– तिल्ता मगर
१,
दु:खै दु:खको खानी बोक अनि बुझ्नेछौ,
जहाँतहीँ नोक्सानी बोक अनि बुझ्नेछौ,
सयौं किताब पढेर पनि जीवन बुझेनौ भने,
दश पेजको राहदानी बोक अनि बुझ्नेछौ
२,
मुटुको ढुकढुकी लाने पर्खाईमा थियो,
अर्कै सँग कसम खाने पर्खाईमा थियो,
मेरो बिदाईमा उदास समेत भईदिएन,
यस्तो लाग्यो ऊ म जाने पर्खाईमा थियो
३,
गाउँको कुवाँमा गाग्रो भरेकै मान्छे हुँ,
उकालो चढेको ओरालो झरेकै मान्छे हुँ,
परदेश आईयो देश अनुसार भेष गरियो,
नत्र गुन्यूचोलीमा दाउरा घाँस गरेकै मान्छे हुँ
४,
खेती बारी अनि पाखो भईराख्नु पर्छ,
फूलै मौरी गन्धमा माखो भईराख्नु पर्छ,
नजिककै मान्छेले पिठ्यूँमा छुरा धस्न सक्छन्,
अचेल हरबखत चनाखो भईराख्नु पर्छ ।
५,
एउटा मान्छेलाई उपहार दिनुपर्ने थियो,
म नमरेको समाचार दिनुपर्ने थियो,
जस्ले टुक्रायो र म जोडिएर बाँच्न सिकेँ,
उस्लाई एकपटक भेटेरै आभार दिनुपर्ने थियो
***
(प्रस्तुत सृजना गत जनवरी २८ तारेख मंगलबार नेपाल मुक्तक प्रतिष्ठान कोरियाले आयोजना गरेको बृहत साहित्य सम्मेलनमा स्वयम् स्रष्टाद्वारा वाचन गरिएको थियो । र आजको आँगन यही कार्यक्रम बिशेष छ । )
प्रतिक्रिया
-
४