पोर्चुगल – तामाङ समाज पोर्चुगलले मञ्जुश्री संवत २८६१, डुलसा पुख्री ल्हो को पावन अवसरमा भव्य सोनाम ल्होछार विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै नेपाली समुदायको एकता र पहिचानलाई सुदृढ पार्ने उद्देश्यका साथ यो कार्यक्रम आगामी फेब्रुअरी २ तारिख, आइतबार, राजधानी लिस्बनमा सम्पन्न हुनेछ।

यस विशेष कार्यक्रममा तामाङ समुदायको मौलिक सांस्कृतिक पहिचान झल्कने नृत्य, गीत, परम्परागत झाँकी, तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ। साथै, विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरूले कार्यक्रमलाई अझ रौनकपूर्ण बनाउने तयारी गरिएको छ। यस कार्यक्रमले नेपाली समुदायबीच भाइचारा, सहकार्य, र नेपाली परम्पराप्रतिको गर्वलाई उजागर गर्ने विश्वास लिइएको छ।

समाजलाई एकताको बाटोमा अघि बढाउने प्रयास

तर, पछिल्लो समय हाम्रो समाजमा दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको छ। समाजका पूर्व अध्यक्षलगायत केही व्यक्तिहरूले हिसाब-किताब स्पष्ट पार्न अस्वीकार गर्दै मनमानी निर्णयहरू गर्दै आएका छन्, जसले समाजलाई दुई ध्रुवमा विभाजित गर्ने प्रयास गरेको देखिन्छ। अझ, उहाँहरूले “तामाङ समाज घेदुङ” घोषणा गर्दै समाजभित्र द्वन्द्व उत्पन्न गर्ने, एकतामा आँच पुर्‍याउने, र मूल तामाङ समाजलाई कमजोर बनाउने कसरत गर्नुभएको छ।

तर, तामाङ समाज सधैं एक थियो, छ, र रहनेछ। हामी समाजलाई विखण्डन गर्ने कुनै पनि झूटो भ्रममा नपरी, एकताको बलमा अघि बढ्नुपर्छ। तामाङ समाज पोर्चुगल सांस्कृतिक संरक्षण, सामाजिक एकता, र समुदायको प्रगतिको निम्ति निरन्तर प्रतिबद्ध छ।

संस्थाको निरन्तर योगदान

सन् २०११ मा स्थापना भएको तामाङ समाज पोर्चुगल, जसको मूल उद्देश्य तामाङ समुदायको भाषा, धर्म, संस्कृति, र भेषभूषाको संरक्षण गर्नु हो, विगतदेखि नै समुदायका लागि समर्पित रहँदै आएको छ। संस्थाका अध्यक्ष गोपाल योञ्जनका अनुसार, यस्ता कार्यक्रमहरूले तामाङ समुदायलाई आफ्नो सांस्कृतिक जरा र परम्परासँग जोड्ने मात्र नभई, नेपाली संस्कृति र चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

तामाङ समाज पोर्चुगलले विगतमा विभिन्न सामाजिक, सांस्कृतिक, र शैक्षिक रूपान्तरणका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ। यस संस्थाले नेपाली समुदायको एकता, प्रगति, र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यस वर्षको सोनाम ल्होछारले तामाङ समुदायको गौरवशाली परम्परालाई अझ सशक्त रूपमा विश्वमाझ प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ। यो मात्र तामाङ जातिको मौलिक धरोहरको प्रतिनिधित्व नभई, समग्र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने ठोस प्रयास को रूपमा हेरिएको छ।

‘हामी सधैं तपाईंहरूको हित, उन्नति, प्रगति, र समुन्नतिको सारथी हौं। त्यसैले, हाम्रो मौलिक तामाङ समाजमै एकजुट भएर अघि बढ्न सबैलाई हार्दिक अनुरोध गर्दछौं। सामूहिक एकता नै हाम्रो शक्ति हो!’ संस्थाले भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर