✍️धनराज गिरी 

कल्याणी खुशी,उनको नाम,नाम त अरू पनि छन् ,नामको के दुःख, करुणादेवी सुखुपाध्याय र दयावती गिरोपाध्याय, जानकी, सीता, गौरी, राधा, रिया, जिया, अजेया, विजया, रूपा, सभ्यता, गीता अनेक नाम दियो प्रोफेसर दिग्विजयानन्द भुलोपाध्याय विवेकी बिस्फोटले,उसको आफ्नै नाम पनि अर्जुनको भन्दा पनि बढी । आज कल्याण गरेर बसेको छ प्रोफेसर । उता खुशीको अनुहार उज्यालो छ।

नजिक आएर बोलिन्, ” बूढा, एउटा कुरा भन्छु है ?” पुलुक्क अनुहार हेर्यो। गालामा चुम्मा दिन खोज्यो,तर सानी नातिनी आएर शुभ कर्म रोकियो। ” एउटा किन, धेरै भन !” अनुमति दियो।
—–
” प्यारा यारा, मैले यसो अनुभव गरेको हाम्रो जोडी धेरै भाग्यमानी !हरेक घरमा अनेक लफडा, उही नभन्ने मात्र,हजुरको साथी चेलो गोपालनन्दन भद्रकुमार सन्तोषले भनेजस्तै, उपचार न हुने भएपछि रोग किन भन्ने ? हो साथी, मानिसहरू सुखी छैनन् । देखाउने मात्र हो। सबै दु:खी, भित्र भित्र। हजुर त बिन्दास !” ” प्यारी,यही हो जिन्दगी ! हेर्दै जानू। तिमी एक वरदान मेरो लागि,हाम्रो परिवारले यत्तिको उज्यालो अनुभूत गर्न पाउनुमा तिम्रो र हाम्रो बाआमाको लगानी छ,मेरो त कुनै भूमिका छैन। म त लहडी, अराजक फेसबुके !”

” नो नो नो,हजुर नभएको भए त …. ” अलि भावुक बनिन् खुशी। नयननीर देखिए। सानी नातिनी काखमा। ” बा, हा हा हा” उनको लीला। ” साथी,हे प्रोफेसर जगमोहन आजादको मितवा,एउटा कुरा,बाल्यकालमा जति जे जे बदमासी गरे पनि अचेल म हेरिरहेकी छु, ” फील ” हुन्छ मलाई,हाम्रा सन्तानहरू कति असल!नो भूल, नो गल्ती, नो मिस्टेक, किन साथी ?

अलि अलि रिसाए हुने ? मलाई पनि हपारे हुने?किन यति सज्जन भए हाम्रा सन्तानहरू ? किन यारा ? अचम्म लाग्छ, रुखो वचन पनि छैन । अन्त सन्तानको कारण अभिभावक धुरु धुरु रोएको देखेको छु। हामी त ढुक्क !”

कल्पनातीत उज्यालो,खुशीको अनुहारमा। ” कोटा सकियो!” दुई शब्द बोल्यो प्रोफेसर । जिल्ल खुशी,” केको कोटा सकियो?के भन्नुभएको?बुझ्ने गरी भने पो,  त्यति सरल तरिकाले सिकाउने,पढाउने मान्छे,किन कोटा सकियो ? केको कोटा ?”

” हाम्रो चार पुस्ताले गर्न पाउने भूल, बदमासी, गल्तीको कोटा, म एक्लैले सक्ने काम गरेछु पियारी, भीमसेनले भान्सामा पाकेको खीर एक्लै भ्याएजस्तै, यो दुनियाँको सम्पूर्ण गरीबी शून्य बनाउन पुग्ने भौतिकता केही पात्र, केही घरानाले आफ्नो कब्जामा राखे जस्तै,हाम्रो चार पुस्ताले गर्ने गल्ती यो प्रोफेसरले बढी जान्ने भएर आफैं गरिसकेछ, हो साथी, म अभियुक्त, एक गुनेहगार, खराब पात्र रहेछु, भुलोपाध्याय मेरो थर सार्थक !सबै भूलको कोटा यही अराजक बाउले भ्यायो। अनि सन्तानले के चान्स पाउने त ? ”

” ह्या,बूढा,यति इमानदार हुनुहुन्छ,केको गल्ती नि,के सोचेको यस्तो?जेमा पनि मजाक!!” ” प्यारी,इमानदार हुनुभन्दा ठूलो गल्ती अर्को छैन नि, यो दुनियाँमा ! कुरा बुझ !! अब म गजल लेख्छु। बेकसुर हुनु सबैभन्दा ठूलो कसुर हो।

निर्दोष हुनु नै हिमालयन दोष हो। सरल,सज्जन, असल र योग्यहरूको हालत हेर त नेपालमा! अब बुझ मेरो साहित्य! अभिधामा कुरा गर्छ र यो मस्ताना बाको BODMAS सुपुत्र ? ल,म गजल लेख्छु है!अग्निको कथा लेख्नुछ,एक अर्को महाकाव्य !” प्रोफेसर गजल लेख्न थाल्यो।

प्रतिक्रिया

सम्बन्धित खवर