– धनराज गिरी

” यो उमेरमा आएर नौलो नौलो पाठ सिकियो गुरुदेव!मज्जाले सिकियो। ” आफ्नो बाहिरी व्यवहारको आधारमा दुनियाँले आफ्नो बारेमा धारणा बनाएको कुरा थाहा पाएर प्रोफेसर निर्मलविमलकन्चनराजानन्द गजलोपाध्यायले आफ्नो साहित्यिक गुरु ” सुगशोदिजनकानन्द गीतानाथ छन्दोपाध्यायलाई ” मनको कुरा सुनायो। ” होइन के नौलो कुरा सिकियो फेरि,हजुरको लीला बुझेर सकिन्न। के भयो?लौन !” आफ्नै शैलीमा बोले भोलेनाथ मन्दाक्रान्ता। ” सिकियो गुरु,सिकियो। प्रवेश – निषेध,हरेक कुरामा। बाको लागि छोरी महत्वपूर्ण,तर यो सामान्यीकरण होइन। हरेक परिवारभित्र कुरुक्षेत्र,अमूर्त, भन्न नमिल्ने। गुरुदेव,म चाहन्छु देखिने जिन्दगी र भोगिने जिन्दगी सकेसम्म उही होस्। तर नहुने रहेछ। मेरो फुक्काफाल स्वभाव र पारदर्शी बानी,अक्सर,काम छैन। गम्म फुलेर बस्ने। शहीदहरू सम्झिएर मौन धारण गरेजस्तो गर्ने। हेर्दा विशेष भलाद्मी देखिने। भाइमारा,लुटेरा भए पनि दानी देखिने,वाह वाह गर्न खेताला लगाउनुपर्ने रहेछ। अचम्मको बिरोधाभाष छ यो दुनियाँमा । ”

” बल्ल होश आयो बन्धु?भो,छोड्नुहोस्। यस्तै हो। झ्याउ मान्छ दुनियाँले! तर एउटा कुरा ढुक्क हुनुहोला,मेरो चेलोलाई राम्रोसित चिन्नेहरूले प्रोफेसर जगमोहन आजादजस्तै,महामायानन्दनजस्तै,सीताकान्तजस्तै,गीतानाथ जस्तै,निर्मल,विमल,कन्चन,भन्छन् !हजुर ढुक्क भए हुन्छ। अलिअलि रीस त गोरे कृष्ण मीठुकान्त,सदा शान्तको पनि हुन्छ।पाठ सिकियो,अब लोभी र फटाहाबाट दूर रहने!” गीतानाथ बोले।
” होश त २०२० सालमा नै आएको हो गुरुदेव!सरल बन्न खोज्दा गरल पिउन विवश भएको हो। भित्र भित्र जे पनि गर,बाहिर बाहिर भलाद्मी बन,यही रहेछ दुनियाँको रीत। सिकियो गुरुदेव,सिकियो। ”
” अर्थ र यौन,सम्झे कौन? अर्थले निम्त्याउने अनर्थ हो,विवेक गुमेमा। दाम र दामिनी, काम र कामिनी,हनी ट्र्याप,मनी ट्र्याप,खतरनाक ! जोगिने,जोगाउने! लौ त बन्धु,अब एउटा छन्द कविता लेख्नुछ। ” बिदा भए गीतानाथ,घोरियो गजलोपाध्याय! ” सिकियो!” आफैंसित।

***

प्रतिक्रिया

सम्बन्धित खवर