✍️ मनु विद्रोही
गजल – एक
कहिलेकाहीँ एकै शब्दले दिलमा ठक्कर पुग्छ
छुरा भन्दा धारिलो वचन हो जिन्दगीभर पुग्छ
बाँचेको समय भन्दा मृत्यु सुन्दर भयो भने
तिमी नपुगेको सहरमा तिम्रो खबर पुग्छ
कुनै गल्ती प्रिय हुन्छ दोहोर्याउन मन लाग्ने
अरुको कमजोरी माथि त छिटो नजर पुग्छ
सबै मान्छे महत्वपूर्ण बन्न सक्दैनन् तिम्रा लागि
विशेष मान्छे खतरनाक बने पो असर पुग्छ
जति मान सम्मान इज्जत दिएर राख्नुहोस्
जसरी पनि फोहोरमै मिसिन कसिङर पुग्छ
गजल – दुई
जिर्णघर जस्तै कुनै सम्बन्ध आफै भत्केर जान्छ
धेरै कुराको आयु समायोजन नमिलेर जान्छ
तछाड मछाड गरेर धेरै तमासा नदेखाउ
घाटमा पुगेर बल्दाबल्दै जिन्दगी निभेर जान्छ
दुश्मनलाई समेत आफ्नो कमजोरी बताई दिए
हेरौ गला मिलाएर जान्छ कि गला रेटेर जान्छ
खुसीहरू पनि एकछिन छेउमा बस्न आउँछन्
अभावले त जिन्दगीभर शिरमा कुल्चेर जान्छ
बाँचुन्जेल दुनियाँलाई मुठ्ठीमा राखेर बाँचेको हो
उसैले मरेपछि दुनियाँको मन जितेर जान्छ
प्रतिक्रिया
-
४