डा. रवीन्द्र समीर पेसाले चिकित्सक हुन् । साहित्यमा गहिरो रुचि र सक्रियता देखाउने उनका विशेषगरि लघुकथा र प्रयोगवादी उपन्यासका शशक्त सर्जक उनको आठवटा लघुकथासङ्ग्रह, मुक्तकसङ्ग्रह, नियात्रासङ्ग्रह, संस्मरण सङ्ग्रह प्रकाशित छन् । मृत्युको आयू, उपन्यास, `कोरोनातन्त्र´ (सूत्र उपन्यास) पनि प्रकाशित उनको भर्खरै पैसाको उडान उपन्यास प्रकाशित भएको छ । यसै कृतिमाथि सर्जक डा. समीरलाई सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न र उत्तर ।
१, पैसाको उडानको बारेमा छोटकरीमा परिचय गराईदिनुहोसन्, जुन पढेर पाठकलाई यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन ।
वर्तमान समय पैसाको पछि दौडिरहेको छ । कार्यगत हिसाबले भन्ने हो भने पैसा कमाउने ब्यापारीले हो । लेखकले लेख्ने, चिकित्सकले उपचार गर्ने, शिक्षकले ज्ञान दिने, वकिलले न्यायको लागि लड्ने, पत्रकारले जनतालाई सुचित गर्ने, कृषकले खेतीपाती गर्ने, मजदुरले मजदुरी गर्ने, कलाकारले कला देखाउने, राष्ट्रसेवकले जनताको सेवा गर्ने, नेताले देशको विकास गर्ने आदि । जीविकोपार्जनको लागि पैसा जोडिनु आवश्यकता हो । तर हरेक क्षेत्रको प्राथमिकता, लक्ष्य र उद्देश्य पैसा कमाउने हुनुहुँदैन ।
पैसाको उडानमा एउटा नेता, जो टुप्पोबाट पलाएको छ, उसले असिमित धन आर्जन गरेपछि उसमा आएको मानसिक विचलन तथा अभौतिक पदार्थ किन्ने लालसाबारे लेखिएको छ । पैसा आर्जनले सिमित आर्जनसम्म खुसी दिन्छ तर आर्जन बढ्दै जाँदा त्यो कमाइप्रति हाम्रो अनुकुलन हुन्छ । जसको कारण थप खुसी प्रदान गर्दैन । बरु हत्या, हिँसा, छलकपट लगायत पार्श्व प्रभाव बेहोर्नु पर्दछ ।
अहिले लाखौँ परिवार यस्ता छन्, जसले आफ्नो जीवन पैसा र सम्पत्ति जोड्नमा बिताए । तर छोराछोरी विदेशी बन्ने लहरको कारण यहाँको सम्पत्ति कुनै काममा आएको छैन र आउने छैन । जसरी आफ्ना बाबुआमाको सम्पत्ति छोरालाई काम लाग्दैन, त्यस्तै छोराको सम्पत्ति उसका सन्तानलाई काम लाग्दैन । उनीहरुले आफ्नो लागि आफै कमाउन सक्षम हुन्छन् । हामीले आफ्ना सन्ततिको क्षमतामा विश्वास गर्नुपर्दछ । उनीहरुलाई कमाएर राखिदिनु पर्दैन । यो तथ्य बुझ्यौं भने हाम्रो तृष्णाप्रति आफै लज्जित हुन्छौं ।
पैसा आर्जन एक किसिमको दुर्व्यसन हो, मृगतृष्णा हो । जति कमाएपनि त्यसको सिमा छैन । सिमा नभएको वस्तु हासिल गर्न गरिने भ्रष्ट्राचार, कालोबजारी, कमिसन आदि अनावश्यक व्यसन हुन् । ती व्यसनबाट मुक्ति पाउनु एकप्रकारको मोक्ष हो । पैसाको उडानमा यी बिषयलाई लक्षणाद्वारा प्रस्तुत गरिएको छ ।
२, पैसाको उडान उपन्यासमा पैसाको कुरा पक्कै पनि होला । पैसा खासमा के रहेछ?
पैसा आधारभूत आवश्यकता पुरा गर्ने साधन हो । साधनलाई साध्य ठान्दा मान्छे अनैतिक र अमानवीय कर्ममा समर्पित छ । जीवनका धेरै रंगमध्ये एउटा रंग पैसा हो । तर अहिले पैसा जीवनका सबै रंग भएको छ । पैसा कमाउन जति दुख छ, त्यसको संरक्षण, खर्च तथा उपयोग झनै दुखद छ । पैसा कमाउने बाटो सरल छैन । पैसाको लागि बक्रगतिमा हिंड्दा मान्छेको जीवन नारकीय बनेको छ । लुटपाट, भ्रष्ट्राचार, घुस, कमिसन आदिबाट आएको पैसाले जीवनमा मानसिक तनाव शिवाय केहि दिंदैन । आफ्ना सामान्य आवश्यकता पुरा गर्ने क्षमता भयो भने अतिरिक्त आर्जनको लागि जीवनलाई दाउ लगाउनु एकप्रकारको नशा हो । नशा अर्थात दुर्व्यसनले कसैको भलाइ गर्दैन । मान्छेलाई पहिलो दश लाख कमाउँदा जति खुसी मिल्छ, अर्को दश लाख कमाउँदा त्यति खुसी मिल्दैन । पहिलो पेग रक्सी खाँदा जुन आनन्द हुन्छ, पछि त्यो पेगले आनन्द दिंदैन । त्यो आनन्दको लागि क्वाटर, हाफ हुँदै सिंगो बोतल आवश्यक हुन्छ । सिंगो बोतल मदिरा सेवन गर्दा पनि मात्राको तुलनामा आनन्द कम हुन्छ । बरु त्यो अधिक मात्राले हाम्रो कलेजो, मुटु, किड्नी आदिलाई असर गर्दछ । पैसा पनि त्यस्तै हो । भनिन्छ – प्रमदा मदिरा लक्ष्मी विज्ञेय त्रिबिध सुरा : ।
३. पेशाले भ्याई नभ्याई होला । साहित्य लेखनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । साहित्यका धेरै विधामा कलम चलाउनु हुन्छ । वर्षेनीजस्तै किताब प्रकाशन भईरहेका छन् । यहाँले हेरेको एउटा बिरामी मृत्युशैयाबाट निको भएर घर फर्कनु र एउटा किताब प्रकाशन हुनुमा कुन कुराले बढी खुसी दिँदो रहेछ?
मैले जुन समयमा आफ्नो पेशामा व्यसनीको रुपमा काम गरें, त्यो आवश्यकताभन्दा बढी नै थियो । मैले आफूलाई हुटिटयाउं नै ठानेको थिएँ । गतबर्ष मेरो उमेर ५० बर्ष भएपछि मैले आफ्नो पेशाबाट रिटायर्ड लिएँ । जीवनको तीस बर्ष पढाइको व्यसनी भएँ, बिस बर्ष कामको व्यसनी भएँ भने पोहोरसालदेखि अध्ययन, लेखन, भ्रमण, विश्राम, ध्यान आदि रंगले जीवनलाई अर्को चरणमा लगेको छु ।
निश्चय नै एउटा बिरामीको जीवन बचाउनुभन्दा ठूलो कुरा सयवटा पुस्तक लेख्नु पनि हुँदैन । हामी सबैको जीवन अमूल्य छ । वीस बर्षको मेरो पेशागत जीवनमा लेखन शौखको बिषय थियो भने अहिले अध्ययन, लेखन मेरो अस्तित्वको बिषय भएको छ । हामीले आफ्नो कामको पाराडाइम शिफ्ट गर्न जान्नु पर्दछ । एकै रंगमा जीवनलाई सक्नु हुँदैन । कुनै पनि व्यक्ति कुनै एक काम गर्नको लागि जन्मिएको हुँदैन । पेशा परिवर्तन वा अवकाश पनि विश्राम हो । खुसी मनको अवस्था हो, जुन आफूभित्र अन्तर्निहित हुन्छ । खुसी पैसा, पद वा शक्तिले प्राप्त हुने हैन । यो भ्रमबाट जति छिटो मुक्त भयो, जीवन त्यति छिटो सार्थक हुन्छ ।
४, नेपाली साहित्य बजारमा धेरै पुस्तकहरू प्रकाशित हुन्छन् । बिशेष उपन्यास त पाठकको रोजाईमा पर्छन् । तर नेपाली उपन्यास अझ साहित्य, विश्व साहित्य बजारमा प्रभाव जमाउन सकेको पाईन्न । यसरी नसक्नुमा राज्य, अनुवाद, नेपाली समाजको अवस्था बाहेक लेखकको कमजोरी चाहिँ के के होलान्? तपाईँ स्वयम् लेखक पनि भएकाले तपाईँका कमजोरी के के भएका छन् होला ?
निश्चय नै विश्व साहित्यमा नेपाली साहित्यकारको हस्तक्षेप अत्यन्तै न्यून छ । प्रबिधि र पहुँचले संसार एउटा गाउँ भएको वर्तमान अवस्थामा अनुवाद सबैभन्दा महत्वपूर्ण बिषय हो । जति राम्रो लेखेपनि सिमित पाठकमा रमाउने प्रवृतिको कारण हामी कुवाको भ्यागुतो भएका छौं । साहित्य, कला र संगीतको नाममा बर्षेनी सरकारी तथा निजी क्षेत्रमा अर्बौंको खर्च छ । त्यो लगानी बालुवामा पानी भएको छ । बिभिन्न विधामा चुनिएका कृतिलाई अनुवाद गरेर अन्तराष्ट्रिय प्रकाशन गृहबाट प्रकाशनको चाँजो मिलाउने हो भने विश्व साहित्य बजारमा हाम्रो प्रभाव हस्तक्षेपकारी हुने थियो । तर राज्य यसमा पटक्कै गम्भीर छैन । एउटा लेखकले गुणस्तरीय पुस्तक लेखेर, त्यसको भाषा एवम् भावको अनुवाद गराएर, लिटेरेरी एजेण्ट खोजेर, अन्तराष्ट्रिय प्रकाशनगृहबाट स्वीकृत गराएर पुस्तक प्रकाशन गर्नु निकै अप्ठ्यारो काम हो । यो संघर्षमा हामीले आफूलाई परीक्षित गर्नु उत्साहजनक छैन । तथापी यसको विकल्प पनि छैन ।
केहि नेपाली पुस्तक त्यस्ता संस्थाबाट प्रकाशित भएका छन् । तर आकर्षक अनुवाद र आक्रामक बजारीकरणको कमीले गर्दा ती पुस्तक ओझेलमा परेका छन् । मैले मेरो उपन्यास मृत्युको आयुको अनुवाद गरेर विश्वबजारमा प्रवेश गर्ने पाइला चालेको छु । तर यो स्तरको कछुवा गतिले म आफै सन्तुष्ट छैन । हामीले पाठकको मनोविज्ञान अनुरुप नलेखेर आफ्नो मनोविज्ञान अनुरुप लेखिरहेका छौं । यहींबाट हाम्रो साहित्यको बजारीकरण साँघुरो भएको हो । अर्को कुरा लेखक देश, विदेश भ्रमण गरेर , बिदेशी लेखकसंग अन्तरक्रिया गरेर तथा समाजको गहिरो अध्ययन गरेर जुन फराकिलो एक्सपोजर हुनु पर्ने हो, त्यो छैन । राम्रो लेख्ने लेखकहरु पनि आफ्नो अनुभवको सिमितताको कारण सानोमसिनो बिषयमा लेख्नुपर्ने बाध्यता छ । कमसेकम जति सकिन्छ, अध्ययन गरेर भएपनि हामीले हाम्रो सोंचको क्षितिजलाई फराकिलो गर्नु पर्दछ । अनि मात्र लेखक पाठकभन्दा एक कदम अघिं हुन्छ । अहिले लेखकभन्दा पाठक एक कदम अघिं भएको अवस्था छ ।
५, पैसाको उडान नपढ्दा पाठकले के चिज छुटाउला? जसको कारण यो उपन्यास पाठकले पढ्न परोस् । यो उपन्यासको लेखकका नाताले पाठकलाई भनिदिनुहोस् ।
पैसाको उडान नपढ्दा केहि पनि छुट्दैन । छुट्छ कि भन्ने भ्रम मात्र हो । पढ्दा केहि प्राप्ति चाँही हुन्छ । यो उपन्यासको शैली र संरचना फरक छ । गरिब देशका धनी नेताले पैसाको उडान भर्दा के कति मानसिक विचलन भोग्नुपरेको छ ? कतै हामी भोक, निद्रा, भावना, इज्जत, दया, मुस्कान, आँशु आदिलाई किन्न सकिने बर्तमानमा त छैनौं ? कृत्रिम बौद्धिकताको कारण हामी यन्त्रमा परिणत त हुँदै छैनौं ? लगायतका केहि नयाँपन अवश्य छ । मृत्युको आयु, कोरोनातन्त्र र पैसाको उडान यी ३ उपन्यास पढ्दा पाठकलाई उपन्यास लेखनको नयाँ स्वाद अवश्य मिल्नेछ । पैसाको उडानले एकसरो पढ्दा सामान्य अर्थ दिन्छ भने दोहोर्याएर पढ्दा हाम्रा सन्ततिको नयाँ कमोडिटी ( उपभोग्य वस्तु ) को कारुणिक अवस्था प्रक्षेपण गरेको अनुभूत हुन्छ ।
अहिले ग्याजेटको दुर्व्यशन भएको समाजलाई पुस्तकमा फर्काउनको लागि लघु संरचना, पाठकको सरोकारको बिषय, नयाँ शैली, पाठकमैत्री साइज अनि सस्तो मूल्यले पक्कै पनि सहयोग गर्छ भन्ने मलाइ लाग्दछ । यी कुरा पैसाको उडानमा भेट्न सकिन्छ ।
***
प्रतिक्रिया
-
४