दिग्गज धौरालीले नेपाली साहित्यमा सक्रिय रूपमा कलम चलाइरहेका छन् । गजलकार तथा गीतकार धौरालीको साहित्य यात्राको शुरूवात भने स्कुले जीवनदेखि नै भएको हो । स्कुल पढ्दादेखि नै कथा, कविताका पुस्तक पढ्न रूचि राख्ने उनले सुरुसुरुमा कविता लेख्थे । कलेज पढ्न सुरु गरेपछि गजल लेखन शुरू गरेका उनले पछिल्लो समय गीत लेखनमा बढी समय दिइरहेका छन् । उनको गीतहरु करिब १०० जति रेकर्ड भएर बजारमा आइसकेको छ । आजको आँगनमा उनै गीतकार तथा गजलकार धौरालीसँग सेतोमाटोका लागि मनु विद्रोहीले गरेको भलाकुसारीको सम्पादित अंश यस्तो छः

साहित्यमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?

मेरो बुवा नेपाली पढाउने शिक्षक हुनुहुन्छ । पहिलो प्रेरणा घरबाटै पाएको हुँ । आजको दिनसम्म साथ सहयोग सबैबाट मिलेकै छ ।

तपाईंको विचारमा साहित्य के हो ?

साहित्यलाई अभिव्यक्तिको माध्यम भन्दा सबैभन्दा उपयुक्त होला । कल्पना र यथार्थको फ्युजन पनि साहित्य हो ।

तपाईंलाई गीत लेख्ने प्रेरणा कहाँ बाट मिल्यो ?

गीत भन्ने बित्तिकै सबैभन्दा पहिले म संगितकार अर्जुन पोखरेल दाइलाई सम्झिन्छु । गीत लेख्नुस्, तपाईं गीत लेख्न सक्नुहुन्छ भनेर मलाई मोटिभेट गर्ने सुरुवाती दिनमा उहाँ नै हो।

तपाईं गजलमा कलम चलाइरहनु भएको मान्छे आर्थिक तथा व्यवसायिक हिसाबले गजलमा भन्दा गीतमा भविष्य राम्रो भएर कि, किन गीत लेख्न थाल्नु भयो ?

राम्रो प्रश्न गर्नुभयो । प्रश्नमै उत्तर पनि लगभग छ । नेपालको सन्दर्भमा गजल पनि अहिले व्यावसायिक बन्ने चरणमा छ । गजलको तुलनामा गीत लेखन व्यावसायिक हिसाबले राम्रो भएकोले पनि गीततिर लागेको कुरा सत्य हो । मैले गित लेखेरै कलेज फि र कोठाभाडा तिरेर पढेको हुँ । मैले जीवनमा पहिलोपटक लेखेको गीतको नै पारिश्रमिक लिएको थिएँ । यस हिसाबले म भाग्यमानी गीतकार पनि हुँ जस्तो लाग्छ ।

गजल सङ्ग्रह बजारमा ल्याउन छोडेर गीत रेकर्ड गर्नतिर किन लाग्नु भो ?

गजल सङ्ग्रह ल्याउने बारे सोच चैँ छ तर समय लाग्ला । गीतको सवालमा भन्नुपर्दा एउटा लेख्ने बित्तिकै रेकर्ड गर्न सकिने भैयो । र अर्को कुरा फिल्ममा वा एल्बममा काम गर्दा पारिश्रमिकमा काम गरिने हुँदा अलि सजिलो पनि भयो ।

‘कहाँ छ र’ गीतले नै किन तपाईंलाई गीतकारको रूपमा चिनाउन सफल भयो किन ?

म यस्तो गित गाउँछु फिल्मको टाइटल गित ‘कहाँ छ र जिन्दगीको भर तिमीबिना’ले गीत क्षेत्रमा क्लिक हुन सहयोग गर्यो । यो खासमा तीन शेरको गजल हो, टाइटल मिलाउनलाई अगाडि दुइ तीन लाइन थपेको थियौँ। पछि ‘सैबा है सैबा’ ‘रहर छ सँगै’ ‘केटो अलि कमाउने होस्’ ‘पिडा भएनी’ जस्ता गीतहरूको पनि मलाई गीतकारको रूपमा चिनाउन र अडाउन उत्तिकै भुमिका छ ।

गीतको समग्रमा कुन पक्ष राम्रो भयो भने गीत उत्कृष्ट हुन्छ ? गीतमा शब्द राम्रो भएर कि अरु कुन कारणले गीत उत्कृष्ट हुन्छ ?

गीत राम्रो हुन शब्द त पहिलो प्राथमिकता नै भैहाल्यो, जननी नै भयो । त्यस सँगसँगै सङ्गीत, स्वरलगायत धेरै पक्ष राम्रो हुनु जरुरी हुन्छ ।

गीतकारले आफैँले लगानी गरेर गीत निकाल्छन,आफ्नो युटुबबाट सार्वजनिक गर्छन् गीतको गायकलाई सबैले चिन्छ्न मेला महोत्सव भ्याइनभ्याई हुन्छ तर गीतकार सधैँ छायाँ हुन्छन् किन होला ?

गीतकार भनेको घरको जग जस्तै हो । सबैभन्दा महत्त्वपूर्ण भैकन पनि बाहिर देखिदैन । मान्छेले झट्ट हेर्ने घरको कलर हो , झिलिमिली हो । त्यसकारण गीतकारलाई सबैले चिन्नैपर्छ भन्ने हुदैन जस्तो लाग्छ । गीतकारले गीत सृजना गर्ने , गाउने नाच्नेले पर्फम गर्ने हो । क्रियसन गर्नेलाई भन्दा पर्फम गर्नेलाई मासले बढी चिन्नु स्वभाविक हो ।

साहित्यको अन्य विधाहरु मध्ये गजल विधा बढी विवादित बनेको छ किन होला ?

गजल विवादित बनेको भन्दा नि बनाइएको हो । यसको उत्तर मैले दिन सक्ने यत्ति हो ।

गजलको दुई शेर झिकेर मुक्तक भयो भन्छन् । गजल र मुक्तकमा के अन्तर छ ? गजल भनेको के हो ?

मुक्तक र गजल आँफैमा छुट्टाछुट्टै विधा हुन् । न त गजलको दुई शेर झिकेर मुक्तक हुन्छ, न त मुक्तकमा दुइचार लाइन थपेर गजल नै हुन्छ । मेरो लागि गजल भनेको माथि नै भनेजस्तो अभिव्यक्तिको एउटा माध्यम हो । मैले देखेका मैले भोगेका मेरा वरिपरिका कुराहरुमा म गजल मार्फत प्रस्तुत हुन्छु । गजलको शास्त्रीय परिभाषा धेरैले दिन्छन्, त्यतातिर म जान चाहिनँ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

समाज परिवर्तनको शिलशिलामा साहित्यको महत्त्वपूर्ण स्थान छ । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि इतिहासको हरेक कालखण्डमा चाहे गीत मार्फत होस चाहे कविता मार्फत या अन्य कुनै विधामार्फत समाजलाई घच्घचाइरहेको छ । काल्पनिक भन्दा पनि सामाजिक यथार्थमा रहेर सृजना गर्न सकियो भने समाज परिवर्तनमा सघाउ पुग्ला ।

साहित्य र सङ्गीतमा लागेर जिविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन ? साहित्यमा राज्यबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

छ । समय दिन सक्नुपर्यो । मेहनत गर्नुपर्यो । निरन्तरता दिनुपर्यो । साहित्य र सङ्गीत कर्मबाटै जीवन चलाउन सकिने अवस्थाको सिर्जना भएको छ । राहतको सवालमा सबैभन्दा पहिले राज्यले साहित्यलाई प्राथमिकता दिनुपर्यो । साहित्यप्रति राज्यको दृष्टिकोण परिवर्तन हुनुपर्छ भन्ने हो ।

प्रतिक्रिया

सम्बन्धित खवर