✍️ असिम सागर
हुन त
बादल र भव्य महलको भित्ता छेंडेर
ढुक्कसँग लागिरहन कहाँ पाउँछ र घाम ?
धर्तीलाई एकतमासले हेरिरहन कहाँ पाउँछ र जून ?
कतै आनन्दले बसिरहन कहाँ पाउँछ र हावा ?
निस्फिक्रिस उडिरहन कहाँ पाउँछन् र चराहररू ?
आफ्नै सुरमा बगिरहन कहाँ पाउँछन् र खोलानालाहरू ?
तर म त मान्छे हुँ
प्रकृतिले झैं सबथोक सहन कहाँ सक्छु र चोट ?
नसहेर पनि कसले सुन्छ र यो गरीबको आवाज ?
घरको बार्दलीबाट
उ त्यो हेर त छोरा भन्दै
आफ्नै आँगनमा आरु फुलेको हेर्ने कत्रो रहर थियो
काईला साहुको लुगा दोकानमा गएर
जामा कुन मनपर्छ छोरी ? सोध्न मन थियोे
जिस्काउँदै प्रियसीलाई
तिमीलाई के ल्याईदिँउ ? सोध्न मन थियो
र मन थियो अंशबण्डा नमिलेर रिसाएको
आफ्नै भाईसँग सँगै बसेर दशैमा बाको आशिर्वाद थाप्न
तिहारमा बहिनीको हातको टीका र माला पहिरिन
यस्तै के-के सोंच्दै थिएँ
खल्तीमा मोबाइलको घण्टी बज्यो
उठाएँ छलेर कम्पनी मेनेजरको आँखा
कानमा पस्यो छोराको मसीनो तोतेबोली
एलो बाबा !
दतैमा खती कात्ने भनेको किन आनु भन तो ?
सुन्नेवित्तिकै छोराको तोतेबोली
सम्झेर जन्मेदेखि काखमा लिन नपाएको पीडा
सहेर यादहरुको कोर्रा
यसरी खसेछन् कि आँसुका बलिन्द्र धारा
छोरालाई जवाफ फर्काउने शब्द होइन
भक्कानिदै आँसु पुछ्ने रुमाल खोजिरहेछु यतिबेला ।
प्रतिक्रिया
-
४
