– योगेन्द्र तिमिल्सिना
आकाशमा केहीवेर ठुल्ठूला मेघ गर्जनहरु भए, विजुली चम्क्यो र हुरी–बताससँगै पानी पर्न थाल्यो । एकैछिनमा खाल्टा–खुल्टीहरु पानीले टम्म भरिए, पृथ्वी जलमग्न भयो र बगैंचाका बोट–बिरुवाहरु भुइँमा लत्रिए । मेरो जिन्दगीमा त्यो रात सबैभन्दा अँध्यारो थियो । बिना कुनै कसूर एउटी नारी दण्डित हुनुपरेको रात थियो त्यो । कोहाहल, भयग्रस्त रात, त्यसपछि सन्नाटा, सम्पूर्ण सन्नाटा ।
बाबु–आमाको कमजोर आर्थिक अवस्थाले गर्दा धेरै पढ्न पाइँन, दशौं कक्षासम्म मात्र पढेकी छु । सम्पत्तिको नाउँमा बाबाको एउटा स–सानो घर र घडेरी छ भीमढुङ्गामा । खेतीपाती केही छैन, बुवा राजनीति गर्नुहुन्छ । राजनीतिक सम्पर्ककै आधारमा उहाँले मलाई एउटा संस्थानमा अस्थायी पियन को जागीर बन्दोबस्त गरी दिनु भएको थियो । भाइ सानै थियो, नजिकैको स्कूलमा पढ्थ्यो । आमा दमको रोगी हुनुहुन्छ, मुश्किलले घरको काम सम्हाल्नु हुन्थ्यो । सानै जागीर भए पनि त्यसको आम्दानीबाट मैले घरखर्च र औषधीमूलोको खर्च टारेकी थिएँ । परिवारमा म एक जिम्मेवार सदस्य थिएँ, लाग्थ्यो मेरो अनुपस्थितिमा परिवारको जीवनयात्रा असम्भव नै थियो । तर पनि नियतिले मलाई सधैं माइतघर बस्न दिएन, म विवाह बन्धनमा बाँधिएँ । म निरुता उप्रेतीबाट निरुता अर्याल भएँ र अर्को एउटा परिवारको सदस्य भएँ ।
मेरो लोग्नेले पनि धेरै पढेको थिएन, उ एस.एल.सी. पाससम्म थियो । परिवारका अन्य सदस्यहरुमा सासु–ससुरा, नन्द र दुई भाइ देवरहरु थिए । ससुरा एउटा सानो सरकारी पदबाट अवकासप्राप्त कर्मचारी थिए । उनको मासिक बाह्रसय रुपैयाँ पेन्सन आउँथ्यो । नन्दको विवाह गर्ने उमेर भएको थियो । देवरहरु स्कूलमा पढ्दै थिए । लोग्नेको त्यस्तो स्थायी कुनै बन्द–व्यापार वा स्थायी जागीर थिएन । उ शहरमा ससाना ठेक्कापट्टा वा दैनिक रोजगारीका कुनै काम गथ्र्यो, त्यो पनि नियमित थिएन । त्यसैले धेरैजसो उ शहर–बजार घुमेरै बिताउँथ्यो । भिंmगटीको छाना भएको, ढुङ्गा–माटोबाट बनेको एउटा पुरानो हाम्रो घर थियो गोकर्णमा । एक रोपनीभन्दा केही बढी जग्गा घरसँगै जोडिएको थियो । घरको छानामाथि ठाउँ–ठाउँमा झारहरु उम्रेका देखिन्थे, त्यसमाथि वर्षाकालमा फर्सी र घिरौंलाका लहराहरु तँछाड–मछाड गरी छानाभरी फैलिन्थे । काँक्रा, लौका, चिचिण्डो, करेला थाँक्राभरी लटरम्म फलेका देखिन्थे । मकैबारीमा दुइटा आरु, एउटा अम्बा र एउटा भोगटेको बोट थियो । शायद धेरै भनिरहनु नपर्ला, त्यो परिवार पनि सम्पन्न थिएन । आफ्नो भएको त्यो सानो घडेरीले पनि घरका परिवारबाट स्याहार–सुसार पाएको थिएन । लोग्नेले धेरै पढेको थिएन, तर सहज जागीरको खोजीमा शहर भौतारिन्थ्यो उ । घरको कुनै सदस्य पनि त्यस जमीनप्रति कृतज्ञ थिएन, मानौं सबै त्यस जमीनलाई हेलाको दृष्टिले हेर्थे ।
नयाँ घरमा प्रवेश गर्ने बित्तिकै ममा नयाँ जाँगर र उत्साह आयो । चुल्हो–जुठो गर्ने, बारी खन्ने, मकै रोप्ने, गोड्ने जस्ता सम्पूर्ण कामहरु मेरा जिम्मामा आए । अफिसबाट बाँकी रहेको समय र श्रम मैले यही घर र माटोमा लगाएँ । यही वातावरण र माटोको सुगन्धसँगै मेरा दिनहरु बित्न लागे । बिदाका दिनहरुमा रमाइलो गर्न साथीहरुकहाँ जाने अथवा किनमेल गर्न शहर जाने, मनोरञ्जनको निम्ति सिनेमा हेर्न जाने अथवा माइत जाने सबै कुराहरु मेरो निम्ति क्रमशः सहज भएनन् । तलब बुझेर अफिसबाट ल्याउँथें र जस्ताको तस्तै लोग्नेका हातमा सुम्पी दिन्थें । मेरो लोग्ने न त मसँग कुनै दिन घुमफिर गर्ने कुरा गथ्र्यो न म आफू नै त्यो चाहन्थें । उ मलाई नराम्रो पनि गर्दैनथ्यो, बरु कहिलेकाहिं माया गरेजस्तो गथ्र्यो । लोग्नेले त्यो रुपैयाँ कसरी खर्च गथ्र्यो, घर–परिवारमा खर्च गथ्र्यो वा गर्दैनथ्यो भन्नेसम्म पनि मलाई थाहा थिएन । विहे भएको वर्षदिन पनि नपुग्दै मेरो एउटा छोरो जन्म्यो । कोठेबारीका कलकलाउँदा मकैका बोटहरुसँगै छोरो हुर्काउने मेरो जिम्मेवारी झन् बढ्यो, तर परिवारका सदस्यहरुको चाहना भने म घरको काम अझ बढी गरुँ भन्ने थियो । घरको काम सिध्याएर अफिस जाँदा प्रायः ढिलो हुने गथ्र्यो । तैपनि मेरो उत्साह मरेको थिएन ।
दिन सधैं एकसमान हुँदो रहेनछ, परिस्थिति पनि परिवर्तनशील हुँदो रहेछ । मेरो जागीरको म्याद समाप्त भयो । हिसाब–किताब गर्दा झण्डै एकलाख रुपैयाँ मेरो हात पर्ने देखियो । मैले मेरो लोग्नेलाई यो कुरा नढाँटी भने । उसले भन्यो, “त्यो रकम मलाई देउ, म व्यापार गर्छु” ।
“पछि व्यापार गरेपनि हुन्छ, तर अहिले हामी सगोलमा छौं, त्यो मेरो निजी आर्जन हो, मैले छोराको भविष्य पनि हेर्नु पर्छ, अहिले म त्यो रकम आफ्नै नाउँमा बैंंकमा सुरक्षित राख्छु, भविष्यमा यो पैसा तिमीलाई नै काम लाग्छ” मैले भनें ।
उसले त्यो पैसा घरमा ल्याउन मलाई कर गरी रह्यो, मैले त्यो पैसा घरमा ल्याइन, बैंकमा खाता खोली जम्मा गरें । पानी सधैं स्वच्छ, शान्त, जीवनदायी र गतिमय हुँदैन । पानीको उद्दण्ड र दुर्गन्धमय प्रवाह पनि हामीले देखेका छौं । आगोले पनि कहिलेकाहिं विभत्स रुप लिन्छ । मानिसको मस्तिष्कको कुनै कुनामा नीचता लुकेर बसेको हुँदोरहेछ । मौका पाउने बित्तिकै त्यो कुनै न कुनै रुपमा प्रकट हुँदो रहेछ । बैंकमा पैसा जम्मा गरेर घर फर्र्केकै दिन राति उसले मलाई निर्घात पिट्यो । शरीर थिल्थिलो भयो, मेरो जीउभरि र कञ्चटमा नीला डामहरु देखिन्थे । मेरो चित्कार कोठा बाहिर नजाओस भनी उसले झ्याल, ढोका बन्द गरेको थियो ।
बिहानको प्रतीक्षामा म रातभर जागै बसें । उज्यालो हुने बित्तिकै छोरो च्यापी म घरबाट निस्कें । प्रातःकाल जति शीतल र शान्त थियो, त्यसभन्दा बढी शान्तिको अनुभव मलाई भैरहेको थियो । म कहाँ जाँदैछु, किन जाँदैछु, मलाई केही पनि थाहा थिएन । एउटा राक्षसी बातावरणबाट उन्मुक्ति पाएको अनुभव मात्र गरिरहेकी थिएँ म । अर्थात् मेरो उद्देश्य नै मुक्ति थियो । त्यो लोग्ने मानिसको विरुद्धमा संघर्षमा उत्रिएकी म एक शक्तिशाली नारी थिएँ । अनाहकमा त्यसको शोषण किन सहेर बसौं म । ममा कुनै हिनताबोध थिएन, निराशा थिएन, बरु मभित्र एउटा अचम्मको शक्ति सञ्चय भैरहेको थियो । के मभित्र श्रम गरेर स्वतन्त्र बाँच्ने हिम्मत पनि छैन त ! वर्षाकालको हरियो घाँसे गल्लीमा टेक्तै, पाइताला अघि बढाउँदै नजिकैको बगैंचामा फुलेका सेता–राता फूलहरु हेर्दै छोरो आफ्नो छातिमा टाँसेर म अघि बढें, अघि बढिरहें ।
***
प्रतिक्रिया
-
४
