द. कोरिया सउल – नेपाल मुक्तक प्रतिष्ठानले कोरियामा बृहत साहित्य मेला सम्पन्न गरेको छ । शनिबार सउल नजिकै दोङ्देमुनमा कविता, गजल, मुक्तक र हाइकुलाई बिशेष वाचन सहित कार्यक्रम गरेको हो ।
बिशेष कविको रूपमा उपस्थित सिद्धान्त गौतम (कलमकार) ले आफ्ना ४ वटा कविता सुनाए । बिशेष गजलकारहरू राधेश आचार्य र सुधाकर दाहालले आ-आफ्ना आधा/आधा दर्जन गजलहरू प्रस्तुत गरे । मुक्तक लागि ह्यारी बोण्ड र तिल्ता मगरले आफ्ना एक एक दर्जन मुक्तकहरू सुनाए । त्यस्तै कवि डिइबी सिकारुले पनि आफ्ना दर्जनभन्दा बढी हाइकुहरू सुनाए ।
कार्यक्रममा प्रचण्ड सापकोटा, दीपक स्पन्दन, रुसन सुवेदी, सञ्जय, जीवन भण्डारी, रुद्र कँडेल, दीप प्रदिप कुमार, शंकर नेपाल लगायतले पनि आआफ्ना कविता, गजल, मुक्तकहरू सुनाए ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष निर्दोष सभापति रहेको उक्त कार्यक्रममा नेपाली दुतावासका द्वितीय सचिव जेनिम अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमका संयोजन संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक राजले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव आरपिसी सङ्गमले गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार, कवि तथा सञ्चारकर्मी जीवन खत्री, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरियाका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्मा , पूर्व सचिव एवम् सल्लाहकार विष्णु वाग्ले, आदीवासी जनजाति साहित्य महासंघका विष्णु सन्यास, एमटियु का अध्यक्ष उदय राई, अनेसासका उपाध्यक्ष सरोज भण्डारी सर्वहारा, गुल्मी सम्पर्क समितिका अध्यक्ष जीवन न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बिशेष कविहरू, गजलकारहरू र मुक्तककारहरूलाई कार्यक्रममा उपस्थित भई रचना सुनाउनुका साथै प्रवासमा बसेर नेपाली भाषा साहित्यको श्रृविद्धीका लागि योगदान दिएको भन्दै खादा लगाई सम्मान गर्दै सम्मान पत्र समेत प्रदान गरेको थियो ।
कार्यक्रममा सुरज रानाको कविता कृति, जब कविता निस्कन्छ जुलुसमा, घनश्याम अस्तित्वको कविता कृति चिहानमाथि महल बनाइ रहेको मान्छे, प्रेमप्रकाशको कविता कृति रगतको तर्पण, गजलकार दीप दर्शनको गजलसङ्ग्रह दुश्मन, गजलकार देव सागरको गजल सङ्ग्रह असिनाको तिहुन, मुक्तकालय नेपालकी अध्यक्ष निलाञ्जला भारद्वाजको मुक्तक सङ्ग्रह निलाञ्जला; साहित्यकार भोजराज घिमिरेको गजल सङ्ग्रह नाद; गजलकार कुशल नाथ योगीको गजल सङ्ग्रह कोहिनूर, खिम केसीको गजल सङ्ग्रह लोरी लगायतका पुस्तकहरूको कोरिया बिमोचन समेत गरिएको थियो ।
१०० बढी उपस्थिती भई खचाखच भरिएको हलमा १ बजेदेखि ५ बजेसम्म साहित्य सृजना वाचन र मन्थन निरन्तर चलेको थियो ।
प्रतिक्रिया
-
४