‘असुर’ नाटक ओजस थिएटरमा मञ्चन भइरहेको छ । पारिवारिक विद्रोह, राजनीतिक व्यवस्था र वर्गीय उत्पीडनलाई नाटकमा सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । नाटकले तत्कालीन समय अर्थात् दश वर्षे सशस्त्र द्वन्द्वको वास्तविक अनुहारसमेत छर्लङ्ग रूपमा प्रस्तुत गरेको छ । महिलालाई भोग्य साधनको रूपमा मात्र प्रयोग गरिने हिंस्रक प्रवृत्तिलाई उदाङ्गो पारेको नाटकमा समाजमा रहेको वर्गीय विभेदलाई समेत उत्खनन गरिएको छ ।
त्यतिमात्र नभएर क्रान्तिद्वारा परिवर्तन गर्न युद्धमा होमिएका अबोध सिपाइहरूको भ्रमित विश्वासलाई पनि नाटकमा सुन्दर ढङ्गले मञ्चन गरिएको छ । जनतालाई सिद्धान्तको कसीमा घोटेर युद्धमा होमिन विवश पारिएका युद्धका नाइकेहरूको चरित्रलाई भण्डाफोर गरिएको नाटकमा सशस्त्र युद्धको यथार्थ तस्बिर नजिकबाट नियाल्न सकिन्छ ।
साहित्य समाजको ऐना हो, इतिहास सुरक्षित पार्ने रचना हो । जुन साहित्यले पाठक, श्रोता र दर्शकको मन जित्छ त्यो साहित्य अब्बल ठहरिन्छ । साहित्यमा समाजको समानधर्मिता छ भने त्यो साहित्य अझ उत्कृष्ट मानिन्छ । ‘असुर’ मा समाजको समानधर्मिता छ त्यसैले नाटकले दर्शकको मन जित्न सफल भएको छ । उक्त नाटक पछिल्लो समयका नयाँ पिॅंढीलाई ठिकै लाग्ला तर अघिल्लो पुस्ताको इतिहास र नेपालको राजनीतिक र सामाजिक अवस्थालाई बुझाउन सकियो भने उनीहरूले पनि नजिकबाट त्यो समयलाई देख्न सक्छन् । इतिहासलाई आफ्नै आँखाले हेर्न र मनले छाम्न सक्छन् । तत्कालीन समयको राजनीतिक सामाजिक व्यवस्था र युद्धलाई आफ्ना नाङ्गा आँखाले देखेका मानिसहरूले भने नाटक हेर्दा पटक पटक आँखा भिजाउॅंछन् ।
युग फेरियो जुग फेरियो
फेरिएन मान्छेको रूप
यस गीतबाट सुरु भएको नाटक यसै गीतबाट अन्त्य हुन्छ । नाटकमा प्रस्तुत भएका गीतका अंशहरूले समाजका सीमान्त वर्गको आवाजलाई अभिव्यक्त गरेको छ । नरेन्द्र /विवेक र कलावती पात्रले नाटकमा नट र नटीको भूमिका निर्वाह गरेका छन् । उनीहरूलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको नाटकमा समाजमा रहेका नारी र पुरुषको स्थानलाई बलियो तरिकाले उभ्याइएको छ ।
निम्न वर्गलाई उच्च वर्गले आफ्नो पञ्जामा खेलाएर ऋणको भुमरीमा खसाउॅंदा एक दाईलाई आफ्नै बहिनी बेच्न बाध्य तुल्याएको मार्मिक चित्र नाटकमा देख्न सकिन्छ । उच्च पदमा बसेर जनतालाई आफ्नो इसारामा खेलाउने, घरकी नारीलाई सम्मानित व्यवहार नगरी मर्न विवश बनाउने दानवीय प्रवृत्तिको पात्रले भोगको लागि आफूभन्दा धेरै सानी नारीलाई प्रयोग गरेको सन्दर्भले दर्शकको मन भारी बनाउॅंछ ।
नारीलाई भोगको साधनको रूपमा प्रयोग गर्दाको परिणाम स्वरूप आफ्नै बाबुको वध गर्न पुगेको छोरो, आफ्नै बहिनी बेच्ने दाइ, प्रेमलाई सम्मान गर्ने नसक्ने प्रेमी र राजनीति गर्ने उच्च वर्गलाई ‘असुर’ को रूपमा प्रस्तुत भएको छ ।
अन्तमा, झण्डै दुई घण्टा मञ्चन भएको नाटक हेरेर फर्कॅंदा मलाई टिकट काटेको पैसा खेर गएको अनुभव भएन । लेखन र मञ्चन नाटकको बलियो खम्बा हुन् । प्रस्तुत नाटकमा यी दुवैले न्याय गरेका छन् । नाटकको शीर्षकअनुसार पात्रहरूको प्रयोग र अभिनयले दर्शकलाई मोहित बनाएको छ । तसर्थ, नाटकको शीर्षकअनुसार पात्रहरूको प्रयोग र अभिनयले दर्शकलाई मोहित बनाएको छ ।
प्रतिक्रिया
-
४
