मदन पुरस्कार विजेता रामलाल जोशी साहित्यमा निरन्तर कलम चलाइरहेका छन्। जोशीको सिर्जनकर्म अञ्जान अवस्थामै सुरु भएको हो । कखरा सुरु नगर्दै उनको पिताजी बितिसकेका थिए ।
पछि म ४/५ कक्षामा पढ्दा एकदिन बाकस खोलेर हेर्दा बाकसभरी किताब थिए । त्यसमा एउटा सुन्दर कालो डायरी पनि थियो । लेख्नलाई रहर गरेर कालो डायरी पल्टाउदा त्यसमा ‘विद्याकी रानी’ भन्ने जोशीको बाबाको एउटा कविता थियो । त्यसै कविताको सिको गरेर जोशीले कविता लेख्न थाले ।
त्यसबेला ४/५ कक्षाको सामाजिक शिक्षामा नेपाल र अङ्ग्रेज बिचमा भएको युद्धमा अमरसिंह थापा, भक्ति थापा र बलभद्र कुवरजस्ता नेपाली वीर वीराङ्गानाहरूले देखाएको वीरता र बहादुरीको वर्णन गरिएको हुन्थ्यो । त्यो वीरताको कथाबाट प्रभावित भएर त्यो सारा ऐतिहासिक वर्णनलाई पद्यानुवाद गरेर कविताको किताब बनाउनु भयो । त्यो २०४४/०४५ सालतिरको कुरा हो ।
त्यो सिकारु अवस्थाको पाण्डुलिपि अझै जोशीसँग छ । यसरी त्यही प्रभावले जोशीमा सिर्जनाको ज्योति सल्केको हो । उनले आख्यान, कविता र गजल लेख्नु हुन्छ । सौगात, कोपिला, युगपुकार जस्ता धेरै पत्रपत्रिकाको सम्पादन तथा प्रकाशन गरेका छन् । त्यसैगरी ‘हत्केलामा आकाश’ (गजल सङ्ग्रह, २०५७०), ‘ऐना’ (कथा सङ्ग्रह, २०७२०) ‘सखी’ (उपन्यास, २०७५) प्रकाशित भइसकेको छ भने बुक हिलबाट ‘बाआमा’ (औपन्यासिक कथा सङ्ग्रह २०७९) प्रकाशनको अन्तिम तयारीमा रहेको छ । आजको आँगनमा साहित्यकार जोशीसँग मनु विद्रोहीको भलाकुसारी यस्तो छः
साहित्यमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?
‘विद्याकी रानी’ भन्ने बाबाको कविताबाटै साहित्यमा लाग्ने प्रेरणा मिलेको हो ।
तपाईंको विचारमा साहित्य के हो ?
अक्षरका माध्यमबाट प्रकट हुने भावनाको अभिव्यक्ति भन्नुस् अथवा अक्षरमा गरिने जीवन जगतको सुन्दर सृष्टि नै साहित्य हो ।
झन्डै एकदशक पहिले र अहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएको छ ? अहिलेको नेपाली साहित्यको स्थितिको बारेमा कत्तिको सकारात्मक हुनुहुन्छ ?
धेरै परिवर्तन र भिन्नताहरू आएका छन् । पछिल्लो समय साहित्यको लेखन र पाठकको सङ्ख्या बढेको छ । गुणात्मक र सङ्ख्यात्मक कैयौं परिवर्तन आएका छन् ।
कथा भन्दा पनि उपन्यासका किताब धेरै बिक्री हुने गर्छन् । तर कथा त एक बसाईमै बसेर पढिने छोटो विधा हो । उपन्यासका तुलनामा कथाका किताब पनि कम प्रकाशन भैरहेका देखिन्छन् । कतिपय कथा त उपन्यास जसरी सुरुवात गर्ने र कविता जसरी छोटोमै अन्त्य गरिदिने गरेको पनि पाठकको आरोप छ । साँच्चै हो ? हो भने कथाकारको भूमिका के हो ?
सर्जकको भूमिका अरु के हुनु ? केवल लेख्ने हो । ब्रह्माको सृष्टि पनि सबैलाई कहाँ मन परेको हुन्छ र !
पछिल्लो समय उपन्यास लेख्ने उपन्यासकारहरू असाध्यै धेरै छन्, कता कताबाट प्रकाशन पनि भएका छन् तर पाठकले मन पराउने उपन्यास औँलामै गनेर भन्न सकिने मात्र छन् । उपन्यास भन्ने विधा लहडमै लेखिदिने विधा हो र ?
लेख्ने कुरा अपराध होइन । चाहे कसैले रहरले लेखोस् चाहे अरु कारणले । सिर्जना गर्नु आफैँमा नयाँ सृष्टि हो । त्यसको मूल्याङ्कन गर्ने कुरा अर्कै हो ।
किताब लेखिसकेपछि प्रकाशकबाट ठगिने गरेको गुनासो छ । लेख्नु पनि उल्टै छाप्नलाई पनि दिने र किताब बेचेर लेखकलाई पारिश्रमिक पनि नदिने प्रकाशकहरू छन् भन्ने सुनिन्छ । के भन्नु हुन्छ ? कसको कमजोरी हो ? के गर्नुपर्ला ?
सबैले आआफ्नो धर्म निर्वाह गर्ने हो । अरु त के गर्न सकिन्छ र !
सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?
यो विज्ञापनको जमाना हो । मान्छेको छनोटलाई पनि विज्ञापनले दिग्भ्रमित पारिदिन्छ । चर्चा भएजत्तिकै स्तरीयता त सबैमा कहाँ हुन्छ र !
साहित्यमा नातावाद र कृपावादको हावी छ, सम्मान तथा पुरस्कारमा पनि ऐचौँ पैँचो हुन्छ । यस्तो प्रवृत्तिले उत्कृष्ट सृर्जनालाई ओझेलमा पारेको जस्तो हुँदैन ? साहित्य क्षेत्रको विकृतिलाई हटाउन के गर्नु पर्ला ?
हरेक क्षेत्रमा त्यस्ता विकृति छन् । साहित्यिक सिर्जनाको क्षेत्र भनेको त प्रतिभा र साधनाले अमर हुने क्षेत्र हो । जोसँग प्रतिभा र साधना छ ती बाँच्छन्, त्यस्तो विकृति गर्नेहरू पाठकको दिमागबाटै मर्छन् ।
अब तपाईँको नयाँ कृति ‘बाआमा’ आउँदैछ । पुस्तकहरूको भिडमा उपन्यास ‘बाआमा’ कसरी पृथक छ ? केका लागि पाठकहरूले पढ्नु पर्छ ?
मेरो किताब पढ्नै पर्छ, नपढे सबै बर्बाद हुन्छ भन्ने होइन । ज्ञान, विज्ञान, शिक्षा, साहित्य पढ्नु पर्छ भन्ने चेतना र बोध भएका मान्छेले पढ्ने कुरा हो । यही कारणले यसैको निम्ति पढ्नु पर्छ भनेर म कसरी भनु ?
साहित्यलाई समाजको ऐना मानिन्छ, कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?
साहित्य स्वयं चेतनाको प्रतीक हो । त्यो चेतनाको कुरा समाजका मान्छेले पढिदिए, बुझिदिए भने त्यहीँ परिवर्तन हो नि ! आजसम्मको मानव सभ्यता चेतनाकै कारण परिवर्तन भएको होइन र ? त्यसैले साहित्य आफैँमा चेतना र परिवर्तनको प्रतीक हो ।
साहित्यमा दीगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?
राज्यले भन्नुस् अथवा राज्य र सरकार चलाउनेहरूले स्रष्टाहरूको आत्मसम्मान र स्वाभिमानमा ठेस मात्रै नर्पुयाइदिए भैहाल्छ । आफ्नो सिर्जना त सर्जकले आफै गर्ने त हो नि । राज्यले के गर्छ र ?
प्रतिक्रिया
-
४