✍️ प्रकाश रम्घाली

“छोरामान्छे खाजा पाउँछ साहुनी ?”

बरा, साहुनी ट्वाँ परिन् । कस्तो खालको नाम हो यो छोरामान्छे खाजा ? म पनि छक्क परेँ । घाम डाँडामाथि तेर्सो परेर बसेको थियो । साहुनीको होटलको छिडीमा पालीबाट खसेको साँझको छायाँ बिरानो मानिसजस्तो देखिन्छ ।

“हैट् यो त कडा नाम सुनियो बरै ।” गाउँतिर बरकाईलो भन्छन् । यता होटलमा भेट हुने नयाँ मानिसलाई आफ्नो नाउँ बर शम्शेर भनेर परिचय दिन्छ । बरकाईलो एक पटक जोडले हाँस्यो र चुरोटको अन्तिम सर्को तानेर फुत्त फालिदियो । पुत्ताउदै गरेको चुरोटको ठुटो गुडेर शेर बहादुर शितलको खुट्टाछेऊ आईपुग्यो ।

“थुईक्क पाजी ! झण्डै नयाँ खुट्टा पोलेको ?” शेरे बम्किनु स्वभाविकै लाग्थ्यो । कुखुराको भाले बेचेर हालसालै किनेको थियो शेरेले— गोलस्टार जुत्ता । साहुनी चिया छान्दैथिई । नौलो मान्छेले आफूलाई उपेक्षा गरेको ठानेर साहुनी नजिकै गएर भन्यो- “मैले खाजा नपाउने नै हो साहुनी ?”

गोकुले बुढा त्यहीँ छन् । केदार बस्नेत पनि त्यहीँ छ । दिनभर कुर्ता सुरूवालका पिस बेचेर फर्किएको रामेद जैसावाल पनि त्यहीँ छ । परार सालको स्थानिय चुनावमा वडाध्यक्षमा बागी उठेर हारेको सन्तु नालाम पनि त्यहीँ छ । एक पुरिया बिस्कुट लिन ठुलीको पसल झरेकी किस्नश्यामकी बहत्तर बर्षकी आमा पनि त्यहीँ छिन् ।

गाउँको नाम नै अनौठो छ-सुर्केनी गाउँ । सुर्केनी भञ्याङमा ठुलीको होटल छ । होटलमा साईनबोर्ड राख्न ठुलीले कष्ट गरेकी छैन । ठाउँ पनि स्यानै छ ठुलीको चिम्सा आँखाजस्तै । नयाँ मानिस गाउँमा आए भने गाउँको नाम सुनेर एकछिन् दाँतको बीचमा जिब्रो अड्याउछन् । शुरू शुरूमा मलाई पनि यस्तै लाग्थ्यो । एकदिन स्कूलबाट फर्कदै थिएँ । समीको रूखनेर आईपुग्दा जोडले हुरी बतास चल्यो । दुवै हातले छेक्दा समेत कसो कसो पतिङ्गरका टुक्रा आँखामा पर्न गयो । त्यो रात निदाउन सकिनँ । पोल्यो दुख्यो के के भो, भो । बिहान ढिकुरे धारामा सोममाया भेटिई । बरा, सारै सिपालु रहिछे देशी पछ्याउरीको एक फेर समातेर कसिङ्गर झिकीदिई कस्तो हलुका भयो आँखा । खोई धन्यावाद भनेकी भनिन त्यतिखेर । चारदिनपछि ठुलीको होटलमा भेटिदा एककप च्या खाम् भनेर कर त गरेँ तर मानिन बरा ।

सोममाया यसै राम्री छ । कोरीबाटी नगरे पनि राम्री । पहाडबाट झरेको झरनाजस्तो लामो कपालमा गुराँस सिउरन्छे । खराब बानी भनौ कि खोई के भनौ-सोममाया आफ्नो लय गुमाउदिन । तिनको लय, पाउजु लगाएर नाचेको खुट्टाजस्तो छ- छिङ्ग्रिङ…छिङग्रिङ । बिथोल्न सकिदैन ।

“तिमीले मेरो आग्रहलाई वेवास्ता गर्यौ त सोममाया ?” झम्के साँझमा देउखुरी दोबाटोमा भेटिएकी सोममायालाई सोधेको थिएँ । “ च्या खाएन भनेर होईन ? ठुलीकी पसलमा म च्या कहिल्यै खान्न के । “यति भनेर सोममाया सरासर बाटो लागी । म तिन्ले हिँडेको सर्याक सुरूक आवाज सुनेर एकछिन् उभिइरहेँ । साँझ बिर्खे यावतको बाक्लो जुंगाजस्तो थियो- एकदमै डरलाग्दो ।”

सखारै उदाएको घाम सारै चर्को थियो आज । घाम मिसिकोले होला मनतातो थियो बाल्टिनको पानी । सोममायालाई सम्झिएँ— सोममायाको हात पनि यस्तै मनतातो होला बरा । सोममायाको हातले छानेको एक बटुको जाँड पिउने अवसर पनि कहिल्यै जुरेन । दश बर्ष भैसकेछ यहीँ गाउँमा मास्टरी गरेको । सोममायालाई भेटेको पनि दशै बर्ष भयो । दशबर्षमा रूखका चिचिला हाँगाहरू तन्नेरी भैसके । बर्षेनी त्यो सल्लेरी डाँडामा गुराँस फुल्छन् । चैतको हुरीले पीपलको पात खसाल्छ । बर्खामा नाभीखोला बढेर आउँछ । छेस्कनी स्कूलको आँगनमा हुर्किएका केटाकेटीहरू साउदी कतारको तातो हावामा छन् भन्ने सुन्छु बेलाबेलामा ।

अहो ! नौ बजिसकेछ, दशबजे त स्कूल नै लाग्छ । म पनि के के सोची बस्दो रहेछु । त्यो स्कूल पुग्ने उकालो सम्झेर झन् उकालो हुन्छु ।

बर्खे छुट्टीको अघिल्लो दिनथ्यो । बिद्यार्थीहरूलाई गृहकार्य र बर्खामा सुरक्षित रहने उपाय सुझाउँदै थिएँ । कुन्तला म्यामले ढोकाको खापामा डस्टरले टकटक गरिन् । “बर्खामा खोला बढ्छ पौडी…” ब्याकबोर्डमा पूरा नभएको वाक्य यतिकै छाडेर ढोकामा आएँ । कुन्तला म्यामको अनुहारमा बतासले बिथोलेको आधासरो कपाल थिए । अनुहार पढ्न पाइनँ । यस्सो हातको संकेतले कक्षा कोठा पछाडि लगिन् ।

-“के भो कुन्तला म्याम ?”

“सर ! खबर निको छैन ।”

“गाउँ कहिले पो सञ्चै छ र कुन्तला म्याम ? दशबर्षदेखि म गाउँलाई बिसञ्चै देखिराछु । सञ्चै बाँचेको त्यहीँ एउटा ठुलीको दुकान मात्र होला ।”

“यहाँ धेरैबेर अलमल गर्ने समय छैन शकाप्र सर । तपाई जतिसक्दो चाँडो गाउँ छाड्नुस् । यसैमा कल्याण छ । म तपाईको सहकर्मी भएको नाताले ज्यान तल(माथि भयो भने हामीलाई नराम्रो लाग्नेछ ।”

यति भनिनसक्दा कुन्तला म्यामको अनुहारमा भय र डरको पहिरो खसिरहेको थियो ।

स-स्याना नानीहरूको सुनौलो भविष्य र तिन्को अनुहारमा फक्रन नपाउदै निमोठिएको वर्तमान सम्झेर निन्द्राबाट ब्यूझिएजस्तो भए । निरूपाय थिएँ । छेस्कनी स्कूलको पर्खाल नाघेर तल कुपिण्डे ओरालोबाट हेरेँ । सदाझैं स्कूलको चौरमा घाम खेलिरहेको थियो । टुटी नभएको धारोको आवाज नसुने पनि पानी खसिरहेको दृष्य उस्तै थियो । हावाले किताबका पानाहरू पल्टाउथ्यो । ती नानीहरूका बाँकी जिज्ञासा उस्तै थिए । अनि आधा मेलो सकेर छहारी बसेकी सोममायाको उदासी जीवन पनि उस्तै होला । मलाई सोममायाको पनि सम्झना भयो बरा ।

धेरै तल पुगेपछि गोरेटोको बाँयापट्टि बरकाईलो अर्थात बर शम्सेरको पाली भत्किएको एउटा जीर्ण घर छ । त्यसको ठीक माथि तर टाढाबाट हेर्दा एउटै बगालमा जस्तो देखिने सोममायाको पनि घर छ । अरू पनि के के थिए । तर त्यो बिस्माती समयमा आफ्नै जीउ सम्हालेर हिँड्नु आवस्यक थियो ।

गगटे खोला तरेर एउटा ठुलो ढुङ्गाको आड लिएर बेसी खेतमा बतासले लहराएको धानको रोपो हेर्दैथिएँ । पारिपारि मानिसहरू सहलजस्तो देखिए । ज्यान भाले बाघको शरीरझै ढुक्क फुल्यो ।

मैले सुर्केनी गाउँ छाड्नु हुदैनथ्यो । कुन्तला म्यामको सोझो सल्लाह थिएन । सत्यदेखि डराएकोमा हिनताबोध भयो मलाई । ताम्लिङ जिल्ला सदरमुकामको चोरबाटोमा एउटा दुकान छ । सदरमुकामतिर आएका धेरै मानिसहरू च्या पिउने ठाउँ यहीँ हो । म पनि सुर्केनी गाउँका मानिसहरू भेटिएलान् भनेर बेलाबेलामा जान्छु । खास त्यो च्या दुकान मलाई पायक पर्दैन । मैले पढाउने निजि बोडिङ्ग स्कूलबाट झण्डै एककोश जति टाढा पर्छ । सोममायाको खवर बुझ्ने बाहानाले मात्र त्यहाँ जान्छु ।

– बरा के गर्दै होली सोममाया ?

शनिबारको दिनथ्यो । निवाभ आफ्नो घरधन्दामा थिईन । यता सदरमुकाम आएपछि बिहेवारी गरेको पहाडमा बसेका बा(आमालाई थाहा दिएको थिएन । दुई(दुई वटा त बाल बच्चा भईसके । पाँच बर्ष त भई नै सकेछ ताम्लिङ सदरमुकाम बसेको ।

“अहो शकाप्र सर ! कस्तो झण्डै नचिनेको ? हैट के सारो दुब्लाउनु भएछ ?” सुर्केनी गाउँमा हुँदा बरोबर च्या पिउने मित्र हुन् यिनी, जयतुन सेवा । समसामायिक बहसमा रित्तिएको च्या’को ग्लासहरू चाङ नै हुन्थ्यो टेवलमा । यिनले छिमेकी मुलुक बिहारबाट स्नातक गरेको भनेर गाउँमा खिसी गर्थे कतिपय । म भने यिनलाई बिलक्षण देख्थेँ । तार्किक र हक्की पनि ।

च्या पिईसकेर निस्कने बेलामा भेटिएका थिए-सुर्केनी गाउँका जयतुन सेवा ।

“हाम्रो गाउँमा तपाईजस्तो असल मानिस छैनन् हौ सर । म पनि गाउँ छाड्ने विचारले यता आउँदै छु । त्यस्ता मुलाङ्ग बरकाईलोको फालामे हातमा सोममाया जस्ती सुनको ज्यान परी । वडावासी, घुस्याहा जनप्रतिनिधिको खल्तीमा । गाउँमा प्रतिरोधी युवाहरू कोही छैनन् । अनि, बस्न सकिन्छ ? कुन सम्मोहनले बस्नु हौ सर गाउँतिर ?”

सोममायाको नाउँ सुनेपछि म झस्किएँ । हातबाट ताततातो च्या पोखियो । र, दिलमा बैजनी रङ्गको च्याको सग्लो छिटा पर्न गयो ।

“तपाईलाई खेदाई छाडे है गाउँबाट ?” म अतीत भुल्न चाहन्थेँ । मेरो भागमा परेको जस अपजस पनि भुल्न चाहन्थे । तर चाहदा चाहदै भुल्न नसकेकी सोममाया थिई । एकाएक सोममायालाई सम्झिएर फक्क फुलेको पानीको फोकाजस्तो हुन्छु ।

“सोममायालाई अभरमा पार्यो त्यस बजियाले ।” जैतुनको कुराले म फेरि पानीकै फोका भएर फुट्छु ।

“अनि-

दुई जीउकी बनाएछ त्यस पापीले । माष्टरको भुँडी हो त्यसैलाई बुझाउँनु पर्छ भन्दै गाउँ जगायो । हो मा हो मिलाउने अरू कुन हुन्थेर त्यहीँ गाउका मानिस नै त थिए । भैगो सर अब बितेको कुरा नगरूँ !”

“सोममाया !” मलाई एकदम चिच्याउन मन थियो । च्या दुकानमा म मात्र थिईन । त्यहाँ अन्य मानिसहरू पनि थिए । कसो कसो समालिएँ ।

आज यो हिउँदको मायावी साँझमा जानजान मताईदिएको छु आफूलाई- सोममायाको सम्झनामा । डेरामा मलाई पर्खिरहेकी निवाभलाई कसरी भनौ-

कुनै सुदूर पहाडमा सुर्केनी नामको गाउँ थियो, त्यहाँ सोममाया थिई । ठीक तिम्रैजस्तो एक चपल र चञ्चल आँखा भएकी….!

प्रतिक्रिया

सम्बन्धित खवर