
नेपाल संवतको नयाँ वर्ष ११४२ सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौँ उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरूपमा मनाइन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत हो । यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । त्यसैले कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँ उपत्यकामा छ ।
लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यतासमेत पाएको बताइन्छ ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो । लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले नेपाल संवत मौलिक छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
म्ह पुजा चन्द्रमानक नेपाल संवत अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा)तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पूजा गरिन्छ ।
म्हः पूजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्हः पूजाका लागि परिवारको सबैभन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय बनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्ह पुजालाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको छ ।
तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कात्र्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
आफूले आफैलाई पूजा गरेर आत्मशक्ति उँचो पार्ने प्रचलन म्हः पूजा – कवि, कथाकार, स्तम्भकार अभय श्रेष्ठ
नेपाल संवत् दानवीर र करुणामय सभ्यताको स्मारक हो । एक जना व्यापारीले जनताको ऋण तिरिदिएर तिनलाई मुक्त गर्नु सामान्य कुरा होेइन । काठमाडौँ इलाछेँका व्यापारी शंखधर साख्वाले काठमाडौँ र भक्तपुरका सम्पूर्ण जनताको ऋण तिरिदिएर तिनलाई मुक्ति दिएको दिनको सम्झनामा सुरु भएको यो संवत् नेवारहरूले मात्र होइन, सम्पूर्ण नेपाली र मुक्तिकामी मानव संसारले नै श्रद्धापूर्वक मनाउनु जरुरी भएको उनी बताउँछन् । सो अवसरमा म मुक्तिकामी मानव संसारलाई नै हार्दिक शुभकामना र बधाई दिन चाहन्छु ।
म्हः पूजा
म्हः पूजा नेवार समुदायको मौलिक पहिचान हो । नेपाल संवत्को नयाँ वर्ष सुरु हुने दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदा (कछलाथ्व पारु) मा नेवार समुदायका हिन्दु तथा बौद्धले आफूले आफैलाई पूजा गरेर आत्मशक्ति उँचो पार्ने प्रचलन हो म्हः पूजा । म्हः भनेको शरीर हो, त्यो आफ्नै शरीरको पूजा हो । सम्पूर्ण ब्रह्माण्डकै शक्ति मान्छेको शरीरभित्र छ भन्ने मान्यता अनुरूप यो पूजा गरिन्छ । त्यो पूजा नेवार समुदायमा केही छिनमै सुरु हुन्छ ।
नेपाल सवंत, म्हः पूजा र तिहार
यी तिनै चाड एकै समय पर्ने हुनाले अन्तर्सम्बन्धित हुने नै भए । नेपाल संवत्को नयाँ वर्ष सुरु हुने दिन म्हः पूजा गरिन्छ । सामान्यतया अन्य समुदायले मनाउने यमपञ्चक र नेवार समुदायले मनाउने तिहारमा केही फरक छ । नेवार समुदायले यसलाई स्वन्ति नखः भन्छन् । यो भनेको तीनदिने भोज हो । यस समुदायले लक्ष्मीपूजा, म्हः पूजा र भाइपूजा मनाउँछन् । यिनै तीन दिनलाई स्वन्ति नखः भनिएको हो । आजभोलि सहरतिरका नेवार समुदायले पनि काग र कुकुर तिहार समेत मनाउन थालेका छन् । गाउँघर र पहाडतिरका नेवारले त ऊबेलैदेखि मनाएका हुन् ।
चाडपर्व र बिदाको सदुपयोग
सामान्यतया बिदाको समय भनेर दसैँ र तिहारलाई लेखकहरूले सिर्जना गर्ने समयका रूपमा लिन्छन् । मेरो भने त्यस्तो रुटिन कहिल्यै भएन । समय मिल्दा र फुर्दा जुनसुकै बेला लेखपढ गर्ने काम हुन्छ । खासगरी सिर्जनात्मक लेखन चाहिँ भित्र कतै, सायद हृदय र दिमागमा एकै चोटि झिलिक्क केही बलेजस्तो, केही आविष्कार भएजस्तो आभास हुन्छ । तत्काल लेख्ने समय भएन भने पनि त्यसलाई दिमागमा सुरक्षित राखिन्छ र फुर्सदमा उतार्ने काम हुन्छ । अखबारी लेखन भने अर्कै कुरा हो । त्यो रुटिनबद्ध, दिनचर्या वा जीवनशैलीमै पर्छ ।
देखासिकीले नवधनढ्य र युवायुवतीलाई प्रभाव पारेको छ – कवि रामगोपाल आशुतोष
नेपाल संवत नेपाली माटोको मौलिक सम्बत हो । नेपाल र नेपाली जनतालाई ऋणमुक्त गराई प्रचलनमा ल्याइएको सम्बतलाई राणाहरूले जस्तै जातीय सम्बतका रूपमा नलिइ राणाकालपूर्वजस्तै आफ्नै मौलिक पहिचान र सम्पूर्ण प्रकारका ऋणहरूबाट उन्मुक्त भई आफ्नै राष्ट्रको मौलिकतामा बाँच्ने हौसला र समताभाव मिलोस् भन्दै नेपाल सम्बत ११४२ न्हुदँको उपलक्षमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना अर्पण गर्दछु ।
म्हः पूजा आत्मशुद्धी पूजा हो
यो आत्मशुद्धी पूजा हो । अग्नि, पानी, अन्न, प्रकृतिका अनेक उत्पादन र रङहरूलाई साक्षी राखेर प्रण गर्ने दिन । यो दिन हामी स्वदेश वा आफ्नै गाउँठाउँमा भएकाहरूले परिवारका सम्पूर्ण सदस्यहरू सङ्गै बसी आफ्नो स्वत्वमाथि गौरव गर्दै आत्मप्रशंसा ९क्भाि एचबष्कभ० गर्छौ । सम्पूर्ण प्रकारका विकार, नकारात्मक विचार, कूसङ्गत, हत्याहिँसा र परनिन्दाबाट पर रहने प्रण गर्दै आत्मशुद्धि, स्वस्थ्य, शान्त र समृद्धजीवनको कामनासहित एकअर्कालाई शुभाशीष र शुभेच्छा आदानप्रदान गर्दै यो चाड मनाउँछौँ ।
आप्रबासीको सरसङ्गतले र देखासिकीको प्रभाव
यो नियमित चाड हो । हामी सभ्य र शान्त समुदाय हौँ । आप्रबासीको सरसङ्गतले र देखासिकीले नेवार विशेष गरेर नवधनढ्य र युवायुवतीलाई प्रभाव पारेको छ ।
नत्र हामी सादा जीवन र सादा–स्वस्थ्य खानेकुरा खाने जाति हौँ । दैनिकजस्तै जीवन छ । यसपाली भने नयाँ घरमा मनाउने भएकाले केही फरक सोच छ । केही साथीभाइ बोलाएको छु । केही फरक मिष्ठान्न भोजनको रेसिपी तयार गर्दैछु । नेवार मौलिक र साउथ इन्डियन परिकार मिक्स ।
तिहार, म्हः पूजा र नेपाल संवतको सम्बन्ध
तिहार रङहरूको चाड हो । यद्यपि यो नेपाली मौलिक चाड होइन । नेपालमा यसको लोकप्रियता निकै ठूलो छ । जनचाहना र जनभावनाको कदर गर्नुपर्छ । यो चन्द्रमास अनुसारको चाड भएकाले तिहारको महत्व ठूलो छ । यो कृष्णपक्षीय पर्व हो । उज्यालोको चाड । मैले माथि पनि भनिसकेँ नेपाली जनतालाई ऋणमुक्त गरेर नयाँ जीवन थालनी भएको प्रतीकका रूपमा यो चाड दीपावली गर्दै अब आइन्दा ऋण आदिमा नफसी आफूले आफैँलाई चिनी स्वत्वमा बाँच्ने प्राण गर्दै सामुहिक समृद्धिमा विश्वास गर्दै यो चाड मनाइनुपर्छ ।
मैले आफ्नो चेतनालाई प्रयोग गरिरहेको छु
म अहिले एक प्रकारले विचार शून्य छु । मैले आफ्नो पाठक गुमाइरहेको अवस्था हो । यो समय मैले आफ्नो चेतनालाई प्रयोग गरिरहेको छु । आफ्नो आत्मालाई सुनिरहेको छु । आफूलाई प्रेम गरिरहेको छु । मेरा २० वर्ष अरूलाई चिनाउन र अरूको सिर्जना पाठक, दर्शक र स्रोतासम्म पुर्याउन बिताएँ । थुप्रै सम्मान, थुप्रै पुरस्कार, नाम र इज्जत कमाएँ ।
अब दाम कमाउनु पनि पर्छ । धन केही होइन । तर, धेरै रहेछ भन्ने बोध भयो । नाम त मरेपछि कमाउने रहेछ । एकाक्षयकोष खडा गरेर मर्न पाइयो भने कमसेकम पाउनेले सम्झन्छन् ।
२०७५ मा अन्तिम कवितासञ्चयन र २०७६ मा उपन्यास प्रकाशन गर्ने योजना पूरा हुन सकेन । पहिला अग्रज र दल, वर्ग र पदप्रतिष्ठाका स्वानामधन्यहरूसँग उठबस गरेर चिनजान बढाउँछु । समालोचक, समीक्षक, प्राध्यापक, सम्पादक, प्रकाशक र पृष्ठसांयोजकसँग खासै घुलमिल छैन । अब हुनुपर्छ । जातीय, गुट र समूहका साथीभाइसँग यसो हप्तादिनमा चियापानी खाँदै परिचय नवीकरण पनि गर्नुछ । अनि योजना कार्यान्वयनमा जानुपर्ला !
प्रतिक्रिया
-
४