धादिङका स्रष्टा यात्रीप्रकाश पाण्डे गजलमा परिचित नाम हो । उनी काव्य मुशायरा श्रृङ्खलाका अभियन्ता समेत हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा उनको कविताले द्वितीय स्थान प्राप्त गरेको थियो । ‘सइन’ उनको पहिलो उपन्यास हो । नेपाली समाजले भोगेको १० वर्षे जनयुद्धको ‘सइन’ कतिको मनमा र कतिको तनमा अझै छ । सोही बिषयवस्तुमा आधारित रहेर लेखिएको यो उपन्यास दुई बर्ष अगावै प्रकाशित थियो । उति चर्चामा नरहे पनि यो उपन्यासलाई पाठकले भित्र भित्रै मन पराइदिए र यसको दोस्रो संस्करणको तयारीमा छन् उनी । यसै पुस्तकमा आधारित रहेर सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको संक्षेप प्रस्तुत छ ।

दुई वर्ष पहिला जब विश्वमा कोरोना कहरको सनसनी थियो, त्यतिबेला तपाईंको उपन्यास बजारमा आयो, विमोचन पनि हुन पाएन, पक्कै पनि यो दुःखद् कुरा हो कुनै पनि लेखकको लागि । तर, पनि तपाईंको ‘सइन’ उपन्यासको पहिलो संस्करण सकिएको खबर आएको छ, यो चाहिँ सुखद कुरा हो । यस्तो प्रतिकूल अवस्थामा पनि हल्ला नगरिकन बजारमा आएको किताबको बिक्री बढ्नुलाई कसरी लिनुहुन्छ ?

२०७६ सालको फाल्गुण महिनातिर ‘सइन’ को कभर बनिसकेको थियो । ‘सइन’ को कभर बनिसकेपछि सामाजिक सञ्जालमा धेरैले कभर पोष्ट गरेर शुभकामना पनि दिनुभयो । यसले गर्दा पनि मेरो उपन्यास आउँदै गरेको जानकारी धेरैलाई भयो ।

चैतको दोस्रो हप्तातिर विमोचनको तयारी पनि भयो तर त्यसैबेला विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण गरिएको लकडाउनले सुरूमै ‘सइन’ लाई नै विमोचनबाट विमुख गराइदियो । पछि लामो समयसम्म लकडाउन लम्बिन थालेपछि विमोचन नभए पनि पब्लिकेशनबाट पुस्तक चुपचाप बजार गयो । धेरै पाठकहरूले उपन्यासलाई बजारमै भेटे ।

प्रतिक्रियाहरू पनि आउन थाले । एउटा आधिकारिकता नपाइकन बजारमा ‘सइन’को अपडेट गराउन रोकेको म आफैंले हुँ । कतिपयले फेसबुकमा गर्नुभएको फोटो पोष्ट पनि हटाउन लगाएको हुँ । राम्रा प्रतिक्रिया सहितका पोष्टहरू पनि नगर्न भन्दा धेरै अचम्मित थिए सायद । किनभने मैले त्यो समय र परिस्थितिलाई स्वीकारिसकेथें । यो हिसाबले चुपचाप बजार गएको किताबले मनमा सन्तोष दिन थालेको छ । खास लेख्ने हाम्रो कर्म हो । पर्खनुपर्ने ठाउँ र अवस्थाहरू धेरै हुँदा रहेछन् जिन्दगीमा । हाल समयलाई पर्खिदैं जाँदा यसरी सन्तोष पनि मिल्ने रहेछ भन्ने महशुस भइरहेछ ।

शसस्त्र द्वन्दकालिन घटनाहरूको प्रतिबिम्बहरूलाई समेटेर तयार पारिएको उपन्यास ‘सइन’ हो भनेर बजारमा चर्चा छ । यो विषयमा धेरै साहित्य लेखिएका छन्, यहाँलाई के कुराले यो विषयमा लेख्न उत्सुक बनायो ?

वर्खाको समय छ । यहाँलाई एउटा कुराको उदाहरण दिन चाहन्छु – गोरु जोत्ने मान्छेले जोत्ने र जोत्नुपर्ने पनि बाँझो खेतमा मात्र हो । जोतिसकेको ठाउँमा जोत्नु व्यर्थ हुन्छ तर जोतिसकेको ठाउँमै पनि कतै बाँझो छोडिएको भेट्यो भने जोत्नु जायज होस् या व्यर्थ – उसले जोत्न छाड्दैन । किनकी एउटै गराको बाँझो छोडिएको ठाउँलाई यत्तिकै छोडियो भने त्यसले राम्रोसँग जोतिएको अन्य ठाउँलाई समेत असर गर्छ ।

अर्कातर्फ सशस्त्र द्वन्द समाप्त भएको पनि लगभग पन्ध्र वर्ष नाघिसकेको छ । तर सशस्त्र द्वन्दको भित्री मर्मलाई तटस्थ विन्दुमा राखेर लेखिएका उपन्यासहरु कमैमात्र पाएँ । आख्यानमा आइपुगेको कथाहरुभन्दा नलेखिएका कथाहरु जो धेरै पात्र र परिवेशको भोगाइमा ज्युँदो थियो । त्यसैले नलेखी बस्नै सकिनँ । सायद यो कुरा पाठकहरुले उपन्यास पढिसकेपछि पक्कै महशुस गर्नुहुनेछ । त्यसैगरी सशस्त्र द्वन्दको बेला हामीद्ये देखेको, सुनेको र भोगेकाजति घटनाहरु जति पुरानो हुँदै गयो उति नै मेरो दिमागमा झन्झन् नयाँ हुँदै आयो । त्यसैको उपज हो – जसलाई पाठकहरुले फरक स्वादको रुपमा महशुस गरिदिनुभयो ।

शसस्त्र द्वन्दकालिन अवस्थालाई चित्रण गर्न यहाँले के कस्तो खोज गर्नुभयो ?

दुवैपक्ष (सरकार पक्ष र तत्कालिन विद्रोही पक्ष)का व्यक्तिहरू हाम्रा गाउँ समाजमै थिए । मुडभेड, दोहोरो भीडन्त, विष्फोट लगाएत सशस्त्र सङ्घर्षका कहालीलाग्दा घटनाहरु पनि आँखै अगाडि घट्थे । त्यस्ता घटनाहरु आँखै अगाडि घट्दा त्यतिबेला आँखा चिम्म गर्थें । पछि त्यही घटना मानसपटलभरी खुलेको खुल्यै गर्न थाल्यो । पात्र र परिवेशहरू आँखै वरपर प्रशस्तै थिए ।

त्यसबाहेक आजसम्म चर्चामा रहेका अन्य ठूलाठूला भीडन्तहरूमा पनि गाउँघरकै दाइहरू कतिपय सरकार र विद्रोही पक्षबाट लडेकै हुन्थे । केही वीरगति हासिल गरेर फर्कन्थे त केही मृत्युको मुखसम्मको भयानक अनुभव हासिल गरेर । वीरगति हासिल गरेर फर्कनेहरूले आफ्नो दिवंगत शरीरको हालतबाटै धेरै कुराहरू बताइदिन्थे । ज्युँदो फर्कनेहरूले युद्धका भयानक कथा बताउँथे ।

त्यसबाहेक घटनाबारे सत्यतथ्य हासिल गर्न एउटै स्थानमा लडेका दुवैपक्षतर्फका एकभन्दा बढी पात्र र घटना घटेको स्थानसम्म पुगेर वस्तुस्थिति बटुल्ने कार्य पनि भयो । ‘सइन’ यिनै आँखै अगाडिका घटना, घटनामा प्रत्यक्ष रुपमा संलग्न व्यक्ति र घटना घटेको स्थानसम्म पुगेर गरिएको अध्ययनको प्रतिफल हो ।

‘सइन’ लेख्न यहाँले लगभग कतिवटा अन्य उपन्यास वा गैर आख्यान पढ्नु भयो ?

एउटा उपन्यासको असल पाठक बन्नका लागि पनि एउटा पाठकले धेरै उपन्यास र उपन्यासका विषयवस्तुसँग सम्बन्धित गैर आख्यानात्मक पुस्तकहरू खोजीखोजी पढिसकेको हुन्छ । आख्यान, आख्यानकार र आख्यानसँग सम्बन्धित रहेर यति प्रश्न तयार गर्न सक्षम हुनकै लागि पनि सायद तपाईंले पनि धेरै आख्यान र गैरआख्यान पुस्तकहरू पढिसक्नुभएको हुनुपर्छ ।

आजसम्म कतिवटा उपन्यास वा गैर–आख्यान पुस्तक पढ्नुभो भनेर सोध्नुभएको भए सायद सहजै यति पढें भनेर भन्न सक्थें तर सइन लेख्नकै लागि कति उपन्यास पढ्नुभो भनेर प्रश्न गर्दा ठ्याक्कै जवाफ दिन गाह्रो भो । तर यो सत्य हो कि उपन्यासकार भजाउन नभइ उपन्यास नै लेख्नका लागि लेखकले धेरै अगाडिदेखि लेखिएका उपन्यासदेखि लिएर समसामयिक कालखण्डसम्मका निकै धेरै उपन्यास र आफ्नो विषयवस्तुसँग सम्बन्धित धेरै गैर-आख्यानात्मक पुस्तक अध्ययन र खोजमूलक कार्यहरू पूरा गरेको हुन्छ ।

केही हप्ता पहिला ‘सइन’को विमर्श कार्यक्रम भयो जसमा नेपालका चर्चित उपन्यासकार निहारिका कार्की र नयनराज पाण्डेले प्रशंसा गर्नुभयो, यसले तपाईंलाई कत्तिको उत्साह थपेको छ दोस्रो उपन्यासको लागि ?

आफूले लेखेको किताबले यति चर्चित व्यक्तिबाट प्रशंसा पाउँदा उत्साहित नहुने सायदै होलान् । तपाईंकै शब्दमा मलाई यो कुराले निकै उत्साह थपेको त छ नै । तर मेरो अर्को उपन्यासका लागि यो उत्साहभन्दा ठूलो चुनौती हो ।

यहाँले उपन्यास लेख्ने क्रममा उपन्यासको भिडमा अलग्गै पहिचान बनाउन विशेष के कुरामा ध्यान दिनुभयो ?

यसबारे ‘सइन’को अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले नै बोलिसक्नुभएको र केही आदरणीय बौद्धिक समीक्षकज्यूहरूले राष्ट्रिय दैनिक तथा अनलाइन पत्रपत्रिकाहरूमा समीक्षासमेत लेखिसक्नुभएको हुँदा मैले धेरै बोल्नु जरुरी लाग्दैन तथापि भाषा, आख्यानको मर्म, विषयवस्तुमाथिको गहिराई र तटस्थता, उपन्यासको क्राफ्ट, शीर्षक सार्थकता र घटनाको केन्द्रमा पात्रलाई देखिरहेको लेखकको अन्तष्करणको दृष्टिकोणसम्मलाई ध्यान दिने प्रयास भने अवश्यै गरेको हुँ ।

उपन्यास विधामा कलम चलाउने मन भएका नयाँ लेखकलाई के सुझाव दिनुहुन्छ ?

सबैभन्दा ठूलो कुरा हरेक कालखण्डमा लेखिएका उपन्यासहरूदेखि वर्तमानका अधिकांश उपन्यासहरूको अध्ययनमा ध्यान दिनुहोला । धेरै उपन्यासहरू पढिसकेपछि यतिको त म पनि लेख्नसक्छु भन्ने कुरा धेरैको दिमागमा आउनसक्छ । त्यो दिमागमा आयो भनेर लेख्न सुरु गर्नुभयो भने ढुक्क हुनुस् – तपाईं लेखनको सुरुवातमै तुहिंदै हुनुहुन्छ । किनभने अर्काले लेखेको जति लेख्न सक्छु भनेर र आफू पनि उपन्यासकार बन्ने होडले लेख्न थाल्नुभो भने तपाईंको लेखनको सीमाकंन आफैंले निर्धारण गरिसक्नुभो भन्ने सुरुवातमै स्पष्ट भइसक्छ । हासिल गरेको अध्ययनको घमण्ड, होडबाजी, परिचयको हतारो र रहरले आख्यान लेख्न सकिदैंन ।

लेखे पनि पूर्ण हुँदैन । यस्ता कुराहरूबाट सतर्क भइसकेपछि उपन्यास लेख्नका लागि कुनै विषयवस्तुले तपाईंको मस्तिष्कमा अर्कै किसिमको कम्पन लगातार दिइरहेको हुनुपर्छ । तपाईंको दिमागभित्र सङ्लो पानीभित्र डुबेर हेर्दा देखिएझैं एक किसिमको फरक दृश्य देखिन थाल्यो भने त्यसमा कसरी नयाँपन दिनसक्छु भनेर र के लेख्ने भन्ने स्पष्ट भएरमात्र लेख्न सुरू गर्नुहोला ।

उपन्यास भनेको नेपालमा सबैभन्दा बढी पढिने विधा हो, लेखकको दर्जा पाउन पनि सजिलो हुने विधा हो । एउटा असल उपन्यास लेख्न कत्तिको चुनौति छ ?

उपन्यासमा कुनै एउटा घटनाको कथा मात्र नजोडिएर घटनामा संलग्न व्यक्तिको समग्र जीवन र आख्यानको समेत परिपक्व जीवनलाई कलात्मक ढङ्गले जोड्नुपर्ने हुँदा यहाँले भन्नुभएजस्तै निकै ठूलो चुनौती छ । लेखकले यही चुनौती पार गरेर परिपक्व भइसकेपछि मात्र उपन्यास लेख्ने हुँदा नै उपन्यास सबैभन्दा बढी पढिने विधाको रूपमा चर्चित भएको हो ।

यहाँलाई मनपर्ने तीन वटा उपन्यास ?

तीन उपन्यासतिर नजाउँ है । यता र उता बिग्रिन सक्छ ।

गजल सङ्ग्रह पनि प्रकाशित गरिसक्नु भएको छ, गजलबाट उपन्यासमा हाम फाल्नुको कारण ?

गजलबाट उपन्यासमा हाम फालेको होइन । उपन्यास लेखेको हुँ । गजल पनि अझै लेख्छु ।

रमाइलो प्रश्न गरौँ, भर्खरै विवाह पनि गर्नुभयो, यहाँको जीवनसाथीले तपाईंको उपन्यास पढ्नु भयो कि छैन यदि छ भने उहाँको प्रतिक्रिया कस्तो छ ?

यो रमाइलो प्रश्न पनि कटाइदिउँ है । टक टु टकमा मात्र ठिक होला यो । टेक्स्टमा भन्दा । बिहेलाई त्यति चर्चा नगरौं होला कि !

नेपालमा उपन्यास लेखकको नाम हेरेर पढ्ने चलन छ, नयाँ उपन्यासकारलाई पाठकसम्म पुग्न कत्तिको चुनौती देख्नुहुन्छ ?

खास त यो हुनुको कारण नेपालमा कतिपय किताबहरू उपन्यास भनेर रहर र लहडले पनि लेखिने गर्छ । विशेषगरी आफूलाई लेखक भनेर चिनाउनका लागि लेख्नेहरूको पुस्तक पढ्दा पाठकहरूको समय मात्र बर्बाद हुने हुँदा पनि यस्तो हुन थालेको हो । नयाँ उपन्यासकारलाई पाठकसम्म पुग्न चुनौती भने अवश्यै छ ।

केही नयाँ लेखकहरूको गुनासो के छ भने नयाँ लेखकलाई स्थापित लेखकले साथ दिँदैनन भन्ने छ, यहाँले स्थापित लेखकको साथ कत्तिको पाउनु भयो ?

राम्रो लेख्नेहरूले स्थापित लेखकको साथ अवश्यै पाउँछन् । मैले साथ पाएर मात्र भनेको होइन ।

कुनै पनि कृति लेख्नुभन्दा छपाउनु ग्राहो र छपाउनु भन्दा बजारसम्म पुर्‍याउन गाह्रो हुन्छ भनिन्छ, यहाँको अनुभव कस्तो रह्यो ?

प्रकाशकको लागि होला सायद यो प्रश्न । ‘सइन’ छपाउने र बजारसम्म पुर्याउने काम प्रकाशकले नै गरेको हुँदा यसबारे म अनविज्ञ रहें ।

भर्खरै, सम्पन्न प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सवमा द्वितीय हुनुभयो । हार्दि बधाई छ । कस्तो महसुस भैराछ ? पुरस्कार पाएपछि के फरक अनुभव गर्नुभयो ?

प्रज्ञा प्रतिष्ठानजस्तो गरिमामय सरकारी निकायबाट आयोजना हुने राष्ट्रिय कविता महोत्सवमा त्यो ठूलो भीडबाट द्वितीय स्थान हासिल गर्दा खुशी त अवश्य नै मिल्छ । त्यो सँगै फरक अनुभवको रूपमा मेरो आगामी दिनको चुनौतीलाई लिएको छु ।

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न किनकि स्वतन्त्र शब्द अहिले ट्रेन्डिङमा छ, यहाँले आफ्नो मनलागेको स्वतन्त्र विचार पोख्न सक्नुहुन्छ ।

अन्तमा ‘सइन’ मैले लेख्ने उपन्यास हो या होइन भनेर प्रकाशन हुनु केही अघिसम्म म आफैं दोधारमा थिएँ । तर आज सबैबाट पाइरहेको यो माया र प्रतिक्रियाका कारण लागिरहेछ । ‘सइन’ मैले नै लेख्नुपर्ने उपन्यास रहेछ । पढेर प्रतिक्रिया दिनुहुने सबै सबैप्रति निकै ऋणि छु । पढ्न बाँकी रहनुभएकाहरूले पढेर उचित सल्लाह, सुझाव एवम् प्रतिक्रिया दिनुहुनेछ भन्नेमा विश्वस्त छु ।

प्रतिक्रिया

सम्बन्धित खवर