै क्षमताले नै लेखक बनेका छन् । रहरले बन्नेहरू बढी भावनामा मात्र दौडिएर लेख्छन् । हुन त लेखनकलाको बिउ पनि भावना र कल्पना नै हो । तर बलियो र स्थापित लेखक बन्नका लागि भने धेरैभन्दा धेरै अध्ययन गर्नुपर्छ । म पनि रहरको फेरो समाएर लेख्न खोज्ने मानिस हुँ । तर लेखक भने होइन है । क्षमताले लेखक बन्नेहरू खोज, अनुसन्धान गरेर लेख्छन् । नेपाली साहित्यको इतिहास पल्टाउँदा ‘पृथ्वीनारायण’ कवितामा पुग्न सकिन्छ ।

त्यसपछि बिस्तारै विभिन्न विधाहरू कालक्रमसँगै अघि बढेका छन् । अहिले त नेपाली साहित्यमा सशक्त र अब्बल लेखकहरू दिनानुदिन बढ्दै छन् । जसले साहित्यको धरालाई मलिलो र हराभरा बनाएका छन् । साहित्यमा बाँच्ने लेखकहरूको छुट्टै समूह बनेको छ । साहित्यिक मनहरूलाई जागिरको चिन्ता कम हुँदै गएको छ । देवकोटाले साहित्यको परिभाषा ‘सजीव अनुभवहरूको कलात्मक प्रकाशन हो ।’ भनेर दिएका छन् । हो पनि सजीव अनुभव भएका कुराहरूलाई कलात्मक ढङ्गले तत्तत् विधामा ढालेर लिपिबद्ध गरी सार्वजनिक गर्नु नै साहित्य हो । कल्पनाको महासागरमा अलङ्कार ओढाएर निश्चित ढाँचामा लेखिएका शब्दजाल नै साहित्य हो ।

मलाई लाग्छ असल लेखक बन्नका लागि सबैभन्दा पहिला असल पाठक बन्नुपर्छ । असल पाठक र असल लेखकका सीमाहरू धेरै हुनसक्छन् । खैर त्यतातिर नजाउँ । म खासै बलियो पाठक होइन । असल पाठक पनि होइन । लेखक होइन भन्ने कुरा माथि भनिसकेको छु । मलाई पढ्न मनपर्छ । सिरानीको छेउमा, बाहिर हिँड्दा झोलामा किताब भएन भने मलाई के भएन, के छैन जस्तो मनमा भइरहन्छ । कसैको घरमा जाँदा किताब देखेँ भनेँ, कसैले किताबका कुरा गरे भने ती घरमा गइरहूँ र ती मानिसहरूसँग भेटिरहूँ जस्तो लाग्छ । किताबका कुरा गर्ने मानिस भलादमी हुन्छन् जस्तो लाग्छ । साहित्यलाई प्रेम गर्ने मान्छे पनि ज्ञानी हुन्छ जस्तो लाग्छ । तर सबै सज्जन र ज्ञानी किन हुन्थे र १ दुई बीसको सङ्घारतिर पुगेपछि मलाई साहित्यका विभिन्न विधाहरूले तान्यो । खास भन्ने हो भने महेन्द्ररत्न क्याम्पस, ताहाचलमा स्नातक पढ्न थालेपछि साहित्यतिर मेरो ध्यान जान थालेको हो । त्योभन्दा अघि पटक्कै जाँदैनथ्यो भन्ने चाहिँ होइन है ।

स्कुलमा अक्षर नराम्रो भएर गाली खाएपछि सुधार गर्ने बहानामा मैले मनका कयौँ भावनाहरू लेखेर लेखाइ सुधारेकी थिएँ । किताब सारेर अक्षर नबनेपछि, मनमा जे आउँछ त्यही लेखेर सुधार गर्नु मैले आफ्नै लागि गरेको सफल परीक्षण पनि थियो त्यो । मभित्र साहित्यको थोरै थोरै भोक पहिल्यैदेखि थियो । गोठालो जाँदा ठूलोबुबाले चउरमा बसेर लय हालेर भन्ने गीताका श्लोकहरू नबुझेरै पनि मिठा लाग्थे । सुनाइरहन आग्रह गर्थेँ ।

हजुरआमाले अँगेनाको छेउमा खाना बनाउँदै भनेका उहाँका भोगाइहरू लेखेर राख्थेँ । कसैको गाली खाएपछि, कसैको माया पाएपछि मनमा जेजस्ता भावना उम्लिन्थे त्यसलाई पनि कापीमा पोख्थेँ । तर डरले भनौँ या के ले हो त्यसरी लेखेका कापीका पानाहरू पुराना कापीकिताबका चाङभित्र लुकाउँदा आनन्द आउँथ्यो । घरमा बुबाले १० कक्षा पास गर्नुभएको थियो तर आमा भने आफ्नो सही जसोतसो गर्ने झण्डै निरक्षर नै हुनुहुन्थ्यो । उहाँको नाम लेखेर यो के हो भन्यो भने चिन्नुहुन्थेन । आमा आमा समूहमा बस्नुभएको थियो । हरेक महिना पैसा बुझाएपछि ल्याप्चे लगाउनुपर्ने । गाउँको बाठीटाठी मान्छे ल्याप्चे लगाउन लाज लागेछ । एकदिन मलाई सही गर्न सिकाइदे न भन्नुभयो । एक घण्टा सिकाउँदा बल्लबल्ल नामको पहिलो अक्षर लेख्नुभयो । त्यसपछि हरेक महिना बस्ने समूहको अघिल्लो दिन कहिले कान्छी बहिनीले कहिले त मैले एक घण्टा सही गर्न सिकाउँथ्यौँ । आमाको लाज सहीले छोपेपछि उहाँ दङ्ग पर्नुभयो ।

हामीले घरमा कोर्सका किताब पढ्ने बाहेक अन्य किताब पढ्ने अवसर कहिल्यै पाएनौँ । गाउँमा त्यति सुविधा पनि हुन्थेन । तै पनि मनमा लागेका कुराहरू, गीतहरू, सायरीहरू लेखेर कापीका पाना भरेर राख्थ्यौँ । आमाले अक्षर चिन्नुहुन्थेन तर बुबाले बेलाबेलामा कस्तो पढेका छौँ हँ भनेर कापीकिताब हेर्नुहुन्थ्यौ त्यतिखेर भने साह्रै डर लाग्थ्यो । अनि लेखेका ती लेखेका कापी लुकाउने बाहेक अन्य विकल्प हुन्थेन । हामीले पढ्ने बेलामा पुराना कापीकिताब किन्ने मान्छे घरघर डुल्दै आउँथे । हामी पुराना कापीकिताब बेच्न तम्सिन्थ्यौँ तर बुबाले आफूले पढेको किताब बेच्न हुन्न । विद्या पनि कसैले बेच्छ,भन्दै गाली गर्नुहुन्थ्यो । बार्दलीको आधा भाग पुराना किताबकापीले भरिएको हुन्थ्यो । एकवर्ष दसैँमा घर पोत्दै जाँदा आमालाई बार्दली पन्छ्याउन साह्रै गाह्रो लागेछ ।

बोराहरू मुसाले काटेर किताबकापी टुक्रैटुक्रा पारेर छ्यार्रब्यार्र पारेको देखेपछि रिस पनि उठेछ । आमाले त्यो वर्ष सबै किताबकापी बार्दलीबाट मलखाँदमा खसालीदिनुभयो । भाइबहिनी र मैले अर्को बोराहरूमा उठाउँदै थियौँ । ‘पुराना किताबकापी छ भने दिहाल्नुस् साउनी हामी लगिहाल्छु’,भन्दै घरमै मधेसी लबजका मान्छे आए । दसैँताका अलि बाक्लै त्यस्ता मान्छेहरू गाउँभरि डुल्थे र कापीकिताब, बिग्रेका रेडियोलयातका पुराना सामानहरू किनेर लैजान्थे । लगाउन नमिल्ने भएका जुत्ता लिएर टीका, काँटा अरू धेरै शृङ्गारका सामान साट्ने मानिसहरू पनि खुब डुल्थे । त्यतिखेर हाम्रा लागि असन, इन्द्रचोक घरमै पुग्थे ।

त्यसदिन बुबा घर हुनुहुन्थेन आमालाई पनि काम नलाग्ने सामान बार्दलीभरि भएको देखेर रिस उठिरहेको थियो । हामीलाई पनि ती पुराना किताबकापी बेचिदिन पाए हुन्थ्यो जस्तो लागिरहेको थियो । आमाको स्वीकृति पाएपछि तेह्र धोक्रा किताबकापी तीन सयमा बेचेर हामी मक्ख पर्यौँ । म झन् मक्ख थिएँ । किनकि मैले पढ्ने कुराभन्दा बाहिरका कुरा लेखेका कापीहरू पनि त्यही तेह्र बोराभित्र थिए । अझ कसैले देख्छ कि भन्ने डरसमेत बेच्न पाएको थिएँ त्यो दिन । अहिले सम्झदा खल्लो लाग्छ । राखेको भए पनि हुन्थ्यो नि मैले ती कापीहरू । पुराना यादहरू सम्झदा ती कापीका पानाको याद खुब आउँछ । हिजोआज आमाको याद थपिएको

छ । लेखेका यादभन्दा धेरै आमाको यादले समयसमयमा मन बिथोलिरहन्छ, दुःखीरहन्छ । आफ्नी आमा आफूबाट टाढा अझ नफर्किने गरी टाढा हुँदा कसको मन नदुख्ला र १ पढाइलेखाइका कुरा गर्दै थिएँ । बहकिएर कताकता पुगिछु ।

किताब पढ्नु भनेको मेरा लागि अनावश्यक कुराहरूबाट टाढा रहनु हो । मनलाई स्थिर बनाउनु हो । मनमा उठेका तरङ्गहरूलाई लय मिलाएर लेख्न सिक्नु हो । कहिलेकाहीँ मन मिल्ने साथीहरूसँग बसेर बजारमा आएका किताब केकस्ता छन् भनेर निफन्न, केलाउन सिक्नु हो । मलाई लाग्छ हरेक मानिससँग पठन क्षमता हुन्छ । लिखित सामग्री पढ्न नजान्नेले पनि मानिसका व्यवहार, बसेको परिवेश, भोगेका जीवनहरू पढिरहेको हुन्छन् । पढ्न जान्नेले आफ्नो रुचि र क्षमताअनुसाका सामग्री पढिरहेका हुन्छन् । हुन त जीवन भनेको पढाइ त हो ।

मानिसको जीवन एकैनासले कहाँ बग्छ र । दुःख पढ्दैगर्दा ( सुख पाउँछ । सुख पढ्दैगर्दा( दुःख आउँछ । हरेकका जीवनमा अनेक उतारचढाव आइरहन्छ । कसैले लेखेर मन बुझाउँछन् । कसैले नजिकका मानिसलाई सुनाएर मन बुझाउँछन् । त्यसैले मलाई लाग्छ, हरेकको हृदयमा साहित्य हुन्छ । हरेक मानिस साहित्यिक हुन्छन् । मात्र बाहिर आएर स्थापित हुन भने धीरता, सङ्घर्ष र साधना गर्नुपर्छ । एकपटक पढेका कुराहरूलाई आधार बनाएर त्यस्तै र उस्तै लेख्नु साहित्य हुँदै होइन । साहित्य समाजको दर्पण हो । समाज गतिशील छ । साहित्य पनि गतिशील हुनुपर्छ । साहित्य र समाजको समानधर्मिता छ भने मात्र त्यस्ता साहित्यले पाठकको मन तान्न सक्छन् । होइन भने लेखक आफैमा मात्र सीमित हुन्छ । समाजले नपत्याउने लेख र साहित्य ढोडको आगो जस्तै हो । केहिबेर बल्छ अनि निभिहाल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर