साहित्यकार दीपक समीप तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय छन् । स्कुले जीवनदेखि नै साहित्यमा कलम चलाएका उनको औपचारिक साहित्यिक यात्रा भने वि.सं. २०४९ साल कार्तिकको युवामञ्चमा मुक्तक प्रकाशित भएपछि शुरू भयो । हाल समिपले मुक्तक,गजल र लघुकथालगायतका विधामा कलम चलाउदै आएका छन् । उनको ‘भूगोल भित्र नकोरिएको देश’ (गजल सङ्ग्रह २०६२), ‘अक्षर अक्षरमा देश’ (मुक्तक सङ्ग्रह २०७८) प्रकाशित कृतिहरू हुन्। यसको अलवा उनले सौगात द्वैमासिक, नवमाध्यम द्वैमासिक, उत्खनन सामयिक सङ्कलन, गजल उत्सव भाग १ समकालिन गजल, सम्पादन गरिसकेका छन् । लघुकथा र गजल सङ्ग्रह प्रकाशनको तयारीमा रहेका उनीसँग आजको आँगनमा सेतोमाटोका लागि मनु विद्रोहीले गरेको भलाकुसारी यस्तो छः

साहित्य यात्रा कहिलेदेखि शुरू गर्नुभयो ?

स्कुल पढ्दादेखि नै मेरो साहित्य यात्रा शुरू भएको हो। वि.सं. २०४९ साल कार्तिकको युवामञ्चमा मुक्तक प्रकाशित भए पश्चात मेरो साहित्य यात्रा शुरू भएको हो।

कुन विधाबाट साहित्यमा प्रवेश गर्नु भयो ?

मुक्तक लेखन र प्रकाशनबाट मेरो साहित्यमा प्रवेश भएको हो। तत्पश्चात गजल लेखनमा उतिकै लागिरहें।

साहित्यमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?

मेरी आफ्नै दिदी सरस्वती श्रेष्ठ सरू साहित्य लेखनमा लाग्नु भएको थियो। उहाँकै प्रेरणा र कोर्समा समावेश विभिन्न साहित्यकारहरूका कथा, कविताले मलाई साहित्यमा तानेको हो।

प्रकाशित कृतिहरू केके हुन् ?

‘भूगोल भित्र नकोरिएको देश’ (गजल सङ्ग्रह २०६२), ‘अक्षर अक्षरमा देश’ (मुक्तक सङ्ग्रह २०७८) मेरा प्रकाशित कृतिहरू हुन्। यसको अलवा सौगात द्वैमासिक, नवमाध्यम द्वैमासिक, उत्खनन सामयिक सङ्कलन, गजल उत्सव भाग १ समकालिन गजल, मैले सम्पादन गरेका साहित्यिक पत्रिकाहरू हुन्।

प्रकाशनको तयारीमा रहेको कृतिहरू छन् ?

लघुकथा र गजलको पाण्डुलिपि तयारी अवस्थामा छ। ढिलोचाँडो प्रकाशनमा जानेछ।

नेपालको साहित्यिक क्षेत्रलाई तपाईले कसरी हेर्नु भएको छ, तपाईको विचारमा साहित्य के हो ?

नेपालको साहित्यिक क्षेत्रलाई मैले नजिकबाट नियाली रहेको छु। हामीले लेखन शुरुवात गर्दाको समय भन्दा अहिले रचना प्रकाशन, पुस्तक प्रकाशनमा धेरै सजिलो छ। अहिले साहित्य बिकाउ हुन थालेको छ। अहिले पुस्तक प्रकाशित गर्ने प्रकाशकहरू भेटिन्छन्। पुस्तक किनेर पढ्ने बानीको विकास भएको छ। प्रकाशनकोलागि पत्रपत्रिकाहरू सर्व सुलभ छन्। त्यसको अलवा डिजिटल प्रकाशन, सामाजिक सञ्जाल, अनलाइन पत्रिका, स्टेजको सुविधाहरू छन्। तीस, चालिस र पचासको दशकको भन्दा अहिलेको पुस्ता भाग्यमानी छ। संसारका सबै किसिमका सुविधाहरूको उपयोग गर्न सक्ने अवसर पाएका छन्, अहिलेको पुस्ताले ।

साहित्य भनेको मनका भावहरु शब्दद्वारा व्यक्त गर्ने एउटा कला हो। एउटा माध्यम हो। साहित्यले नै मान्छेलाई सुसंस्कृत बनाउँदछ।

एउटा साहित्यकारले किन लेख्ने गर्छन् ? के साहित्य सिर्जनाले देश स्थिति परिवर्तनमा सहयोग गर्छ ?

एउटा अस्तित्वबोध र पृथक पहिचानकोलागि हामी लेख्ने गर्छौं। त्यसमा आत्मसन्तुष्टिको कुरा पनि आउँछ। कहिले लेखन नशा भएर पनि नलेखी बस्न सकिँदैन। साहित्य सृजनाले देशको स्थिती परिवर्तनमा सहयोग मात्र होइन अहम भूमिका खेलेको छ। देशमा प्रजातन्त्र, बहुदल र गणतन्त्र ल्याउनमा कवि साहित्यकारहरूको ठूलो भूमिका छ। २०६२/०६३ को आन्दोलनमा कर्फ्यू तोडेर चोक चोकमा गणतन्त्रको पक्षमा हामीले कविता मुक्तक वाचन गरेको हिजै जस्तो लाग्छ। यसप्रकारले देशभरिकै साहित्यकारहरूले आ आफ्नो ठाउँबाट सृजनात्मक आन्दोलन गरेका थिए।

झन्डै तीन दशक पहिले र अहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएको छ ?

समय निकै फेरिएको छ। साहित्य पनि अहिले डिजिटल युगमा प्रवेश गरेको छ। पत्रपत्रिका , टि भि , रेडियो, पुस्तक प्रकाशन र स्टेज सोहरूमा सबैको सर्वसुलभ रूपमा पहुँच छ। इच्छा हुनेले प्रतिभा हुनेले अवसर पाएकै छन्। तीन दशक अघि साहित्यिक पत्रिका राजधानी बाहिर पढ्न पाउनु सजिलो थिएन। रचना प्रकाशन पनि सुलभ अवस्था थिएन। तर अहिले इन्टरनेटले विश्व नै साँघुरो बनाइदिएको छ। अहिले जहाँ बसेर पनि जतासुकैको रचना पढ्न, प्रकाशन गर्न सकिने अवस्था छ। पहिले यो कल्पना बाहिरको कुरा थियो।

साहित्यको अन्य विधाहरूमध्ये गजल विधा बढी विवादित बनेको छ किन होला ?

हो, गजल आफै विवादित भएको होइन। गजललाई विवादित बनाइएको हो। जस्तो पहिले गद्य र पद्य कविता लेखनबिच विवाद थियो। अहिले सो विवाद आफै हटेर गयो। गजलमा विवादको स्थिति पनि त्यही हो। शास्त्रीय बहरमा लेख्नेले शास्त्रीय बहरमा लेखून्, स्वतन्त्र लय विधानमा लेख्नेले स्वतन्त्र लय विधानमा लेखून्। एकले अर्काको अस्तित्व स्वीकार गरून्। यसो भएमा विवादै रहदैन। गजलमा खास विवाद जुँगाको लडाइँ हो। मलाई त्यो भन्दा ठूलो अरु केही छ भन्ने लाग्दैन। केही मान्छेहरू अनावश्यक चर्चाको लागि पाखण्ड गरिरहेका छन्। कसैलाई भ्रम छ कि शास्त्रीय बहरमा लेख्न नजान्नेले स्वतन्त्र लय विधानमा लेखिरहेका छन्। वास्तवमा स्वतन्त्र लय विधानमा लेखिरहेकाले पनि शास्त्रीय बहरमा लेखेका छन्। बस् उनीहरूलाई जुन धार र शैलीमा आफूलाई अभिव्यक्त गर्न सहज लाग्छ त्यसैमा लेखून् भन्ने लाग्छ मलाई।

सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?

पुस्तक व्यक्तिको रूचि अनुसार फरक पर्छ। सबैलाई एकै किसिमको पुस्तक मनपर्छ भन्ने हुँदैन। रुचिलाई पाठकको उमेर र क्षमताले पनि असर गर्दछ। कतिपयले आफ्नाको अनावश्यक हल्ला पनि गर्दछन्। तर, आफूले नपढी हल्लाको भरमा पुस्तकको मूल्याङ्कन गर्न सकिँदैन। आफूले पढेपछि मात्र सहि मूल्याङ्कन गर्न सकिन्छ। बजारमा धेरै पुस्तकहरू छ्न् हल्लाले बिक्री भएका । तर, ती पुस्तकहरू पढ्दा सोचेको जस्तो सुनेको जस्तो स्तरीयता पाइदैन। तर, पनि साहित्य लेखन जटिल काम हो। म सबै लेखकहरूप्रति सम्मान भाव राख्दछु।

साहित्यमा लागेर जिविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन ? साहित्यमा राज्यबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

अहिले शुद्ध साहित्यमा मात्र लागेर जिविकोपार्जन गर्न सक्ने अवस्था छैन। एकाध दुर्इले लेखेर सम्पादन गरेर आफ्नो जेनतेन गुजारा चलाएका होलान् । तर, आम लेखकहरूको अवस्था साहित्यमा मात्र लागेर परिवार पाल्न सक्ने अवस्था छैन। नेपाली साहित्यको बजार साँघुरो छ। अझै लामो समय पर्खनुपर्छ नेपाली साहित्यकारहरूले साहित्यमा लागेर जीविका चलाउनको लागि । राज्य आफै ऋणमा चलेको छ। यस्तो अवस्थाको सरकारबाट के नै अपेक्षा गर्न सकिन्छ र ! विधार्थीका लागि चाहिने पाठ्यपुस्तक त समयमा पुर्‍याउन नसक्ने सरकारले साहित्य र साहित्यकारका लागि केही गरिदेला भन्ने अपेक्षा गर्नु नै मुर्खता हुनेछ।

तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केहि छ कि ?

गर्नुपर्ने कुराहरू , भन्नुपर्ने कुराहरू धेरै छन्। औपचारिक कुराकानीमा सबै कुराहरू अट्दैनन्। र पनि यति कुराकानी गर्ने अवसर दिनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ।

प्रतिक्रिया

सम्बन्धित खवर