✍️ प्रकाश रम्घाली

भाइ घरबाट भागेछ – खोई कुन सुर ? कुन मुड वा परिस्थितिमा ?

म काम विशेषले आफन्तकोमा गएको थिएँ । फर्कदा भाइ भागेको कुरा घर नआईपुग्दै थाहा पाइसकेको थिएँ । घरको पिँढीमा बसेर आमा र्रोरहनु भएको थियो । रमिते थिए- अरु गाउँलेहरू । केही बोल्नै सकिनँ । सरासर आमाको पुरानो सन्दुसबाट एकसय रुपैयाँ निकालेर भाई खोज्न एकजना काकालाई लिएर हिँडे ।

त्यो असारको पहिलो हप्ता थियो । जुडी धान काट्ने/थन्क्याउने मौज्जुदा समय । फुर्सत कसैको थिएन । साँझ परिसकेको थियो । मानिस हिँडेको आवाज प्रष्ट्र सुनिन्छ । तर आफ्नो/बिरानो नचिनिने चुक अमिलोजस्तो कालो साँझमा हामी काका भतिज हिँडिरहेका थियौ-भाइको खोजीमा ।

– खोज्न त निस्कियौ जाने कहाँ ?

“डुम्रेसम्म त पुगौं केटा । त्यसपछि सोचौला ।” माईलो काकाले यति नभनेको भए म बीच बाटोबाटै फर्कने सुरमा थिएँ । भन्सारको मूल सकडमै एउटा खाजा पसल थियो । सिंगडा, पुरी तरकारी, दुनोट बनाउने कार्की साईलाको पसल त्यो भेगमा अहिलेको भाषामा भन्दा पपुलर थियो ।

भोक नहुँदा पनि पसल कटेर जान हतपत बटुवाहरु माान्दैनथे । हामी त झन् भोकै थियौ । दुई÷दुई वटा दुनोट बोकेर बाटोमा खाँदै हिँडिरह्यौ । सरदर डुम्रे पुग्न घरबाट डेढघण्टा लाग्छ । कतै दगुदै कतै हि“ड्दै जाँदा एकघण्टा जति लाग्यो होला हामीलाई ।

– “रात त छिप्पी सकेछ भतिज”
हो, रात छिप्पी सकेको थियो । यात्रुवाहक बसहरू पृथ्वीराजमार्गमा देखिन छाडिसकेका थिए । भात भान्सा सकाएर आग्लो लगाएको आवाज मात्र तड्कारो सुनिन्थ्यो ।

बेला बेलामा भुक्ने कुकुरहरूको आवाज बजारको मूल सडकमा ओर्लन्थो । र त्यसको प्रतिध्वनिले गुन्जायस् भएको डुम्रे अतीव निरश लाग्थ्यो । मगर्नी दिदीको होटलमा भने बजारको सन्नटासँग कुनै सरोकार थिएन । होटलको छिँडिमा लाभारिस गुन्टाहरू थिए । भित्र क्यासेटको मधुरो सङगीतमा नाचिरहेका मगर्नी दिदीका छोरीहरूलाई हेरेर घर जान भुलिरहेका लाहुरेहरू- देहातका गाउँजस्ता देखिन्थे ।

भैरहवा जाने पहिलो रात्री बस छुट्यो ।

माइलो काका शौच गर्न गएको बेलामा पहिलो रात्री बस छुटेको थियो । म बजारको प्रतिक्षालयमा बसिरहेको थिएँ । एउटा ट्रक आयो त्यसले रोक्न मानेन । दश बजिसक्यो ।

झोलुङगोमा सुतेको बालकजस्तो डुम्रे बजार मस्त निद्रामा छ । कोही बुढाबुढिले खोकेको आवाज आए डुम्रे ब्यूँझन्थ्यो । नत्र हामीजस्तै निम्सरो हुन्थ्यो । एघार बजिसक्यो । मालबहाक ट्रकले रोक्ने संकेत पाएनौ । घर फर्किनु पनि सजिलो थिएन । टुके लाईटको मधुरो उज्यालोमा बाटो नै देखिदैनथ्यो । त्यसमाथि घरमा के भन्ने ? दोधारको पिङ्गमा हल्लिरहेका हामीसँग अरु उपाय पनि त थिएन ।
– “काका अब के गर्ने ?”

माइलो काका निरुत्तर छन् । उनीसँग पनि कुनै उपाय थिएन । उपायविहिन हामीसँग एउटै उपाय थियो— त्यही प्रतिक्षालयमा रात कटाउने । झप्के निन्द्रामा पर्न आँटेको थिएँ । स-याक सुरुक आवाज आयो । मानिस ? वा अन्य केही ? मेसो पाईन । सिमेन्टको चिसो भूँईमा पाखुराको सिरानी थियो ।

दिनभरको थकान र तनाव त छँदैछ । भोकका लागि त हामीले बेल्टको अन्तिम प्वालमा छिराएर पेट कसेका थियौ । माईलो काकालाई बोलाएँ । छेऊमा आईसकेको त्यो स्त्री जातिको आकृति मात्र होईन छोई नै सक्यो । जोडले काकालाई घचेटेँ । अनि माईलो काका उठे । मेरो स्वासको गति केही कम भयो ।

र म ती महिलाबाट छोईएको आफूलाई हटाएर एकैचाटी धेरै सोधेछु— को हो तपाई ? यति राती ? किन ? कहाँ, कता हिँड्नु भएको ?

– “खोई हजुर, काँ जाने ? के गर्ने केही पत्तो छैन ?” तिनले दिएको जवाफ तिनी आफँले दिएजस्तो लाग्दैनथ्यो ।

पहिलोपल्ट यस्तो बेवारिसे महिला भेटेको थिएँ । तिन्ले बिजुली चुरोट सल्काइन् । एउटा खिली मेरो हातमा पनि राखिदिइन् । मैले उनले सल्काएको चुरोटले आफ्नो भागको चुरोट सल्काएँ ।

अघिसम्म गहिरो निन्द्रा र सुर्तामा थियौ हामी । अहिले यो एकान्त प्रतिक्षालयमा अर्को फसाद आईपरेको थियो । आँसु त कसरी देख्नु तिनको तर रुँदा रुँदै भाँसिएको स्वरले तिनी विषादमा थिइन् भन्ने अनुमान गर्न चाहिँ सकेका थियौ हामीले ।

भुकभुके उज्यालो हुनु पूर्व फेरि एउटा गहिरो अँध्यारो आईपुगेको थियो । त्यसले उज्यालोको आशामा पर्खिरहेका हामीलाई थप निराश बनाउँथ्यो । भाइ कहाँ पुग्यो होला ? किन त्यसले घर छाड्यो ?

भेटिएन भने आमालाई के भनेर सम्झाउने ? माछाका भुराजस्ता मनमा खेलिरहेका कुराहरु बन्द गर्न ती अर्धबैँसे महिलासँग गफिन खोज्छु । सायद उनि पनि गफिने मुडमा थिइन् । अथवा दुःखहरू पोख्ने कुनै वाहाना पर्खिरहेकी थिईन ।

– “मातेर आएको लोग्नेले कुट्यो । मेरो चरित्रमाथि दिनहुँ शंका गर्छ । मर्न भनेर हिँडेकी मर्न पनि सकिनँ । पाँचवटा छोरा–छोरीहरू छन् । तिनलाई सुतिरहेकै ठाउँमा छाडी आएकी ।”

तिनले संक्षेपमा यति नबोल्दासम्म मैले तिनको मुखको गन्ध चाल पाएको थिइन । अधिल्लो दिन पिएको गन्ध त बिहानीपख हराउनु पर्ने । बीचबीचमा मुखमा बोत्तल खन्याउँदा पानी पिएको सम्झेको थिएँ मैले । त्यो त बिजुली पानी रहेछ । पछि थाहा पाएँ ।
– “अब पोईला जान्छु ! त्यो जाँबोसँग यत्रो नि बस्दिनँ ।“

“अनि को सँग जान्छौ त दिदी ?” उनको कुरा पनि गम्भिर नै थियो । मेरो प्रश्न पनि हलुका थिएन ।

बेस्सरी हाँसिन् । बजार नै व्यूँझने गरी हाँसिन् । मेरो प्रश्नको अनपेक्षित जवाफ आयो- “तिमीसँग ।” मसँग ? हा… हा…. हा…. । मेरो हाँसोसँगै मिसिएको माईलो काकाको हाँसोबाट चाहिँ म भ्यात्त झरेँ । अहो ! यो त जोखिम हुने भो । सोह्र बर्ष भर्खर पुुगेको मजस्तो अल्लारे ठिटोका लागि बिहानी अघिको अनेपेक्षित भुकभके जवाफले आहात हुनु स्वभाविक थियो । एक्कासी शरीर तातो भयो । फेरि चुरोट सल्काईन् तिनले । अर्को खिली मलाई पनि दिइन् ।

यो पटक तिनले दिएको चुरोट समातिन । रिसाएको मुखमुन्द्रा हेर्ने सुविधा समेत थिएन त्यो अँध्यारोमा । धेरैबेर म बोलिनँ । काका त झन बोलेकै थिएनन् । भुकभुके उज्यालोलाई चिर्दै एउटा माल बाहक ट्रक आयो ।

सडकमा उभिएर काकाले हात उठाए । यो पल्ट ट्रक रोकियो । म पनि दकुरेँ । पछिपछि आइरहेकी ती महिलाले मेरो पाखुरा समाइन् । मेरो परान भनेर रोईन । तिमीले मलाई किन अलपत्र छाडेको भन्दै बिलौना गरिन् । म काँचो दाउराबाट निस्किएको धुँवामा मिसिएझै भएको थिएँ । माईलो काकाले ट्रकको सिटबाट मलाई जोडले ताने । त्यसमा सहचालकले पनि सहयोग गरे । एकैचोटी म गुरुजीको सिटमा पुगेछु । ट्रक हुँईकियो ।

भरतपूर पुगेर ट्रकबाट ओर्लेपछि मात्र काका बोले- “तँ त एकराते पोई पो भईस् केटा !” त्यो मध्य घाममा रवर प्लान्टको छेल परेर काकाले भनेको कुरा म अहिले पनि सम्झेर हाँस्छु । अनि, हाँस्दा हाँस्दै अतीतको आँगनीमा ओर्लेर सोच्छु— आखिर को थिइन् तिनी ? त्यसपछि कता गईन् होली ? काकाकै सापटी शब्द लिदाँ जस्को म एकराते पोई भएको थिएँ !

प्रतिक्रिया

सम्बन्धित खवर