✍️ धनराज गिरी

” सर,सम्माननीय प्रधानमन्त्रीज्यू हजुरलाई भेट्न चाहनुहुन्छ । चिन्नुभएको रहेछ हजुरलाई, गजल सुन्न मन छ रे । म गाडी लिएर आउछु है, १५ मिनेटमा ।” चेलो शेरबहादुर परियारको फोन आयो, अचानक, प्रोफेसर निर्मलकुमार आनन्दलाई । उसले ओक्के भन्यो र आफू पनि अलि स्तरीय पोशाकमा सजियो । यता गृहमन्त्री जानकी आरोही,” फेरि अबेर गर्ने होइन नि,सौराहा गएपछि त घर नै बिर्सिने,कुन दामिनी हो कि कामिनी हो ए जोक्कर हीरो बूढा ?” नारीको मन, उनलाई वास्तविक कुरा थाहा छैन । सम्झायो राम्रोसित ।” ए,राजदूत हुने हो ? ” आरोही पनि देश बुझ्ने भएकी ।” राजदूत होइन हीरोहोण्डा !” प्रोफेसर पनि के कम ! आयो चेलो, लिएर गयो गुरुलाई । ” वेलकम आनन्द सर, वेलकम,” लोकल नेताले स्वागत गरे । लगे कोठामा । अचम्म, सोझै हात मिलायो आनन्दले,अरू जिल्ल । तपाक हात मिलाए पी एमले, असजिलो मानी मानी ।
—-
” माफ गर्नुहोला पी एम जी, मैले एकपटक तपाईंको प्रवचन सुनेको हो, भन्नुभएको थियो, म जनताको सेवक हूँ, तपाईं सेवक, म त जनता, मालिक, यही भएर मैले नमस्कारको औपचारिकता पालन गरिन । दुःख त लागेन नि ?”आनन्दले आनन्दसित भन्यो ।” अरे शेरखान साहेब,आज पहिलो पटक एक स्वाधीन नागरिकको सामना गर्न पाएको छु, उदेक लागेन, आश्चर्य लागेन।यहाँको स्वाभिमानलाई सलाम । हो,यस्तै आत्मसम्मानको मूल्य थाहा भएको नागरिक चाहिएको छ यो देशलाई । खुशी लाग्यो प्रोफेसर साहेबलाई भेटेर ! बरू केही सुझावको अपेक्षा गर्दछु ।” मुस्कुराएर बोले पी एम । आनन्दको अनुहारको आभा र नैनको तेज देखेर उनको सुझबुझले रोजगारी पायो ।” भन्नुपर्ने त कति कति, पहिलो कुरा मात्र दुई दल हुने व्यवस्था होस्, यो प्रदेश चाहिन्न, खारेज, जम्मा २०० मात्र सान्सद, सम्पूर्ण संघसंगठन खारेज, मन्त्रीमण्डल जम्मा ११ जनाको, काम ,काम, काम । एक परिवारबाट एकजना मात्र राजनीतिमा, जागिरे जति सबैलाई बेजिल्लामा सरुवा, स्कुल, कलेज पनि । सम्पूर्ण घुस्याहाहरूको सम्पत्ति छानबिन । डायरी लिएर कक्षामा जान, कलेजमा, प्रतिबन्ध ! राजदूत नियुक्ति आयोगले परीक्षा लिएर । चुनावमा नो खर्च । राजनीतिमा नो गालीगलौज र आरोप प्रत्यारोप।लोकल इलेक्सनमा दलमुक्त । टिकट लिन नपर्ने । व्यापक अनुगमन । अरू कुरा म रोडम्याप नै बनाएर पठाउने छु । शिक्षा र स्वास्थ्य सम्पूर्ण निशुल्क ! यही हो मेरो सुझाव ।”

“बा, ए बा,आज ओगा ओगा जाने हो,कति घुरेर निदाएको हो,आमाले चिया पकाउनुभयो।सपनामा सके प्रधानमन्त्री बन्नुभयो होला । हिजो दिनभरि नेताहरूलाई गाली गर्नुभएको थियो । बा, ए बा!” छोरो गजलनारायण काफियाले जगायो आनन्दलाई ।” ह्या कविजी, यहाँ आफ्नो “सेवक”सित कस्तो उत्पादकत्व भएको गफ चल्दै थियो । सब गयो।” छोरालाई सपना सुनायो । छोरो बोल्यो,” केको सेवक नि सबै राजा मान्ने नि आफूलाई ! “

प्रतिक्रिया

सम्बन्धित खवर