-असिम सागर

आफ्नै पाखो बारीमा हलो जोतेर
म स्वाभिमानले बाँच्न खोजें
तिनीहरूले मलाई होंच्याएर हली भने

पहाडका उकाली ओरालीहरुमा भारी बोकेर
म ईमानले बाँच्न खोजें
तिनीहरूले मलाई हेपेर ढाँक्रे भने

यसरी
ब्राण्डेड जुत्ताले कुल्चिएर
चुँडिएको म थोत्रो पुरानो चप्पल सहर छिरें

सहर छिरेपछि लाग्यो –
गाउँमा त बरु धुलो बनेर एकछिन भएपनि
किसानको लुगामा टाँसिन पाउँथे

तर सहरमा त
कसैको जुत्ताको सोलमा टाँसिन पनि
जुत्ताकै टेकाई सहनु पर्दोरहेछ
बाजले चिललाई लखेट्नु
चिलले पंक्षीलाई खेद्नु
पंक्षीले ससाना किराफट्याङ्ग्रा खानु
सायद प्रकृतिकै नियम रहेछ सम्झें
र सडक किनारमा नाङ्लो पसल खोलें

तिनीहरूले मलाई नाङ्ले भन्दै लखेट्न थाले
ठेलागाडामा सब्जी बेचें
तिनीहरुले मेरो ठेला पल्टाईदिए
र मलाई पाखे भन्दै विस्थापित गराए

अब म कुन देशको शरणमा जाउँ ?
कुन देशको शरणमा जाउँ अब म ?

यसरी
गाउँमा तिर्खा बाँड्दै हिँड्ने खोला
एकदिन नदीमा हाम फाल्यो
र बग्दै-बग्दै समुन्द्र पुगेर बेपत्ता भयो

अचेल मेरो गाउँ
तिनै बेपत्ता खोलाको पर्खाइमा
टुहुरो बालक झैं झोंक्राएर बसेको छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर