
मोहन मैनाली निबन्धकार, लेखक, अनुवादक, राजनीति विश्लेषक लगायतमा राम्रो परिचय बनाएका व्यक्ति हुन् । विगत तीस दशकदेखि पत्रकारितामा समर्पित मैनाली विषेशत खोज पत्रकारितामा चर्चित नाम हो ।
उनले बनाएको डकुमेन्ट्री फिल्म `जोगिमाराका जिउँदाहरू निकै चर्चित रह्यो । उनका कृतिहरू `उपल्लो थलो´ ‘दखेको देश’ र `मन्ठा हराएको जुग´ चर्चित छ ।
उनको अर्को कृतिको रूपमा आजबाट बजारमा आउन लागेको `आकाशमुखी´ नौ जना विदेशी निबन्धकारहरूको निबन्धको नेपाली अनुवाद हो । यसै पुस्तकसँग सम्बन्धित भएर सहकर्मी जनक कार्कीले गर्नुभएको कुराकानी ;
यहाँले अनुवाद गर्नुभएका विदेशी निबन्ध संग्रहको विमोचन आज हुँदैछ, यसमा समेटिएका निबन्धकारहरू: जर्ज बर्नार्ड शअ, बुकर टि वासिङ्गटन, फ्रान्सिस योंगहस्बेन्ड, भर्जिनिया ऊल्फ लगायत नौं जना निबन्धकारका निबन्ध समेटिएको छ, तपाईंले निबन्ध के का आधारमा चयन गर्नुभयो ?
– निबन्ध छनोट गर्न मैले केही कुराको आधार लिएको थिएँ । पहिलो, विषयवस्तु र लेखाइका दृष्टिले जुन निबन्ध मलाई मन परे ती निबन्ध छानें । जुन निबन्ध पढ्दा मेरो चित्त बुझ्यो ती निबन्ध, जुन निबन्ध पढ्दा मैले पढ्न छाडेर सोच्न थालें ती निबन्ध, जुन निबन्ध पढ्दा मलाई लेखाइको स्वाद आयो ती निबन्ध छानें । केही निबन्ध शुरूमा पढ्दा र अनुवाद गर्दा राम्रा लागेका थिए तर अनुवाद सकेको ५/६ महिनापछि पढ्दा आफ्नै चित्त बुझेन र तिनलाई पनि यसमा राखिनँ ।
दोस्रो, जुन निबन्ध मैले बुझें ती निबन्ध । कुनै निबन्ध पढ्दा राम्रा जस्ता लागे, तिनले मलाई अर्कै दुनियामा पुर्याए तर तिनलाई पूरै बुझ्न सकिनँ ती निबन्ध अनुवादका लागि छानिनँ । तिनका चित्त बुझेका अंश कुनै वेला त्यही विषयमा लेख लेखें भने उद्धृत गरौंला भनेर चित्त बुझाएँ ।
तेस्रो, अनुवाद गर्दा अंग्रेजी भाषामा बुझेर मात्रै भएन तिनलाई नेपाली भाषामा बुझाउन पनि सक्नुपर्यो । त्यसो गर्न सकिएन भने अनुवाद गर्नुको सार हुँदैन । त्यसैले त्यस्ता निबन्ध छानें जुन मैले नेपाली भाषामा बुझाउन सक्छु ।
चौंथो, विषयवस्तु र लेखन दुबै दृष्टिले मलाई राम्रा लागेका, मैले बुझेका, नेपालीमा बुझाउन सक्ने केही निबन्ध यस किताबमा राख्ने लोभ गर्दा गर्दै पनि मैले त्यसो गर्न सकिनँ किनभने ती निबन्धमा कसैको कपिराइट छ । विदेशी लेखकबाट, त्यसमाथि दिवंगत लेखकका उत्तराधिकारीबाट कपिराइट लिनु मेरा लागि कठिन काम थियो । त्यसैले मैले सार्वजनिक सम्पत्ति भइसकेका निबन्ध मात्र छानें ।
यहाँ विगत तीन दशकदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ, पत्रकारिता गर्ने क्रममा अङ्ग्रेजी पत्रपत्रिकामा पनि काम गर्नुभएको छ, यहाँले कुनै बेला आफ्नो अङ्ग्रेजी कमजोर भएकोले उक्त पत्रिकामा काम नगर्ने मनासय पनि बनाउनुभएको थियो, अहिले आएर अङ्ग्रेजी निबन्धलाई अनुवाद गरेर पुस्तक ल्याउँदै हुनुहुन्छ, अङ्ग्रेजीसँग डराउने यहाँले अनुवाद गर्ने आँटको पछाडि यहाँको अङ्ग्रेजी सुधार्न गरिएका प्रयत्न बारे छोटो जानकारी दिनुहुन्छ कि ?
– कुनै पनि भाषासम्बन्धी सीप दुई तहका हुन्छन् रेः बुझ्न सक्ने र अभिव्यक्त गर्न सक्ने । जुन भाषामा पत्रकारिता गर्ने हो त्यो भाषा बुझेर मात्रै पुग्दैन राम्रोसँग अभिव्यक्त गर्न पनि सक्नुपर्छ । लेख्दा मैले गल्ति गरेको छैन, सुन्दर तरिकाले अभिव्यक्त गरेको छु भनेर आत्मविश्वासका साथ भन्न सक्नुपर्छ । अनुवाद गर्दा मैले मूल कृति राम्रोसँग बुझेको छु भन्ने कुरामा मात्र आत्मविश्वास भए पुग्छ जुन मसँग थियो । त्यसैले अंग्रेजीमा अभिव्यक्त गर्नु पर्ने काम अर्थात् अंग्रेजी भाषामा पत्रकारिता छाडें, कहिलेकाहिँ लेख्नु फरक कुरा हो । अंग्रेजीमा लेखिएको कुरा बुझे मात्र पुग्ने काम अर्थात् अनुवादको काम गरिरहेको छु । यसो गर्दा पनि आफूले बुझ्न नसकेका र आफू अलमिलएका वाक्य जान्नेलाई सोधेर अनुवाद गरेको छु ।
म सरकारी स्कूलमा पढेको हुँ जहाँ अंग्रेजी भाषा ४ कक्षादेखि पढाइन्थ्यो त्यो पनि नेपाली माध्यममा । चार कक्षादेखि पढाउँदा त ठीकै थियो तर कुनै भाषा अर्को माध्यममा त्यो पनि नबुझिने तरिकाले पढाइयो भने त्यो भाषा जानिंदैन । त्यसैले एसएलसी पार गर्दा मैले आजभोलिका अंग्रेजी माध्यमका विद्यार्थीले १ कक्षामा भर्ना हुनुअघि जति अंग्रेजी जान्दछन् त्यति पनि जानेको थिइनँ ।
एसएलसीपछि त्यतिवेला आइए भनिने तहमा पुगेपछि मलाई मेरा दाजु त्रिलोचन मैनालीले अंग्रेजीको जग बसाइदिनुभयो । त्यसले गर्दा स्नातक तहमा पुग्दा म अंग्रेजीमा राम्रै विद्यार्थीमा गनिइसकेको थिएँ । स्नातक तह भर्ना हुँदा मलाई अंग्रेजी साहित्य पढ्न मन त लागेको थिए तर फेल हुनसक्छु भनेर त्यो विषय लिइनँ । स्नातक तह सकेपछि मलाई अंग्रेजी साहित्यको मेरो खुबी विश्विद्यालयबाट जँचाउने रहर लाग्यो । त्यसैले त्यस विषयमा मैले प्राइभेट पढेर जाँच दिएँ । पास भएँ ।
यस वीचमा मैले भेटे जति अंग्रेजी माध्यमका सामग्री पढें ।
त्यसले पनि मेरो चित्त बुझेनँ । त्यति वेला काठमाडौंमा अंग्रेजी सिकाउने धेरै संस्था थिएनन् । अमेरिकन इंग्लिश ल्यांग्वेज इन्स्टिच्यूट थियो । त्यसमा फर्म लिनका लागि रातीदेखि लाइन बस्नुपर्थ्यो । जाँच दिनुपर्थ्यो । यो सबै काम गरेर मैले त्यहाँको एड्भान्स्ड कोर्स लिएँ ।
पत्रकारिताका शिलशिलामा अंग्रेजीमा बोल्ने र लेख्ने काम पनि गर्नु पर्यो । अनि अंग्रेजी भाषा राम्रैसँग जान्ने मानिसहरूको संगत गर्न पाएँ । यिनै कुराका बलमा अंग्रेजी भाषाका निबन्ध अनुवाद गर्ने आँट गरेको हुँ ।
कवि तथा निबन्धकार मोमिला जोशी भन्छिन्, `निबन्धलाई साहित्यको प्रिय विधा नमान्ने धेरै साहित्यकार छन् । यसो हुनुमा लेख,प्रबन्ध र विचार आदि विधालाई पनि निबन्धकै दर्जा दिनु पनि हो । यहाँले `आकाशमुखी´ पुस्तकमा अनुवाद गर्नुभएका निबन्ध साहित्यिक निबन्ध नै हुन वा आलेख प्रवन्ध पनि छ्न् साथमा यहाँले निबन्धलाई कसरी व्याख्या गर्नुहुन्छ ?
– मोमिलाजीको कुरा सोह्रै आाना सही हो । हामीले अनिबन्धलाई निबन्ध भनेकाले निबन्धप्रति साहित्यकार र आम पाठकको अरुचि बढेको हो । मैले यी निबन्ध अनुवाद गर्नुको मुख्य कारण निबन्ध रुचिकर र स्वादिला हुन्छन् भन्ने कुराको प्रमाण दिनु हो । यस पुस्तकमा राखिएका निबन्धलाई कडा खालको कसीमा घोट्यो भने पनि ती नम्बरी ठहरिन्छन् ।
साधारण भाषामा भन्ने हो भने, एउटा भाषा-पाठमा निहित अर्थ वा सन्देशलाई अर्को भाषा-पाठमा यथावत व्यक्त गर्नु अर्थात एउटा भाषामा भनिएका कुरा अर्को भाषामा व्यक्त गर्नुलाई अनुवाद भनिन्छ तर, साहित्यमा अनुवादले यति मात्र गरेर पुग्दैन भाषासँगै संस्कृति, भुगोल, परम्परा आदि कुराको पनि अनुवाद पनि हुन जरुरी छ भनिन्छ, यहाँले निबन्ध अनुवाद गर्दा निबन्धको आत्मालाई बँचाइराख्न के कस्तो प्रयत्न गर्नुभयो र कस्ताकस्ता अप्ठ्यारासँग जुझ्न पर्यो ?
– मैले अनुवाद गरेका कति निबन्धका कतिवटा प्रसंग बुझ्नका लागि मैले तपाईंले भनेजस्तै त्यससँग सम्बन्धित संस्कृति, भूगोल आदि कुरा बुझ्नुपर्यो । तर आफूले बुझेर मात्रै भएन पाठकलाई पनि बुझाउनुपर्यो । ती कुरा मूल पाठमा राख्न मिलेन । त्यसैले पाठकलाई बुझाउन मैले कति ठाउँमा मेरा टिप्पणि राखेको छु । भर्जिनिया ऊल्फको एउटा निबन्ध पूरै अनुवाद गर्ने सुर गरेको थिएँ तर त्यसको पछिल्लो खण्ड बुझ्नका लागि अंग्रेजी साहित्यका विभिन्न धार र प्रचलनबारे बुझ्नुपर्ने रहेछ जसलाई मैले टिप्पणि लेखेर बुझाउन सक्दैनथें । त्यसैले मैले त्यो निबन्ध पूरै अनुवाद गर्न सकिनँ । त्यसका १२ हजार जति शब्द भएको खण्ड मात्रै अनुवाद गरें । दुईवटा निबन्धका बीचका केही अंशलाई मैले अनुवाद गर्न नसक्ने उत्कृष्ट ठहराएँ र तिनको अनुवाद गर्ने आँट गरिनँ । त्यस्ता निबन्धका पुछारमा यो कुरा पाठकलाई बताएको छु ।
अनुवाद भाषाको रुपान्तरण मात्र नभएर पुनर्सिजना पनि हो भनिन्छ, यहाँले अनुवाद गर्दा त्यसमा नेपाली माटोको अत्तर कत्तिको लगाउने कोसिस गर्नुभएको छ ?
– मैले अनुवाद गरेको यो पहिलो निबन्ध संग्रह प्रकाशन हुनुअघि मैले अनुवाद गरेको पहिलो र सम्भवतः अन्तिम गीत ‘हे मेरी आमा’ यसै वर्ष बजारमा आयो लावोनी चक्रवर्ती प्रसाईंको मीठो स्वरमा । यो भारतको हिमाचलको लोकगीत हो तर यसलाई मैले तपाईंले भनेजस्तै नेपाली माटोको अत्तर लगाएको छु । मूल गीतमा हिमाचलका विभिन्न ठाउँको नाउँ लिइएको त्यसलाई मैले नेपाली ठाउँ बनाएको छु । तर यस निबन्ध संग्रहका निबन्ध अनुवाद गर्दा मैले त्यसो गर्न मिलेन । त्यसो गरेको भए निबन्धको मर्म सबै जाने थियो । तर यी निबन्धमा मैले वाक्य गठन र शब्दमार्फत् नेपाली भाषाको अत्तर भने छरेको छु । त्यसैले यी निबन्धलाई नेपाली भाषाको अत्तर छरिएका विदेशी माटोका निबन्ध भन्यो भने बढी उपयुक्त हुन्छ ।
तपाईं बारे लेखिएको एउटा फिचर पढेको थिएँ, त्यसमा तपाईंलाई कसाई सम्पादक भनेर संबोधन गरिएको थियो, विदेशी निबन्ध अनुवाद गर्दा पनि कसाईको भूमिका त निभाउनु भएको छैन ?
– लेख्न नजान्ने, लेख्न जान्नुपर्छ भनी कहिल्यै नसोच्ने अनि लेखनप्रति कत्ति पनि रुचि र श्रद्धा नभएका मानिसले प्रसंग, जानकारी, विषय, शब्द र वाक्य भद्रगोल पारेर लेखेका तीता, टर्रा र अडबाङ्गे सामग्रीलाई पठनीय बनाउने काम गरेवापत त्यो पदवी पाएको हुँ मैले । अनुवाद गर्न मैले छनोट गरेका निबन्धका लेखकमा मैले सम्पादन गरेका सामग्रीका लेखकमा भए जस्ता गुण नभएकाले यी निबन्धमा मैले त्यस्तो भूमिका निभाउनु परेन । अनुवादकलाई यो काम गर्ने अधिकार पनि हुँदैन ।
यहाँको डकुमेन्ट्री फिल्म `जोगिमाराका जिउँदाहरू निकै चर्चित रह्यो, यहाँले दुईवटा पुस्तक पनि लेख्नु भयो `उपल्लो थलो´ र `मन्ठा हराएको जुग´ । यी पनि चर्चितै भए । यहाँको तेस्रो कृति पनि आफ्नै मौलिक केही हुनसक्थ्यो । किन अनुवाद नै रोज्नुभयो ?
– मेरा मौलिक कृतिहरूका स्वाद, विषयवस्तु, लेखनशैली र स्तर फरक खालका छन् । यस अनुवादमा संग्रहित निबन्धले जेजस्ता स्वाद दिन्छन् त्यो स्वाद मेरा मौलिक कृतिले दिन सक्दैनन् । मैले अनुवाद गरेका निबन्ध जुन स्तरका छन् त्यो स्तरका कृति म दिन सक्दिनँ । अरुका निबन्धको अनुवादमार्फत् मेराभन्दा स्तरीय खुराक पाठकलाई दिनसक्छु भनेर यसो पनि किन नगर्ने भनेर यो काम गरेको हुँ । यी निबन्ध अनुवाद गर्दा म आफ्ना मौलिक कृति लेख्दा भन्दा बढी मात्रामा ध्यानमग्न भएको थिएँ ।
यहाँले आफ्नो जीवनकालमा राजनीति, पुस्तक व्यवसायी, शिक्षक, पत्रकारिता देखि विभिन्न क्षेत्रमा काम गर्नुभयो, अहिले अनुवादक भएर आउँदै हुनुहुन्छ, यसको कारण यहाँले सधै फरक परिचय बनाउने प्यासनले हो कि संयोग मात्र ?
– अनुवाद मैले गरेका पुराना काममध्ये एक हो । पुस्तकको व्यवसाय गरेकै वेलामा, पत्रकार हुनुभन्दा पहिल्यै, मैले दैनिक समाजका लागि अंग्रेजी भाषाबाट केही फिचर अनुवाद गरेको थिएँ । त्यसयता मैले आफ्नो रहर पूरा गर्न र पेट पाल्न अनुवाद पनि गर्दै आएको छु । २०४६ सालको जनआन्दोलनबारे जापानी लेखक कियोको ओगुराले लेखेको किताब म र मेरा दिदीबहिनी मिलेर अनुवाद गरेका थियौँ जुन ‘जनता जागेका बेला’ शीर्षकमा हिमाल बुक्सले १८ वर्षअघि नै छापेको थियो । टोनी हागनको किताब ‘नेपालको चिनारी’ का केही खण्ड मैले २०/२५ वर्ष अघि नै अनुवाद गरेको थिएँ । सन् १९७० को दशकमा मधेसको अध्ययन गरेर फ्रेडेरिक एच. गेजले लेखेको पुस्तक ‘नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता’ मेरो अनुवादमा हिमाल बुक्सले छापेको झण्डै दस वर्ष भइसकेको छ । झण्डै तीन वर्षपहिले मैले अनुवाद गरिसकेको, सन् १८८५ को नेपालबारे फ्रेन्च अन्वेषको नेपाल यात्रा विवरण पनि यही वर्ष बजारमा आउला जस्तो लागेको छ ।
फरक परिचय बनाउने प्यासन एक्लैले, अरु कुनै कुराको सहयोग नलिइकन, मानिसलाई द्रुतगतिमा पतन गराउन सक्छ भन्ने कुरा मैले राम्रोसँग मनन गरेको छु । त्यसैले यो प्यासन, दुर्ब्यसनमा म लाग्दिनँ ।
नेपाली पाठकले तपाईंले चयन गरेका निबन्धको अनुवादबाट के पाउँछन् किन पढ्ने `आकाशमुखी´ ?
– पाठकले मलाई मन परेका राम्रा र स्वादिला निबन्धको स्वाद लिन पाउनुहुनेछ । उहाँहरूलाई पनि यी निबन्ध राम्रा र स्वादिला लाग्नेछन् । मैले छानेका निबन्ध विषयवस्तु, निबन्धकार, लेखन शैली, तिनले प्रवाह गर्ने मनोवेग आदिका दृष्टिले विविधतायुक्त छन् । यसले गर्दा उहाँहरूको निबन्ध अध्ययनको दायरा अझ फराकिलो हुनेछ ।
यहाँ वातावरण पत्रकारितामा पनि कलम चलाउनुउभयो र संलग्न हुनुभयो, विश्व अहिले जलवायु परिवर्तनको समस्याबाट गुज्रिरहेको छ, यस कृतिमा वातावरण सम्बन्धी निबन्ध पनि समेट्नु भएको छ र वातावरण सम्बन्धि पुस्तक लेख्ने बारे सोच्नुभएको छ ?
– वातावरण विनाशको एउटा कारण अनावश्यक उपभोग हो । यसबारेको एउटा गम्भीर र राम्रो निबन्ध अनुवाद गर्न थालेको थिएँ तर त्यसका प्रसंग बुझ्न उपभोक्ता संस्कृति बुझ्नु पर्ने भएकाले त्यसलाई यस किताबमा राख्नयोग्य हुने गरी अनुवाद गर्न सकिनँ । त्यसैले यस निबन्ध संग्रहमा वातावरणसम्बन्धी निबन्ध समेटिएका छैनन् । वातावरणसम्बन्धी छुट्टै पुस्तक लेख्न सक्दिनँ जस्तो लागेको छ अहिलेसम्म । तर अहिले लेखिरहेको एउटा किताबमा ‘उपल्लो थलो’ र ‘देखेको देश’मा जस्तै गरी वातावरणका विषय पनि समेट्नेछु ।
`आकाशमुखी´ को प्रोमो हेरेको थिएँ, त्यसमा निबन्ध जहाँ जन्मियो त्यताका नौजना निबन्धकारलाई समेटेर अल्हादित बनाउने, फरक सोच्न बाध्य बनाउने, क्या लेखन वाह! भन्न लगाउने, सोच्न बाध्य बनाउने आदि कुराहरूले सजिएको छ । यी अनुवादित निबन्धको उद्देश्य आकाश जस्तै फराकिलो र अनन्त सोचको विकास गराउने हो कि अरु पनि केही हो ?
– अरु केही होइन । तपाईंले सोचेजस्तै यी निबन्धले हामीलाई हामी अहिले जहाँ छौं त्यसभन्दा एक इन्च मात्रै भए पनि माथि उठ्न सहयोग गर्लान भन्ने आशा र विश्वास गरेको छु ।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मनमा लागेको कुरा व्यक्त गर्न सक्नुहुन्छ ।
– नेपाल र छिमेकी देशमा पनि राम्रा निबन्ध पनि लेखिएका छन् । यी निबन्ध हामीले पढेकै छौं, तिनका बारेमा मनन गरेकै छौं । यस किताबमा राखिएका निबन्ध पनि पढेर नेपाली पाठकले आफ्नो नेपाली निबन्ध पठनलाई अझ समृद्ध बनाउनु हुने नै छ ।
यहाँ भएका निबन्ध पढेपछि तिनलाई मूल भाषामै पढेर स्वाद लिने रहर लाग्यो भने त्यो झन् बढिया कुरा हो । त्यसो गर्न सकियोस भनेर मैले ती निबन्ध कहाँबाट लिएको हुँ भनेर जानकारी दिएको छु ।
***
प्रतिक्रिया
-
४