– एकदेव अधिकारी
आरम्भ अर्याल आफ्नो होभर-स्कुटरबाट घरतर्फ हुइँकिदै गर्दा बाटोको विद्युतीय सूचना पाटीमा मौसम सम्बन्धी सूचना झुल्कियो — “भोलि दिउँसो ३:१५ बजे, व्यावसायिक क्षेत्रको आकाशमा १.५ मि.मि. हल्का वर्षा हुनेछ र त्यसको लगत्तै उत्तर-पूर्वी कोणमा ठीक ४ मिनेटका लागि दोस्रो कोटीको (दुई वटा इन्द्रधनुष भएको) इन्द्रेणी देखाइनेछ ।”
आरम्भले दिक्क मान्दै स्कुटरको गति बढायो । “इन्द्रेणी ! त्यो पनि पुषको जाडोमा ?” उसले नाक खुम्च्यायो ।
उसलाई हजुरबुबाले सुनाएको कुरा याद आयो । हजुरबुबा सधैँ भन्ने गर्नुहुन्थ्यो — “सुनिस् आरम्भ, हाम्रा पुर्खा डा. पवन अर्यालको समयभन्दा अगाडि, यो भूभागमा वर्षमा ६ वटा ऋतु हुन्थे रे ! गर्मीको तातो लिन वैशाख-जेठ आउँथ्यो, अनि धर्ती भिजाउन असार-साउन…”
हजुरबुबाको स्वरमा अतीतको तिर्सनाको साथसाथै अनिश्चित भविष्यको पूर्वाभास हुन्थ्यो ।
तर ती कुराहरू अब आरम्भका लागि केवल दन्त्यकथा जस्तै थिए । किनकि अहिले प्रकृति पूरै मानवको कब्जामा छ । वर्षा, इन्द्रेणी, सूर्यको ताप — सबै थोक पूर्ण रूपमा टेरा-कोर को ‘महातालिका’ अनुसार चल्छन् । कुन दिन कति मिलिमिटर पानी पर्ने, हावाको गति कति हुने तथा कुन दिशाबाट बग्ने र कुन रङ्गको इन्द्रेणी कति सेकेन्डका लागि देखिने — यो सबै पहिल्यै तय हुन्छ । अनिश्चितताको कुनै सम्भावना छैन, र सायद त्यसैले जीवनमा आश्चर्यको पनि कुनै स्थान छैन ।
उसको स्मार्ट-घडीमा अधिसूचना जनाउ घण्टी बज्यो । होभर-स्कुटरको स्क्रिनमा उसले आँखा लगायो । त्यो टेरा-कोरबाटै आएको थियो । उसले हेलमेटको दायाँपट्टि हल्का स्पर्श गर्नासाथ सन्देश उसको इयरफोनबाट बज्न थाल्यो — “इन्जिनियर आरम्भ, भोलि प्रक्षेपण गर्नुपर्ने इन्द्रेणीका लागि तपाईँको ‘रङ-सङ्केत’ स्वीकृत भएको छ । प्रारम्भिक प्रक्रिया सकेर कृपया ३ बजेभित्र कन्सोलमा उपस्थित हुनुहोला । विस्तृत विवरण तपाईँको ‘कार्य-सूची’ मा पठाइएको छ ।”
आरम्भ आफैँ मौसमको निरूपण गर्ने इन्जिनियर थियो, तर विडम्बना— उसलाई आफ्नै काममा कुनै उत्साह थिएन । उसलाई त जिजुबराजुको दैनिकीमा लेखिएको त्यो ‘अचानक परेको मुसलधारे पानी’ र ‘हिलोमा लछप्पै भिजेको बाल्यकाल’ को अनुभव चाहिएको थियो ।
आरम्भको होभर-स्कुटर घरको विश्राम-स्थलमा आएर रोकियो । विद्युतीय चार्जिङ स्टेसनमा स्कुटर लक गरेर ऊ मूलद्वारतर्फ बढ्यो । स्क्यानरले उसको आँखाको नानी पहिचान गर्नासाथ ढोका ‘सर्र’ गर्दै खुल्यो । भित्र उसको निजी यन्त्र-मानव सिन्थेटिक सर्बतका साथ तयार थियो । रोबोटको त्यो निर्धारित शिष्टाचार उसलाई वाक्क लाग्थ्यो । आरम्भले ग्लास उठायो र रोबोटलाई ‘स्ट्याण्डबाइ’ मोडमा बस्ने यान्त्रिक आदेश दिँदै आफ्नो निजी कक्षतिर लाग्यो ।
ढोका बन्द हुनासाथ बाहिरको यान्त्रिक दुनियाँको कोलाहल ठप्प भयो । आरम्भले ढोकाको भित्री डोरम्याटको छेउमा जुत्ता र मोजा खोलेर राख्यो र जैविक अनुकरण प्रविधिबाट निर्मित काठको पार्केटमा खुट्टा राख्यो । पार्केटको स्पर्शलाई आफ्नो पैतालाले महसुस गर्दै उसले कोठाको भित्ताहरूतर्फ नजर घुमायो । यो कोठाको भित्तामा चिसो धातु वा चिसा काँचका स्क्रिनहरू थिएनन्, बरु त्यहाँ पुरातन कालको गाउँघरको जस्तै खस्रो माटोको लेप लगाइएको थियो । कोठाको तापक्रम पनि ‘वाष्पीय हिटर’ ले होइन, कोठाको कुनामा राखिएका विशेष प्रकारका ‘तताइएका ढुङ्गाहरू’ ले सन्तुलित गर्थे, जसले कृत्रिम होइन, घामले तताएको ढुङ्गाको जस्तो न्यानो आभाष दिन्थ्यो ।
कोठाको मध्यभागमा एउटा पुरानो शैलीको काठको टेबल थियो — जुन यो युगमा हिराभन्दा महँगो मानिन्थ्यो । टेबलको एकापट्टि उसको अत्याधुनिक ‘होलोग्राफिक कन्सोल’ निभेर बसेको थियो भने अर्कोपट्टि एउटा सानो ओस-प्रतिरोधी सिसाको बाकसभित्र एउटा जीर्ण पुस्तक सुरक्षित थियो । त्यो पुस्तक — जसको गातामा पुरानो लिपिमा लेखिएको थियो: “तत्त्व र भाव: डा. पवन अर्याल (वि.सं. २५२२ – २६२८)” ।
यो त्यही पुस्तक थियो, जसमा उनका पुर्खा डा. पवनको ‘भगवान्’ सँगको साक्षात्कारपछिका अनुसन्धान र व्यक्तिगत दैनन्दिनीहरूलाई कुट र सिन्थेटिक लेदरको गातामा सुरक्षित राखिएको थियो । पुस्तकको छेउमै एउटा सानो तामाको भाँडोमा पानी राखिएको थियो र त्यसको ठीक माथि एउटा ‘क्वान्टम उत्तोलन’ मा अडिएको भगवान् शिवको नटराज मूर्ति हावामा तैरिरहेको थियो । विज्ञानले गुरुत्वाकर्षणलाई जितेको थियो, तर आरम्भले त्यसलाई आस्थासँग जोडेको थियो । त्यो तैरिरहेको मूर्तिको ठीक पछाडि भित्तामा एउटा ‘ताराहरूको-मानचित्र’ र ‘श्री-यन्त्र’ को आकृतिलाई एकै ठाउँमा समायोजन गरेर बनाइएको चित्र थियो ।
आरम्भ बिस्तारै कुर्सीमा बस्यो । उसले आफ्नो हातलाई निर्मलीकरण गरेन, बरु आफ्ना हत्केलाहरू आपसमा रगड्यो — ताकि ऊ त्यो पुस्तकको स्पर्शलाई कुनै रासायनिक पर्दा बिना महसुस गर्न सकोस् । उसले काँचको बाकसको ढकनी हटायो र कम्पन भइरहेको हातले त्यो जीर्ण पुस्तकलाई टेबलमा निकाल्यो । उसलाई पाना पल्टाउन कुनै विषयसूची हेर्नुपर्दैनथ्यो । त्यो खास पाना, जहाँ उसको औँलाको डाम बस्दा-बस्दा कागज नै खैरो भइसकेको थियो, त्यहीँनिर उसले पुस्तक खोल्यो । पहेँलो भइसकेको कागजमा डा. पवनको हस्तलिखित अक्षरहरू अझै पनि जीवित देखिन्थे । मसीको रङ फिक्का भइसकेको थियो, तर शब्दको भाव गाढा थियो ।
मिति: वि.सं. २५७८, असार १५ (चन्द्र धरातलको दक्षिणी गोलार्ध) “आज गुम्बजको तापक्रम नियन्त्रण प्रणालीमा सानो खराबी आयो । इन्जिनियरहरू आत्तिएका थिए, गुम्बजको छतमा जमेको बाफ अचानक पानी बनेर बर्षियो । त्यो योजनाबद्ध वर्षा थिएन, त्यो ‘शुद्ध निष्कपट संयोग’ थियो । हामी सबै वैज्ञानिकहरू प्रयोगशालाको एप्रन फुकालेर त्यो पानीमा रुझ्यौं । हिलो… ओहो ! त्यो चन्द्रमाको धूलो र पानी मिसिएर बनेको लेदो हिलो ! मैले आज पहिलो पटक थाहा पाएँ— ‘तत्त्व’ (माटो र पानी) जब ‘भाव’ (स्वतन्त्रता) सँग मिसिन्छ, तब मात्र जीवनको सुगन्ध आउँदो रहेछ । मेरो शरीर हिलोले लछप्पै भिज्यो, तर मेरो आत्मा भने सफा भएको महसुस भयो ।”
आरम्भले लामो सास फेर्यो । उसले ती शब्दहरूमाथि आफ्ना औँलाहरू दौडायो । “शुद्ध निष्कपट संयोग !” उसले बिस्तारै उच्चारण गर्यो । उसले पुस्तकलाई बडो आदरका साथ बन्द गरेर काँचको बाकसभित्र राख्यो र सोचमग्न भयो ।
भोलि दिउँसो ३:१५ बजे उसले सहरलाई १.५ मि.मि. को ‘सभ्य’ वर्षा दिनुपर्ने थियो । कुनै हिलो नहुने, कसैको कपडा नबिग्रिने, कसैको कार्यतालिका नगडबडिने र ‘हिमालयन महासंघ’ तथा ‘टेरा-कोर’को मापदण्डभित्र पर्ने ‘शुद्ध’ पानी । त्यो वर्षा ‘तत्त्व’ मात्र थियो, त्यहाँ कुनै ‘भाव’ थिएन । त्यहाँ जीवन थिएन, त्यो ‘शुद्ध निष्कपट संयोग’ थिएन, मात्र गणित थियो ।
आरम्भलाई राम्रोसँग थाहा थियो— यो बनावटी तालिकालाई ‘निष्कपट संयोग’ बनाउन उसले आचार-संहिता तोड्नुपर्ने थियो । यसको परिणाम स्वरूप, उसले क्षेत्रीय वातावरण विभाग – काठमाडौं केन्द्रका निर्देशक समरकान्त पौडेललाई प्रत्यक्ष जबाफ दिनुपर्ने हुन्थ्यो, र टेरा-कोर अन्तर्गत हिमालयन महासंघका संयोजक यसबन्त सेखलाई लिखित रूपमा स्पष्टीकरण बुझाउनुपर्ने हुन्थ्यो ।
आरम्भका आँखाहरूमा अब द्विविधा थिएन, एउटा कठोर सङ्कल्प थियो । उसले टेबलको होलोग्राफिक कन्सोल सुचारु गर्न स्वरलाई एकदमै सन्तुलित बनायो । उसलाई थाहा थियो, बोलेर आदेश दिँदा ‘काठमाडौँ-केन्द्र’को सर्भरमा उसको स्वर अङ्कित हुनेछ । त्यसैले उसले ‘सेफ मोड’ को बाटो रोज्यो ।
“बाइपास अटोमेटिक लगिङ एण्ड इनिसिएट म्यानुअल ओभरराइड !”
आदेश दिनासाथ टेबलको सतहमा नीलो प्रकाश सलबलायो । हेर्दा हेर्दै टेबलमाथि ‘प्रकाशमय कुञ्जीपाटी’को आभासी नक्सा फैलियो । लगत्तै उसको आँखाको ठीक अगाडि हावामै तैरिएको पारदर्शी स्क्रिन स्थिर भयो, जसमा हरियो रङका अनगिन्ती निर्देशन-पङ्क्तिहरू झिलमिल गर्न थाले । अब ऊ प्रणालीको निगरानी बाहिर थियो । आरम्भले लामो सास फेर्यो र प्रकाशमय कुञ्जीपाटीमा आफ्ना औँलाहरू नचाउन थाल्यो । ऊ भोलिको त्यो ‘त्रुटिरहित’ मौसम प्रणालीमा एउटा सुनियोजित ‘त्रुटि’ रोप्दै थियो, जसले प्रणालीलाई झुक्काएर आकाशलाई रुन बाध्य पारोस् ।
उसका औँलाहरू कुनै कुशल पियानो-वादकका औँलाहरूझैँ चलायमान भइरहेका थिए । सबैभन्दा पहिले उसले चाप-भल्भको नियन्त्रकलाई हटायो जसले पानी तथा तापक्रमको मात्रालाई नियन्त्रणमा राख्थ्यो । स्क्रिनमा पहेँलो रङको सावधानी-सङ्केत देखा पऱ्यो । त्यसपछि आर्द्रता नियन्त्रण एकाइलाई ७०% बाट बढाएर अनिश्चित बनायो । तत्काल कन्सोलको स्क्रिनमा रातो अक्षरमा चेतावनी आयो – “चेतावनी! मापदण्ड विचलन! के तपाईँ अगाडि बढ्न निश्चित हुनुहुन्छ ?”
आरम्भ एकछिन टक्क रोकियो । उसको स्मृतिमा फेरि जिजुबराजुको दैनिकीको एउटा हरफ घुम्यो – “असारको वर्षाले जमिन भिजाउँछ, तर पुषको वर्षाले मुटु कमाउँछ । त्यो पश्चिमी वायुको सिरेटो र ४-५ डिग्रीको चिसो पानीले जब अनुहारमा हान्छ, तब मात्र थाहा हुन्छ – हामी जीवित छौं ।”
“मुटु कमाउने झरी …!” त्यतिबेला कोठाको तापक्रम आरामदायी-स्तरमा २० डिग्री थियो । उसले भोलिको तापक्रमको तालिका हेऱ्यो । भोलि ३ बजे देखि ३:३० सम्मको तापक्रम तालिकामा २० डिग्रीमा स्थिर हुनेवाला थियो । दिनभरिको बाहिरको वातावरणीय तापक्रम पनि टेरा-कोरको नियन्त्रणमा १८ – २२ डिग्री हुनेवाला थियो । उसले तापक्रम नियन्त्रणको एकाइलाई ३:१४ देखि ३:२० सम्मको अवधिको लागि २० डिग्री बाट ४ डिग्रीमा झारिदियो अनि वायुको दिशालाई ‘चक्रीय-वायु’को मोडबाट हटाएर ‘पश्चिमी-वायु’को मोडमा स्थिर गरिदियो । अब बल्ल भयो पुषको मुटु कमाउने झरी ।
आरम्भ रोकिएन । उसले वायुको गतिलाई आकस्मिक मोडमा सेट गऱ्यो । स्क्रिनमा ‘कोड-रेड’ को सङ्केत आयो र लगत्तै अर्को सन्देश झुल्कियो — “यो गम्भीर सुरक्षा उल्लङ्घन हो । यसको जानकारी तत्काल क्षेत्रीय निर्देशक समरकान्त पौडेल र संयोजक यसबन्त सेखलाई पठाइँदै छ… ५… ४… ३…”
आरम्भका औँलाहरू बिजुलीको गतिमा चल्न थाले । उसले त्यो सन्देश प्रसारण हुनुभन्दा ठीक अगाडि ‘चेतावनी-विलम्ब’ प्रोटोकल सक्रिय गऱ्यो ।
“होल्ड नोटिफिकेसन अन्टिल एक्जिक्युसन !”
उल्टो गन्ती रोकियो । स्क्रिनमा नयाँ सन्देश आयो— “प्रशासनिक जानकारी ‘प्रतीक्षा’ सूचीमा राखियो । प्रसारण समय: भोलि दिउँसो ३:१५ बजे ।”
आरम्भले लामो सास फेऱ्यो । अब पासो थापिसकिएको थियो । भोलि ३:१५ बजे जब पानी पर्न सुरु हुन्छ, तब मात्र समरकान्तको मोबाइलमा घण्टी बज्नेछ । तर त्यतिबेलासम्म आरम्भले चाहेको ‘निष्कपट संयोग’ सुरु भइसक्नेछ ।
“भोलि भेटौँला, आकस्मिक संयोग !” उसले नटराजको मूर्ति हेर्दै सिस्टम बन्द गऱ्यो ।
भोलिपल्ट दिउँसो ३:१४ बजे । आरम्भ अफिसको काँचको ढोका खोलेर क्षेत्रीय वातावरण विभागको खुला बार्दलीमा निस्कियो । भित्र कार्य कक्षमा बसेका सहकर्मीहरूले उसलाई अचम्म मान्दै हेरे । अम्लीय वर्षा हुने डरले पानी परेको समयमा कोही पनि बाहिर निस्कँदैनथे, यद्यपि पानी शुद्धीकरण गरिएको हुन्थ्यो ।
३:१५ बज्यो । टेरा-कोरको तालिका अनुसार आकाशमा १.५ मि.मि. को मसिना थोपाहरू झर्न सुरु हुनुपर्ने थियो । एक मिनेट अगाडिदेखि नै वातावरणीय तापक्रम घटेर चिसो बढिसकेको थियो । एक्कासी आकाश गर्जियो — त्यो आवाज विद्युतीय स्पिकरबाट आउने कृत्रिम ध्वनि थिएन, बरु वायुमण्डलको घर्षणबाट निस्किएको आदिम र प्राकृतिक गर्जन थियो ।
बार्दलीमा उभिएको आरम्भको अनुहारमा पहिलो थोपा खस्यो — चिसो र गह्रौँ । त्यसपछि… मुसलधारे वर्षा सुरु भयो । त्यो टेरा-कोरको सिमसिमे पानी थिएन, त्यो त आकाश भासिए जस्तो अनियन्त्रित वर्षा थियो । हावाको गति यति तीव्र भयो कि अफिसका झ्यालका सिसाहरू थर्किन थाले ।
भित्र अफिसमा कोलाहल मच्चियो । निर्देशक समरकान्त पौडेल आफ्नो कार्यकक्षबाट आत्तिएर बाहिर निस्किए । उनको हातमा रहेको सावधानी-सूचक यन्त्रमा रातो बत्ती बल्दै साइरन बजिरहेको थियो । हिजो आरम्भले रोक्का गरेको नोटिफिकेसन अहिले बन्दुक पड्किएझैँ बज्यो । “यो के भइरहेको छ ? कसले सिस्टम चलायो ?” उनी चिच्याउँदै थिए ।
तर आरम्भले त्यो केही सुनेन । ऊ आँखा चिम्लिएर आकाशतिर मुख फर्काएर उभिएको थियो । पानीसँगै अब साना-साना असिनाका दानाहरू बर्सिन थाले । असिनाले उसको अनुहार र निधारमा हिर्काउँदा उसलाई दुखाइ होइन, एक किसिमको सुखद स्पर्श महसुस भयो । बार्दलीको कुनामा जम्मा भएको धूलो पानीसँग मिसिएर हिलो बन्दै थियो । आरम्भले आफ्नो जुत्ता खोल्यो र त्यो हिलोमा नाङ्गो खुट्टा गाड्यो ।
“वाह !” उसले लामो सास फेर्दै त्यो माटोको गन्ध छातीभरि भर्यो । यो त्यही गन्ध थियो जुन उसले जिजुबराजुको दैनिकीमा पढेको थियो — ‘तत्त्व’ र ‘भाव’ मिसिएको गन्ध ।
“आरम्भ ! आरम्भ अर्याल !” पछाडिबाट सुरक्षा गार्ड र निर्देशक समरकान्त दौडिँदै आए । समरकान्तको अनुहार रिस र डरले रातो भएको थियो । “तँलाई थाहा छ तैँले के गरिस् ? तैँले आफ्नो भविष्य आफैँले ध्वस्त पारिस् ! तैँले महासंघको नियम तोडिस् ! यसको परिणाम थाहा छ ?” समरकान्तले उसको कलर समाते । सुरक्षा गार्डहरूले आरम्भका हातहरू पछाडि फर्काएर हतकडी लगाइदिए । वर्षाको पानीले आरम्भको शरीर निथ्रुक्क भिजेको थियो । कपालबाट पानीका थोपाहरू तप्प-तप्प चुहिएर आँखामा परिरहेका थिए । तर, उसको अनुहारमा कुनै पछुतो थिएन, न त कुनै डर ।
उसले रिसाएको समरकान्तको अनुहारमा हेर्यो र शान्त भावमा मुस्कुरायो । त्यो मुस्कानमा एउटा ‘तृप्त’ मान्छेको झलक थियो, जसले वर्षौंपछि आफ्नो तिर्सना मेटाएको छ ।
“सर !” आरम्भले हतकडी लागेकै हातले आकाशतिर इसारा गऱ्यो र भन्यो, “तथ्याङ्क छोड्नुस्, र एकपटक सास फेर्नुस् त ! आज हावामा ‘जीवन’ को गन्ध आएको छ ।”
आकाशमा बिजुली चम्कियो । आरम्भलाई लिएर गार्डहरू भित्र पस्दै गर्दा बाहिरको त्यो ‘निष्कपट’ वर्षाले काठमाडौंको निदाएको सहरलाई ब्यूँझाउँदै थियो ।
***
प्रतिक्रिया
-
४
