– नारायणनाथ योगी 

नगरको बीच चौबाटोमा एउटा ढुङ्गाको शालिक ठडिएको थियो— एउटी विवश र नाङ्गी स्त्रीको। त्यो कलाको एउटा उत्कृष्ट नमुना थियो, तर समाजका लागि भने त्यो एउटा बहसको विषय बनेको थियो। हरेक दिन दुईजना बटुवाहरू त्यहाँ उभिएर त्यसलाई फरक नजरले हेर्ने गर्थे।

पहिलो बटुवा, जो आफूलाई ठूलो ‘विद्वान’ ठान्थ्यो, सधैं आफ्नो देब्रे आँखा सन्काउँदै भन्थ्यो, “यो त केवल मासुको थुप्रो हो। हेर त, यसले समाजमा कस्तो विकृति र अश्लीलता फैलाउँदैछ? यो त केवल वासना जगाउने एउटा वस्तु मात्र हो।” उसको नजरमा त्यो शालिकको वक्ररेखाहरूमा केवल भोग र तृष्णाको व्याकरण मात्र लेखिएको हुन्थ्यो।

दोस्रो बटुवा, जो एक ‘साधक’ जस्तो देखिन्थे, उनले आफ्नो दाहिने आँखाले त्यो दृश्यलाई हेर्दै शान्त स्वरमा भने, “म त यहाँ सृष्टिको आदिम र शुद्ध रूप देखिरहेछु। यो नग्नता होइन, यो त निष्कलङ्क सत्य हो। जसरी एउटा बालकले आमालाई हेर्दा कुनै कपडाको खोजी गर्दैन, म यहाँ प्रकृतिको त्यही विराट रूप र दिव्यता देख्छु। यो त एउटा पवित्र मन्दिर हो।”

दुवैका बीचमा ठूलो शास्त्रार्थ चल्यो। एउटाले ‘विकार’ देख्यो, अर्कोले ‘दर्शन’।

बहस चर्किएकै बेला एकजना पागल जस्तो देखिने मानिस त्यहाँ आइपुग्यो। उसले दुवैका कुरा सुन्यो र गलल्ल हाँस्दै भन्यो, “तिमीहरू दुवै आधा अन्धा रहेछौ! एउटाले देब्रे आँखाबाट आफ्नो भित्र लुकेको ‘कामुकता’ देखिरहेछौ, अर्कोले दाहिने आँखाबाट आफ्नो ‘आध्यात्मिक कल्पना’।”

दुवैले अचम्म मान्दै सोधे, “त्यसोभए यो वास्तवमा के हो त?”

पागलले शालिकको धुलो पुछ्दै अन्तिम जवाफ दियो, “यो त केवल एउटा ढुङ्गा हो, जसको आफ्नो कुनै रूप छैन। तिमीले जे देखिरहेका छौ, त्यो तिम्रो आफ्नै विचारको प्रतिविम्ब मात्र हो। एउटै दृश्यलाई तिम्रो नजरले कसैको लागि नर्क र कसैको लागि स्वर्ग बनाइदियो।”

***

प्रतिक्रिया

सम्बन्धित खवर