– बिनोद खनाल

गजल १
मलाई मन भयो लेखूँ नयाँ प्रेमिल कथा फेरि
कुरा बकवास गर्ने को दिएँ मैले विदा फेरि

भयो बेचैन मन छटपट हरायो नीद आँखाको
हिजो खोला सुसाएको खबर आयो उता फेरि

पुरानो घाउले पीडा दिएको दर्दमा अहिले
दियो आराम तत्कालै मलमले घाउमा फेरि

कतै जल्दै थियो जीवन कतै जल्ने तयारीमा
भयानक दृश्य देखिन्थ्यो सगर माथि धुँवा फेरि

सदा आफ्नो भनी मैले सबै व्यथा सुनाएथेँ
मलाई झन दिए पीडा खुसी मान्दै मजा फेरि

हजुरको जिन्दगी गाथा सुरूदेखि पढेँको हूँ
सधैँ हुन्थ्यो यहाँ हाम्रो मिलन गर्ने कुरा फेरि

गजल २
घाउ सन्चो भो भने भन्छन् दुखाऊ एकछिन्
फूल जस्तो उर्लँदो यौवन दुखाऊ एकछिन्

साल महिना बित्न थाल्यो याद गर्दै हर घडी
फेरि मिल्ने छैन मौका मन दुखाऊ एकछिन्

कत्ति बस्छौ छटपटीँदै स्वप्न देख्दै रातमा
प्यार गर्दै सुस्तरी अड्चन दुखाऊ एकछिन्

जिन्दगीमा साथ जहिले दिन्छु भन्नेछन् अझै
चोट माथि चोट थप्दै झन् दुखाऊ एकछिन्

प्रेम गर्ने हर कसैको जिन्दगीको साथमा
घात जस्तै जोडले बन्धन, दुखाऊ एकछिन्

भुल्न थाल्यौ के तिमीले प्यार गर्दाका कसम
हरघडी चल्ने तिमी धड्कन दुखाऊ एकछिन्

जिन्दगीमा प्रेम गर्ने बढ्न थालेछन यहाँ
प्रेममा होस् आखिरी चुम्बन दुखाऊ एकछिन्

***

प्रतिक्रिया

सम्बन्धित खवर