✍️ प्रकाश रम्घाली

एकाबिहानै छोराले

एक अञ्जुली पानीमा आकाश देखायो

र, भन्यो—

“हेर्नुस् त बा’, मेरो अञ्जुलीमा पनि अटाउँदोरहेछ आकाश ।”

नचलाऊ— “शान्त बस्न देऊ आकाशलाई हत्केलामा ।”

– एकथोपा आकाशबाट ।

असीम सागरलाई तपाईले कतै भेट्नु भयो भने— “अहो ! कविज्यु” भनि दिनू । कलेजी रङ्गको उहीँ पुरानो कोटको दाहिने गोजीबाट झिकेर तपाइँलाई एउटा मृदु मुस्कान थमाइदिन्छन् । सके च्या खाम् भन्लान् ।

गएको हप्ता हो । काठमाडौंमा चिसो बाँकी नै थियो । माक्स, गलबन्दी र टोपीमा उनको पसलमा गएको थिएँ— धेरैबेर बार्गेनिङ् गर्दा पनि उनले नचिन्नु स्वभाविक थियो । बोहोनी नभएको त्यो बिहान असीमका उदास आँखामा ठट्टाको तुँवालो फैलाइदिएको थिएँ मैले ।

“करायो भने चरा— गीत सम्झनु ।” कवितामा यिन्को आफ्नो लवज छ । ठेट लवज । सुनिदा— श्रोताको ध्यान र पढिँदा आफूतर्फ आकर्षित गर्ने सामर्थ्य छ उनीसँग । पसिनाको जुलुस कवितामा धनमायाको एउटा पसल छ । त्यो कुनै सटरवाला पसल होईन । सडकछेऊमा राखिएको एउटा साधरण पसल । धनमायाको लोग्ने दिनभर कविता बोकेर गोष्ठीमा पुग्छ । साँझ त्यहीँ पुरानो र मैलो अनुहार बोकेर डेरा फर्कन्छ । त्यो अनुहारको आभामा धनमाया असीमको सम्मोहनको छायाँ भेट्छिन् । हात समाउँछिन् । जीउ सुम्सुम्याउछिन् । र, एक गिलास मन तातो पानी टक्रयाउँदै आश्वस्त पार्छिन् असीमलाई—

“पानी बेच्छु, नदी बेच्दिनँ

आईसक्रिम बेच्छु, हिमाल बेच्दिनँ।”

इमानको पक्का छे धनमाया । सहरतिर एलिट वर्गका मानिसहरू घरको माथिल्लो तलाको झ्यालबाट सडकमा हिँड्ने साधारण मानिसहरूलाई थुक बर्साउँछन् । ती सडकमा हिँड्ने असीम र असीमहरूको जीउमा फर्सीको मुन्टाजस्ता सपनाहरू छन् । यो सहरले पलाउनै दिन्न । पलायो कि चुँडिन्छन् असीमहरू……..!

“कृपया ! सातौ तलाको झ्यालबाट बाहिर नथुक्नु होला ।”

– सडकको आवाज ।

असीमलाई मैले कविताको गोरेटोमा भेटेको छु । खाली खुट्टै हिँडेर पुगी छाड्ने त्यो उत्साहित यात्रामा सर्वथा उनी आफै आफ्ना साक्षी थिए । कवितालाई अनेक संबोधन गर्‍यो । तर एउटा सत्य उसले कहिल्यै झुट बोलेन । नामको प्रेमि बनेन । चल्तीका अतिसय शब्दहरूको खर्च गरेर मौसमी कविता लेखेन । रङ्गका बाल्टीमा नक्कली बुरूस चोबेन । आफ्ना कवितालाई आफ्नै शैलीको टेको र माटो सुहाउँदो मौलिक सिर्जनामा रमाइरह्यो ।

सहरको विपरित धुर्वमा हाम्रो बँसाई छ । भेट त मुस्किलले हुन्छ । सञ्जाल छ बरोबर भेट गराईदिने । लामा लामा संवादको मेलो जुर्छ कहिले काहीँ । कहिले काहीँ जानाजान भट्टीमा पूर्ववत् समयको पाउर लगाउँन भेटिएका हुन्छौ । भट्टीको खोजीमा एकदिन हामी बाग बजारदेखि पुतलीसडकको सडकै सडक हिँडिरहेका थियौ । आज सहरको बीचबाट भट्टीपसलहरू बिस्थापित छन् । एकाध घण्टा खोज्दा पनि नभेटिएपछि त्यो उदेक साँझको हत्केलामा रौसिने मुड एकअर्कालाई थमाएर छुट्यौ हामी— असीम लगनखेलतिर……! म आफ्नै डेरातिर………!

केटाकेटीको हत्केलाजस्तो नरम बिहानी थियो । असीमको छायाँले छोपिएको फत्तेमानलाई सम्झेर मैले एउटा प्रश्न गरेँ— “दाजै ! कहिले काहीं फत्तेमानको सम्झना आउँछ कि ?”

अर्घाखाँची वाङ्लाको निमित्त बाटोमा एउटा बडेमाको घर छ । कुनै सामन्तको घरझै लाग्ने त्यसका झ्याल ढोकाहरू आकर्षक देखिन्छन् । बुट्टेदार हिमाल । गाउँका सोझा मानिस । र, शीरपोशझै देखिने पहाडहरू । गाउँमै हुँदा लेखिएको पहिलो कविता सम्झन खोजे— सकेनन् । यसो त आफ्ना कविताहरू कण्ठै छन् उनीसँग । पहिलो कविता र अर्घाखाँचीको सुदूर गाउँमा हुर्केको एक सोझो फत्तेमानलाई सम्झन भने गारो भयो असीमलाई ।

बा’ लाहुरबाट छुट्टीमा घर फर्कदै थिए । आमाले बाटोसम्म लिन पठाईन् फत्तेमानलाई । त्यो हिउँदको झम्के साँझ थियो । चराहरू बास बस्ने रूखमा, कल्याङ् मल्याङ् थियो । फत्तेमानलाई चराहरू मन पर्थ्यो । साँझ मन पर्थ्यो । बा जस्तै लाहुरबाट फर्किएका मानिसहरू मन पर्थे । उसको मनमा पनि कल्पनाले परेड खेल्थ्यो । बा को जस्तो उचो शरीर थिएन । फैँलदो छाती र स्पष्ट आवाज थिएन । फत्तेमान बाबुको भरियासम्म त भयो । आफ्नै जीवनको लाहुरे चाहिँ कहिल्यै हुन सकेन ।

“मेरो घाम मैसँग राख्छु भन्यो भने आकाशले, कहाँ जानू खोज्न उज्यालो ?”
–  घरबेटी बा र केटाकेटी ।

दुःख छ सहरमा । त्यहीँ दुखको सहरमा सुखी र सम्पन्न कविता लिएर हिँडिरहेकै छ असीम । उसका कविताजस्तै भादगाउँले टोपी, चिटिक्क परेको जुँगा र उहीँ फिस्स हाँसो । तथापी नयाँ लाग्दैन केही । उहीँ सधैं बाटो ÷ चोक ÷ घुम्ती र च्या पसलहरूमा भेटिइरहने पुरानो मित्रजस्तो ।

असीम कविता बाँच्छ। कवितामा रमाउँछ। कविताको सिरानीमा सुक्सुकाउँछ। मुस्कुराउँछ कवितामै। ऊ लती हो कविताको । ऐनामा ओर्लिएर आधा हाँसिरहेको जून (टेको) जस्तो ऊ आफ्नै कविताको उज्यालोमा हिँड्छ। भूँईमा लत्रिएको मैच्याङ्को पछ्यौरीझै (पानी) आदीबासी सौन्दर्यमा मोहित हुन्छ। अलि अलि त ऊ पनि प्रेम गर्न जान्दछ। त्यहीँ सौन्दर्य चेतनाको हाँगामा बसेर काव्यको सुरिलो गीत गाउने वन चरीजस्ता हुन् असीमका कविताहरू ।

त्यसो त फेरि एक थोपा आकाशमा नगई बिट मार्न पाईनँ मैले—

“छोराले एक अञ्जुली पानीमा आकाश देखायो, मेरो अन्जुलीमा पनि अटाउँदो रहेछ आकाश ।”

प्रतिक्रिया

सम्बन्धित खवर