साहित्यकार युवराज नयाँघरे (२०२६) विशेषतः निबन्ध तथा नियात्रामा कलम चलाउँछन् । उनको निबन्ध सङ्ग्रहहरू ‘संवेदनाका स्वरहरू’ (२०५५), ‘मुहूर्तको वरिपरि’ (२०५५), ‘मुखुण्डाको मन’ (२०५५), ‘काठमाडौँलाई कोर्रा’ (२०५८), ‘नीलडाम’ (२०६१), ‘अनाम पहाडमा फनफनी’ (२०६२), ‘एक हातको ताली’ (२०६५), ‘स्वाहा’ (२०६९), ‘हरियो राहदानी’ (सन् २०१२), ‘घामको चुम्बन’ (नियात्राहरू–२०६७)लगायतको डेढ दर्जनबढी कृषि प्रकाशित छन् । उनको ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहले २०६५ सालको मदन पुरस्कार समेत प्राप्त गरेको छ । यसका साथै नयाँघरेले राष्ट्रिय प्रतिभा पुरस्कार (२०५६), उत्तम शान्ति पुरस्कार (२०५८) र युवावर्ष मोती पुरस्कार (२०६१)आदि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । यसै बर्षको पूर्वाद्र्धमा उनको १८औं कृति ‘याकजी’ सार्वजनिक भएको छ । सोही पुस्तक र नियात्रा लेखनको सम्बन्धमा आजको आँगनमा सेतोमाटो डटकमका लागि सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ता प्रस्तुत छः
तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन ‘याकजी’ मा छ भन्ने कुरा विमोचनमा आएका विचार विमर्शबाट थाहा पाइयो । तपाईंले यो कृति तयार गर्न डोल्पामा कति समय बिताउनु भएको छ र डोल्पाका सबै ठाउँमा पुग्नुभयो कि केही ठाउँ छुटे पनि ?
म घुमन्ते स्वभावको मान्छे हुँ । मौका मिल्यो कि घुमघाम गर्न रुचाउँछु । सकेसम्म घुमघामको अवसर छुटाउँदिनँ । डोल्पाका धेरै भूभाग मैले यो पटक घुमघाम गर्ने मौका पाएँ । एक महिने समय डोल्पाका लागि थोरै भयो, मलाई ।
तल्लो केही भागसँगै माथ्लो डोल्पा निकै धेरै नै पुग्ने अवसर मिल्यो । माथ्लो भेगका धेरै ठाउँ गए पनि अझै केही गाउँ पुग्न सकिनँ । ज्यादै विकट, कष्टपूर्ण यात्रा, अत्याधिक समय लाग्ने, शरीरको थकान, खर्चबर्च आदि कारणले केही ठाउँमा पुग्न सकिनँ । तर चाहनाको हुटहुटी भने रहिरह्यो । अब रहल–पहल गाउँ यो पुस्तकपछि पुग्ने कुरामा म ढुक्क छु ।
आकारको हिसाबले डोल्पा सबैभन्दा ठूलो जिल्ला हो, डोल्पा भ्रमणमा जाँदा नै नियात्रा लेख्छु भनेर सोचेर जानुभएको थियो कि त्यहाँ पुगेपछि लेख्ने मन भयो ?
म त्यहाँ जानुअघि यत्ति धेरै कुरा, प्रसङ्ग, घटना, पात्र वा भूगोलसँग नजिक हौँला भन्ने लागेकै थिएन । एक सरो घुमाई मात्रै होला भन्ने लागेको थियो । तर जति–जति माथ्लो डोल्पासँग म नजिक भएँ, डुबेँ, हराएँ । अनि यो संस्कृति र यहाँको प्रकृतिलाई उतार्नु पर्छ भन्ने हुटहुटीले मलाई लखेट्न थाल्यो । अन्ततः आयो– ‘याकजी’ ।
डेढ दर्जन कृतिको जनक बनिसक्नुभएको छ । देशकै गौरवशाली ‘मदन पुरस्कार’ पनि प्राप्त गरिसक्नु भएको छ । तपाईंको कलम विशेष निबन्ध र नियात्रामा चलेको देखिन्छ । अन्य विधालाई किन नपछ्याउनु भएको ?
लेखकले कनेर लेख्ने होइन । मन चङ्गा नहुने विधामा हात हाल्नु भनेको कालो बादलको गुजुल्टोमा हराइरहनु हो । मलाई यी विधामै आनन्द लाग्छ । आनन्दसँग गरिएको कामको परिमाण वा परिणाम वजनदार हुन्छ । सायद अब अरु विधामा आनन्दित हुन पनि सक्दिनँ होला म । आउँदा दिनमा मैले अरु विधामा काम गरेँ भने पाठकका आँखामा मेरो काम ख्याल–ख्याल वा ठट्टा पो ठहरिएला कि ? जेरी बेच्न छोडेर निम पत्ती बेच्ने व्यापारीको आरोप लाग्ने खतरा पनि त छ नि !
डोल्पा भौगोलिक हिसाबले निकै विकट जिल्ला हो, हिमाली संस्कृति, सभ्यता, रहनसहन प्रशस्तै छन् डोल्पामा । यहाँले चाहिँ विशेष के कुरालाई महत्त्व दिएर यो नियात्रा लेख्नुभएको हो ?
भूगोल र संस्कृतिले मलाई अत्यन्तै छोयो त्यहाँ । म डोल्पा नगएको भए त्यहाँको कष्टसाध्य जीवन र त्यहाँ हुर्केको जीवन पद्धतिबाट कोसौं पर रहने रहेछु । लेखकले जीवन र यथार्थबाट टाढा गएर लेख्ने हो भने– त्यो आफ्नै छायाँबाट डराएर भागेको देखिन्छ ।
सामान्य तरिकाले बुझ्ने हो भने नियात्रा भनेको भ्रमण वर्णन वा टिप्पणी हो भन्न सकिएला तर तपाईं नियात्रालाई निकै महत्व दिएर लेखिरहनु भएको लेखक हुनुहुन्छ, यहाँको विचारमा नियात्रा योभन्दा बढी के हो ?
नियात्रा अनुभूतिको उत्कृष्ट अभिव्यक्ति कला हो । सूचना, जानकारी त आइहाल्छ । गैर आख्यानको विशिष्ट कला पनि हो नियात्रा लेखन । नियात्रा त्यति हलुको, सतही वा कमजोर विधा होइन । अझ कोठामा बसेर कल्पना, जल्पना, गन्थन–मन्थन गरेर अरु विधाको रचना हुन सक्ला । तर, नियात्राका लागि घुमाइ वा विचरण प्रमुख कुरा हो । यसैले सबैभन्दा साहसी, चुनौतीपूर्ण र प्रतिबद्ध विधाको रुपमा नियात्रालाई हेर्नुपर्ने हुन्छ ।
अहिलेको समय भनेको डिजिटल युग हो । युट्युबदेखि विभिन्न माध्यममा भिडियोमा डोल्पालाई वा अन्य ठाउँलाई सजिलै हेर्न सकिन्छ । यस्तो अवस्थामा नियात्रा लेखनको आवश्यकता र महत्त्व के हो ?
नयन सुखका लागि युट्युबले सघाउला– हृदय सुखका निम्ति भ्रमण वा नियात्रा लेखन आवश्यक पर्छ सधैँ–सधैँ । अचेल त झन् यसको बढी नै मूल्य र महत्त्व बढेर गएको छ । प्रकृति, संस्कृति र पद्धति बुझ्न पनि नियात्रा लेखनसँगै विचरणको आवश्यकता उल्कैसँग बढेको लाग्छ ।
नियात्रालाई साहित्यिक विधा बनाइरहन के कुरामा ध्यान पुर्याउनु पर्ला ?
नियात्रा लेखनलाई विवरणबाट बचाउनु पर्छ । विवरण खोज्ने हो भने गुगलमा मनग्गे पाइन्छ । अनुभूतिको उत्कृष्ट अभिव्यक्ति, शिल्प र कलाको चहकिलो प्रस्तुतिमार्फत् नियात्रालाई स्थान दिनु पर्छ । घुम्नु एक कुरा हो, तेस्रो आँखाले अनुभूत गरेका पक्षलाई लेखिदिनु र पाठकलाई ‘जाऊँ जाऊँ’ पार्ने कला भएमा नियात्रा सधैँ तन्नेरी हुन्छ । उसलाई बूढयौलीले हम्मेसी छुँदैन ।
‘याकजी’ भनेको याक गोठालो हो, डोल्पामा याक र याकजीको जीवनको तुलना गर्ने हो भने याकको जीवन सहज कि ‘याकजी’को ?
याकको जीवन ‘याकजी’को भन्दा निकै सहज छ, सरल छ र सुन्दर छ । किनभने याकका लागि सुहाउँदो मौसम, घाँसपात वा निर्मल हिमाली जल त्यहाँ उपलब्ध छ । तर ‘याकजी’ले त्यो चिसो, ठिही, भोक, पीडा, हिउँ र उकालोको स्वाँ–स्वाँसँगै घुँडा बाउँडिने ओरालोसँग रातोदिन जोतिनु पर्छ । याक सम्पन्न तर ‘याकजी’ विपन्न छन्– डोल्पामा ।
डोल्पा विकास हुनको लागि यो–यो कुरा हुनुपर्छ भन्ने केही कुरा लाग्यो कि ?
शिक्षालाई विशेष महत्त्व दिनु पर्छ डोल्पामा । त्यहाँको मौलिकता नखलबलिने गरी डोल्पाको जीवन पद्धति र समाजलाई सरकारले व्यवहार गर्नु पर्छ । सिंहदरबारका आँखामा माथ्लो डोल्पा परेको देखिनँ मैले । विकट, अभाव र कष्टलाई विदेशीले दुई–चार डलर फ्याँक्ने विषय बनाएर व्यवहार पनि गरेका छन् । हामीले नहेरेको तर विदेशीले माया गरेजस्तो ‘झिल्के सम्बन्ध’मा उपल्लो डोल्पाको समाज बाँचेको देखिन्छ ।
डोल्पा घुम्दै गर्दा तपाईंलाई अचम्मित पार्ने केही संस्कृति वा परम्परा केही देख्नुभएको भए सारांशमा बताइदिन मिल्ला ?
तल्लो डोल्पाको दलितको भयानक अवस्था र छाउप्रथाले रन्थनिन् पुगेको थिएँ म । माथ्लो डोल्पामा बहुपति प्रथा अद्यावधिक जीवित छ । बोन्पो संस्कृति र त्यहाँका गुम्बाहरूको उपस्थितिले हृदय पुलकित भइरहन्थ्यो जुनै बेला पनि । डोल्पाको तल्लो भेगीय संस्कृति र माथ्लो क्षेत्र पूर्ण रूपमा दुई ध्रुवीय अवस्थामा गतिशील समाज छ । ती दुवै समाज आफैँमा पूर्ण, समृद्ध र विशेष ठानेँ मैले । नाइसाम्बा होस् कि साउनी पुर्नी– अत्यन्तै विशिष्ट संस्कृतिका पाटाहरू हुन् । डोल्पा नपुगी मरियो भने– जीवनका धेरै कुराका चित्र र चरित्रसँग भेटघाट हुन नपाएको थकथकी रहिरहनेछ ।
डोल्पामा बोलिने स्थानीय भाषाको प्रयोग कत्तिको गर्नुभएको छ ?
सकेसम्म स्थानीय संस्कृति र परम्परा उतारेको छु । ‘याकजी’का धेरै पात्रले बोल्ने भाषामा डोल्पाली सुर, ताल र लय समातेको छु । आञ्चलिकतालाई न्याय गर्न पनि ‘भोट्या वा काइके’ भाषाको प्रयोग गरेको छु । याक वा खच्चडका गोठालाहरूले बोल्ने भाषामा उनीहरुसँग आत्मस्थ भएको छु ।
गएको हप्ताको कान्तिपुरको कोसेलीमा समीक्षक राजकुमार बानियाँले लेख्नुभएको छ, ‘नियात्रा अहिलेको साहित्यमा सबभन्दा फस्टाएको फसल हो । अनौपचारिक तथ्याङ्कमा गएको वर्ष धेरै नियात्रा विधाका पुस्तक छापिएका छन् । साहित्यकै सबभन्दा रोमाञ्चक विधा भएकाले यसमा नयाँ—पुराना लेखकको घुइँचो हुनु स्वाभाविक छ । यात्रा साहित्यमा धेरै लेखक हुनु उत्साहकै कुरा हो । तर, यो विधाका लेखकहरूले तारानाथ शर्मा, जनकलाल शर्मा, देवीचन्द्र श्रेष्ठ आदि साहित्यकारले थपना गरेको वरपीपल चौतारीमा सुस्ताउनेबाहेक लेखक स्वयंले बिसौनी या ‘सिग्नेचर’ निर्माण गरे भनेर देखाउने आधार कमै छन् । धेरैजसो नियात्रामा पर्यटकभन्दा पनि ‘भिजिटर’ का रूपमा एकपटक त्यस ठाउँमा पुगेको छ, खालि स्पोन्सर वा साथीभाइ, नातागोता, इष्टमित्रको मात्र कन्सिरी तात्ने गरी बखान गरेको छ, टुरिस्ट गाइडले जसरी बाटो र ठाउँ भट्ट्याएको छ, तर लेखकीय उद्दाम अनुभूति विरलै छन् । साहित्य लेखनमा सबभन्दा बढी महत्त्वपूर्ण हुन्छ, निजात्मक अनुभूति । मौलिक वा विशिष्ट अनुभूतिबिनाका लेखनले पाठकलाई बाँधेर राख्न सक्दैन । अर्थात् पाठकले लेखकको जुत्ता लगाएर हिँड्नै पाउँदैन ।’ यसमा तपाईंको भनाइ के छ ?
बानियाँजीको एउटा तर्क हो यो । सम्पूर्णतामा यो भनाइ उत्तिको सामयिक र वैज्ञानिक लाग्दैन । थोरै चिन्तन, चासो र चाख लिएर हेर्ने हो भने– आजका नियात्राकारले अघिल्लो पुस्ताका नियात्राकारभन्दा केही धेरै पाइला हिँडेका छन्, केही थोपा पसिना पनि बढ्तै चुहाएका छन्, केही निकै ठेला पनि पैतालामा उठाएका छन् ।
तर, सन्तोषको कुरा लागेको छ– धेरैले ‘काठे च्याऊ वा कमिलाको दरबार’ को रूपमा हेर्ने गरेका नियात्रा विधामाथि हिजोआज निकै छलफल र विमर्श हुन थालेको छ । यो साँच्चि नै उत्साह जगाउने पाटो हो ।
नियात्रा निकै महङ्गो विधा हो पनि भनिन्छ, नेपालमा किताब बिक्री संख्या घट्दो छ, के नियात्रा लेखेर आफ्नो खर्च उठाउन सकिएला ?
काठमाडौँका पाठकलाई मात्रै ध्यानमा राखेर नियात्रा लेख्ने विधा हो जस्तो मलाई लाग्दैन । शिवपुरीको यात्रा डोटीका पाठकका लागि विशेष हुन्छ । गड्डाचौकीको घुमाई महेन्द्रनगरका पाठकका लागि सामान्य ठहरिएला । यसैले यस्ता निरपेक्ष भावभन्दा माथि उठेर लेखिएका रचनाले समाजलाई न्याय गर्छ । ठाउँ वा भूगोल प्रमुख कुरा होइन– अनुभव र भोगाइ मूल पक्ष हो ।
विदेशकै धेरै सुविधा र आनन्दी भोगिसकेपछि पनि एक अक्षर नलेखेको मसँग मनग्गे अनुभव छ । घुमे जति लेखिहाल्ने कुरा पनि त्यति सान्दर्भिक होइन । आँखाले देखे पनि मनले केही देख्न नसकेका थुप्रै अनुभूति मसँग छ । ‘वाह, आह, अहो !’ भन्नुभन्दा एक वाक्य नलेखेका प्रसङ्ग धेरै छन् मसँग ।
पाठक घटे भन्ने कुरामा म सहमत छैन । प्रविधिले सजिलो पारेको छ अहिले । तर पाठकको प्रेम र सम्मान लेखकका घरदैलोमा आइरहेकै छ । एउटा आइस एक्स, एउटा तुम्लेट वा एउटा स्लिपिङ ब्याग किन्ने वातावरण आजको लेखनले बनाइरहेकै छ ।
रहरले गरिएको काम पो काम, करले गरिएको काम त नकाम हुन सक्छ । मेरा लागि घुमाइ रहरको कुरा हो । मलाई लेख्न पनि कसैले कर गरेकै छैन । म आफैँ रमाइ–रमाई गरिरहेको छु लेखन कर्म । अब रहरमा केको खचबर्च वा कमाइको हिसाब गर्नु ? तिलहरी बनाउँदा एकाध सुनका कण तलतिर खसिरहेका हुन्छन् । सन्तोष यसैमा छ ।
अन्तिममा एउटा स्वतन्त्र प्रश्न, जसमा यहाँले मन लागेको जवाफ दिन सक्नुहुन्छ ।
नेपाली समाज आँगनमा तगारो हालेर बस्ने समाज हो । कोठामा अग्लो ठोकेर बस्ने जाति हो नेपाली जाति । तर आग्लो, बार वा तगारो हटाएर जति परसम्म गइयो, जति टाढासम्म पैतालालाई पु-याइयो– उत्ति चेतना, दृष्टि र हृदयको बुझाइ बलियो हुन्छ । जति बढी घुमियो, डुलियो, हेरियो वा दुरी नापियो– उत्ति नै ज्ञानको चुली चढेको गौरव हुन्छ । हिजोका हाम्रा पूर्खा तीर्थब्रत गर्न डुल्थे– आजको पुस्ता गुगलमा डुलिरहेका छन् । वास्तवमा पसिना चुहाई–चुहाई नडुल्ने हो भने, दम फुलाई–फुलाई नउक्लिने हो भने र ठेला उठाई–उठाई नघुम्ने हो भने– जीवनको गहिरो ज्ञान र सभ्यताको पाठशालामा टेक्नै नपाएको पछुतो सधैँ भइरहनेछ ।
प्रतिक्रिया
-
४
