ज्ञानु अधिकारी कविता समालोचना र निबन्ध लेखनमा परिचित नाम हो । पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा प्राध्यापन गर्नु हुने अधिकारी समकालीन नेपाली कवितामा अन्तर्विषयकता शीर्षकमा विद्यावारिधि अनुसन्धानरत हुनुहुन्छ । एक दर्जनभन्दा बढी समालोचना कृति प्रकाशित गरिसक्नु भएकी उहाँको पछिल्लो समय संवेदनाको समायोग नामक निबन्ध कृति प्रकाशित भएको छ । यसै कृतिको सेरोफेरोमा रहेर सम्पादक जीवन  खत्रीले सोधेका पाँच प्रश्न र अधिकारीको जवाफ ।

१. ‘संवेदनाको समायोग’ निबन्धसङ्ग्रहका लागि यहाँलाई शुभकामना । यो सङ्ग्रहको बारेमा छोटकरीमा परिचय गराईदिनु होस् न, जुन पढेर हालसम्म यो पुस्तक नपढेका पाठकले यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकून् ।

शुभकामनाका लागि हार्दिक धन्यवाद । लेखकले आफ्नो किताबका बारेमा आफैँ बोल्नुभन्दा पाठक, समीक्षक वा समालोचकको तर्फबाट आएका प्रतिक्रियाहरूले नै किताबको खास परिचय बहन गरेको हुन्छ भन्ने लाग्छ मलाई । तर पनि ‘संवेदनाको समायोग’ को परिचय दिनुपर्दा यो आत्मपरक निबन्धहरूको सङ्ग्रह हो । सातओटा विविध खण्डमा समेटिएका सैतीसओटा निबन्ध यस कृतिमा सङ्गृहीत छन् । यसमा ठूलाठूला नौला विषयहरू उठाइएका छैनन् । सधैँ देखेर पनि नदेखेजस्तो गरिएका, भोगेर पनि नलेखिएका मानवीय संवेदनाका विषयहरू नै छन् र मैले आफूलाई उभ्याएर मेरै समयलाई लेखेकी छु यस कृतिमा । समग्रमा निबन्धलाई अलि फरक शैलीमा लेख्ने प्रयास गरेकी छु ।

२. प्राध्यापन सेवामा लागेको व्यक्तित्व, समालोचनाको क्षेत्रमा पनि खरो नाम । साहित्य सृजनामा पनि सक्रिय हुनुहुन्छ । एउटा लेखक र स्वयम् समालोचना समेत गर्ने लेखककमा फरकपन के हुँदोरहेछ ?

एउटा लेखक र स्वयम् समालोचना समेत गर्ने लेखककमा फरकपन के हुँदोरहेछ भन्ने तपाइँको प्रश्नको आशय एउटा स्रष्टाले सृजना लेख्नु र समालोचकले सृजना लेख्नुमा के फरक हुन्छ भन्ने नै होला । सामान्य रूपमा हेर्दा खासै फरक हुँदैन किनभने जब कोही पनि व्यक्ति सृजनाकर्ममा लीन हुन्छ नि त्यतिबेला ऊ कोही हुँदैन, केवल सर्जक मात्र हुन्छ । ऊ आफ्ना अन्य सबै परिचयका खोलहरूलाई उतारेर केवल स्रष्टा मात्र बन्छ र सृजना गर्छ । यसर्थ सृजना गरिरहेको बेलामा ऊ सम्पूर्णतः सृजनामा नै ध्यानस्थ हुन्छ र सृजना गर्छ । तर यसभन्दा पछाडि भने केही फरक हुन्छ । समालोचकले आफ्ना सृजनालाई विविध कोणबाट हेर्न र त्यसको सान्दर्भिकताको मूल्याङ्कन गरी परिमार्जन गर्न सक्छ भने समालोचनात्मक चेत नभएका लेखनहरूमा कहिलेकाहीँ यस्ता कुरा खट्किएको हुन्छ । यसकारण पनि स्रष्टाहरूका तुलनामा समालोचकलाई सृजनामा आउनु अलि चुनौती नै हुन्छ ।

३. आख्यानका तुलनामा निबन्ध, कविताहरू कम पढिन्छन् भनिन्छ । पुस्तकाकार कृतिका रूपमा पनि आख्यान नै धेरै आएका देखिन्छन् र साहित्यबजार पनि यिनैले चहलपहल गराउँछन् भनिन्छ । निबन्ध र कविताले पाठकहरूमध्येबाट पनि पृथक् पाठक खोज्छन् कि ? नेपाली निबन्ध र कविताले आफ्नो असली तागत देखाउन नसकेको हो कि ? कि, पाठकमाथि नै प्रश्न गर्नुपर्ने हो ?

साहित्यको इतिहास हेर्ने भने समयका विभिन्न कालखण्डमा विभिन्न विधाहरूको प्रभाव रहने गरेको पाइन्छ । सबै समयमा एकै मात्र विधाको वर्चस्व रहँदैन । कुनै समय महाकाव्य बढी पढिन्थ्यो त कुनै समय खण्डकाव्य, कविता बढी प्रभावकारी थिए । हो अहिले आख्यान बढी पढिन्छन् । किन आख्यान नै ? भन्ने सम्बन्धमा मैले यही निबन्धसङ्ग्रहभित्रको ‘यो आख्यानको समय हो’ निबन्धमा विस्तृत चर्चा गरेकी छु । तर जहाँसम्म निबन्ध र कविता कम पढिन्छन् भन्ने कुरा छ त्यो तपाईँले भनेजस्तै आम पाठकभन्दा पनि अलिक साहित्यिक चेत भएका पाठकको रोजाइमा पर्ने भएकाले पनि यस्तो भएको हुनसक्छ । तर जब साहित्यको युगीन चेतना र साहित्यको सामथ्र्यलाई मापन गर्नका लागि भने कविता र निबन्धको अवस्थालाई नै हेर्नुपर्ने हुन्छ । नेपाली निबन्ध र कविताले आफ्नो असली तागत देखाउन नसकेको भन्ने कुरामा म सहमत छैन । अहिले सजिलो र रमाइलो मन पराउने समयमा आख्यानले जसरी आमपाठकलाई कविता र निबन्धले आकर्षित गर्न नसकेको होला तर चेतना र प्राज्ञिक विमर्शका कोणबाट यी विधा सशक्त छन् तर यसको तागत परख गर्ने पाठकको सङ्ख्या नै कम भएको हो कि, पाठकमाथि नै प्रश्न गर्नुपर्ने बेला आएको छ ।

४. नेपाली निबन्ध लेखनमा धेरै अनुहारहरू छन् तर सबैलाई उत्तिकै सफलता मिलेको देखिन्न । देवकोटा, शङ्कर लामिछाने, ताना शर्मा हुँदै नाम लिँदा फटाफट धेरै नामहरू लिन सकिन्न भन्छन् केही पाठकहरू । के साच्चै होला ? हो भने किन यस्तो भएको होला ? अझ आजका पाठक निबन्धभन्दा पनि आख्यानतिर बढी तानिएजस्तो यहाँलाई लाग्दैन ?
नेपाली निबन्धमा मात्र होइन अन्य विधामा पनि सबैलाई उत्तिकै सफलता त कहाँ मिल्छ र ? आख्यान र निबन्ध दुवै गद्य विधाअन्तर्गत पर्दछ । आख्यानमा यथार्थको धरातलमा उभिएर जति पनि काल्पनिक कथा, उपकथाका फूलबुट्टा भर्न सकिन्छ । पाठकको रुचि अनुसारका सन्दर्भहरू पनि जोड्न सकिन्छ तर निबन्धमा त्यस्तो हुँदैन । निबन्धको शक्ति भनेकै लेखकीय इमान्दारी, विषयको गहनता र भाषाको मिठास हो । त्यसैले पनि आख्यानका तुलनामा निबन्ध लेख्नु चुनौतीपूर्ण नै हुन्छ र यस विधामा समर्पित भएर लेख्ने लेखक कम हुनु र निबन्ध झन् त्यसमा पनि आत्मपरक निबन्ध कम लेखिनु अनि कम पढिनु स्वाभाविक नै मान्छु म । आजका पाठकहरू आख्यानतिर बढी तानिए भन्नुको तात्पर्य निबन्ध कमजोर नै भएर हो भन्ने अर्थ लाग्नु पनि हुँदैन । किनकि साहित्यिक बजारमा जुन विधामा बढी चर्चा हुन्छ, विज्ञापन हुन्छ र पठनको लहर चलेको हुन्छ त्यही सर्वप्रिय विधा हो कि जस्तो लाग्न पनि सक्छ तर समय र पाठकको रुचि सधैँ स्थिर हुँदैन ।

५. एउटा नयाँ पाठक, उसले यति सजिलो भाषामा बुझोस् कि निबन्ध किन पढ्ने ? अझ यहाँको निबन्धकृति ‘संवेदनाको समायोग’ पढ्दा के छुटाउला ?

यो प्रश्नको उत्तर म आफ्नै पठनअनुभूतिबाट दिन चाहन्छु । मलाई पनि पहिले अर्थात् अध्ययनको प्रारम्भिक अवस्थातिर आख्यानले खुब तान्थ्यो । सायद हाम्रो बाल्यकाल नै आख्यानात्मक किस्सा र लोककथाहरूबाट प्रभावित हुने भएकाले पनि होला आख्यानले आकर्षित गरिहाल्थ्यो । यसर्थ सुरुमा पढ्ने बानीको विकास गर्नलाई आख्यानले मद्दत ग¥यो । तर जब पढ्दै गएपछि यस्तो लाग्यो कि, मेरो चेतना विस्तार गर्नका लागि, तथ्यगत ज्ञान आर्जन गर्नका लागि र आफ्नो बौद्धिक क्षमता बढाउनका लागि आख्यान मात्र पर्याप्त होइन रहेछ । एउटा आख्यान त म आफैँ बाँचिरहेकी छु । साहित्यबाट त मैले धेरै कुरा जान्नु छ सिक्नु छ भन्ने बोध भएपछि मलाई गैरआख्यान र अझ भनौँ निबन्धप्रति रुचि जागेको हो । यथार्थलाई काल्पनिक घटनाको लेप नलगाइकन तर्क र विचारहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिने हुनाले निबन्ध पढ्दा पाठकले सत्यसँग साक्षात्कार गर्न पाउँछ । जहाँसम्म मेरो निबन्धकृति ‘संवेदनाको समायोग’ को कुरा छ यसमा म के भन्छु भने यो कृति नपढ्दा केही छुट्ने भन्दा पनि यो कृति पढ्दा केही अवश्य पाइनेछ भन्ने लाग्छ । खास गरी निबन्ध विधालाई बुझ्न, नारीका सूक्ष्म अनुभूति र जीवनका जटिलताहरूलाई बुझ्न र नलेखिएका हाम्रा साझा अनुभूतिलाई बुझ्न मद्दत गर्छ । साथै पाठकलाई पनि आफ्ना कुराहरू निबन्धका माध्यमबाट लेख्नका लागि प्रेरित गर्छ भन्ने लाग्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर