– राधेश आचार्य

गजल १.
अधरमा प्रेमको लाली  सजाए पो मजा हुन्छ
जवानी जिन्दगानीमा  चखाए पो मजा हुन्छ

कुनैपल तिम्रो सामुन्ने ढलेमा अन्धो रजनी झैँ
उषा बन्दै प्रथम झुल्को  उदाए पो मजा हुन्छ

दुबै  उस्तै बने  हामी सिधिन्छौँ एक अर्कामा
किनारा हूँ नदी झैँ ऊ सुसाए पो मजा हुन्छ

सधैँ  भौँतारिए  प्रेमिल  सफर पूरा हुँदै हुन्न
तिमीले नै स्वयम् बाटो समाए पो मजा हुन्छ

वहेली पातमा हाल्दै अँध्यारो रातमा खेल्ने
बिहानै शीतका थोपा लजाए पो मजा हुन्छ

गजल २.
बुझेँ बल्ल  मैले सफर केही हैन
नदी सामु सुख्खा बगर केही हैन

अझैँ गाउँ दुख्दै छ उपचार सम्झी
मरे स्वास भर्ने सहर केही हैन

कहाँबाट घर चल्छ ? चिन्ता यहीँ हो
स्वयम् सक्किएको खबर केही हैन

जुधाएर आऊ नशा चाख्न उनको
नजरमा छ प्याला अधर केही हैन

मिले स्वार्थ तन्किन्छ मनको मझेरी
उनी सामु बुज्नूँ रबर केही हैन

कहाँ पुग्न गाडा गुडाएर हिड्छौ
समय यानको हो पयर केही हैन

***
(प्रस्तुत सृजना गत जनवरी २८ तारेख मंगलबार नेपाल मुक्तक प्रतिष्ठान कोरियाले आयोजना गरेको बृहत साहित्य मेलामा स्वयम् स्रष्टाद्वारा वाचन गरिएको थियो । आजको आँगन यसै कार्यक्रम विशेष छ )

प्रतिक्रिया

सम्बन्धित खवर