
✍️ जनक कार्की
उपन्यासकार अञ्जु न्यौपाने पेशाले स्टाफ नर्स हुन् । उनी ‘उडान नेपाल’को प्रमुख संरक्षक र ‘नीलसागर असाहाय, अशक्त, तथा ज्येष्ठ नागरिक सेवा केन्द्र’ कोहलपुरको संयोजकका रूपमा कार्यरत छिन् । यीलगायत अन्य विभिन्न सङ्घसस्थाहरूमा आवद्ध उनी मोटिभेसनल स्पीकर पनि हुन् । ‘लुकेको वासना’ उपन्यासको उनको दोस्रो उपन्यास हो । उनको पहिलो उपन्यास ‘मोड’ पाठकमाझ लोकप्रिय छ । गएको हप्ता उनको दोस्रो उपन्यास ‘लुकेको वासना’ लोकार्पण भएको छ । यसै उपन्यासमा केन्द्रित भएर साहित्य र लेखनका बारेमा सेतोमाटो डटकमका लागि जनक कार्कीले गरेको कुराकानीको सारांश प्रस्तुत छः
‘लुकेको वासना’ उपन्यास जो गएको हप्ता मात्र विमोचन भएको छ, यसको नामले पाठकमा एक किसिमको पूर्वानुमान विमर्श गराउँछ कि वासना भनेपछि यौनको कथा त होइन ? उसो त वासना भनेको यौन मात्र होइन । कुनै पनि चिजसँगको मोह र लगावलाई पनि बझ्ुन सकिन्छ, तपाईंको उपन्यासको वासना केसँग सम्बन्धित छ ?
‘यौनको कथा त होइन’ भनेर तपाईंले सुरूमा जुन प्रश्न गर्नुभएको छ, यदि हो भने पनि यसमा के फरक पर्छ र ? अरु कुरा जस्तै यौन पनि एउटा सामान्य कुरा हो, यद्यपि मेरो उपन्यास यससँग सम्बन्धित मात्रै छैन । मान्छेभित्र लुकेको हरेक वासनाको प्रतिनिधित्व गर्छ यस उपन्यासले । तर यौनका कुराहरू पनि आएका छन् किनभने त्यो लेख्नैपर्ने थियो । मैले समाजमा लुकेका कुराहरू खोतल्ने क्रममा यौनको कुरा पनि आयो र लेखेँ । त्यसैले भन्न सकिन्छ, यो पुस्तक मान्छेभित्र लुकेका वासनाहरू, जुन लुकेर बसेका छन् र तिनले विविध घटनाहरू घटाइरहेका छन्, त्यसका बारेमा हो । ती वासनामध्ये यौन पनि स्वभाविक रूपमै आउँछ । जस्तै– ‘सजनी’ नामकी पात्र छिन् उपन्यासमा । उनीभित्र विदेश जाने वासना छ । समाजमा आफ्ना सन्तानलाई विदेश पठाउन चाहनेहरूको वासना पनि छ । विदेश पठाउन पाइन्छ भने आफ्नैनातेदारसँग बिहे गररे पठाउन पनि तयार हुन्छन् मान्छेहरू । यस्तै यस्तै कुरा उपन्यासमा उठान गरिएको छ । यी उठानका क्रममा यौनका कुरा पनि आएको छ ।
यो उपन्यास लोकार्पण हुनु अगावै एउटा समीक्षा आएको थियो, जसको शीर्षक ‘जब दाजुबहिनीकाबीच मै सेक्स हुन्छ’, समीक्षाभित्र टहल्दै गर्दा दाजुबहिनीको सेक्सलाई पनि तार्किक हिसाबले ठीक हो भन्ने खालको भाव थियो, के दाजुबहिनीबीचमा सेक्स हुनु समान्य हो ? यसबारेमा उपन्यासमा कसरी व्याख्या गरिएको छ ?
यसका लागि तपाईंले सबैभन्दा पहिला उपन्यास पूरै पढ्नुपर्ने हुन्छ । उपन्यासमा भएका कैयौँ कुरामध्ये एउटा घटना मात्रै हो, दाजुबहिनीबीचको सेक्स । त्यो पनि एउटा दुर्घटना हो । दाजुबहिनीबीच दुर्घटना भई नै सकेपछि कि त यही कुरालाई लिएर बहिनीले आत्महत्या नै गर्नुप-यो या जीवनभर तनाव झेल्नुप-यो । तर आफूले बुझेका विविध तर्कहरू लगाएर त्यसबाट उम्कन खोज्नु उपन्यासकी बहिनी पात्रको क्षमता हो ।
उपन्यासमा कतै पनि दाजुबहिनीबीच यौन सम्बन्ध हुनुपर्छ भनिएको छैन । यस्तो हनुुहुँदैन, तर कतिपय अवस्थामा भइरहेको छ भन्न खोजिएको छ । समाजको ऐना हो यो उपन्यास, त्यसैले यो प्रसंग पनि आएको छ र समीक्षाको शीर्षक यही भयो । कुरा यति मात्रै हो ।
यो उपन्यास युवाको समसमायिक परिस्थितिबाट उठाइएको विषय हो भन्ने कुरा बुझ्न सकिन्छ । आजको युवाले सोच्ने, बोक्ने विचार र त्यसका आयमलाई कसरी उठाइएको छ ?
विशेष गरी अहिलेका युवाहरू कतातिर गइरहेका छन्, उनीहरू कसरी सोच्छन्, समाजमा महिलाहरूलाई हेर्ने दृष्टिकोण कस्तो छ जस्ता विषयहरू यसमा उठाइएका छन् । एउटी महिलाले पनि एक जना पुरुषले जसरी नै जीवन बिताउन सक्छे भनेर देखाइएको छ । समाजबाट हेपिएका, दबिएका महिलाहरू पनि कसरी त्यसबाट पार हुन सक्छन्, यदि पुरुषले जस्तै खुलेर कुनै महिलाले जीवन बिताउन चाहन्छे भने उसले केकस्ता समस्या भोग्नुपर्छ भनेर पनि यसमा बताउने कोसिस गरिएको छ ।
आध्यात्मिक बाटोको लागि वासना सबैभन्दा पहिला त्याग गर्नुपर्ने कुरा हो, आजको भौतिक संसारमा वासनाले कसरी मानिस दुःखी बन्दै गइरहेको छ र के वासनारहित समाजको कल्पना आजको युगमा गर्न सकिएला ?
आध्यात्मिक बाटोका लागि वासना त्याग्नुपर्दैन, बरु वासनाका बारेमा बुझ्नुपर्छ । वासनारहित समाजको कल्पना गर्न सकिँदैन, तर यसलाई सहज बनाउन सकिन्छ । वासना दबाएकै कारण मानिसहरू दुःखी बनेका हुन् । यसका बारेमा नबुझेका कारण हामीले समस्या झेलिरहेका छौँ । तर बुझेपछि कुनै समस्या छैन । हरेक मानिसमा वासना हुने भएकाले यसलाई हटाउन सम्भव नै छैन, तर बुझ्न सम्भव छ ।
उपन्यासमा एउटा महत्वपूर्ण विषय पनि उठाइएको रहेछ, जसरी पुरुषका लागि आफ्नो काम इच्छा परिपूर्तिको लागि वेश्यालय छन् त्यसरी महिलाको लागि पुरुष वेश्यालय किन छैन ? पितृसत्तात्मक समाजको उदाहरणको रूपमा यसलाई पनि दरिलो रूपमा लिन सकिन्छ, उपन्यासले यस्ता विषयलाई उठाएर संस्थागत गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
अहिलेलाई संस्थागत नहोला, आफ्नो ठाउँमा छ । सम्भावना नभएको कुरा पनि त उपन्यासको विषयवस्तु हुन सक्छ नि ! समाजमा घटिरहेको, देखिइरहेको कुरा लेख्न त सकिन्छ नि ! महिलाहरूले भोगिरहेका कुरा उठाउन त सकिन्छ नि ! भविष्यमा सम्भव होला या नहोला, सम्भव भयो भने यसले ल्याउने रिजल्ट कस्तो होला भन्ने कुराहरू फरक छलफलका विषय हुन् ।
साहित्य के हो जस्तो लाग्छ र यो समाजको लागि किन महत्त्वपूर्ण छ ?
साहित्य समाजको दर्पण हो । अर्को भाषामा भन्ने हो भने साहित्य, कला आदि जहिले पनि अगाडि अगाडि हुन्छन् र समाज तिनको पछिपछि हुन्छ । जब समाजमा कुनै नयाँ घटना देखिन्छन् या घट्न थाल्छन् या कल्पना गर्न सकिन्छन्, ती साहित्यमा लेखिन्छन् । साहित्यले समाजमा भइरहेको र भविष्यमा हुन सक्ने घटनालाई पनि उठान गरिरहेको हुन्छ । साहित्यको कुनै सीमा पनि हुँदैन । त्यसैले समाज यस्तो हुन सक्छ या भइरहेको छ भनेर साहित्यले स्पष्ट देखाइदिन्छ ।
आजको डिजिटल युगमा पठन संस्कृतिको विकास त्यति धेरै हुन सकिरहको छैन ।
प्रविधिको विकाससँगै मानिसलाई भुलाउने अनैकों चौतारीहरू छन्, यस्तो परिस्थितिमा पठन संस्कृतिलाई जोगाउन के पहल गर्नुपर्ला ?
जहाँ जुन कुराको विकास हुन सकिरहेको छैन, सम्भावना त्यहीँ बढी हन्ुछ । पठन संस्कृतिको विकास भइरहेको छैन, त्यसैले सम्भावना पनि धेरै छ । यसका लागि पढ्नुको महत्त्व समाजलाई बुझाउन सक्नुपर्छ । झट्ट हेर्दा मान्छेहरू पढ्न छाडेर अन्य चौतारीतिर लागेका देखिन्छन् । तर जब पढाइले नै मानसिकता विकास गर्ने रहेछ भनेर मानिसहरूलाई थाहा हनुेछ, हुँदै गएको पनि छ, मानिसहरूले पढ्न थाल्नेछन् ।
हाम्रो देशमा भन्दा पश्चिमी देशहरू विकसित छन् । प्रविधिको विकास पनि धेरै भएको छ । तैपनि पढ्ने मानिसहरू प्रशस्तै छन् । नेपालमै आउने पर्यटकहरूमध्ये धेरैले हातमा हामी किताब बोकिरहको देख्न सकिन्छ । त्यही अवस्था बिस्तारै हाम्रो देशमा पनि अवश्य आउँछ । अहिलेका लागि हामीले आफ्नो तर्फबाट परिस्थितिअनुसार विविध कार्यक्रम गरेर यसको महत्व बुझाएर हुन्छ कि, ठाउँठाउँमा पस्ुतकालयहरू बनाएर हुन्छ कि या अन्य कुनै उपाय अपनाएर पहल गरिरहन भने सक्छौँ ।
तपाईंलाई मनपरेको पाँचवटा उपन्यास ?
नेपाली उपन्यासहरूमा ‘सखी’, ‘सेतो धर्ती’, ‘पागल बस्ती’, ‘काँचुली’, ‘मैदारो’
तपाईंलाई मनपर्ने पाँचजना लेखक ?
नेपाली लेखकहरूमा रामलाल जोशी, अमर न्यौपाने, रोशन दाहाल, भूिपन, सरूभक्त श्रेष्ठ
यो उपन्यास जन्माउन कति समय लगाउनुभयो, के कुराले यो विषयमा उपन्यास लेख्ने प्रेरणा मिल्यो र उपन्यासको रचना गर्भ बताइदिनु न ?
मान्छेहरू विदेश जानका लागि जे गर्न पनि तयार हुन्छन् भनेर मैले पढिरहेकी थिएँँ, सुनिरहेकी थिएँ र देखिरहेकी थिएँ । नक्कली बिहे गरेर विदेश जाने नेपालीहरू प्रशस्तै छन्, तपाईंलाई पनि थाहै छ । यही विषयमा मलाई लेख्न मन लागिरहेको थियो । यसरी सोच्दासोच्दै मैले झण्डै दुई वर्ष बिताएँ । धेरै कुराहरू खोजेँ यस विषयमा । मेरो भाग्य नै भन्नुपर्छ, सोही क्रममा एक जना दिदीसँग मेरो भेट भयो । उहाँ अष्ट्रेलिया बसेर आउनुभएको थियो । मेरो सोच यही विषयमा लेख्ने थियो, त्यसैले मैले उहाँसँग धेरै कुराहरू सोधेँ । उहाँले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा बताउनु भयो । मैले उहाँको प्रस्ताव मानेँ र लेखेँ । लेख्न पनि केही महिना लाग्यो ।
पोर्नोग्राफीलाई यस उपन्यासले समटेको छ, आजको समाजमा पोर्न हेर्ने संस्कृति युवादेखि वृद्धसम्म चर्चित छ, पोर्नोग्राफीलाई कतिले सही र कतिले गलत व्याख्या गरेको पाइन्छ, यो उपन्यासले यसलाई कसरी देखाएको छ ?
यसमा यस विषयमा खासै व्याख्या छैन । तपाईंले भन्नुभए जस्तै यस्तो पनि भइरहको छ है भनेर देखाइएको मात्रै छ । खासमा प्रायः लेखकले कुनै पनि कुरा ठोकुवा गर्दैन, देखाइदिन्छ मात्रै । मैले सोही काम गरेको छु ।
वासनालाई दबाएर राख्दा समाजमा बलात्कार र यौन हिंसा जस्ता अपराधका घटना बढेका छन, यौन उदारताको विषयलाई उपन्यासले कसरी उठाएको छ ?
वासना दबाउँदा त्यसले कैयौँ मान्छेहरू, विशेषगरी महिलाहरूको जीवनमा कति असर पारेको छ भन्ने कुरा केही प्रतिनिधि पात्रमार्फत् देखाइएको छ । दबाउँदा उत्पन्न भावलाई कसरी निराकरण गर्ने वा गर्न सकिन्छ कि सकिँदैन भनेर उपन्यासमा उठान गरिएको छ ।
उपन्यासको भीडमा लुकेको वासना पढेपछि पाठकले के फरक पाउने छन् ?
मलाई लाग्छ, यस विषयमा अन्य पुस्तकहरू छैनन् । मैले भेटेको छैन । नयाँ विषय उठान गरिएको हुनाले पाठकले फरक स्वाद त पाउने नै भए । समाज यसरी पनि दबिएको रहेछ, समाजमा यस्तायस्ता घटनाहरू पनि घटिरहेका रहेछन्, समाजको दिशा यतातिर पनि बगिरहेको रहेछ भनेर पाठकलाई अनुभव हुनेछ ।
नयाँ लेखकलाई प्रकाशक पाउन निकै कठिन छ भनिन्छ, तपाईंको अनुभव कस्तो रह्यो ?
खास गाह्रो भएन । पहिला पनि मेरो एउटा उपन्यास छापिइसकेको थियो । त्यसैले मेरो केही प्रकाशकसँग परिचय थियो । मैले आफ्नो पाण्डुलिपी मन्जरी प्रकाशन गृहका सञ्चालक रोशन दाहालज्यूलाई देखाएँ । उहाँले नयाँ विषयको उठान हेरेर यो उपन्यास म छाप्छु भन्नुभयो । छलफल गर्दा कुरा मिल्यो र छापियो ।
अन्तमा स्वतन्त्र प्रश्न, जसमा तपाईंले मन लागेको कुरा भन्न सक्नुहुन्छ ?
मैले मेरो पुस्तक पूर्ण छ या मैले गज्जबको उपन्यास लेखेको छु भन्दिनँ । खासमा मलाई समाजको देखिइनसकेको र भविष्यमा पूरै प्रकट हुन सक्ने पाटो पनि छ है भनेर देखाउनु थियो, जानकारी गराउनु थियो र मैले त्यसको प्रयास पनि गरेँ । महान् लेखकहरूका अगाडि म केही पनि होइन, सिकिरहेको छु । तैपनि सबै जनाले मलाई माया गर्नुभएको छ । पुस्तकका बारेमा यति धेरै प्रतिक्रियाहरू पाइरहेको छु, खुसी लागेको छ । पाठकहरूको सही सल्लाह–सुझावको अपेक्षा राखेको छु । पढिदिनुहोस् र मेरा कमीकमजोरी र राम्रा पक्ष पनि भनिदिनुहोस् । सबै जनालाई मेरो अनुरोध छ ।
प्रतिक्रिया
-
४