– ह्यारी बोण्ड

   १,
न बाँच्न सकिने न मर्ने बनाएको छ
तिम्रा हर यादले मेरो घाँटी समाएको छ
हरेक मुस्कानले खुसी दिन्छ यो नसोच
तिम्रो मुस्कुराएको तश्विरले मलाइ रुवाएको छ

२,
आज कस्तो अचम्मै बनायौ चिन्नै सकिन
झ्याप्पै आइ हात समायौ चिन्नै सकिन
कोरोना कहरमा रैछ तिमीसँग प्रेम बसेको
माक्स नलगाइ भेट्न आयौ चिन्नै सकिन

३,
मलाई गिराउन लागिराछौ घनघोर चिन्ता लाग्दैन
भएको तिम्रै सोचाइ त हो फोहोर चिन्ता लाग्दैन
म आफ्नै पखेटाहरुमा भरपुर विश्वास गर्दछु
भएनि टेकेको हाँगो कमजोर चिन्ता लाग्दैन

४,
पछि घुमाउला नघुमाउला छोराले काँधमा बोकेर
सोच्दैनन् कहिल्यै बाआमाले काँधमा बोकेर
आफूले देखेको देखाउछिन् आमाले काखमा राखी
आफूले नदेखेको देखाउछन् बाले काँधमा बोकेर

५,
बडो बेइमान छ यो साले कसरी थाहा पाउँछ ?
सुत्न पनि दिदैन मजाले कसरी थाहा पाउँछ?
डिउटी जानुपर्ने दिन उठ्ने मान्दैन शरिर बिस्ताराबाट
आज छुट्टी छ भनेर आँखाले कसरी थाहा पाउँछ?

***

(प्रस्तुत सृजना गत जनवरी २८ तारेख मंगलबार नेपाल मुक्तक प्रतिष्ठान कोरियाले आयोजना गरेको बृहत साहित्य मेलामा स्वयम् स्रष्टाद्वारा वाचन गरिएको थियो । आजको आँगन यसै कार्यक्रम विशेष छ )

प्रतिक्रिया

सम्बन्धित खवर