पेशाले इन्जिनियर प्रमोद अमात्य लगभग दुई दशक देखि अमेरिकामा कर्म गरिरहेका छन् । कविता, मुक्तक, निबन्धलगायतका विधामा कलम चलाउने अमात्यको फुटकर तथा संयुक्त सङ्ग्रह प्रकाशित छन् । केही महिना अगाडि उनको पहिलो सोलो कृति ‘शुक्रबारे गन्थन’ प्रकाशित भएको छ । आजको पुस्तक वार्तामा उनै सष्ट्रा अमात्यसँग ‘शुक्रबारे गन्थन’बारे सेतोमाटोका लागि जनक कार्कीले गर्नुभएको कुराकानीको सारांश:

१. ‘शुक्रबारे गन्थन’ तपाईँले आफ्नो फेसबूक वालमा नियमित रूपमा चलाउनु भयो, यसलाई पुस्ताकार दिने सोच कसरी पलायो ?

फेसबुकको ‘शुक्रबारे गन्थन’ साथीहरूले मन पराउनु भएकोले फेसबुक परका साथीहरूले पनि मन पराउनु हुन्छ कि जस्तो लाग्यो । साथै, किताबमा निस्कने भएपछि लेखनलाई निखार्न, तिखार्न पाइने लोभ पनि भयो ।

साहित्यिक भेलामा साथीहरूले तपाईंको कतिवटा किताब निस्केको छ सोधेर हैरान बनाउने, त्यसैले यो गन्थनलाई किताब बनाउन कर लाग्यो । साथीहरूलाई मेरो कुनै किताब प्रकाशित छैन भनेर कत्ति भन्नु भन्ने लागे किताब निकाल्ने निर्णय गरेको हुँ ।

२. म आफै पनि तपाईको ‘शुक्रबारे गन्थन’को नियमित पाठक हुँ, मैले ‘शुक्रबारे गन्थन’ पढदा महशुस गरेको कुरा चाहिँ यो एउटा संस्मरण शैलीमा हास्यरस देखि जीवन दर्शन बोकेको निबन्धको विधा हो, तपाईं आफू चाहिँ यसलाई साहित्यको कुन विधा भन्न रुचाउनुहुन्छ र ‘शुक्रबारे गन्थन’ले पाठकलाई के दिन्छ ?

मूलतः यो निबन्ध हो भन्न रुचाउँछु । कसैले निसंस्मरण पनि भन्छन् ।

३. ‘शुक्रबारे गन्थन’ आख्यान हो कि गैरआख्यान हो ?

यो एकोहोरो संस्मरण हैन, सिर्जनात्मक रचना हो । यो अलि दही चिउरे हो भन्दा फरक नपर्ला – आख्यान जस्तो, गैर आख्यान जस्तो । (मलाई त दही चिउरा मीठो लाग्छ ।)

४. अमेरिकामा बसेर नेपाली भाषा र साहित्यको उत्थान गर्न लागिपर्नुभएको छ, वास्तवमा नेपालमा हुँदा बढी लेख्नुभयो कि अमेरिका गएपछि बढी लेख्न थाल्नुभएको हो ?

नेपालमा धेरै पहिले थोरै लेखियो । कहिले पढाइ, केहिले घरपरिवार र जागिर भनियो खासै लेखिएन । अमेरिका आएपछि सुस्तरी लेख्न थालियो । वास्तवमा भन्ने हो करले लेखियो । साथीभाइहरूसँगको जमघटमा साथीहरू नेपाली राजनीतिको कुरा धेरै गर्ने, अमेरिकी राजनीतिको कुरा धेरै गर्ने ।

आफूलाई त्यता खासै रुचि नभएकोले विकल्पमा साहित्य रोजियो । अर्को कुरा, साथीहरू गाउने, नाच्ने । आफूलाई त्यो पनि फिटिक्कै नआउने । त्यसैले म नेपाली चर्चित कविहरूको कविता वाचन गर्थेँ । साथीहरूले मन पराए र उनीहरू पनि कविता सुनाउन सुरु गरे । पछि आफ्नै कविता, हास्य मुक्तक सुनाउन थालेँ र साहित्यतिर पाइला चल्न थाल्यो ।

५. पेशाले इन्जिनियर हुनुहुन्छ, के को इन्जिनियर चाहिँ थाहा छैन, इन्जिनियर भएर पनि नेपाली भाषा र साहित्यमा हजुरको रुचि कसरी बढ्यो ?

सायद समाजले के ठान्छ भने ढुङ्गा, गिट्टी, बालुवा, फलामे छड, मेसिन आदिसँग खेल्ने इञ्जिनियरहरूको मुटु पनि त्यस्तै हुन्छ तर साँच्चै भन्ने हो भने साहित्य, सङ्गीतमा इञ्जिनियरहरू बढी रमाउँछन् ।

प्रवासमामात्र २०० भन्दा बढी इञ्जिनियरहरू साहित्यमा लागेका छन् । म लगायत १७ प्रवासी इन्जिनियरहरूको कथा ‘आँगन छोडेपछि’हालसालै प्रकाशित भएको छ । यसलाई इञ्जिनियरद्वय कृष्ण कुसुम र केशवराज ज्ञवालीजीले सम्पादन गर्नु भएकोछ ।

६. लेखन नसा हो भन्छ्न्, यो नसा लागेपछि नलेखी बस्नै सकिन्न, तपाईको लागि लेखनले आफ्नो जीवनमा कत्तिको महत्त्वपूर्ण स्थान ओगटेको छ जस्तो लाग्छ ?

नसा नै त हैन, तर लेख्दा मजा आउँछ, आनन्द आउँछ । यत्तिकै लेख्छु भनेर लेख्न सक्दिन । दिमागमा फुरेपछि मात्र लेख्ने हो । लेखेपछि धेरैले चिन्न थाले त्यसैले अब यो जीवनको एउटा हिस्सा भएको छ ।

७. मान्छेले आफ्नो परिचय र अस्तित्वको लागि लेख्छ्न भनिन्छ, तपाईं के को लागि लेख्नुहुन्छ ?

मेरा हँसिला रसिला रचनाहरूले मलाई मेरो परिचय दिएको छ । मेरा एक मित्र छन् । शुरु शुरुमा कतै जमघटमा भेट भयो भने “दाइसँग मेरो परिचय भएको जस्तो लाग्छ, नाम के प‍र्‍यो दाइको ?” भन्ने । अर्को भेटमा त्यही प्रश्न, अर्को भटमा पनि फेरि त्यही प्रश्न । अहिले साथीले फोन गरेर “यसपालि दाइको शुक्रबारे गन्थन आएन त ?” भनेर सोधपुछ गर्छन् ।
लेखेर मलाई त खुसी मिल्छ नै साथै पाठकहरू पनि रमाउँछन्, मुस्काउँछन् र कतै मजाले हाँस्छन् । त्यसैले पाठकहरूको खुसीका लागि पनि लेख्छु ।

८. नेपाली साहित्यमा भैरव अर्यालले जुन किसिमको उत्कृष्ट र विशिष्ट हास्यव्यङ्ग्य साहित्य लेख्नुभयो त्यसपछि त्यसलाई निरन्तरता दिने साहित्यकारको अभाव भइरह्यो, तपाईँको ‘शुक्रबारे गन्थन’मा हास्य गन्ध मज्जाले पाइन्छ, के तपाईको यो कृतिले भैरव अर्यालको स्वादलाई पुनर्जागरण गर्न खोजेको हो ?

भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य विधाका जग हुन्, स्तम्भ हुन् । मैले उनको ‘जय भुँडी’ तीन पटक किनेको छु । उनको रचनाको गहिराइ हामीले न सक्छौँ, न त नाप्न सक्छौं । उनी हामी सबैका प्रेरणाका श्रोत हुन् ।

९. तपाईंलाई मनपर्ने पाँच नेपाली लेखक ?

लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्र सिंह प्रधान, बिपी कोइराला, खगेन्द्र सँग्रौला, भैरव अर्याल र गुरुप्रसाद मैनाली हुन् ।

१०. तपाईँलाई मनपर्ने पाँचवटा नेपाली पुस्तक ?

जय भुँडी, सेतो बाघ, लक्ष्मी निबन्ध सँग्रह, बर्सादी दिनहरू, जुनकीरीको सङ्गीत ।

११. पुस्तकको भीडमा ‘शुक्रबारे गन्थन’मा के कुराको नयाँ स्वाद पाइएला र शुक्रवारे गन्थन कस्ता पाठकको लागि बनेको कृति हो ?

‘शुक्रबारे गन्थन’ नामैले नौलो छ । कुन लेखकले आफ्ना रचनाहरूलाई गन्थन भन्न रुचाउँला ? त्यसैले यो किताब फरक विषय र शैलीको छ । अप्ठेरा कुरा पनि सहज ढङ्गले भन्न खोजेको छु । यो किताब सतहबाट पनि, अनि गहिराइमा पनि सौम्य छ । पाठक आफू अनुकुलको गहिराइमा डुबुल्की लगाउन सक्छन् । एकै बसाइमा सक्छु भन्नेलाई पनि मजा, एक एक अंश मजालिँदै पढ्छु भन्नेलाई पनि मजा छ । यसमा मेरो मात्र हैन, पाठकले आफूलाई नै किताबको पात्रको रूपमा पाउनेछ ।

१२. अन्तमा एउटा स्वतन्त्र प्रश्न यसमा तपाईले मन लागेको कुरा भन्न सक्नुहुन्छ ?
(यो किताब लेखेपछि थाहा भयो इञ्जिनियर बन्न जति गाह्रो छ, लेखक बन्न त्यो भन्दा कम गाह्रो रहेनछ ।

प्रतिक्रिया

सम्बन्धित खवर