✍️ फिराक गोर्खाली

जून २००७, तारिख त ठिकसित याद छैन। म छिमेकमा ट्युसन पढ़ाएर घर फर्किँदै थिएँ । घरको अगाड़ि डेभिड दाजुसँग भेट भयो। दाजुलाई देखेर उत्साहित हँदै सोधेँ, “दाजु, दार्जीलिङबाट कैले फर्किनु भयो ?”

दाजुले पनि मेरो सम्बोधनको उत्तर उत्साहित हुँदै दिनुभयो “भाइ, आज बिहानै आइपुगेँ। म र दाइ मेरा घरतिर लाग्यौँ। घरको आँगनमा बुबाआमा र अरू परिचित व्यक्तिहरू चिया पिउँदै बसेका रहेछन्। दाजुले सबैलाई ढोग गर्नु भयो। दाजु दार्जीलिङबाट आउनुभएको कुरा अरू दार्जीलिङे भारतीय गोर्खालीहरूका लागि कति चासोको विषय हो सबैले थाहा छ। अकास्मात् मैले दाजुलाई एउटा प्रश्न सोधेँ “दाजु, दार्जीलिङमा भानुभक्तको मुर्ती छ नि?” (त्यस बेला भानुभक्त आदिकवि हुन् भन्ने मलाई थाहा थिएन)। दाजुले उत्तर दिँदै भन्नुभयो, “हो भाइ, छ त। चौरस्तामा छ अनि यो सारा संसारमा भानुभक्तको पहिलो मुर्ती पनि हो। त्यो जगहलाई भानु चोक भनिन्छ।” दाजुले अझ थप्दै भन्नुभयो “दार्जीलिङमा भानुभक्त जयन्ती निकै भव्य रूपमा पालन गर्छन्।”

यो सुनेर मेरा बुवाले भन्नुभयो “१९८१ – मा हामीले पनि गजेन काकाका घरमा भानुभक्त जयन्ती मनाएका थियौँ।” बुवाले फेरि भन्नुभयो “हामीले यहाँ पनि मनाउनुपर्ने हो भानुजयन्ती, भानुभक्तले रामायणको नेपालीमा अनुवाद गर्नुभएको हो।” बुबाका कुरा सुनेर म र डेभिड दाजु दुवै जना छक्कै पऱ्यौ। सायद दुवैलाई बुबाबाट यति जानकारीको अपेक्षा थिएन। त्यस बेला हामीमाझ के सल्लाह भयो भने यसपालि पासीघाटमा भानुजयन्ती मनाउने।

अर्को दिनदेखि म र डेभिड दाजुले समाजका ज्येष्ठ जनहरूसँग सम्पर्क गर्न सुरु गऱ्यौँ। १९८१ – मा भानुजयन्ती मात्र १०-२० -जना मिलेर मनाएका थिए। त्यो कार्यक्रम एउटा कोठाभित्र सीमित थियो। पासिघाटका ८० प्रतिशत गोर्खालीलाई भानुभक्त आचार्यको विषयमा थाहा थिएन। अरूको के कुरा गर्नु मलाई नै था थिएन उनको जीवनी। मात्र यति था थियो भानुभक्तले नेपालीमा रामायणको अनुवाद गर्नुभएको।

कुनै पनि कार्यक्रम आयोजना गर्नलाई जरुरी हुन्छ धन। तर त्यति बेला धन सङ्ग्रह गर्न भन्दा पनि ठुलो चुनौती थियो जुन घरमा आर्थिक सहयोग खोज्दै गयो घरभेटीलाई पहिला भानुभक्त को हुन् जानकारी गराउनुपर्ने। जुन विषयमा स्वयमलाई सम्पूर्ण ज्ञान छैन त्यसको आयोजनाको उद्देश्य र गम्भीरता बुझाएर चन्दा लिनुपर्ने। तब पनि आफ्नु सीमित ज्ञान र जातीय चेतनाको सहारा लिँदै म र डेभिड दाजु लागिरह्यौँ।

यसैमध्ये एउटा बहुत रोचक संस्मरण हुनगयो। म, डेभिड दाजु, किरण बैनी र रेश्मा बैनी पासिघाटको शान्तिनगर भन्ने भेकमा चन्दा बटुल्न र कार्यक्रमको जानकारी दिन भनेर गएका थियौँ। बेलुकीको बेला थियो, एउटा घरभित्र पस्यौँ। तगारो भएको गेट, बारी काँक्राले लरिबरी, गृह स्वामिनी गाई दुहुँदै हुनुहुन्थ्यो। घरको आँगनमा एकगना हजुरबा बसिरहेका थिए। बालाई नमस्कार दिँदै हामी पनि उहाँका नजिक बस्यौँ। मलाई प्रत्येक घरमा भानुभक्तको विषय बोल्दा बोल्दा अलिक थकाइ लाग्नथालेको थियो। मैले डेभिड दाजुलाई भनेँ, “दाजु, यो घरमा तपाईँ नै बोल्नू।” डेभिड दाजुले मन्टो हालाउँदै हजुरबालाई सोध्नु भयो “हजुरबा, भानुभक्तको नाम सुन्नु भाको ?”

हजुरबा कान केही कम्ती सुन्नुहुँदो रैछ, डेभिड दाजुले बोलेको नसुनेर बाले भन्नु भयो “नानी के भनेउ?” दाजुले यसपटक अलि जोड़ले सोध्नुभयो “बाजे, भानुभक्तको नाम सुन्नुभएको छ?” यसपालि बाले सुन्नु भएछ र उत्तर दिँदै भन्नु भभयो “नानी, किन न सुन्ने र? सुनेको छु।” यो सुनेर खुसी लाग्यो यस घरमा धेर बुझाउनु परेन भनेर। बाजेले फेरि भन्नुभयो, “नानी भानुभक्तको नाम त सुनेको छु, बाटाघाटामा देखादेख पनि भाको होला, तर नानी, भानुभक्तसँग भेटघाट र चिनाजानी चै ठिकसित भएको छैन आजसम्म।”

बाजेको कुरा सुनेर हाँस्न मन लाग्यो तर मिलेन। केही छिनपछि घरका अरू सदस्यहरू पनि आइपुगी सकेका थिए।

नोट: पासीघाट, भारत देशको सुदुर उत्तर पूर्वमा स्थित अरुणाचल प्रदेश राज्यको एउटा सानो सहर।

प्रतिक्रिया

सम्बन्धित खवर