– सुधाकर दाहाल
गजल १,
यही पल अँगालामा तिमी फर्किए हुन्थ्यो
पुरानै अवस्थामा तिमी फर्किए हुन्थ्यो
मलाई खुशी बन्ने बहाना पुनः मिल्छ
यही मूलबाटामा तिमी फर्किए हुन्थ्यो
नदीको किनारा झैँ सुकेँ तिम्रो मायाले
बनी आँसु आँखामा तिमी फर्किए हुन्थ्यो
पुराना प्रहर मैले हिजोआज सोच्दैछु
नजरको भरोसामा तिमी फर्किए हुन्थ्यो
अझै दृश्य आँखामा कतै अल्झिएका छन्
नजर सामु ऐनामा तिमी फर्किए हुन्थ्यो
अधरमाथि लालीका बहुत चाहना होलान्
अधरको इरादामा तिमी फर्किए हुन्थ्यो
गजल २
गर्यो सधैँजसो पुतलीले तड्पिएजस्तो
टुकीले गर्छ नयाँ जिन्दगी दिएजस्तो
गुनासो पोख्ने तयारी गरेछ पत्थरले
गरेको छैन सिसा फेरि चर्किएजस्तो
कहाँ चुक्यो र किनारा नदीले नै भन्नू
भएछ आज स्वयमले नशा पिएजस्तो
यतै कतै छ भरोसा तिमीले तोडेको
गरेछ आज उसै मनले सम्झिएजस्तो
कसैको यादले हरपल कराउने गर्छु
हरेक न्याउली जङ्गलमा बहकिएजस्तो
***
(प्रस्तुत सृजना गत जनवरी २८ तारेख मंगलबार नेपाल मुक्तक प्रतिष्ठान कोरियाले आयोजना गरेको बृहत साहित्य मेलामा स्वयम् स्रष्टाद्वारा वाचन गरिएको थियो । आजको आँगन यसै कार्यक्रम विशेष छ )
प्रतिक्रिया
-
४