एक दशकदेखि साहित्यमा सक्रिय विष्णु विरही श्रेष्ठ गजल विधाबाट साहित्यमा प्रवेश गरेका हुन् । उनलाई आफ्नो भोगाइ र समाज तथा समसामयिक परिवेशबाट प्रभावित भएर साहित्यमा लाग्ने प्रेरणा मिलेको हो । विरहीले हाल गीत,गजल र मुक्तक लेख्नुहुन्छ । उनको यसअघि दुई गीत ‘पिरतीको गुन्द्री’ र ‘तिम्रो मायामा’ गीत सार्वजनिक भइसकेका छन् भने केही गीतहरू रेकर्ड भएर रिलिजको तयारीमा छन्। उनै गीतकार श्रेष्ठसँग आजको आँगनमा सेतोमाटोका लागि मनुविद्रोहीले गरेको भलाकुसारीको सारसंक्षेप यस्तो छः

तपाईंको विचारमा साहित्य के हो ?

अन्तरमनबाट उब्जिएका शब्द, सिर्जना, विचार र भावनाहरु कलात्मक ढङ्गले प्रस्तुत गर्ने माध्यम हो, साहित्य।

तपाईंलाई गीत लेख्ने प्रेरणा कहाँबाट मिल्यो ?

प्रेरणाभन्दा पनि गीत लेखनी मेरो रहर हो।

तपाईं गजल र मुक्तकमा कलम चलाइरहनु भएको मान्छे साहित्यको अन्य विधा मध्ये गीत विधाको भविष्य राम्रो भएर कि, किन गीत लेख्न थाल्नु भयो रेकर्ड गर्ने जोस कसरी आयो ?

जिन्दगीमा सबैभन्दा ठूलो कुरा रहर रहेछ। यही रहरहरूको भीडबाट जन्मिएको हो गीतको भोक।

गजल सङ्ग्रह र मुक्तक सङ्ग्रह बजारमा ल्याउन छोडेर गीत रेकर्ड गर्नतिर किन लाग्नु भो ?

साहित्यका सबै विधासँग प्रेम छ। पत्र पत्रिकाहरूमा आफ्ना अक्षरहरू पढ्ने रहर पूरा भैसकेपछि आफ्ना शब्दहरू धूनमा सुन्दा कस्तो लाग्ने रैछ भन्ने अर्को कौतुहलताले गीततिर मन गयो।

गीतको समग्रमा कुन पक्ष राम्रो भयो भने गीत उत्कृष्ट हुन्छ ? गीतमा शब्द राम्रो भएर कि अरु कुन कारणले गीत उत्कृष्ट हुन्छ ,

शब्द, सङ्गीत र गायन । यी तिनै चिज राम्रो हुन जरुरी छ।

गीतकारले आफैँले लगानी गरेर गीत निकाल्छन,आफ्नो युटुबबाट सार्वजनिक गर्छन् गीतको गायकलाई सबैले चिन्छ्न् । मेला महोत्सव भ्याइनभ्याई हुन्छ तर गीतकार सधैं छायाँमा हुन्छन् किन होला ?

अहिलेको परिप्रेक्ष्यमा साँच्चै भन्दा एकदमै अभागी चरो हो गीतकार। यहाँ कस्ले गीत लेख्यो, कस्ले सङ्गीत गर्यो, कस्ले लगानी गर्यो कसैले ख्याल राख्दैन। जसले गीत गायो, जसले म्युजिक भिडियोमा खेल्यो त्यो गीत उसैको हो भन्ने बुझाई हुन्छ।

यो सब हाम्रो समाज र सामाजिक परिवेशको उपज हो। गीतकार र सङ्गीतकार आमा हुन्, गायक गायिका बुवा हुन्। हाम्रो समाजमा कोही कसैले कसलाई चिनाउन वा चिनिन पर्यो भने बाउको नाम लिएर चिनिन्छ, चिनाईन्छ। सबैभन्दा बढी कष्ट आमाले भोग्छिन् । विडम्बना ’ अपवादमा मात्र आउँछ आमाको नाम।

तपाईंले लगानी गरेर गीत निकाल्दा माथिको जस्तो समस्या भोग्नु परेको छ कि छैन, गायक जस्तै गीतकार चर्चित हुनलाई के गर्नु पर्ला ?

भोगेको छु। लगानी नउठ्दा केही खिन्नता त भो। ममा चर्चाको भोक छैन। चर्चा मेरो गन्तव्य हैन। आत्मसन्तुष्टि र खुशी हो मेरो गन्तव्य ।

साहित्य र सङ्गीतमा लागेर जिविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन ? साहित्यमा राज्यबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

जिविकोपार्जन गर्न सक्ने अवस्था कम्तीमा लेखकको लागि छैन। गीतमा गीतकारलाई खासै महत्त्व दिएको मैले पाएको छैन, पारिश्रमिकका हिसाबले पनि र चर्चाको हिसाबले पनि। साहित्यमा पनि चलेका लेखक बाहेक जो लेखक बन्छु भनेर अघि सर्छन्, तिनीहरुले धेरै हन्डर ठक्कर भोग्नुपरिरहेको छ। यसले सिर्जनशीलतामा ह्रास ल्याउँछ।

राज्यले यसो गर्दिए हुन्थ्यो भन्न मेरो क्षमताले भ्याउँदैन जस्तो लाग्छ। किनभने राज्य यो कुराबाट धेरै पर छ।

अन्यमा के भन्न चाहानुहुन्छ ?

यो अवसरका लागि तपाईं र सेतोमाटो परिवारप्रति धन्यवाद आभार। यो अन्तर्वार्ता पढ्नुहुने तपाईँलाई पनि धन्यवाद ! मेरा कुराहरू के कस्ता रहे प्रतिक्रिया दिनहुन अनुरोध पनि गर्छु। धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित खवर