✍️ असिम सागर

गजल – एक

जसले यो दुनियाँलाई हेर्ने आँखा निकाल्छ
मानिलिउँ उसले भित्ताबाट ऐना निकाल्छ

बाँचुञ्जेल रुपैयाँ रुपैयाँ भन्दै हिँड्छ मान्छे
मरेपछि खल्तीबाट कसले रुपैयाँ निकाल्छ

बा बरु मेरो अंश काटेर त्यो भाईलाई दिनु
यदि चित्त बुझेन भन्छ र लफडा निकाल्छ

कसैले माग्यो भने हात काटेर दिने मान्छे हुँ
खै किन यो दुनियाँ नानाथरी कुरा निकाल्छ

उ भन्छ म जस्तो बलवान सायद कोही छैन
हेरुँ आकाशबाट कसरी चन्द्रमा निकाल्छ

अलिकति के उक्लिन्छ सफलताको सिढी
हिँडनलाई खुट्टा छैन उडने पखेटा निकाल्छ

जसरी जलाईन्छ मुढा आगोमा हो त्यसैगरी
जलायो भने यो शरीरले पनि धुवाँ निकाल्छ

उसदिन यो ‘असीम’को अस्तित्व मेटिने छ
जुनदिन जमिनबाट आफ्नो पैताला निकाल्छ

गजल – दुई

बग्नु शिवाय अरु काम नभएको
म उर्लेको नदी हुँ लगाम नभएको

घरी यो बाटो हिँड्छु घरी त्यो बाटो
कतै भेटिएन बाटो जाम नभएको

कहाँ सजिलो छ र जिन्दगी घचेट्न
बर्षौं भयो खल्तीमा घाम नभएको

तँलाई कुल्चेर जो हिँड्छन् हिँड्न दे
धुलो कहाँ छ र टेकेर डाम नभएको

ए नदी ! पख् न पालो म दिन्छु, पख्
युगौं भयो तँलाई आराम नभएको

तपाईं शास्त्र पढ्नुस् या कुनै पुस्तक
कुनै वाक्य छैन पुर्णविराम नभएको

प्रतिक्रिया

सम्बन्धित खवर